मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 2.77/5.00)
Text size:-
+
-

श्वेतालाई मेनुकाको खुल्ला पत्र : `हाँसेको मुहार हेर्न आतुर छु`

फिल्मीखबर, काठमाण्डौ, २०७१ भाद्र २१, शनिवार

मेनुका थापा (अध्यक्ष रक्षा नेपाल)
प्रिय बहिनी स्वेता,


‘बिहान बिहानै अनलाइनमार्फत श्रीकृष्णको उपचारको क्रममा निधन भन्ने समाचार पढेदेखि खल्बलिएको यो मन आजसम्म स्थिर भएको छैन भने तिम्रो मनभित्रको भुइँचालो, एक्लोपन, नैराश्यता र रोदन मैले अनुमान लगाउन सक्छु ।

मृत्यू निश्चित छ, तर यो निश्चिततालाई, यो सत्यतालाई मान्छेले सजिलै आत्मबोध गर्न सक्दैन । यो तिम्रो वा मेरो कुरा हैन, सम्पूर्ण मानवजातिले आफ्नो प्रिय वस्तु गुमाउनु पर्दा केही समय विचलित हुन्छ नै । झन् श्रीकृष्ण श्रेष्ठ नामको व्यक्तित्व त तिम्रा लागि मात्रै हैन, सबैका लागि प्रिय थिए । नेपाली सिने क्षेत्रको चम्किलो तारा थिए । अब मन बुझाउने बाटो भन्नैपर्नै हुन्छ -उनस् भगवानका पनि प्रिय रैछन् ।

सडकमा हिँड्दा जताततै कोहिनुरको पोष्टरमा श्रीकृष्ण हाँसिरहेका देखिन्छन् । फेसबुक, टि्वटर, लेख, रचनामा बाँचिरहेका देखिन्छन् । अनि कसरी भन्नू उनको मृत्यू भएको छ ? मेरो मनले पत्याउ नै सकेको छैन ज्वाँइसा’व अब हामीबीच हुनुहुन्न भनेर सायद यसैलाई भनिन्छ होला अमरत्व ।

हो नानु, तिम्रा श्रीमानको मृत्यू भएको छैन, उनी अमर र अजम्बरी बनेका छन् । उनी अमर छन् भन्ने कुराको प्रमाण शव यात्रामा उर्लिएको त्यो मानव सागरले गरेको छ । शव यात्राको उर्लिँदो मानव सागरका वीचमा लुखुर-लुखुर म पनि थिएँ ।

खै किन हो कुन्नि, म जीवनमा सबै कुराको सामना गर्न सक्छु, तर बाध्यतावस एउटी महिलाले शीरदेखि पाउसम्म सेतो पहिरेको हेर्न सक्तिँन । तिम्रो त्यो उजाडिएको सिउँदो, भावविह्वल मुद्रा अनि अर्धचेत अवस्थालाई नजिकबाट नियाल्न सक्ने र तिमीलाई सम्हाल्न सक्ने हिम्मत ममा थिएन । त्यसैले म तिम्रो छेउमा जाने चेष्टै गरिनँ ।

लडाइँमा युद्ध हारेको सिपाहीझैँ ज्वाइँसा’वको पार्थिव शरीर बोकेको गाडीको पछिपछि, यो पाइला स्वतस्फूर्त चलिरह्यो । बेलुकी ७ बजेतिर आर्यघाट पुगियो । त्यहाँ पनि श्रीकृष्णका प्रेमीहरु खचाखच भरिएका थिए । कुनैबेला त्यही ठाउँ सुनसान, उजाड लाग्थ्यो, तर त्यो दिन त्यही घाट साघुँरो भएको थियो । पाइला टेकेर उभिने ठाउँ कहीँ थिएन । सक्ने भए त्यो भीडले हाम्रा प्रिय श्रीकृष्णलाई यमराजको मुखबाट थुतेर ल्याउँथ्यो ।

नजिकैको पुलमा सञ्चारकर्मी मित्रहरुको भीडमा बसेर बेहोसीमै तिमीले अञ्जुलीले पानी खुवाएको अनि प्रेमपूर्वक एकोहोरो उनैलाई पुकारिरहेको दृश्यको साक्षी मात्रै बन्न सकेँ म । तिम्रो नजिकै गएर नानू नरोउसम्म भन्न सकिँन । किनकि यो बज्रपात यस्तो हो, जसले भोगेको छ, उसले मात्र अनुभूत गर्न सक्छ । तिमी रुँदै थियौ, कराउँदै थियौ । आर्यघाटमा उर्लिएका शुभचिन्तक तथा सर्वसाधारण पनि तिमीसँगै रुँदै थिए । सुँक्सुकाउँदै थिए ।

भीडमा कोहि भन्दै थिए, बिचरी साह्रै अभागी रैछिन् । कोही भन्दै थिए गर्भवती छिन् रे ! अनि कसैले भनेका शब्दहरु म यहाँ लेख्न पनि सक्तिँन । त्यो ठेलमठेलको भीडमा कसैले गरेको भलाकुसारीका अपाच्य शब्दहरु मेरा कानमा ठोक्किएपछि मलाई ती शब्दप्रति आपत्ति भयो । तर, माहोल प्रतिवाद गर्न सक्ने थिएन । त्यसैले बरु म आफै साइड लागेर बसेँ ।

बहिनी, हामीले आफूले आफैंलाई परिवर्तन गर्न सजिलो छ । तर, सदियौँदेखिका सामाजिक मूल्य, मान्यता तथा अन्धविश्वासलाई सजिलै परास्त गर्न सकिँदैन । समाजले त के भन्दो रहेछ, के भन्दो रहेनछ । जताबाट हावा आउँछ त्यतै पात हल्लिएझै हल्लिन्छन् यी समाजका मान्छेहरु ।



आर्यघाटमै विगत सम्झिएँ मैले

श्रीकृष्णजीको पार्थिव शरीरलाई निष्ठुरी आगोले जलाउँदै गर्दा हेर्न नसकेर अझ भावविह्वल भएकी तिमी र ८२ वर्षीया आमालाई सहयोगीहरुले बाहिर लिएर गए । मैले भनें त्यही पुलको छेउमा बस्दा बस्दै आफ्नै विगतलाई सम्झन पुगेंछु ।

मैले अचानक सम्झिन पुगेको विगत कुनै काल्पनिक थिएन । तिम्रो र मेरो यर्थाथ थियो । हामी एउटै गाउँ, समाजमा हुर्किंयौ । एउटै विद्यालयबाट शिक्षाको ज्योति पायाैं, एसएलसी गर्‍याैं । हामीले पढेको स्कुल एउटै, पढाउने गुरुहरु एउटै, फरक थियो त केवल हाम्रो दैनिकी । अनि, तिमी र मवीचको उमेर मात्रै । उमेरले म तिम्री दिदी त तिमी मेरी प्रिय बहिनी ।

त्यो गाउँठाउँमा तिम्रा बुबालाई बालकदेखि वृद्धसम्मले जमदार बा भनेर चिन्थे । कलाकारका रुपमा प्रायःजसो टेलिश्रृंखला हिजोआजका कुरामा देखिनुहुने उनै चर्चित पात्र जमदार बाकी पि्रय छोरी तिमीलाई के खाउँ, के लाउँ भन्ने कहिल्यै चिन्ता भएन । मात्र आफ्नो पढाइमा कसरी उत्कृष्ट हुने भन्नेमा तल्लिन रह्यौ । त्यसकै फलस्वरुप विद्यालयको पढाइ सकेर इन्जिनियरिङ पढी सानै उमेरमा इन्जिनियर बनी आफ्नै खुट्टामा उभिएकी तिमीले कलाकारिता क्षेत्रमा पाइलो बढाएको सुनेर खुसी लागेको थियो । किनकि कलाका पुजारी बाबुकी छोरी तिमी कला क्षेत्रमै आयौ ।काभ्रे जिल्लाको इज्जत बढायौ ।

वि.सं.०५३ सालमा एसएलसी परीक्षा दिएर शहर छिरेपछि मेरो आफ्नै व्यक्तिगत कारणले गाउँ पातलो जान थालें । र। तिमीसँग भेट हुन सकेन । एकैचोटि मेरो भेट तिमीसँग ०६६ सालमा काठमाण्डौमा भेट भयो, जतिबेला तिमीले सिनेे जगतमा आफ्नो नाम स्थापित गरिसकेकी थियौ । यो भेटमा तिमीले रक्षा नेपालले चालेको कदमप्रति आफ्नो ऐक्यवद्धता जनाउँदै संस्थाको सदस्यता लियौ र यौनजन्य हिंसा पिडित/प्रभावित दिदीबहिनीको पक्षमा उभिने प्रण गर्‍यौ ।

सानै उमेरमा तिमीभित्र आएको त्यो व्यवहारिक परिक्वता, सादा जीवन अनि सधैंको हँसिलो मुहारले तिमीलाई भेट्दा मैले छुट्टै आनन्द पाउँथें । तर, त्यो हँसिलो मुहारमा एक्कासी छाएको कालो बादलले म पनि मर्माहत भएकी छु ।

हुन त हामीले सोचेजस्तो जीवन हुँदैन भन्ने थाहा छ । तर, यो मन कहिले काहीँ अबुझ बन्ने रहेछ । आफ्नो श्रीमानको असमायिक वियोगमा रहेकी तिमीलाई भेट्ने तिव्र चाहनाअनुसार ज्वाइँसा’बको स्वर्गारोहण भएको सातौँ दिनमा मात्रै साहस बटुलेर तिम्रो घरतिर पाइलो बढाएँ । मनमा अनेकथरि कुराहरु तँछाडमछाड गर्दैरहे । मेरो मनले भन्दै थियो, मेरी प्रिय बहिनी सेतो कपडा बेरेर एउटा कुनामा बसेकी होली । त्यो दृश्य कसरी हेर्नु !

खै किन हो कुन्नि, म जीवनमा सबै कुराको सामना गर्न सक्छु, तर बाध्यतावस एउटी महिलाले शीरदेखि पाउसम्म सेतो पहिरेको हेर्न सक्तिँन । तिम्रो घरको आँगनमा पुग्नेबित्तिकै मन ढक्क फुल्यो । मुटुको ढुकढुकी पनि बढिरहेको थियो । एकजना दाइको सहारामा सरासर तिमी बसेको कोठामा गएँ । तिम्रो हालत उस्तै थियो, भेट्न आउनेको घुइँचो थियो । तर, तिम्रो शरीरमा सेतो कपडा रहेनछ । त्यो देख्ने वित्तिकै मलाई छुट्टै खुसी मिल्यो । मेरो दु्रत गतिमा बढिरहेको ढुकढुकी कम भयो ।

विविधतामा एकता भएको हाम्रो मुलुकमा एक सय भन्दा बढी जातजाति तथा भाषाभाषी छन् । उनीहरु सबैको आफ्नै संस्कार छ । हुन त मलाई कुनै पनि जातजाति भाषाभाषीको रितिरिवाज, संस्कार तथा परम्पराका बारेमा पूर्ण रुपमा जानकारी छैन । सबै भाषा, जात, लिङ्ग, धर्मको म हृदयदेखि नै सम्मान गर्छु । तर, त्यो दिन तिमीलाई छुन पाउँदा, संगै अगाँलेर बस्न पाउँदा अनि तिम्रो शरीरमा सेतो पहिरन देख्नु नपर्दा आनन्द लाग्यो । अनि नेवार समूदायको संस्कारप्रति गर्व पनि ।

त्यो दिन केही क्षण बसेर छुट्टएिकी मैले आजसम्म तिमीलाई फोन गर्ने वा भेट्ने आँट गरेको छैन । अन्य सर्वसाधारण नेपाली जस्तै तिम्रा बारेमा मिडियामा छाएका खबरबाट नै अपडेट हुँदैछु ।

स्वेता, म तिमीले अश्रुधारा बगाएको तस्वीर हैन, पहिलेजस्तै मस्त हाँसेको मुहार हेर्न आतुर छु । अनि एक्लाएक्लै रोएर घरभित्रै बस्ने स्वेता हैन, यो शोकलाई शक्तिमा बदलेर उर्जाका साथ कर्मक्षेत्रमा समर्पित बनी अन्य महिलाका लागि समेत प्रेरणादायी बन्न सक्ने बहिनीको पखाइमा छु ।


नानू, म तिमीलाई त्यो कुरा भूलिदेउ भन्दिँन । किनकि भुल्न सजिलो छैन । अनि नरोउ पनि भन्दिँन किनभने आँशु र हाँसो भन्ने कुरा दिलैदेखि आउने कुरा हुन् । झन् यस्तो बेलाको आँशु त कसैले नरोउ भन्यो भने झन् धेरै बग्छ, त्यो मलाई अनुभव छ । रियल लाइफमा चलचित्रको पर्दामा जस्तो निर्देशकले रुने सिन दिँदा रुन सकिने, हाँस्ने सिन दिदा हाँस्न सकिने हुँदैन । तर, एकपटक तिमीले बाहिरको संसारलाई पनि हेर ।

तिमी र प्रिय नायक श्रीकृष्णलाई अगाध प्रेम गछौँ । असाध्यै सम्मान गछौँ । अब तिमी अधुरा सपना पूरा गर्न बाँच । त्यसैले दुनियाँका अगाडिँबिचरी हैन ‘बोल्ड’ भएर आऊ । तिमीलाई थाहै छ, मेरी आमा पनि ३५ बर्षको उमेरमा विधुवा भएकी थिइन् । यदि उनी सधैं रोइरहेकी भए, मुर्छित भइरहेकी भए म आज तिमीलाई यसरी भन्न सक्ने अवस्थामा हुने थिइँन । त्यतिबेला म उनको गर्भमा थिएँ । गर्भमै मर्थे होला । तर, मेरी आमाले आफैले हिम्मत जुटाइन् । आफुले आफैलाई सम्हालिन् र मलाई आजको मेनुका बनाइन् ।

एउटा सानो कुवाको भित्री भागमा बसेको भ्यागुताले त बाहिर संसारमा आउन कति प्रयाश गर्छ भने तिमी त श्रृष्टिकै सर्वश्रेष्ठ प्राणी मान्छे । तसर्थ तिमीले आफ्नो आत्मबल दरो बनाउनै पर्छ । आफुले आफैलाई सम्हाल्नैपर्छ । तिमी कमजोर भयौ भने हामी सबै कमजोर हुन्छौँ । किनकि हामी तिमीलाई र प्रिय नायक श्रीकृष्णलाई अगाध प्रेम गछौँ । असाध्यै सम्मान गछौँ । अब तिमी अधुरा सपना पूरा गर्न बाँच । परिवारका लागि बाँच । समाजका लागि बाँच । हाँस र रमाउ । त्यसैले नानू, दुनियाँका अगाडिँबिचरी हैन ‘बोल्ड’ भएर आऊ ।



 साभार : अनलाईनखबर डट कम