मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

फराकिलो दृष्टिमा `साँघुरो`

डा. टीकाराम पोखरेल, काठमाण्डौ, २०७१ आषाढ ९, सोमवार
२०७१ सालको प्रारम्भमै नेपाली फिल्म संसारलाई एउटा सुखद समाचार आयो । जेठको दोस्रो हप्ता श्रीलंकाको राजधानी कोलम्बोमा सार्क साँस्कृतिक केन्द्रद्वारा आयोजना गरिएको दक्षिण एसियाली फिल्म महोत्सवमा दुई नेपाली फिल्म ‘साँघुरो’ र ‘झोला’ले अवार्ड हात पारे । जोयस पाण्डे निर्देशित साँघुरोले जुरी अवार्ड र सिल्भर फिचर फिल्म अवार्ड गरी दुईवटा विधाको अवार्ड आफ्नो पोल्टोमा पार्‍यो भने यादव भट्टराई निर्देशित झोलाकी नायिका गरिमा पन्तले उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । 
 
नेपाली फिल्म अन्तर्राष्ट्रिय पुरस्कारको लागि पटक–पटक मनोनयनमा परे पनि रित्तो हात फर्कन्थे तर यी दुई फिल्मले रित्तो हात फर्कनु परेन । त्यसो त फिल्म समीक्षक समाजद्वारा गर्न लागेको फिल्म अवार्डमा समेत साँधुरोका निर्देशक जोयस पाण्डे र पटकथाकार विनोद पौडेलले उत्कृष्ट अवार्ड आफ्नो पोल्टामा पारिसकेका छन् । 
 
 
त्यसो त श्रीलंकामा भएको अवार्डको सन्दर्भमा फिल्म झोलाकी नायिका गरिमा पन्तलाई राष्ट्रपतिले भेटको भन्ने समाचार पनि विभिन्न समाचार माध्यममा आयो । कुरा राम्रै हो, अन्तर्राष्ट्रिय अवार्ड विजेतालाई राष्ट्राध्यक्षले भेटेर हौसला दिनुभएछ । राष्ट्रपतिको फिल्मी मोहलाई सम्मान गर्नैपर्छ । तर खड्केको कुरा चाहिँ यति हो कि सम्भव भए पदक विजेता दुवै फिल्मको सम्पूर्ण टिम नसके पनि दुवै फिल्मका प्रमुख व्यक्तिहरुलाई भेटेर उत्साह र हौसला प्रदान गरेको भए राष्ट्रपतिको थप गरिमा बढ्थ्यो । गरिमासँग राष्ट्रपतिको व्यक्तिगत भेटघाट भएको भए भन्नु केही छैन तर राष्ट्राध्यक्षको नाताले भेटेको भए राष्ट्रपति पनि यसमा चुक्नु भएछ । 
 
सम्भवत: राष्ट्रपतिलाई पनि गुमराहमा पारियो । सायद अर्धसत्य समाचार सम्प्रेषण गरियो राष्ट्रपतिलाई । निरपेक्ष रुपमा हेर्दा अस्वाभाविक लागे पनि हाम्रो जस्तो देश जहाँ ठूला ओहदाकाहरु सधैँ आसेपासेका चंगुलमा परेका हुन्छन्, आसेपासेले जे-जे ल्याउँछन् र भन्छन् त्यसैमा रबरस्टाम्प ठोकेर बस्ने देशमा राष्ट्रपतिले गरिमालाई मात्र भेटेर आफ्नो गरिमा बढेको देख्नु त्यति नौलो कुरा पनि होइन । भन्नेले गरिमालाई भेट्दा गरिमा बढ्छ भनिदिए होलान् । राष्ट्रपतिले पनि हो न हो भन्ने ठाने । विगतमा पनि झण्डै एक करोड भेटेर सम्बन्धित मान्छेलाई दिएको नाटक गर्ने बहाना बनाएकी अनुजा नाम गरेकी एक अधवैँशे महिलालाई पनि विचरा राष्ट्रपतिले फोन गरेरै धन्यवाद दिएका थिए । त्यसबेला पनि सल्लाहकार तिनै थिए जसले अहिले गरिमालाई भेट्ने सल्लाह दिए । 
 
भेटघाटको कुरा त्यति महत्वको विषय होइन, सन्दर्भ परेकोले मात्र चर्चामा आएको हो । महत्वपूर्ण त यी दुई फिल्मले अवार्ड हात पारेको र यी फिल्मले उठान गरेको विषय र प्रस्तुति हो । अन्तर्राष्ट्रिय अवार्ड हात पारेका यी दुई नेपाली फिल्म नेपाली समाजका दर्पण हुन् । झोला इतिहासको दस्तावेज हो भने साँघुरो समकालीन यथार्थ । हरेक युगीन पात्र समकालीन समाजसँग सापेक्ष हुन्छन् । व्यक्ति वा समाज आफैँमा पूर्ण होइनन् । व्यक्तिको समाजसँगको सामञ्जस्यता पछि मात्र जीवनको वास्तविकताको झल्को पाइन्छ । व्यक्तिको मनोविज्ञानमा समाजले पार्ने प्रभावलाई फिल्मले जति सशक्त रुपमा उठान गर्न सक्तछ त्यति नै फिल्म सशक्त हुन्छ । न कि नक्कलले । झोला र साँगुरो यसमा खरो उत्रिएका छन् । संयोग कृष्णहरुको छ । झोला कृष्ण धरावासीको कथा हो भने साँघुरो विनोद पौडेलद्वारा लिखित नेपाली कृष्णहरुको कथा हो । पौराणिक कालदेखि बाजी मार्दै आएका कृष्णहरु आजको महाभारतमा पनि बाजी मार्दै छन् । दुवै फिल्मले पुष्टि गरेका छन् ।  
 
चर्चा जीवनको, सन्दर्भ साँघुरोको । भनिन्छ– ‘जिन्दगी सपनाहरुको बजार हो । सपनाको बजारमा जसले चर्को मोल तिर्छ उसैले जिन्दगी किन्छ । जिन्दगी बाँच्छ र अब्बल बनाउँछ । जसले किन्न सक्तैन ऊ बाँचेर पनि मरे सरह हुन्छ, तिनका इच्छाहरु तिर्सनामा मात्र सीमित हुन्छन ।’ साँघुरो यस्तै बजारमा जिन्दगी खरिद गर्न नसक्नेहरुको कथा हो जसले जिन्दगीको परिभाषामा पुनर्विचार गर्न बाध्य गराउँछ । 
जीवनको मूल्य कति हो ? सायदै यसको उत्तर भेटिएला । तर यति चाहिँ भन्न सकिन्छ कि भोग्न सक्नेहरुको जीवनको मूल्य चर्को हुँदो रहेछ र भोग्न नसक्नेहरुको जीवन नै मूल्यहीन रहेछ । भोग्न नसक्नेहरुको जीवन साँघुरोमा बाँचेको मात्र होइन स्वयम्मै जीवन साँघुरो छ । साँघुरो जीवनलाई फराकिलो बनाउने संघर्षमा कतिका जीवन झनै साँघुरो भएका छन् अनि कतिका जीवन त समाप्त नै भएका छन् । पैसा माने जीन्दगी भएको छ भौतिकवादी युग । यो यथार्थलाई नेपाली सामाजको सापेक्षतामा साँघुरोले उजागर गरेको छ । 
 
गरिबको पनि इज्जत हुन्छ तर गरिँदैन । मन हुन्छ तर मानिँदैन । इच्छा हुन्छ तर कुण्ठित गरिन्छन् । जीवनको फराकिलो मैदानमा विचरण गर्न मन लाग्छ तर साँघुरोमा खुम्च्याइन्छन् । मन कहिल्यै साँघुरो हुँदैन, तर धन साँघुरो भए पछि मन पनि साँघरो पार्नुपर्छ र मनलाई मात्र होइन तनलाई पनि खुम्च्याउनुपर्छ । यही सामाजिक धरातलमा सिर्जित एउटा मनोदशाको जीवन्त चित्रण साँघुरो बनेको छ ।
संसारमा सृष्टि गलत छैन तर समाजको दृष्टि गलत छ । सृष्टि संसारको लागि हुन्छ दृष्टि समाज सापेक्ष हुन्छ । प्रकृतिले कसैलाई भेदभाव गरेको छैन तर मानवनिर्मित भेदभावले प्रकृतिजन्य समान वितरणलाई पनि चुनौती थपेको छ । भौतिक दृष्टिले प्राकृतिक अधिकारलाई समेत खोसेको छ । 
 
हत्केलाले छेकेर सूर्य छेकिन्न, वास्तविकतालाई सिद्धान्तको खोलले ढाक्न सकिन्न । न त रोमान्सका नाममा गरिएको नक्कली प्रस्तुतिले जीवन र जगतको वास्तविकतालाई बिर्साउन सक्तछ । त्यसैले त साँघुरोले मान्छेको नक्कली आदर्शलाई गिज्याउँछ, कोमल मनहरुलाई रुवाउँछ, भावनाहरुलाई उथलपुथल बनाउँछ । भन्छ मान्छेको कथा, कहन्छ नेपाली समाजको व्यथा । छुन्छ नेपाली मन, अनि हुन्छ नेपालीपन, बोल्छ नेपाली भावना र बन्छ नेपाली फिल्म । 
 
नेपाली फिल्म कस्तो हुुनुपर्छ ? कठिन यो प्रश्नको उत्तर अब फेला परेको छ, साँघुरो जस्तै । नेपाली फिल्म पण्डितहरु जो विदेशी फिल्मको नक्कल नगरी फिल्म बनेको ठान्दैनन् जो विदेशी फिल्मसँग तुलना नगरी समीक्षा गर्न जान्दैनन् तिनीहरुका साँघुरो दिमागलाई साँघुरोले फराकिलो पारिदेला कि भन्ने आसा चाहिँ अब गर्न सकिन्छ ।
फिल्मलाई सरकारले वक्रदृष्टिले हेर्ने गरेको कुरा भनिरहनु पर्दैन । फिल्मको शिक्षाको विकास र चलचित्र प्रबद्र्धन आफनो कर्तव्य ठान्दैन सरकार । एउटा चलचित्र विकास बोर्ड गठन गरेर अनि सरकार निदाएर बसेको छ । त्यहि बोर्ड पनि राजनीतिले गर्दा बेला बेला रणमैदान बन्छ । सरकारले फिल्मका लागि केही गरेन भनेर पत्रकारले प्रश्न गर्‍यो भने सरकार त्यही विकास बोर्डको रणमैदान देखाउँछ र आफू फेरि सुत्छ । फिल्मकर्मीले सुत्न दिँदै दिएनन् भने यसो चारो फालिटोपल्छ सरकार । विना दृष्टिकोण, विना योजना र विना लक्ष्य ।
 
नेपाली फिल्मलाई उद्योगको रुपमा विकास गर्ने हो भने सरकारले यस्तो चारो छर्ने काम गरेर पुग्दैन । नेपाली फिल्मको स्तर निर्धारण गरेर फिल्मलाई नै अनुदान दिने व्यवस्था गर्नुपर्दछ । फिल्मको स्तर निर्धारण हाम्रालाई नजिक र राम्रलाई टाढा गरिनुहुँदैन । को नायक, को नायिका, को निर्देशक वा कुन पार्टीको निर्माता भन्ने आधारमा होइन (जो हिजोका दिनमा भएका छन्) विषयवस्तु प्रस्तुतिकरण, नेपालीपन र मौलिकताको कसीमा फिल्मको स्तर निर्धारण हुनु पर्दछ । अनि मात्र अन्तर्राष्ट्रिय अवार्ड जीतेका साँघुरो जस्ता फिल्महरुले सरकारको साँघुरो सोचाइको सिकार बन्नु पर्दैन । त्यसो भयो भने मात्र नेपाली फिल्म साँचो अर्थमा माथि उठ्ने छ । सोचाइहरु फराकिलो बनाउन अब किन ढिला गर्ने ?
 
 
मोबाइल : ९८५१०५३१२७