सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गत वर्षको चैत पहिलो साता लकडाउन घोषणा गरेपछि देशका हरेक क्षेत्र बन्द भए । सिनेमा हल भने लकडाउनभन्दा अगावैदेखि बन्द भएको थियो । दशैंअघिदेखि भीडभाड हुने प्रायः सबै क्षेत्र खुल्ला भइसकेका छन् । तर, सरकारले सिनेमा हल खोल्न अझै अनुमति दिएको छैन । फिल्म छायांकन भने मंसिर अन्तिमबाट खुल्ला भएको छ ।
 (2)(1)(1)(3).jpg)
सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै हल व्यवसायीहरुले भोली शुक्रवारबाट सिनेमा खल खोल्दैछन् । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने र गिरफ्तारी दिन तयार रहेको हल व्यवसायीहरुको भनाई छ । १० महिनापछि खुल्न लागेको सिनेमा हलमा शुक्रवारबाट प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन हुँदैछन् ।
पुष १० गतेबाट सिनेमा हल खुल्ने भएपछि अभिनेत्री केकी अधिकारीले आफू भावुक र पुकलित भएको बताएकी छन् । बिहीवार उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो लागि चलचित्र भवन कार्यालय, विद्यालय र मन्दिर रहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आशिषको मूल थलो धेरै समयदेखि बन्द थियो ।’
‘शुक्रबार पौष १० गतेदेखि चलचित्र भवनहरु खुल्दैछन् । थोरै भावुक छु । थोरै पुकलित छु । जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु । त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डुबेर स्तब्ध भई सुक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु । चलचित्र भवनभित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तरालपछि फेरि मिल्दैछ,’ उनले लेखेकी छन् ।
स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर फिल्म क्षेत्रलाई पूनर्जीवन दिन उनले आग्रह गरेकी छन् । केकी अहिले आफ्नो लगानीमा निर्माण हुन लागेको दुई फिल्म ‘बोक्सीको घर र कहानी तिम्रो मेरो’ को तयारीमा व्यस्त छिन् । चाँडै ‘बोक्सीको घर’ को छायांकन सुरु हुँदैछ । यसमा उनको जोडीको रुपमा गौरव पहारी देखिँदैछन् । अहिले भने उनले ‘परदेशी २’ को छायांकन गरिरहेकी छन् ।

