Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म ‘हिमालयन गोल्ड’लाई रवीनाका श्रीमान्‌ले भारतमा रिलिज गर्ने

फिल्मीखबर, काठमाडौं, 2026/10/05

Director_Dhiraj_Rajbanshi_and_Anil_Thadani_AA_FILMS

 

धीरज राजवंशीको निर्देशनमा बनेको नेपाली फिल्म ‘हिमालयन गोल्ड’ भारतमा प्रदर्शन हुने भएको छ । आगामी मंसिर ४ गते अर्थात् २० नोभेम्बरमा भारतका हलमा फिल्म रिलिज हुन लागेको हो । फिल्मको भारत रिलिजका लागि अनिल थडानीको कम्पनी ‘एए फिल्म्स’सँग सम्झौता गरिएको छ । यो भारतको सबैभन्दा ठूलो वितरक कम्पनी हो । 

‘एए फिल्म्स’ले ‘बाहुबली’, ‘पुष्पा’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’, ‘कान्तारा’, ‘एनिमल’, ’कबीर सिंह’लगायत दुई सयभन्दा बढी भारतीय फिल्मको वितरण गरिसकेको छ । यो कम्पनीका प्रमुख अनिल थडानी बलिउड अभिनेत्री रवीना टन्डनका श्रीमान् हुन् । कम्पनीको सञ्चालकमा रवीना पनि छिन् । 

‘हिमालयन गोल्ड’को भारत रिलिजबारे संक्षिप्त प्रतिक्रिया दिँदै अनिलले भनेका छन्, ‘यो एउटा यस्तो फिल्म हो, जसको उत्कृष्ट कथावस्तु सम्पूर्ण भारतीय दर्शकले एकपटक अनुभव गर्नुपर्छ । यसको प्रतिभाशाली टोलीसँग जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो । भारतीय दर्शकले भाषाको पर्खाल तोडेर फिल्मलाई माया गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।’ 

 

HIMALAYAN-GOLD---AAfilmshorizontal


भारतका हलमा फिल्म प्रदर्शन हुने भएपछि निर्देशक राजवंशीले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘यो मेरो लागि मात्र नभई सम्पूर्ण नेपाली फिल्म उद्योगकै लागि खुसीको कुरा हो । ‘हिमालयन गोल्ड’को सम्भावनालाई विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिनुभएकोमा म अनिल थडानी र ‘एए फिल्म्स’प्रति साँच्चै आभारी छु ।’ 

ह्वाइट एलिफेन्ट मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य अभिनय रहेको छ । यो सुनिल थापाको अन्तिम नेपाली फिल्म हो । फिल्मले यार्सागुम्बा सङ्कलन गर्न निस्किएकी एक युवतीको लुटेराहरूसँग जम्काभेट भएपछि बाँच्नका लागि गर्ने सङ्घर्षको कथा पेस गरेको छ ।