मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोल्ड भएनन् हिरोइन

सामीप्य तिमल्सेना, काठमाण्डौ, २०७१ ज्येष्ठ ७, बुधवार

कलकत्ताबाट फर्किएको रिकुटेको प्रेममा परेकी सानु जब ऊसँगै देश बनाउने अभियानमा सक्रिय हुन चाहन्छे, जिम्वाल बुबाले उसलाई रोक्दै भन्छन्, ‘केटी मान्छे भएर धेरै ठूलो सपना नदेख् । घरमै बस् । जो पायो त्यहीसँग संगत गर्ने होइन ।’ एसएलसीपछि काठमाडौं पढ्न जाने सपना पालेकी मैयाँलाई पनि आमाले यस्तो सपना नदेख्न सचेत गराउँदै भन्छिन्, ‘उड्न हैन, पहिले हिँड्न सिक् । नचाहिँदो सपना देख्ने होइन ।’

 

पहिलो संवाद २०२१ सालमा बनेको फिल्म ‘आमा’को हो भने दोस्रो २०७१ मा प्रदर्शन भएको ‘कबड्डी’को । जिम्वाल उत्तम नेपालीले छोरी सानुको भूमिकामा रहेकी भुवन चन्दलाई सचेत गराएको र अरुणा कार्कीले छोरी मैयाँ अर्थात् रिश्मा गुरुङलाई सम्झाएको यो संवादले नेपाली फिल्ममा महिला पात्रको चरित्र प्रस्तुतिको समग्र तस्बिर देखाउँछ ।

महिला भएर जन्मिएपछि सीता वा सती सावित्री हुनुपर्ने, परिधिभित्र पस्नुपर्ने र त्यागी हुनुपर्ने नेपाली समाजको परम्परागत मान्यताभन्दा पृथक छैन सानु र मैयाँको अवस्था । नेपाली फिल्मले आधा शताब्दीको भोटो फटाए पनि महिला चरित्रको परम्परागत छविलाई यसरी देखाएको छ, जसरी पौराणिक ग्रन्थमा आदर्शवान, घरेलु र निरीह चरित्रका रूपमा नारीलाई प्रस्तुत गरिन्थ्यो ।

भुवन चन्ददेखि रिश्मा गुरुङसम्मको ५० वर्षे कालखण्डमा सयकडौं अभिनेत्रीले नेपाली फिल्ममा उपस्थिति देखाए । केहीले आफूलाई अब्बल साबित पनि गरे तर धेरै कर्कलाको पातमा शीतको थोपाझैं केही बेर टल्किए र घामसँगै सुकेर गए । यो अवधिमा आएका कति नारी प्रतिभा हिरा हुँदाहुँदै चम्किन पाएनन्, कति त कोइलामै सीमित भए ।

नेपाली फिल्म निर्माणको सूत्रात्मक परम्पराका कारण पनि नारी चरित्रको उपस्थिति खँदिलो बन्न सकेन । आफैंं लक्ष्य निर्माण गर्नेभन्दा पुरुष पात्रको लक्ष्य प्राप्तिमा सहयोगी बन्ने र दर्शकको मनोरन्जनकै लागि नाचिदिनुपर्ने बाध्यताका कारण उनीहरूको उपस्थिति ‘रिक्त स्थान पुरयेत’झैं भयो ।

नेपाली फिल्म निर्माणको परम्परा भारतीय फिल्मी शैलीबाट प्रभावित रह्यो भने भारतीय फिल्म रामायण, महाभारतजस्ता पौराणिक ग्रन्थबाट । राम, सीता, कृष्ण, राधाबाट प्रभावित समाजले फिल्ममा पनि यिनै पात्रलाई पर्दामा उतारे । समयक्रममा समाज बद्लियो, संस्कार–संस्कृति बद्लिए तर महिलालाई पौराणिक नारीझैं आदर्शवान र त्यागी बन्नुपर्ने मान्यतामा कुनै परिवर्तन आएन । फलतः नेपाली फिल्ममा अभिनेत्रीको भूमिका छोरी भए बुबाको आज्ञाकारी, श्रीमती भए श्रीमान्को आज्ञाकारी र आमा भए छोराको आज्ञाकारी भूमिकामै सीमित रह्यो ।

भुवन चन्द पहिलो अभिनेत्री हुन्, नेपाली फिल्मकी । पहिलो फिल्म ‘आमा’मा मुख्य भूमिकासँगै प्रवेश गर्दा उनको उमेर १५ वर्षमात्रै थियो । त्यसो त भुवनलाई त्यसअघि माइतीघरका निर्देशक बिएस थापाले बाल कलाकारका रूपमा अभिनय गर्ने प्रस्ताव गरेका थिए । उनले स्वीकृति पनि दिइन् तर तीन वर्षसम्म फिल्म नबनेपछि ‘आमा’मार्फत मुख्य अभिनेत्री भएर अभिनय यात्रा थालिन् । आमापछि ‘हिजो आज भोलि’मा मात्र अभिनय गरेकाले उनको फिल्मी यात्रा संख्यात्मक रूपमा उल्लेख्य रहेन । अभिनेत्रीका रूपमा चम्कने बेला विवाह गरेर जर्मनी हान्निएसँगै उनको अभिनय यात्रा पनि टुंगियो ।

‘आमा’मा जिम्वालकी छोरी बनेकी उनी गरिब युवकसँग अनुराग राख्थिन् भने चार वर्षपछि बनेको ‘हिजो आज भोलि’मा गरिब युवती बनेर जिम्वालकै छोरासँग प्रेम गर्न पुगिन् । पहिली अभिनेत्रीका दुई फिल्ममा पनि खासै भिन्न चरित्र देखिएन । त्यसबेला बनेका फिल्मको कथावस्तुगत सीमिततालाई यही भूमिकाले छर्लंग पार्छ ।


‘आमा’भन्दा पहिला निर्माणमा आउने चर्चा चले पनि ‘माइतीघर’ त्यसपछि मात्रै बन्यो । यसको कथामात्र होइन, अभिनेत्रीको उपस्थिति पनि सर्वथा प्रेरणादायी थियो । श्रीमान्को असामायिक मृत्युपछि ‘पोई टोकुवा’को विशेषण पाएकी माला सिन्हा लोग्नेकोे घर छाड्न बाध्य हुन्छिन् । सहरमा नाचेर जीवन गुजारा गरिरहेकी मालामाथि बलात्कारको प्रयास हुन्छ । अस्मिता बचाउन उनले पुरुषको हत्या गर्छिन् र जेल जान्छिन् ।

पुरुषलाई केन्द्रमा राखेर फिल्म बन्ने जमानामा मालाको यो भूमिका वास्तवमै पृथक थियो । तर उनले यो भूमिका अभिनेत्री भएको नाताले मात्र पाएकी थिइनन् । हिन्दी फिल्मकी प्रख्यात अभिनेत्री भएकाले उनकै वरिपरि फिल्मको कथावस्तु घुमेको थियो ।


माइतीघरको कथामात्र होइन, त्यसको प्रस्तुतिमा समेत नयाँपन देखियो । फ्ल्यासब्याकबाट सुरु हुने कथा ठाउँठाउँमा वर्तमानमा आउँथ्यो र त्यतिबेलाको समयलाई समेट्दै पुनः फ्ल्यासब्याकमा फर्कन्थ्यो । आफूले पाएको दुःख छिचोल्दै छोरीलाई पढाउन मालाले गरेको मेहनत माइतीघरको सबैभन्दा सराहनीय पक्ष थियो । एउटा साधारण गाउँले युवतीदेखि क्रान्तिकारी महिलाको भूमिकामा उनको अभिनय उम्दा थियो ।

पञ्चायतलाई बलियो बनाउन सरकारले फिल्म बनाइरहेको अवस्थामा माइतीघर यो बाध्यताबाट मुक्त भएको पहिलो व्यावसायिक फिल्म थियो । त्यसयता निजी क्षेत्रबाट फिल्म बन्ने क्रम रोकिएपछि सरकारी लगानीमा बनेका फिल्ममा महिलाको भूमिका यथार्थभन्दा आदर्शमा सीमित रह्यो । अस्तित्वमा देखिएका चैत्यदेवी, मिनाक्षी आनन्द, सुषमा शाही आदिको भूमिका केवल औपचारिकतामा खुम्चियो ।

सन् १९८३ मा ‘सम्झना’मार्फत नेपाली रजतपटमा प्रवेश गरेकी तृप्ति नाडकरले भने अभिनेत्रीको दायरालाई फराकिलो बनाइन् । नेपाली संवादमा हिन्दी लवज देखिए पनि उनको प्रवेशले नेपाली अभिनेत्रीलाई बलियो आधार बनाइदियो । ‘कुसुमे रुमाल’, ‘साइनो’, ‘लाहुरे’ र ‘कोसेली’जस्ता फिल्मले व्यावसायिक सफलताको रेकर्ड बनाए । यी फिल्ममा तृप्तिको भूमिका अभिनेताकै समानान्तर पनि थियो । उनको दक्षताकै कारण हुनुपर्छ– साइनोमा उनलाई डेढ लाख पारिश्रमिक दिइएको चर्चा लामो समय चल्यो । यति पारिश्रमिक आजका थोरै अभिनेत्रीले मात्र पाउँछन् ।

तृप्तिभन्दा एक वर्षपछि शर्मिला मल्लको प्रवेश भयो, ‘कान्छी’मार्फत । शारीरिक सुन्दरता र अभिनय क्षमता भईकन पनि शुद्धसँग नेपाली संवाद गर्न नसक्नु तृप्तिको कमजोरी थियो । हिन्दी र मराठी लवज आउने भएकाले अरूले नै उनको आवाज डब गर्नुपथ्र्यो । तुलसी घिमिरे निर्देशित फिल्ममा तुलसी पत्नी भारतीले यो काम गर्थिन् । त्यही अप्ठ्यारोका कारण पनि नेपाली उद्योग आफ्नै माटोमा जन्मेकी अभिनेत्रीको खोजीमा थियो, जुन शर्मिला मल्लले पूरा गरिन् ।

‘कान्छी’बाट यात्रा थालेयता उनले लगातार ‘के घर के डेरा’, ‘वासुदेव’, ‘मायाप्रीति’, ‘चेलीबेटी’, ‘चिनो’जस्ता फिल्ममा काम गरिन् । सँगै काम गर्दागर्दै कृष्ण मल्ललाई मन दिएपछि उनको अभिनय यात्रा गतिहीन भयो । ‘सन्तान’ नेपाली फिल्ममा धेरै कलाकार जन्माउने फिल्मको रूपमा स्मरणीय छ, जसलाई निर्देशन गरेका थिए प्रकाश थापाले । यही फिल्मबाट करिश्मा मानन्धर र गौरी मल्ल एकसाथ पर्दामा छाए । कृष्टि मैनाली, मौसमी मल्ल, मिथिला शर्माजस्ता कलाकारले यसै बेला सक्रियता देखाए पनि करिश्माले यो दौडमा सबैलाई उछिनिन् । सुन्दर चेहराका साथै अभिनयमा निपुण करिश्मा धेरै वर्षसम्म निर्मातानिर्देशकको पहिलो रोजाइमा परिन् । संख्यात्मक हिसाबले उनको उपलब्धि उल्लेख्य रहे पनि गुणात्मकतामा भने उनको उपस्थितिलाई सन्तोषजनक मान्न सकिन्न । कारण– उनका प्रायः फिल्ममा उही चरित्र र भूमिकाको पुनरावृत्ति भएको छ ।

नेपाली फिल्ममा महिलाको भूमिका जहिले पनि बुबा, पति र सन्तानको चाहनामा सीमित रह्यो, घर–समाजको उही पर्खालभित्र । करिश्माको उपस्थितिले पनि त्यो पर्खाल भत्काउन सकेन । विचार बोक्ने फिल्म त परको कुरा, अरूको तुलनामा करिश्माको भागमा नारीप्रधान फिल्म कमै परे । बरु उनीसँग डेब्यु गरेकी गौरी मल्लले तुलनात्मक रूपमा कम फिल्म खेले पनि ‘कन्यादान’, ‘स्वर्ग’, ‘चेलीबेटी’, ‘नाता’, ‘सरस्वती’, ‘मुकुण्डो’जस्ता फिल्म खेलेर पृथक पहिचान स्थापित गर्न सफल भइन् ।

सन् १९९० देखि २००० सम्मको समयावधिमा मेलिना मानन्धर, रूपा राना, बिना बस्नेत, विपना थापा, जल शाह, पूजा चन्द, सुष्मिता केसी, सारंगा श्रेष्ठ, निरुता सिंह, सञ्चिता लुइटेल, झरना बज्राचार्यजस्ता अभिनेत्री नेपाली फिल्ममा छाए । उनीहरूको आगमनसँगै फिल्म निर्माणको बाढी आयो । वर्ष दिनमा एक–दुई फिल्म बन्ने अवस्थामा वर्षमा १० वटासम्म फिल्म बने । २०, ४० हुँदै यो संख्या अहिले ८० सम्म पुग्यो । संख्यासँगै प्रतिस्पर्धा यसरी चुलियो, प्रतिस्पर्धी पछार्न निर्माता÷निर्देशकले एउटै जुक्ति निकाले– अभिनेत्रीको अंग प्रदर्शन ।

‘मनकामना’मा करिश्मा मानन्धर र शिव श्रेष्ठको लिप किस, ‘लोभीपापी’मा पारदर्शी कपडा लगाएर नाच्ने गौरी मल्ल, ‘कसम’मा बिना बस्नेत र राजेश हमालबीच खोला किनारमा भएको रोमान्स र रूपा रानाको ‘नो सेक्स प्लिज’जस्ता पहिरनका कारण अभिनेत्रीमा अंग प्रदर्शनको सिलसिला सुरु भयो । बिस्तारै छोरी–बुहारीको शालिन छविबाट उनीहरू उत्तेजक वस्तुका रूपमा रूपान्तरित भए । आइटम गीतमा उत्तेजक नृत्य देखाएपछि सारंगा श्रेष्ठले तहल्का मच्चाइन् । ‘कथाले मागेर अंग प्रदर्शन गरेको’ भन्ने वाक्य अभिनेत्रीका लागि गुरुमन्त्रका रूपमा स्थापित भयो । देशमा प्रजातन्त्र आएको र समाज खुकुलो भएको आडमा अंग प्रदर्शनलाई स्वतन्त्रताका रूपमा अथ्र्याइयो, जसलाई अभिनेत्रीले आफ्नो अधिकारका रूपमा व्याख्या गरे । यसपछि बिस्तारै टाढिँदै गयो समाज र फिल्मको दूरी ।

यही समय ‘दक्षिणा’मार्फत प्रवेश गरेकी निरुता सिंहले घरेलु युवतीका रूपमा बेग्लै छाप छाड्न सफल भइन् । बोलाइमा दार्जिलिङे लवजको प्राधान्य रहे पनि चरित्रमा डुबेर अभिनय गर्ने क्षमताका कारण उनी छोटै समयमा लोकप्रिय बनिन् । परम्परागत फिल्मको धारबाटै अघि बढिरहेको नेपाली फिल्ममा उनको अभिनय सासू–बुहारीको झगडाभन्दा पर जान सकेन । दर्पणछायाँमा मृत्युको समेत भय नभएकी आत्मविश्वासी युवतीका रूपमा दमदार अभिनय गरेकी निरुताले पछिल्लो समय रुन्चे भूमिकामा आफूलाई सीमित गरिन् ।

रहर, आफन्त, दुई किनारा, नाता रगतको, आफ्नो मान्छेजस्ता फिल्ममा उनको अभिनय दमदार भए पनि समग्र उपस्थिति ‘क्रान्तिकारी’ रहेन । निरुताले रुन्चे भूमिकामा दर्शक कज्याइरहेका बेला आधुनिक युवतीको छविका साथ देखा परिन्, रेखा थापा । उनको आगमनसँगै निरुता र झरना थापाजस्ता अभिनेत्रीले धानिरहेको परम्परागत नारीको छविमा परिवर्तन आयो । पहिलो फिल्ममा गाउँले युवतीको भूमिकामा देखिए पनि त्यसयताका फिल्ममा रेखाले लगातार कपडा छोट्याउँदै लगिन् । निरुता, जल शाह र विपना थापाले लगभग उही समयमा नेपाली फिल्म उद्योगबाट बिदा लिएपछि व्यावसायिक फिल्म निर्माताको पहिलो रोजाइमा रेखा नै दरिइन् । यही बेला आफ्नै ब्यानरमार्फत फिल्म निर्माणमा सक्रिय भएपछि उनको लोकप्रियता थप चुलियो । किनकि उनले निर्माण गरेका अधिकांश फिल्मले व्यावसायिक सफलता पाउँदै गए । तर अग्रज कलाकारको अनुसरण गर्दै मौलिक कथा रोज्नुको साटो बलिउडको नक्कल गर्दा उनको उपस्थितिबाट पनि दर्शकले अपेक्षित लाभ लिन सकेनन्, जुन आजसम्म यथावत छ ।

यो क्रममा उनले आफूलाई केन्द्रमा राखेर नारीप्रधान फिल्म त बनाइन् तर समस्याको ठाडो समाधान देखाउने यस्ता फिल्मको कथाले समाजमा चाहिँ कस्तो प्रभाव पारेको छ ? अध्ययनको विषय हुन सक्छ । अभिनेताले मात्रै दर्जन ‘भिलेन’लाई कुटिरहेको अवस्थामा रेखाले भुसतिघ्रे पुरुषलाई भटाभट कुटेको देखाइन् । उत्पीडित महिलामा आत्मविश्वास सञ्चार गराउन उनको यो कला सकारात्मक पाटो हुन सक्छ ।

पछिल्लो समय केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, नम्रता श्रेष्ठ, नीशा अधिकारीलगायतले नयाँ पुस्ताको अभिनेत्रीको प्रतिनिधित्व गरिरहेका छन् । तर फिल्म निर्माणको परम्परागत ढाँचाका कारण दर्शकले अपेक्षा गरेको नयाँ स्वाद चाख्न पाएका छैनन् । हिजोका दिनमा फिल्म खेल्नुलाई ठूलो उपलब्धि मान्ने अभिनेत्रीको भिडमा पछिल्लो समय भूमिकामा विविधता छ तर ‘फ्रेम’ बद्लिन सकेको छैन । चरित्रप्रतिको इमानदारितालाई भने उनीहरूले न्याय गर्न सकेका छन् ।

सिने क्षेत्रमा अनुबन्धित कलाकारको भविष्य कुनै पनि फिल्मको सफलतासँग जोडिएको हुन्छ । यदि फिल्म सशक्त छ भने त्यसमा संलग्न कलाकारको उपस्थिति सशक्त हुन्छ र यदि फिल्म कमजोर भए कलाकार पनि कमजोर । केही अपवादबाहेक नारीप्रधान फिल्मको अभाव खट्किएकै छ । यसकारण अभिनेताकै दबदबाबीच अभिनेत्रीको भूमिका बोल्ड हुन सकेको छैन ।

 

नागरिकन्यूज डट कमबाट साभार