
दसैंको अवसर पारेर कात्तिक ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा उनी स्वयंले स्वर दिएका छन् । गीतको मिक्सिङ, मास्टरिङ तथा संगीत संयोजन रिकेश गुरुङ किजले गरेका हुन् ।
गीतको भिडियोमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई)को तीनजना सोल्टिनीसँगको सम्बन्धलाई देखाइएको छ । एउटी सोल्टिनीसँग उनले घरबार बसाएका छन् । अर्की सोल्टिनी (मैयाँ) र मिस शान्ति पनि उनको जीवनमा ठोक्किएका देखिन्छन् । गीतमा भने काजी पात्रको मनोभाव प्रस्तुत गरिएको छ । जुनीभर साथ नहुने भए अब मायाको कुरै नगर्न गीतले आग्रह गरेको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङसहित विपिन कार्की, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । यो फिल्मका अघिल्ला चारवटै श्रृंखलाले बक्स अफिसमा ठूलो सफलता पाएका थिए ।

