Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाखमा सर्‍यो ‘निफ’

फिल्मीखबर, काठमाण्डौ, 2020/12/20
 
वर्षेनी आयोजना हुँदै आएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण यस वर्षका लागि स्थगित भएको छ । आउँदो फागुन १२ देखि १६ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसकेको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चर एकडेमीले आइतवार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो । 
 
अब २०७८ साल बैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा ‘निफ’ आयोजना हुनेछ । आयोजक संस्थाले निर्धारित मितिमा फेस्टिभल गर्ने योजनासहित विश्वभरका फिल्म मेकरबाट फेस्टिभलमा सहभागिताका लागि खुल्ला गरेको आवेदनमा ५२ देशका ४ सय बढी फिल्मले सहभागिता जनाएको आयोजकका संस्थाका अध्यक्ष केपी पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
 
‘महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था छैन । भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन,’ पाठकले भने, ‘केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौं ।’ फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको छ । 
 
 
‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुवै भागमा प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । ‘निफ’ को नारा ‘विश्वका कथाहरुको कथ्य उत्सव’ रहेको छ ।
Most Visited News (monthly)