मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

कथाले माग्छ त म के गरौँ ?

डा. टीकाराम पोखरेल, काठमाण्डौ, २०७१ भाद्र ४, बुधवार
नेपाली फिल्म कस्तो हुनुपर्छ ? भन्ने विषयमा पछिल्लो समय बहस चलिरहेको छ । यस विषयमा धेरै दिग्गजहरुका विचारहरु आइरहेका छन् तर पनि नेपाली फिल्म भने जस्ताको तस्तै । जस्ताको तस्तैको अर्थ हिजोको जस्तै । दिग्गजका विचार सब फेल ।
 
दिग्गजहरुका विचारले फेल खाइरहेको अवस्थामा नेपाली फिल्म कस्तो हुनुपर्दछ भन्ने विषयमा मेरा २/४ वटा  सल्लाह छन् । यी चाहिँ फेल नहुने सल्लाह हुन् र सल्लाह नि:शुल्क पनि । नेपाली फिल्मलाई माथि उठाउनका लागि मैले दिएको नि:शुल्क सल्लाह वापतको पारिश्रमिक प्रोड्युसरलाई छुट । मैले छुट दिएको पैसाको सदूपयोग गरेर बागबजारको मुर्गा रेष्टुरेण्टमा बसेर सह-प्रोड्युरलाई मुर्गा बनाउनुहुन्छ भने त्यो पनि तपार्इँँलाई छुट छ । 
 
मेरो सल्लाहको लागि प्रोड्युसरले बजेटको व्यवस्था गर्नु पर्दैन । नेपाली फिल्मको लागत बढी भयो भन्ने प्रोड्युसरहरुको गुनासो आईरहेको बेला नि:शुल्क पाएको यो सल्लाहले प्रोड्युसरलाई राहत मिल्ने अपेक्षा गरिएको छ । सल्लाहकारलाई पारिश्रमिक दिनु नपरेपछि फिल्म अलिकति भएपनि कम लागतमा त बन्ने नै भयो । कम लागतमा फिल्म बन्ने भएपछि लगानी उठाउनलाई केही सहज पनि हुने नै भयो । 
 
सल्लाह वापत मलाई केही चाहिँदैन भन्दाभन्दै पनि यति चाहिँ याद राख्नुहोस्, मेरा नि:शुल्क सुत्रहरुले तपाइँको फिल्म सुपरडुपर भने त्यसको जस मलाई दिन चाहिँ नभुल्नुस् । जस पाउने लोभमा दिएका तलका फर्मूलाहरु आफ्नो पोल्टामा पार्न ढिला  पनि नगर्नुस् । नत्र पतिस्पर्धाको यो दुनियाँमा यी फर्मुला अरुले प्रयोग गरेर राम्रा नेपाली फिल्म बनाउलान् तपाइँ चाहिँ हेरेको हेरेकै हुनुहोला । यी फर्मुलाहरु मूलतः प्रोड्युसर साब र डाइरेक्टर साबका लागि हुन् । अरुले प्रयोग गरे पनि आँशिक रुपमा मात्र प्रयोग गर्न सक्नुहुनेछ ।
 
 
फर्मुला नं. १  
कथा र कपडाको सम्बन्ध
 
नेपाली फिल्म कथाबाट सुरु हुन्छ । त्यसैले यसलाई पहिलो फर्मुला मानिएको हो । फिल्म राम्रो बनाउने हो भने फिल्मको कथालाई कपडासँग जोड्नुस् । नायिकाहरुले कथाले मागे अनुसार कपडा खोल्छु भनेकै छन् । त्यसैले कथा लेख्दा नायिकाको कपडा सकेजति माग्नुस् । तपाईँले कपडा माग्न डराउनु पर्दैन, मात्र हिम्मत भए पुग्छ । कथाले कपडा माग्छ कि कपडाले कथा माग्छ भन्ने बहस पनि छ । तर कपडाले कथा मागे पनि कथाले कपडा मागे पनि उस्तै कुरा हो । हात्ती बलियो कि हात्ती छाप चप्पल बलियोको बहसमा समय खेर नफाल्नुस् । बहसमा लगाउने समय बरु कपडा र कथाको अन्योन्याश्रित सम्बन्धमै लागेर नेपाली कथा लेख्नुस् । खोल्नुस्, सकेसम्म खोल्नुस् । खोले मात्र नेपाली फिल्म बन्छ । कपडा लगाएर पनि कहिँ नेपाली फिल्म बन्छ ?
 
फर्मुला नं. २
लोकेशन हण्ट र नायिकाको स्याहार
 
हिन्दी फिल्मको नक्कल गर्न लाग्नु भएको हो भने त मलाई पनि भन्नु केही छैन तर तपार्इँले साँच्चै मौलिक नेपाली फिल्म नै बनाउन खोजेको हो भने नायिकाको साथमा लोकेशन हण्ट गर्ने जस्तो पवित्र कर्म गर्न कहिल्यै नभुल्नुस् । क्यामेराम्यान, कला निर्देशक, नृत्य निर्देशक वा अरु कुनै प्राविधिकसँग गएर लोकेशन हेर्नु भयो भने लोकेशन त्यति राम्रो देखिँदैन । लोकेशन हेर्ने तिनीहरुका चस्मा सबै खराब हुन्छन्, त्यसैले तिनीहरु लोकेशन कुरुप देख्छन् ।
 
खराब चस्मा लगाएकाहरुसँग गएर लोकेशन हेर्दा लोकेशनलाई तपार्इँले पनि कुरुप नै देख्नुहुनेछ । लोकेशन राम्रो देख्नको लागि नायिकाकै चस्माबाट हेर्नुपर्दछ । त्यसैले नायिकाको चस्मा लगाएर लोकेशन हण्ट गर्नुहोस् । राम्रो नेपाली फिल्म नबनी सुखै छैन । यदाकदा पत्रकारहरुले यो पवित्र कर्म थाहा पाएर कुरा बङ्ग्याइ “नायिकासँग निर्देशक र प्रोड्युसरको रोमान्स” भनेर पत्रिकामा चुस्स लेखिदिन पनि सक्छन् । तर त्यतिबेला पनि तपार्इँ नडराउनुस्, बरु भनिदिनुस्– “कथाले नायिकाको साथमा लोकेशन हण्ट माग्छ त म के गरौँ ?”
 
त्यसो त सुटिङका दौरान पनि तपार्इँले नायिकालाई विशेष केयर गर्नै पर्ने हुन्छ । नायक त आफ्नो प्राइभेट सवारीमा आउँछन् तर नायिकाको निजी प्राइभेट सवारीसाधन नहुन सक्छ । निजी प्राइभेट सवारीसाधन रहेछ नै भने पनि त्यसलाई केही दिन विश्राम गराउनुस् र नायिकालाई आफ्नो कारमा राखेर हिँडाउनुस् । अरु प्राविधिकहरुलाई चाहिँ भेडाबाख्रा कोचे जस्तै भ्यानमा हालेर एम्बुलेन्स झैँ दौडाउनुस् । नायक नायिकालाई रेष्टुरेण्टमा लगेर चिकनचिल्ली र रोष्ट खुवाउनुस् अरु प्राविधिकलाई चाहिँ सुटिङ स्पटमै झोल हालेको तरकारी र बिहानै पकाएको भात दिनको तीन पटकसम्म खुवाउनुस् । अनि नेपाली फिल्म नबनी सुखै छैन । पत्रकारको यसमा पनि आँखा लागेछ भने भनिदिनुस्– “यो पनि कथाले मागेको हो । कथाले मागेको काम गर्दा धेरै डिस्टर्ब नगर्नुस् ।”
 
फर्मुला नं. ३ :
फिल्मी मसला
 
तपार्इँ साँच्चै मिठो स्वादको नेपाली फिल्म बनाउनु हुन्छ भने मसला विना संभव छैन । नेपाली खाना पनि मसला विना कहाँ मिठो भाको छ र ? तर खानामा जस्तोे नुन, खुर्सानी, गोलभेडा, जिरा, मरिच, धनियाँ हालेर फिल्म नेपाली स्वादको बन्दैन । फिल्ममा फिल्मी मसला हाल्न जान्नुपर्दछ । हिजोका दिनमा फिल्मी मसला चंखे र चंखिनीका चर्तिकला हुन्थे, अलि पछि बाँदर, कुकुर र हेलिकप्टर पनि फिल्मी मसला बने । तर यस्ता मसला धेरै दिन चलेनन् । चंखे चंखिनीदेखि लिएर बाँदर, कुकुर र हेलिकप्टर वर्तमान सन्दर्भमा सब आउटडेटेड भैसकेका छन् । त्यसैले अब फिल्ममा मसला हाल्नु हुन्छ भने अलि रियालिस्टिक मसला हाल्नुस्, तपार्इँ यसलाई अर्गानिक मसला पनि भन्न सक्नुहुन्छ । जस्तो कि आफ्नो फिल्मकी नायिकाले श्रीमान् छोडेर निर्देशकसँग प्रेम गरेको, सहनायिकासँग प्रोड्युसरको प्रेम मिलन भएको अथवा नायक र प्रोड्युसर (श्रीमती प्रोड्युर बीच) गहिरो प्रेम सम्बन्ध रहेको आदि हल्ला चलाउनुस् र पत्रिकामा लेखाउनुस् । सकिन्छ भने यी महान् प्रेमी प्रेमिकाहरुले एकअर्कालाई लेखको महान् प्रेमपत्र र एकआपसमा अंकमाल गरेका दुर्लभ तस्विरहरू फेसबुकभरि हाल्नुस् तब पो नेपाली फिल्म चल्छ नत्र के को फिल्म बन्छ ?
 
फर्मुला नं ४
टाइट र फाइट
 
मसलाकै कुरा गर्दा टाइट र फाइटलाई पनि बिर्सनु हुँदैन । राम्रो फिल्ममा टाइट र फाइटको कम्बिनेशन पनि मिल्नु पर्छ । हिरोइनलाई टाइट कपडामा फाइट गराउनुस् । फाइट गर्ने ठाउँ सके हिलोमा नभए पनि पानीमा अवश्य पुर्‍याउनुस् । फिल्म भनेकै फाइट हो र फाइट भनेकै टाइट हो भन्ने मान्यतालाई स्थापित गर्नुस् । नायिकाले टाइट कपडा लगाएर फाइट हानेको दृश्य आफ्नो फिल्ममा राख्न सक्नु भएन भने मान्नुस् तपार्इँको फिल्म सुपर फ्लप भयो  । ध्यान दिनुहोस्, आजकल दर्शक त्यही टाइट र फाइट हेर्न मात्र हलमा जान्छन् । त्यसैले दर्शक अनुसारको फिल्म बनाउनुस् । भन्छन् नि देश अनुसारको वेश, मान्छे अनुसारको केश । देश अनुसारको वेशमा तपार्इँ पनि के कम ? आखिर नेपाली फिल्म बनाउने निर्माता निर्देशक पो त तपाइँ पनि । कथाले यस्तै माग्छ त तपार्इँले नगरी भो र ?
 
 
फर्मुला नं. ५
नेपाली फिल्मलाई माया गर्नुस् 
 
कथा छनौटदेखि नायिका छनौट, लोकेशन हण्टदेखि फाइटको स्टण्ट र टाइटदेखि फाइटसम्मका सबै कुरा मिलेपछि तपार्इँको फिल्म त सुपरडुपर त बनि नै सकेको हुन्छ तै पनि आजको दुनियाँ विज्ञापनको दुनियाँ हो भन्ने कुरा तपार्इँले भुल्नु हुने छैन । फिल्म बनाइसकेपछि पब्लिसिटी त गर्नै पर्‍यो । त्यसैले अब तपाईँले केही अरु फर्मुलाहरुको प्रयोग गर्नै पर्छ ।
 
पहिलो कुरा त टेलिभिजनका फिल्मी कार्यक्रम प्रस्तोताहरुलाई बोलाएर यसो बेलुकापख रेष्टुरेण्टमा सोमरसपान (जलपान भन्न खोजको जिब्रो चिप्लेर सोमरसपान भएछ) गराउनुस् । याद राख्नुस्, त्यो सोमरसपानमा नायिका अनिवार्य छ । सोमरसपानले पत्रकारका दिमागमा साम्राज्य विस्तार गर्दै गएपछि पत्रकारले जब क्यामेराका लेन्स तपार्इँतिर तेस्र्याउँछन् अनि हात जोड्दै भन्नुस्– “नेपाली फिल्मलाई माया गर्नुस्, मेरो यो फिल्म अरु भन्दा फरक छ, अवश्य हेरिदिनुस् ।” 
 
आफ्नो फिल्मका नायक नायिकालाई पनि “आफूले काम गरेका अहिलेसम्मका फिल्ममध्ये यो फिल्म चाहिँ फरक छ” भनेर तपार्इँका फिल्मको बारेमा भन्न लगाउनुस् । फिल्म चलाउने बेलामा नायक नायिकालाई हलमै लैजानुस् । सक्नुहुन्छ भने नायक नायिका सहित सडकमै पञ्चेबाजा बजाएर र्‍याली गर्नुस् । यो कुरा बुझ्नुस् नेपाली दर्शक फिल्म हेर्न जाँदैनन् तपार्इँका नायक नायिका मात्र हेर्न जान्छन् क्या । तपार्इँले पञ्चेबाजाका साथ नायक नायिकालाई सहर परिक्रमा गराएर नेपाली फिल्ममा अतुलनीय योगदान गरेको देखी नसहनेहरुले यहाँ पनि तपार्इँको आलोचना गर्न सक्छन् । आलोचना गरे के फरक पर्छ । काग कराउँदै गर्छ पिना सुक्र्दै गर्छ । तर यहाँ पनि भन्न चाहिँ नभुल्नुस्– “कथाले माग्छ त म के गरौँ ।” 
 
नि:शुल्क यी टिप्सहरु मौलिक नेपाली फिल्म बनाउनेहरुका लागि मात्र हुन् । नेपाली फिल्म नबनाउनेहरुले मेरा यी फर्मूलाहरुमा नजर नलगाउनुहोला । जसले मौलिक नेपाली फिल्म बनाउँछ उसले मात्र यी टिप्स प्रयोग गर्न पाउँछ । टिप्स प्रयोग गर्नुहोस्, नेपाली फिल्म बनाउनुहोस् । तपाइँको फिल्म चलेन भने मलाई भन्नुहोस् । फलोस् फुलोस् नेपाली सिनेमा, गाइजात्रको शुभकामना ! laughlaughlaugh
 
मोबाइल : ९८५१०५३१२७