नेपाली फिल्मको पार्श्व गायनमा सबैभन्दा बढी खोजिने नाम हो, अञ्जु पन्त । आधुनिक, लोक दोहोरीसँगै उनले नेपाली फिल्मका हजारौं गीतमा आफ्नो जादुमय आवाज भरिसकेकी छन् । उनको स्वरबद्ध एकाध गीत मात्र औसत चलेका छन् । प्रायः गीत दर्शकको जिब्रोमा झुण्डिएका छन् । उनको गायन कलाको जति प्रशंसा हुन्छ, सुन्दरताको पनि उतिक्कै चर्चा हुने गरेको छ ।
उनलाई नेपाली फिल्मबाट अभिनेत्रीको प्रस्ताव समेत आउने गरेका छन् । ‘सिन्दूर, स्काउट, परदेशी’ लगायतका फिल्मबाट आफूलाई प्रस्ताव आएपनि व्यस्तताका कारण काम गर्न नसकेको उनको भनाई छ । आफूले गाएका गीतको भिडियोबाट पनि मोडलिङको प्रस्ताव आउने गरेको उनी बताउँछिन् । तर, उनले आफू नभइ छोरी परितोषिकालाई अभिनयमा ल्याएकी छन् ।

आफ्नो स्वर र संगीतमा रहेको ‘धेरै माया’ बोलको गीतको भिडियोमा उनले आफ्नी १९ वर्षिय छोरी परितोषिकालाई मोडलिङमा डेब्यू गराएकी छन् । गीतको भिडियोमा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको छ । छोरीको अभिनयप्रति रुची भएका कारण आफ्नै गीतबाट डेब्यू गराएको अञ्जु बताउँछिन् । छोरीलाई फिल्मबाट समेत प्रस्ताव आउने गरेको उनले बताइन् ।
‘पहिला धेरै फिल्म तथा एल्बमबाट प्रस्ताव आएको थियो । धेरै निर्माता/निर्देशकले अभिनयको कोर्ष सिकाउँछौं समेत भन्नुभएको थियो । फिल्मको स्क्रिप्ट पनि सुनाउनुभयो । फिल्म र म्यूजिक भिडियोबाट धेरैले माग्न थालेपछि मैले छोरीको इच्छा बुझेँ । उनको अभिनयप्रति इच्छा रहेछ । त्यसपछि आफ्नैबाट काम अगाडि बढाउन त भन्ने हेतुले मोडलिङमा डेब्यू गराएँ,’ अञ्जुले भनिन् ।
परितोषिकालाई अभिनयसँगै गायनप्रति पनि केही हदसम्म रुची रहेछ । तर, व्यवसायिक रुपमा गायनमा अगाडि बढ्ने सोचमा भने उनी छैनन् । उनी भन्छिन्, ‘अभिनयप्रति मलाई एकदमै रुची छ । भोलीका दिनमा यसैलाई निरन्तरता दिन्छु । अध्ययनलाई पनि साथमा लैजानेछु ।’ भोलीका दिनमा राम्रो स्क्रिप्टबाट प्रस्ताव आएको खण्डमा फिल्ममा काम गर्ने सोचमा रहेको उनले बताइन् ।
छोरीको अभिनयप्रति रुची र क्षमता भएकै कारण मोडलिङमा डेब्यू गराएको गायिका पन्तको भनाई छ । उनले भनिन्, ‘मेरो छोरी भएकै कारण जबरजस्ती गीतको भिडियोमा मोडलिङ गराएको होइन । पहिलो त उनको अभिनयप्रति रुची छ । दोस्रो भनेको उनमा अभिनय गर्ने क्षमता देखेरै डेब्यू गराएको हुँ ।’ उनका अनुसार, अहिले परितोषिकाले अभिनयको कोर्ष गरिरहेकी छन् ।
अन्तर्वार्ता हेर्नुहोस् :-

