Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनीषा कोइरालाको आत्मसंस्मरण नेपालीमा

फिल्मीखबर, काठमाण्डौ, 2020/12/21
 
अभिनेत्री मनीषा कोइरालाको आत्मसंस्मरण पुस्तक ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ सार्वजनिक भएको छ । अंग्रेजी संस्करण निकै रुचाइएपछि यसको नेपाली अनुवाद प्रकाशन गरिएको हो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् । ‘हिल्ड’ लाई भने मनीषा र नीलम कुमारले लेखेका थिए । 
 
क्यान्सरबाट निको हुन मनीषाले गरेको संघर्ष र जीवनप्रति उनको दृष्टिकोणलाई पुस्तकमा समावेश गरिएको छ । आइतबार पुस्तकको भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले आफूले यो किताब लेख्छु भनेर सुरु नगरेको बताएकी छन् । क्यान्सर लागेपछि भोगेका कुरा किताबमा लेखेर समाजलाई दिन सके आफ्नो जीवन सार्थक हुने ठानेर पुस्तक लेखेको उनको भनाइ छ ।
 
क्यान्सर लाग्नुभन्दा पहिला आफू धेरै केयरलेस रहेको बताउँदै मनीषा भन्छिन्, ‘अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नु भन्नुभएको थियो । त्यसबेलादेखि मैले क्यान्सर भएपछि भोगेका दुःख र कष्टलाई टिपोट गर्दै आएको थिएँ । र त्यसलाई पछि पुस्तकमा ल्याएकी हुँ ।’
 
अभिनेत्री कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको थियो । पछिल्लो पटक बलिउड फिल्म ‘सञ्जू’ मा देखिएकी उनी लकडाउनको समयमा भारतबाट नेपाल आएकी थिइन् । नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि उनलाई भारतीय मिडियाले तुच्छ शैलीमा गाली गलौज गरेका थिए । यसपछि उनी कोरोना महामारीकै समयमा नेपाल आएकी थिइन् ।
Most Visited News (monthly)