
लगनको महिना भनेर चिनिने मंसिर महिनामा धेरैको लगनगाँठो कसिने गर्दछ । नेपाली सेलिब्रेटीहरुले पनि विवाहका लागि मंसिर महिना रोज्ने गरेका छन् । यसपालीको मंसिरमा अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिइन् । तर, गत वर्षको चैत पहिलो साता इन्गेजमेन्ट गरेकी ‘क्याप्टेन’ फेम्ड अभिनेत्री प्रियंका एमभीको भने कोरोनाका कारण दुलही बन्ने सपना पूरा हुन सकेको छैन ।
उनले अमेरिकाको एक कम्पनीमा कार्यरत इन्जिनियर सफल अधिकारीसँग औंठी साटेकी थिइन् । इन्गेजमेन्टपछि उनीहरु अभिनेत्री आँचल शर्माको रिसेप्सन पार्टीमा एकसाथ पुगेका थिए । उनीहरुको तयारी यस वर्षको मंसिरमा विवाह बन्धनमा बाँधिने थियो । तर, कोरोनाका कारण विवाह अनिश्चितकालका लागि टरेको छ । सफलसँग प्रियंका दुई वर्षदेखि प्रेम सम्बन्धमा छिन् ।
केही दिन अगाडि इन्स्टाग्राममा उनलाई एक प्रशंंसकले ‘विवाह कहिले गर्दै हुनुहुन्छ ?’ भनेर सोधेका थिए । जवाफमा उनले लेखेकी थिइन्, ‘कोरोनाको स्थिति सामान्य भएपछि विवाह गर्नेछौं ।’ एक प्रशंसकले ‘क्याप्टेन’ मा अनमोल केसी र उपासना सिंह ठकुरीसँग काम गर्दाको अनुभव पनि सोधेका थिए । उनले अनमोल र उपासनासँग काम गर्दा रमाइलो भएको बताएकी छन् ।
.jpg)
‘क्याप्टेन’ प्रदर्शनभन्दा अगाडि प्रियंकाको चर्चाले उपासना छाँयामा परेकी थिइन् । तर, फिल्म प्रदर्शनपश्चात् उपासना चम्किइन् । अभिनय र डाइलग डेलिभरी कमजोर हुँदा दर्शक र समीक्षकबाट प्रियंकाले आलोचना खेप्नु परेको थियो । यो फिल्मपछि अभिनयबाट दूरी बनाएकी उनी अब प्रेमी सफलसँगको प्रेम सम्बन्धलाई सफलतापूर्वक विवाहमा परिणत गर्ने तयारीमा छिन् ।

