मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

फिल्ममा १२ वर्ष विताइसकेँ, अब माफी माग्न छुट छैन : उपेन्द्र सुब्बा

फिल्मीखबर, काठमाडौं, 2024/04/23

नेपाली साहित्यमा अग्लो नाम बनाएका कवि उपेन्द्र सुब्बाले फिल्म ‘जारी’बाट निर्देशनमा पनि आफूलाई प्रमाणित गरे । निर्देशनको हिसाबले यो उनको पहिलो फिल्म भए पनि लेखनमा उनको सक्रियता डेढ दशकदेखि जारी छ । उनले ‘कबड्डी’ श्रृंखला, ‘त्यान्द्रो’, ‘फूलबारी’ जस्ता फिल्म लेखिसकेका छन् । उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ भने यही बैशाख २१ गतेबाट प्रदर्शन हुँदैछ ।

 

upendra subba


फिल्ममा लामो समय विताइसकेकाले अब आफूलाई गल्ती गरेर माफी माग्न छुट छैन भन्ने उनलाई लाग्छ । सोमबार पत्रकारसँगको भेटघाटमा उनले भने, ‘यो फिल्ममा मैले सकेको कोसिस गरेको छु । जिम्मेवारी बोधले पनि काम गरेको छु । अब मसँग रेला गर्ने उमेर छैन भन्ने लाग्छ । फिल्म क्षेत्रमै लगभग १२-१५ वर्ष विताइसकेको छु । यसैले विगारेर दर्शकसँग माफी माग्ने छुट छैन मलाई ।’

उनी ‘मनसरा’मा आफूले केही फरक र नयाँ गर्न प्रयास गरेको बताउँछन् । ‘मेरो प्रयास कतिसम्म पर्याप्त छ, त्यो फिल्म हेरेपछि नै भन्न सकिएला । फरक नभए मेरो कोसिस अपर्याप्त भएछ भनौंला । तर, माफी माग्दिनँ,’ उनी सुनिए । उनले मनसरा धानको नाम रहेको समेत बताए । यो धानको फरक विशेषता मन परेकाले त्यसलाई समाजसँग जोडेर कथा बुनेको निर्देशक सुब्बा बताउँछन् ।

‘अरुभन्दा यो धानको नल (डाँठ) बलियो हुन्छ । मनसरा मात्र रोप्दा खासै फल्दैन भनिन्छ । त्यसैले अरु धानसँग मिसाएर रोपिन्छ । यो अडिलो धान हो, जसलाई मिहिनेतीहरुले लगाउँछन् । हामी सहर बस्नेलाई चाहिँ छिटो पच्ने चाहिन्छ,’ उनले अगाडि भने, ‘मलाई मनसराको यही विशेषता मन परेको हो । यसलाई हाम्रो समाजसँग जोडेर कथा बनाएँ । किनकि, हाम्रो समाज पनि मिश्रित नै छ ।’

फिल्मका अभिनेता दयाहाङ राईले आफ्नो चरित्र लोभलाग्दो रहेको तर्क गरे । उनलाई यो चरित्र अरु कसैले गरेको हेर्न मन रहेछ । ‘स्क्रिप्ट पढिसकेपछि नढाँटी भन्नुपर्दा यो पात्र मैले नगरेर अरु कसैले गरेको हेर्न पाए आनन्द हुन्थ्यो होला भन्ने लागेको थियो । त्यत्ति डाहालाग्दो क्यारेक्टर हो त्यो । अरुले निर्वाह गरेको आनन्दसँग बसेर हेर्न चाहन्थेँ । तर, आफैंले गर्नुपर्ने अवस्था आयो,’ उनले भने ।

 

upendra subba and dayahang rai


‘मनसरा’मा निर्वाह गरेको चरित्रमा ‘जारी’को झलक देखिनुलाई उनी स्वभाविक रुपमा लिन्छन् । तर, पात्रको मनोविज्ञान फरक छ भन्ने उनलाई लाग्छ । ‘‘जारी’मा लिम्बू संस्कृति र जीवनपद्धतीलाई विश्वास गर्ने पात्र थियो । ‘मनसरा’ पनि त्यहीभित्रको एक पात्र हो । त्यसकारणले ‘जारी’को छलक देखिनु स्वभाविक हो । तर, दुईवटै फिल्मको पात्र मनोविज्ञान विल्कुलै फरक छ,’’ उनले स्पष्ट पारे ।

अर्का अभिनेता प्रवीण खतिवडा समाजमा देखे/भोगेको कथा ‘मनसरा’मा रहेको दाबी गर्छन् । उनी यसलाई मिश्रित समाजको कथा भन्न चाहन्छन् । फिल्ममा एकल आमाको भूमिकामा रहेकी अभिनेत्री मिरुना मगरले ‘मनसरा’मा आफूले आफूलाई ‘एक्सप्लोर’ गर्न पाएको अनुभव सुनाइन् । वास्तविक जीवनमा आफू आमा नभए पनि फिल्ममा त्यो अनुभूति गर्न पाएकोमा उनी खुसी देखिन्छिन् ।