.jpg)
अभिनेत्री तथा मोडल एलिजा गौतमले सामाजिक कार्यमा सक्रियता बढाउने भएकी छन् । फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा आफ्नो परिचय बनाएकी उनले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनबाट दुर्गम र विकटका गरिब, असहायहरुका लागि घर निर्माण गर्ने भएकी छन् । बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले यसबारेमा जानकारी गराएका हुन् ।
उनले लेखेकी छन्, ‘छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।’ यो घोषणासँगै पहिलो चरणको काम धादिङबाट सुरु हुने उनले बताएकी छन् ।
एलिजाले गएको असारमा सिन्धुपाल्चोक बाह्रविसेस्थित नापुजे, भीरखर्क र नेवाल टोलमा बाढी पहिरोका कारण प्रभावितहरुलाई लत्ता-कपडा र खाद्यन्न सहयोग गरेकी थिइन् । उनले विभिन्न समयमा आर्थिक अभावले समस्यामा रहेकाहरुलाई पनि सहयोग गर्दै आएकी छन् । उनले दशैंअघि काठमाडौंको खुल्लामञ्चमा भोकाहरुलाई खाना खुवाउन पनि आर्थिक सहयोग गरेकी थिइन् ।
फिल्म ‘अनुराग’ ले असफलता भोगेपछि नयाँ फिल्ममा नदेखिएकी अभिनेत्री गौतमले लकडाउनयता दुई दर्जनको आसपासमा म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । उनले लकडाउन आफ्नो लागि सुनौलो अवसर बनेर आएको बताउने गरेकी छन् । पहिलो फिल्म बनाउन आफूले हतार गरेको स्वीकार गर्ने उनी अब केही समय बाहिरी ब्यानरका फिल्ममा काम गर्ने सोचमा छिन् ।

