.jpg)
सरकारले लकडाउनभन्दा अगावै सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । लकडाउनपछि अन्य क्षेत्र पनि बन्द भए । तर, अहिले भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसकेका छन् । सिनेमा हलले भने सञ्चालन अनुमति पाएको छैन । ९ महिनासम्म बन्द रहेको सिनेमा हल खोल्न सरकारले चासो नदेखाउँदा शुक्रवारबाट हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका छन् ।
शुक्रवारबाट सिनेमा हल खुले पनि नयाँ फिल्म प्रदर्शन भएका छैनन् । प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा र सेन्टिभाइरस’ रि-रिलिज भएका छन् । निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालकहरु तत्काल पुरानै फिल्म चलाउने तयारीमा छन् । प्रदर्शन भइसकेको फिल्म हेर्न दर्शक हलसम्म आउनेमा हल सञ्चालकहरु आफैं पनि विश्वस्त छैनन् ।
९ महिनापछि सिनेमा हल खुल्दा फिल्मकर्मीहरुले खुसी व्यक्त गरेका छन् । तर, अभिनेता प्रदीप खड्काले यो असहज परिस्थितिमा फिल्म हेर्न दर्शक नआए हल खोल्नुको औचित्य नहुने बताएका छन् । बिहीवार ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गर्दै उनले भने- ‘हल खोल्नु पर्छ । तर, निर्मातालाई कसरी सुरक्षित बनाएर लैजाने भन्ने विषयमा पनि सोच्न जरुरी छ ।’
लगानी सुरक्षित हुने ग्यारेन्टी भए आफू अभिनीत फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गर्न निर्माता तयार रहेको पनि उनले बताए । अभिनेता खड्का अगाडि भन्छन्, ‘सामान्य अवस्थामा त नेपाली फिल्मको अवस्था गाह्रो थियो भने यो असहज परिस्थितिमा फिल्म रिलिज गर्न को निर्माता तयार होला र ? निर्मातालाई सुरक्षित बनाएर सिनेमा हल खोल्यो भने दर्शक आउनुहुन्छ जस्तो मलाई लाग्छ ।’
उनी पुरानो फिल्म हेर्न दर्शक हल आउनेमा विश्वस्त छैनन् । मानिसका लागि मनोरञ्जन सबैभन्दा पछाडि आउने भएका कारण दर्शकलाई पुरानो फिल्म हेर्न पैसा तिरेर हल आउनुस् भन्न गाह्रो रहेको उनी बताउँछन् । प्रदीप थप्छन्, ‘निर्मातालाई सुरक्षित गरेर राम्रो फिल्म दिने हो भने कोरोना भाइरसका कारण मोनोटोनस भएर मनोरञ्जन खोजिरहनुभएका दर्शक हलमा आउन सक्नुहुन्छ ।’

