कोरोनाका कारण बन्द रहेका सिनेमा हल भोली शुक्रवारबाट सञ्चालनमा आउँदैछन् । तर, केही महिना हलमा नयाँ फिल्म प्रदर्शन हुने सम्भावना न्यून छ । निर्माताहरुले नयाँ फिल्मको प्रदर्शन मिति घोषणा नगरेका कारण तत्काल हल सञ्चालकहरु पुरानै फिल्म प्रदर्शन गर्ने तयारीमा छन् । शुक्रवारबाट प्रदर्शनको क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ रि-रिलिज हुँदैछन् ।
अब नयाँ फिल्म कहिले प्रदर्शन हुन्छ भन्ने अन्योलको स्थितिमा बिहीवार फिल्म ‘लप्पन छप्पन २’ ले प्रदर्शन मिति घोषणा गरेको छ । मुकुन्द भट्ट निर्देशित यो फिल्म फागुन २७ गते महाशिवरात्रीमा प्रदर्शनमा आउने भएको छ । बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही फिचर छन् ।

एक्सन जनरामा निर्मित फिल्ममा शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको पनि अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
फिल्मको पटकथा र संवाद मुकुन्द भट्ट र सुनिल नेउरेले तयार पारेका हुन् भने पटकथामा अमित शर्माले पनि सघाएका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन छ ।
समीर खरेल क्रियटिभ निर्माता रहेको फिल्ममा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी सह-निर्मातामा छन् । गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले निर्माण गरेको फिल्मको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल रहेका छन् ।

