
केही दिनयता जताततै एउटा गीत सर्वाधिक घन्किरहेको छ । गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा रहेको ‘मैसाब’ बोलको गीत अहिले वृद्धदेखि बच्चासम्मको जिब्रोमा झुण्डिएको छ । दरवारिया शैलीमा निर्माण गरिएको भिडियोमा पल शाह र छुकिला शेर्पाले अभिनय गरेका छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेका कारण दर्शकले गीत निकै रुचाएका छन् ।
यही गीतबाट मोडलिङ डेब्यू गरेकी छुकिलाको सुन्दरता, एक्सप्रेसन र नृत्यको पनि मुक्तकण्ठले प्रशंसा भइरहेको छ । पहिलो गीतले नै चर्चा बटुल्न सफल हुँदा उनलाई अन्य म्यूजिक भिडियोबाट अफर आउन थालेको छ । अब उनले फिल्ममा पनि काम गर्न लागेको जानकारी प्राप्त भएको छ । फिल्म ‘हुतुतु’ मा उनी मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएको गोप्य स्रोतले बताएको छ ।
‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले निर्माण गर्ने यो फिल्ममा हरिवंश आचार्य, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतको अभिनय रहनेछ । पहिला फिल्मका लागि मुख्य अभिनेत्रीमा निर्माण टिमले साम्राज्ञी आरएल शाहलाई प्रस्ताव गरेको थियो । तर, उनले फिल्मलाई समय दिन नसक्ने बुझेर निर्माण टिम अन्य अभिनेत्रीको खोजीमा थियो ।
‘मैसाब’ गीत सार्वजनिक भएसँगै छुकिलालाई निर्माता तथा कलाकार सेनले ‘हुतुतु’ मा मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको बुझिएको छ । तर, यस बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । ‘हुतुतु’ लाई निर्माता सेनले नै निर्देशन गर्दैछन् । सिक्किम निवासी छुकिला अभिनेत्री बन्ने सपना बोकेर काठमाडौं आएकी हुन् । उनले होटल म्यानेजमेन्टको पढाई गरेकी छन् ।

