
अभिनेता सलमान खान अहिले महेश मान्जरेकरको फिल्म ‘अन्तिम’ को छायांकन गरिरहेका छन् । यसमा उनी सिख पुलिसको भूमिकामा देखिँदैछन् । यसबीच, उनले एक दिनको समय अभिनेता आमिर खानका लागि छुट्याएका छन् । उनले आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ का लागि एक दिनको समय छुट्याएका हुन् । फिल्ममा उनको केमियो भूमिका रहने बताइएको छ ।
दिल्लीमा हुने छायांकनमा सलमानले आफ्नो भागको दृश्य दिनेछन् । उनले ४ मिनेटको केमियोको छायांकन गर्ने भारतीय मिडियाले बताएका छन् । यसअघि शाहरूख खानले तीन दिन फिल्मको छायांकन गरिसकेका छन् । फिल्ममा सलमान र शाहरुख ९० को दशकको चरित्रमा देखिने बताइएको छ । ‘लाल सिंह चड्ढा’ मा शाहरुख राहुल र सलमान प्रेमको भूमिकामा देखिँदैछन् ।
यो फिल्म यस वर्षको क्रिसमसमा प्रदर्शन हुने तयारीमा थियो । तर, कोरोनाका कारण निर्धारित समयमा फिल्मको छायांकन पूरा नहुँदा अर्को वर्षको क्रिसमसलाई प्रदर्शन मिति घोषणा गरिएको छ । ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । फिल्ममा आमिरको अपोजिटमा करीना कपूर छिन् । अद्वैत चन्दन फिल्मका निर्देशक हुन् ।

