Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यूट्युबमा ‘वीर विक्रम २’, दर्शकलाई खड्कियो दयाहाङको अभाव

फिल्मीखबर, काठमाण्डौ, 2020/12/23
कोरोनाका कारण सिनेमा हल बन्द हुँदा दर्शकले नयाँ फिल्म हेर्न पाएका छैनन् । यही शुक्रवारबाट हल व्यवसायीहरुले १० महिनादेखि बन्द रहेको सिनेमा हल खोल्ने घोषणा गरे पनि तत्काल नयाँ फिल्म प्रदर्शन हुने सम्भावना न्यून छ । सिनेमा हलमै गएर फिल्म हेर्ने बानी बसेका दर्शकले लकडाउनको समयमा हलमा प्रदर्शन भएका फिल्म यूट्युबमा हेरेर चित्त बुझाउनु परेको छ ।
 
 
लकडाउनयता एक दर्जन बढी नेपाली फिल्म यूट्युबमा सार्वजनिक भएका छन् । यसबीच, मंगलवार अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘वीर विक्रम २’ पनि डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ । मिलन चाम्स निर्देशित यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । बक्सअफिसमा कमजोर व्यापार गरेको फिल्मले समीक्षक र दर्शकलाई पनि रिझाउन चुकेको थियो ।
 
पटकथा र प्रस्तुतीकरण कमजोर हुँदा फिल्मले ‘वीर विक्रम’ को साख जोगाउन सकेको थिएन । दुई साथीको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्ममा पल र नाजिरसँगै वर्षा सिवाकोटी, बुद्धि तामाङ, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ । यूट्युबमा सार्वजनिक भएसँगै फिल्मलाई दर्शकको उल्लेख्य साथ मिलेको छ । प्रतिक्रिया भने मिश्रित पाएको छ ।
 
यूट्युब रिलिजको २४ घण्टामा फिल्मलाई १० लाख बढी भ्यूज, ४६ हजार लाइक्स र ३ हजार बढी कमेन्ट प्राप्त छ । कमेन्टमा नाजिर हुसेन र बुद्धि तामाङको अभिनयको प्रशंसा गर्नेको संख्या ठूलो छ ।  कतिले भने अभिनेता दयाहाङ राई नभएका कारण फिल्म राम्रो नलागेको बताएका छन् । कथावस्तु र प्रस्तुतीकरण कमजोर रहेको प्रतिक्रिया पनि फिल्मले धेरै पाएको छ । 
 
४ वर्ष अगाडि प्रदर्शनमा आएको ‘वीर विक्रम’ को सिरिजको रुपमा मिलन चाम्सले ‘वीर विक्रम २’ बनाएका थिए । पहिलो पार्टमा दयाहाङ राई, अनुपविक्रम शाही, नाजिर हुसेन, दीया पुन मुख्य भूमिकामा थिए । अहिले यो फिल्मको सिक्वेल निर्माण हुन लागेको चर्चा छ । ‘वीर विक्रम’ जहाँ अन्त्य भएको थियो त्यहीँबाट सिक्वेल निर्माण गरिँदैछ । फिल्मको कथा तयार भइसकेको छ ।
 
फिल्म हेर्नुहोस् :-
 

Most Visited News (monthly)