
‘रहना है तेरे दिल में, लगे रहो मुन्ना भाई, थप्पड र सञ्जू’ जस्ता फिल्ममा काम गरिसकेकी अभिनेत्री दीया मिर्जाले अब तेलुगु फिल्ममा डेब्यू गर्ने भएकी छन् । उनको नयाँ फिल्मको नाम ‘वाइल्ड डग’ हो, जसमा उनले तेलुगु फिल्मका सुपस्टार नागार्जुनसँग काम गरेकी छन् । यो फिल्मका लागि दीयाले केरलको प्राचिन मार्शल आर्ट कलरियापट्टूको प्रशिक्षण समेत लिएकी थिइन् ।
दीयाले भनेकी छन्, ‘म फिल्मको कुनै सिनमा बनावटी देख्न चाहन्न थिएँ, यसैले तालिम लिएँ । खासमा, फिल्ममा एक सिक्वेन्स छ, जसमा मैले एक्सन सिन गर्नुपर्ने थियो । मैले सोचे कि मात्र एक्सन सिनको अभिनय गर्नुभन्दा तालिम नै लिनु राम्रो हुन्छ, जसले गर्दा पर्दामा वास्तविक लाग्छ । यो फिल्ममा नागार्जुनसँग काम गर्न पाएकोमा एकदमै खुसी छु । मेरो लागि यो ठूलो उपलब्धी हो ।’
उनी अगाडि भन्छिन्, ‘मलाई जब थाहा भयो कि फिल्ममा नागार्जुन पनि हुनुहुन्छ, तब राम्रो भूमिका र कहानीसँगै फिल्म गर्नका लागि अर्को एउटा कारण बढ्यो । मैले लकडाउनभन्दा अगाडि नै फिल्मको छायांकन पूरा गरेको थिएँ । लकडाउनका कारण केही एक्सन सिक्वेन्समा अवरोध आएको थियो, अब त्यो पनि पूरा भएको छ ।’ उनी पछिल्लो पटक फिल्म ‘थप्पड’ मा देखिएकी थिइन् ।

