मिति : २०७४ आश्विन ५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(28 votes, avg 4.79/5.00)
Text size:-
+
-

सेक्सको ब्यापार हुँदैछ यहाँ : सन्जोग बस्याल

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख ३०, शनिवार

केही समय अगाडि नेपालका फिल्म हलहरूमा ‘चपली हाईट’ नाम गरेको फिल्म रिलिज भैरहेको थियो । नेपालभरका छापा र काँचको पर्दा सबै संचार माध्यमबाट यो फिल्मलाई एउटा ‘हट केक’ बनाइएको थियो । बनाइएका सबै ‘हट केक’ हरू हेर्दा लोभलाग्दा हुन्छन् तर मिठो हुनको लागि कुकले मन लगाएर बनाएको हुनुपर्छ । सौन्दर्य र स्वाद दुई फरक कुरा हुन् । यदि कुनै फिल्म विषयवस्तु र कथाको हिसाबले सुन्दर छैन र प्रस्तुतीका हिसाबले स्वादिलो पनि छैन भने दर्शक अन्त्यमा यो सोच्न बाध्य हुन्छ कि फिल्मले कथा र विषयवस्तुको आत्मालाई मज्जाले मार्यो, महत्वपूर्ण ‘कन्टेन्ट’ हरू जानीजानी छुटायो र फिल्मले चर्चा मात्र कमाउनको लागि सतही विषयवस्तुको केन्द्रमा दश फन्को मार्यो ।

 

जसरी ‘हेट केक’ केराका टुक्राहरु र महको रसमात्र राखेर बनाउन मिल्दैन, त्यसको आत्मा भनेको ‘ब्रेड’ हो जसको अभावमा ‘हट केक’ बनाउने योजना यदि कुनै कुकले गर्छ भने उसले पाप गरिरहेछ र उपभोक्तालाई जानीजानी झुक्याइरहेछ । लोभलाग्दा देखिने केही थान केक केही ग्राहकले खरिद गर्लान् र केही समय दोकानदारको गर्जो टर्ला तर कालान्तरमा त्यो व्यापारीले आफ्नो दोकान मात्र टाँट पल्टाउँदैन, अरु असली ‘हट केक’ को व्यापारीलाई समेत चपरी मुनीको बास बसाउन बाध्य पार्छ किनकी एक कान दुई कान मैदान हुँदै समाजमा ‘हट केक’ प्रति नै वितृष्णा पैदा हुन्छ । मैले फिल्म ‘चपली हाइट’ बारे यही खतरा महशुस गरें । यो महशुस मलाई आखिर कसरी भयो त ?

 

मैले बिग एफ. एम. का अध्यक्ष महेश भण्डारीलाई उक्त फिल्म सँगै हेर्नका लागि आग्रह गरेँ । पछिल्लो समय नेपाली फिल्ममा भएको सकारात्मक परिवर्तनबाट अत्यन्तै प्रभावित भएका भण्डारीले आफ्नो अत्यन्तै व्यस्त ‘सेड्युल’ का वावजुद पनि गोपालप्रसाद रिमालद्वारा लिखित ‘मशान’, निश्चल बस्नेतद्वारा निर्देशित ‘लुट’ र आकाश अधिकारीद्वारा निर्मित एवम् निर्देशित ‘काठमाडौं’ जस्ता फिल्महरू हलमै गएर हेर्नका लागि समय निकालेका थिए । मेरो आग्रहमा उनले ती फिल्महरू मसँगै गएर हलमा हेरे । ती फिल्महरू हेरेपछि नेपाली फिल्मले पछिल्लो क्रममा मारेको फड्को प्रति उनले व्यक्तिगत रुपमा र आफ्ना आलेख मार्फत सकारात्मक धारणा र उत्प्रेरक विचार सार्वजनिक गरे । तर फिल्म ‘चपली हाइट’ हेर्न जाऊँ भन्ने मेरो आग्रहलाई उनले मानेनन् र भने, ‘त्यो फिल्म त अति नै छ रे, तिमीसँग गएर के हेर्नु ?’ चुपचाप रहेँ म । लाग्यो मैले उनलाई अफ्ठेरोमा पारेछु । मलाई लज्जाबोध समेत भयो । मैले फेरी आग्रह गर्न सकिनँ किनकी मलाई फिल्म हेरेका एक साथीले पनि भनेका थिए, ‘फिल्म चाहीँ अलि बढि नै छ है !’ अति नै भएका कारण पछिल्ला नेपाली फिल्मको एउटा नयाँ अनुरागी र प्रशंसक बनेका भण्डारी ‘चपली हाइट’ को दर्शक हुन मानेनन् / सकेनन् । आखिर उनले सँगै हेर्न जान नमानेको ‘चपली हाइट’ मा के रहेछ त त्यस्तो ? मेरो मनमा खुल्दुलीको मात्रा झन् बढेर आयो र म एक्लै सो फिल्म हेर्न हलमा पुगें ।

 

फिल्मलाई हेरेपछि मलाई लाग्यो भण्डारीले यो फिल्म नहेरेर ठिक गरे । ‘चपली हाईट’ मा खास केही छैन, न कुनै ठोस कथा छ, न कुनै पृथक संवाद छ । छ त त्यै एउटा कुरा, त्यो हो– सेक्स, सेक्स र सेक्स । सेक्स साइकोलोजीको रुपमा प्रस्तुत हुनु पर्ने हो या अभिनयकै रुपमा पात्र खडा गराएर व्यवहारिक रुपमा प्रस्तुत गर्नु पर्ने हो यसको छिनोफानो सेक्स साइकोलोजि पढेका फिल्मकर्मीहरूले नै गरुन् । तर मलाई सामान्य कुरा के थाहा छ भने सेक्स हुनु स्वभाविक हो, सेक्सलाई जुन तरिकाले प्रस्तुत गरिएको छ अझ भनौ देखाइएको छ, मेरो आपत्ती त्यसैमा छ । फिल्मको समीक्षा गर्दा विषयवस्तु र प्रस्तुती यी पक्ष अत्यन्तै संवेदनशील र महत्वपूर्ण भएर हर कोही समीक्षकको मानसपटलमा आउँछ । फिल्ममा सेक्सलाई प्रस्तुत गर्नको लागी सिंगो कथा बुनिएको छ, जसको केन्द्रमा पूरा फिल्मको उपकथा, पटकथा, सेटिङ, संवाद, क्लाइमेक्स सबै कुरा घुम्छ जसरी ‘निला फिल्म’ मा सेक्स बाहेक देखाउने र व्यक्त गर्ने कुरा अरु केही हुँदैन । फिल्मबाट राम्रैसँग सेक्स बिकाईयो, भगवान कृष्णको कृपाले राम्रैसंग बिक्यो पनि र निर्माताले त पैसा मजैले कुम्ल्याए नै, फिल्मसंग संबन्धीत अन्यको पनि फलिफाप नै भयो । यसको अर्थ फिल्म बिकेको होइन, सेक्स बिकेको हो । वास्तविक ‘हट केक’ बिकेको होइन, ‘हट केक’ नाम दिइएको केराका केही टुक्रा र महका केही चम्चा रस बिकेका हुन् ।


‘चपली हाईट’ ले सफलता पायो भनेर आज भोली नेपाली फिल्ममा यो कुरालाई यसरी उठान गरिएको छ कि मानौँ नेपालमा फिल्म बन्नको लागी सेक्स बाहेक अर्को कुनै विषय या मसला नै छैन । नेपाली फिल्मलाई अत्यन्तै माया गर्ने एउटा संचार उद्यमी अर्को संचारकर्मीसँगै हलमा गएर हेर्न नसक्ने सिनेमाको दर्शक को हुन् त आखिर ? व्यापार चल्नु र विक्री हुनुलाई मात्र व्यवसायिकता मान्ने हो भने संसारमा ‘टाइटानिक’ फिल्मको सिडी भन्दा ज्यादा ब्लु फिल्मका सिडीहरु ज्यादा बिक्री हुने गर्छन् । ‘चपली हाईट’ बाट बेच्न सुरु भएको सेक्स पछिल्लो क्रममा बन्न लागेका र बनेका अधिकांश फिल्मले पनि बेच्ने प्रयास गरिरहेको देखिन्छ । सेक्सलाई मुल कथा बनाएर फिल्म निर्माणको होडबाजीमा उत्रिएका छन् नेपाली फिल्मकर्मीहरु यतिबेला । भेडाको हुलमा रहेको एउटा भेँडो भीरबाट हाम फाल्यो भने सबै भेडाहरु त्यसरी नै भीरबाट हाम फाल्छन् भने जस्तै नेपाली फिल्मकर्मीहरू पनि सेक्स कन्टेन्ट राखिएको एउटा फिल्मले राम्रो व्यापार गर्यो भनेर सबै त्यही मोडेलका फिल्म निर्माण र परिकल्पनाको पछाडि दौडिरहेका छन् । अब बन्दै गरेका र बन्न लागेका फिल्महरु ‘चपली हाईट’ भन्दा पनि चपली हाईटको बाउ जस्ता बन्दैछन् जस्का नाम र प्रोमो हेर्दा र सुन्दा नै सेक्सको गन्ध आउँछ । पछिल्ला समय बनेका फिल्महरु कसरी कलाकारलाई नङग्याउने, कसरी सेक्स घुसाउने भन्ने तर्फ उन्मुख देखिन्छन् ।

पैसा कमाउने नाममा किन यसरी अश्लिलतालाई प्रदर्शन गर्न खोजिँदैछ ? त्यो अश्लिलताले समाजमा कति नराम्रो प्रभाव पार्छ भन्ने किन सोचिएको छैन ? संकेत मात्र गरे पुग्ने कुरालाई मुख्य विषय नै बनाएर अश्लिलताको पराकाष्ठा नाघ्दै छन् फिल्मकर्मीहरु । यिनीहरुलाई किन लाज नलागेको होला ? एउटा बन्द कोठा भित्र दुई जना बीच हुने शारीरिक रोमान्सलाई किन फिल्मको पर्दामा प्रमुखताका साथ समावेश गरेर त्यसको सार्वजनिकीकरण गर्न खोजिँदैछ ? के नेपाली फिल्मले समेट्न पर्ने अन्य विषयवस्तुको खडेरी नै परेको हो त ? अशिक्षा, अन्यौलता, अस्थीरता, अभाव, तनाब, बेरोजगारी, विदेश पलायन, अर्थिक दूरावस्था, मन्दी लगायतका कैयन यी विषयवस्तु समावेश गर्दा फिल्म नचल्ने नै हो त ?

 

सेक्सलाई गोप्य राख्नु पर्छ भन्ने मानिस पुरानो सोँच भएका परम्परावादी हुन्छन् भन्नेहरूले बुझ्नुपर्ने कुरा के हो भने सेक्सलाई बाहिर एक्सपोज गरेर मात्र आधुनिक बन्न सकिँदैन । यदि त्यसो हो भने पशुलाई सबै भन्दा आधुनिक माने भैहाल्यो नि ? हो, सेक्स एउटा प्राकृतिक कुरा हो र यस्को विषयमा जान्न र बुझ्नु पर्छ पनि तर यस्को मतलव त्यसलाई सिनेमाको पर्दामा नै छर्लङग पारेर देखाउनु पर्छ भन्ने होइन । अहिलेका फिल्महरू सबैभन्दा लामो ‘टङग किस’ कसले राख्ने भन्ने प्रतिष्पर्धामा बन्न थाले । हेर त हाम्रो आधुनिकताको पराकाष्ठा !


फिल्मले दर्शकमा र समाजमा कति  असर पार्छ भन्ने कुरा त एक जना नेपाली केटाले निखिल उप्रेति जस्तो बन्छु भनेर आफ्नो शरिरमा आगो लगाएको खबरले र अहिले बजारमा बेला बेलामा काम बिग्रने बित्तिकै एउटा साथीले अर्को साथीसँग भन्ने ‘डिमाग लगा, पासा डिमाग’ जस्ता डाइलगले प्रमाणित गरेको छ । एउटा फिल्मले मान्छेको जीवनशैली, संस्कार र चिन्तनमा नै परिवर्तन ल्याइदिने सामर्थ्य राख्छ । तपाईंहरूले बनाउन लागेका यस्ता फिल्मले यदि दर्शकको मानसिकता र सोचाई कस्तो असर गर्छ र यसले पछि सम्म समाजमा कस्तो खालको यौन मनोविज्ञानको विकास गर्छ ? कसले गर्ने यसको सर्वेक्षण ? र, यदि त्यस्ले साँचिकै नराम्रो प्रभाव पार्यो भने त्यस्को जिम्मा कस्ले लिने ? मनोरञ्जन दिने, पैसा कमाउने, हिट हुने र आधुनिक बन्ने नाममा छाडा र अश्लिल कुरा विकाउन खोज्दै हुनुहुन्छ तपाईहरु र समाजलाई र सिङगो फिल्म उद्योगलाई अश्लिल उद्योग बनाउन खोज्दै हुनुहुन्छ । फिल्म बनाएर के गर्न खोज्नु हुन्छ ? पैसा कमाउन ? मनोरन्जन दिन ? वा नेपाली चलचित्र उधोगलाई जोगाउन ?


राम्रो कलाकारले देखाउने भनेको आफ्नो कला र ट्यालेन्ट हो, गोप्य अङग होईन । काम सबैले गर्छन् र पाउँछन् तर कस्तो काम पाउँछन् र गर्छन् भन्नेमा कलाकारको फरकपन भर पर्छ । जस्तो समाजको एउटा आवाराले पनि आफ्नो काम गरेकै हुन्छ र पाएको पनि हुन्छ अनि उ पनि आफ्नो टोलको हिट पात्र बनिरहेको हुन्छ तर कुन तरिकाले ऊ चर्चामा छ र कस्तो काम पाइरहेको छ भन्ने कुरा महत्वपूर्ण हो । चर्चित हुनु र प्रसिद्ध हुनु बीच एक खाडल अन्तर छ । त्यसैले तपाई पनि हिट हुन्छु र हिट छु भन्दैमा मख्ख नपर्नुस् किन कि त्यस्लाई आम दर्शकले र समाजले कुन तरिकाले हेरेको छ भन्ने तपाई कलाकारहरुले पनि बुझ्नु जरुरी छ । आधुनिकता र नयाँपन लुगा खोलेर हुँदैन विचारले हुन्छ, प्रयोगले हुन्छ र हुन्छ प्रस्तुतीले ।


(लेखक संजोक बीग एफ एम १०१.२, पोखराका फिल्म सम्बन्धी कार्यक्रमका उत्पादक एवम् प्रस्तोता हुन् ।)
                                  

प्रतिकृयाको लागी : sbsanjok@gmail.com

                           www.facebook.com/sanjokbasyal