मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.64/5.00)
Text size:-
+
-

बलिउडसँग आत्मसमर्पण कहिले सम्म ? : राजेश घिमिरे

फिल्मीखबर, काठमाण्डौ, २०७० पौष २३, मंगलवार
समय : बिहान ११:३० बजे ।
 
जिज्ञासा : जम्मा दुई जना भैयो, हाम्रै लागि फिल्म चलाउनुहुन्छ त ?
 
जवाफ : चल्छ । किन नचल्नु ।
 
पुनः जिज्ञासा : दुई जनाकै लागि पनि ?
 
जवाफ : हाहाहा नेपाली फिल्म भएको भए यहि दुई जना पनि हुन्थेनन्, हिन्दी भएर धन्न दुई जना आउनुभएछ ।
 
म नाजवाफ भएँ । आइतवार मध्यान्न १२ बजेको शो हेर्नका लागि ईन्द्रदेव चलचित्र मन्दिर पुगेपछि १ सय २५ रुपैयाँका  दुईवटा टिकट काटेर ११:४० मा भाई विपिनसँग हिन्दी फिल्म 'धुम-३' हेर्न बाल्कोनी लागें । फिल्म सुरु हुनुअघि फाट्ट–फुट्ट आउँदै गरेका दर्शकहरुको संख्या फिल्म चालु हुँदासम्म दर्जन नाघे । डिसेम्बर २० मा विश्वव्यापी प्रदर्शनमा आएको 'धुम-३' ईन्द्रदेव चलचित्र मन्दिरमा आइतवार १९ औं दिन सम्म पनि प्रदर्शन हुँदै थियो । यस बाहेक नारायणगढकै जलमा, गणेशलगायत चितवनका ५ वटै हलहरुमा यो फिल्म पुरा २ हप्ता चल्यो । व्यापार राम्रो पनि गर्‍यो ।  
 
मेरो जिज्ञासा : दर्शकनै नहुँदा पनि किन चलाउनुभयो 'धुम-३' ?
 
ईन्द्रदेव हलका म्यानेजर बामदेव अधिकारीको जवाफ : दुई दिन अघि नेपाली फिल्म ‘सनडे’ रिलिज गरेको हल रित्तै भो, भोली पल्टबाट फेरी 'धुम-३'नै चलाइयो । पुष २६ बाट ‘वितेका पल’ लाग्दैछ, एक दुई दिनका लागि कता अरु खोज्न जाने भनेर फेरी 'धुम-३' नै लगायौं । फाट्ट–फुट्ट आउँदैछन् हेर्न । 
 
टिकट काटेर हल बाहिरै केहि बेर रहँदा केहि व्यक्ति आए । उनीहरुको जिज्ञासा : दाई 'धुम-३' त हेरियो अरु हलमा के-के लाग्या छ ?
 
जवाफ : 'जलमा जो भि करवालो', गणेशमा 'क्रोध' ।
 
पुनः जिज्ञासा : 'जो भि करवालो' हेरिसकें, 'क्रोध' पोस्टर देख्दै हेर्न मान लागेन दाई 'सोले' पनि चलेको छ रे नी । 
 
जवाफ : 'सोले' पनि एक दिन भन्दा चलेन भाई । 
 
 
चित्त बुझ्दो फिल्म नपाएपछि उनीहरु निरास भएर फर्किए । मैले सोचें नेपाली दर्शक खुबै चुजी भएछन् । रोजेर फिल्म हेर्ने भएछन् । कुनै समय सबै हलमा एउटै फिल्म चल्दा अर्को फिल्म हेर्नका लागि हप्तौं कुर्न बाध्य नेपाली दर्शक अचेल रोजी-रोजी फिल्म हेर्छन् । गतिलो फिल्मलाई हिट बनाइदिन्छन्, अगतिलोलाई फ्लप । चुजी दर्शकले चितवनमा 'सनडे'लाई फ्लप बनाइदिए । हल सञ्चालक पहिलो दिनमै त्यो फिल्म हटाउन बाध्य भए । तर, अर्को आपत आइलाग्यो भोलीपल्ट कुन फिल्म चलाउने । नेपाली फिल्म नपाएपछि अघिल्लो दिनसम्म चलाइएको 'धुम-३' नै चलाउन हल सञ्चालक बाध्य भयो । 
 
 
'धुम-३'ले हल सञ्चालकहरुलाई आम्दानी पनि राम्रो गराइदियो । यो फिल्मका लागि चितवनबाट मात्र करिब १२ लाख रुपैयाँको टिकट बिकेको सञ्चालकहरु बताउँछन् । देशभरबाट यस फिल्मले ६ करोड कमाइसकेको बताइन्छ । यो नेपालमा हालसम्म चलेका हिन्दी फिल्महरुमै रेकर्ड हो । विश्वबजारमै तहल्का मच्चारहेको 'धुम-३'ले नेपाली फिल्मी बजारमा हस्तक्षेप नगर्ने कुरै थिएन । केहि महिना अघि हिन्दी फिल्म 'क्रिस-३' चल्दा पनि हलवालालाई राम्रै राहात मिलेको थियो । तर, यी फिल्मको तुलनामा नेपाली फिल्मले हलहरुलाई राहात दिन सकेनन् । फिल्म 'काली' र 'होस्टेल'ले राम्रै व्यापार गरेपनि अरु प्रायले दर्शकलाई निरास बनाइदिए । 
 
 
पुष ५ मा 'धुम-३' रिलिज हुने हल्लाबाटै तर्सिएका नेपाली फिल्म निर्माताहरुले रिलिजको तीन हप्ता पुग्दा पनि आफ्नो फिल्म रिलिज गर्ने आँट गर्न सकेनन् । पुष २६ गते 'वितेका पल'सँगै बहुप्रतिक्षित मानिएको मल्टिस्टार 'छ एकान छ' र शिव रेग्मी निर्देशित 'पराई' रिलिज हुनुपूर्व कुनैपनि नेपाली फिल्म रिलिज गराउने आँट नेपाली निर्माताले गर्न सकेनन् ।आँट गरेको भएपनि उनीहरुले पानी भन्न पनि नपाउने अवस्था आउन सक्थ्यो । नचाहँदा नचाहँदै हिन्दी फिल्म उद्योग(बलिउड) सामु आत्मसमर्पण गर्न हामी बाध्य भयौं । बलिउडको निरन्तर हस्तक्षेप भइरहँदा नेपाली फिल्म क्षेत्र भने निरिह बनिरहेको छ । नेपाली फिल्म उद्योग(कलिउड)ले बलिउडसँग कहिलेसम्म आत्मसमर्पण गरिरहने ? यस बिषयमा गम्भीर हुनुपर्ने अवस्था आएको छ । 
 
 
खुल्ला अर्थतन्त्र भएको नेपालमा विदेशी फिल्मलाई बन्देज लगाउन मिल्दैन । त्यसमाथि खुल्ला सीमाना र मिल्दो जुल्दो भाषा र संस्कृतीका कारण भारतका हरेक उत्पादनले नेपाली बजारमा कब्जा जमाइरहेको छ । बलिउडमा करोडौं खर्चिएर फिल्म निर्माण हुन्छन् । त्यसैअनुरुप आफ्नो बजार विश्वव्यापी बनाउन उनीहरु सफल छन् । त्यो तुलनामा नेपाली फिल्म उधोग अत्यन्तै कमजोर छ । नेपाली फिल्म केहि लाख खर्चिएर बन्छन् । निर्माण खर्च करोड नाघ्यो भने अचम्म मान्नुपर्ने अवस्था छ, यहाँको । धेरै बजेट खर्चिएर सफल नभएका पनि कैयन उदाहरण छन् । रिलिज भएका फिल्मले खर्च उठायो भने त्यो फिल्म सफल भयो भनेर मख्ख पर्ने प्रचलन नेपाली फिल्म उधोगमा बनिसक्यो । 
 
 
बलिउडमा एक सय करोड क्लव हुँदै अमिर खान स्टार फिल्म 'धुम-३' सम्म आइपुग्दा पाँच सय करोड क्लव खडा भइसक्यो । नेपाली फिल्म उधोगमा एक करोड क्लवमा दर्ता हुने फिल्मको संख्या गन्दा एक हातमा पाँच औंला पनि भाँच्न नपाएको अवस्था छ । 'लुट', 'चपली हाइट', 'छड्के'लगायतका केहि फिल्मको कमाई करोड नाघेपनि अरुलाई लगानी उठाउनै हम्मे पर्‍यो । नेपालमा रिलिज हुने केहि ठुला बजेटका बलिउड फिल्मले नेपालबाट बर्षमा करिब २५ करोड लैजाने गरेको बताइन्छ । तर नेपालमा बार्षिक १ सय भन्दा बढि फिल्म रिलिज हुन थालेका छन् । उनीहरु सबैको कमाई जोड्ने हो भने पनि त्यति पुग्दैन । 
 
 
नेपालमा फिल्मका दर्शक बढेको बढ्यै छन् । त्यस अनुपातमा फिल्म निर्माणको क्रम पनि बढिरहेका छन् । तर, बिडम्बना दर्शकलाई बाँध्न सक्ने फिल्म बन्न सकेनन् । नारायणगढस्थित ईन्द्रदेव चलचित्र मन्दिरका व्यवस्थापक बामदेव अधिकारी टिकट काटेर हल भित्र छिरेपछि उठ्नै मन नलाग्ने फिल्म बन्न नसक्नुनै हिन्दी फिल्मको हस्तक्षेप बढ्नुको प्रमुख कारण रहेको ठान्छन् । उनी भन्छन्- ‘फिल्म निर्माणको बाढि आएपनि दर्शकलाई सन्तुष्टी दिनसक्ने फिल्म अत्यन्तै कम आए ।’ सशस्त्र युद्ध सकिएलगत्तै २०६४ र २०६५ सालमा फिल्महरुले प्रदर्शनका लागि डेट पाउन गाह्रो पथ्र्यो । अहिले डेट पाउदा पनि प्रदर्शन गर्न निर्माता डराउछन् । ‘ईन्द्रदेव चलचित्र भवनमा 'शिलशिला' र 'कहाँ भेटिएला' ७० दिन भन्दा बढि प्रदर्शन भए’, अधिकारीले प्रश्न गरे- ‘त्यस्ता फिल्म खोइ अहिले ?’ हल सञ्चालकहरु यस्तो अवस्थामा नेपाली फिल्मले हिन्दी फिल्मसँग प्रतिष्पर्धा गर्न कहिल्यै पनि नसक्ने बताउछन् । 
 
 
चितवनकै अन्य फिल्म हल जलमा र गणेशको पनि अवस्था उस्तै छ । यी हलहरुको अहिलेको कमाई भनेकै राम्रा र प्रतिक्षित हिन्दी फिल्म प्रदर्शनबाट हुने कमाई हो । 'चेन्नई एकस्प्रेस', 'क्रिस-३' र 'धुम-३'ले यस बर्ष उनीहरुलाई राम्रै राहात दिलायो । तर, नेपाली फिल्मले दर्शकलाई मात्र होइन हललाई पनि सन्तुष्टी दिएन । जलमा हलका व्यवस्थापक सुनिल श्रेष्ठ नेपाली फिल्महरु राम्रो बन्न नसक्दा हल सञ्चालनमै समस्या भएको बताउँछन् । ‘धुम-३' प्रदर्शन अघि पनि सुख्खा थियो, त्यो चलिञ्जेल केहि आम्दानी भयो, अहिले फेरी उहि हालत छ’, उनले सुनाए । नेपाली फिल्म राम्रो बन्न नसक्दा दर्शकलाई हिन्दी फिल्म हेर्ने बानी लागिसकेको अनुभव उनले गरेका छन् । यस्तै अवस्था हो भने फिल्म हलहरु धेरै समय टिक्न नसक्ने उनी बताउँछन् । 
 
 
अझ पनि केहि फिल्मकर्मीहरु नेपाली फिल्मलाई दर्शकले अन्याय गरेको भाषण गर्दै गरेको सुनिन्छन् । केहि त विदेशी फिल्मलाई बन्देज नै गर्नुपर्ने लविङमै लागेका छन् । तर, त्यसो भन्नुअघि फिल्म राम्रो बनाउनतर्फ उनीहरुको ध्यान गएन । नेपालमा सबैभन्दा बढि कमाई गरेको भनिएको 'धुम-३'ले ६ करोड हाराहारीमा नेपाली रुपैयाँ लग्यो तर हामीले बिर्सन नहुने कुरा के हो भने नेपाली निर्माताले नै लगानी गरेको, नेपाली निर्देशकले नै निर्देशन गरेको र नेपाली कलाकारले नै अभिनय गरेको 'लुट' र 'चपली हाइट'ले पनि यहि हाराहारीमा कमाई गरेकै हुन् । 'लुट', 'चपली हाईट'लगायतका केहि फिल्महरुले त फिल्म क्षेत्रमा लगाउने तयारी गरिएको संकटकालको प्रयासलाई नै बिफल पारिदिए । अझै पनि हामी बलिउडले करोडौं रुपैयाँ लग्यो भनेर रुँदै बस्ने ? की दर्शक बाँध्न सक्ने फिल्म बनाउन प्रयास गर्ने ? दर्शकले नेपाली फिल्म भनेर यसै नाक खुम्च्याएका होइनन् । फिल्ममा हुनुपर्ने बिशेषताकै कमीले उनीहरुलाई बाँध्न नसकेको हो अहिले सम्म । 
 
 
नेपाली फिल्म उधोगमा न निर्देशकले कलाकारको क्षमताको सहि उपयोग गर्न सके न त नेपाली स्टारले नै आफ्नो स्टारडम देखाउन सके । अमिर खानले वाइक र अभिषेक बच्चनले टेम्पो उँडाएको भरमा 'धुम'ले धुम मच्याउने, मुकुण्डो लगाएर उड्दैमा रितिक रोशनको 'क्रिस' हेर्नेको जमात हुने, सलमान खानले गग हल्लाएर मान्छे चुटेको 'दबंग' हेर्न हलमा तँछाड मछाड हुने अनि सारुख खानको लुङ्गी डान्स हेर्न पाइला टेक्ने ठाउँसम्म हलमा नभेट्नुको कारण के हो ? यसको पहिचान गर्नुपर्ने अवस्था आएको छ । बलिउडबाट सिकेर बलिउडलाई बाई-बाई गर्ने हो । उनीहरुको प्रबिधि, उनीहरुको बजार, उनीहरुको लगानीबाट पाठ सिक्न सक्नुपर्छ नेपाली फिल्म उद्योगले, उनीहरुको कथाबाट मात्र होइन । बलिउडको कथा र स्टाइल चोर्न सक्नेले बलिउडको प्रबिधि, बजार र लगानी चोर्न (भौतिक चोरीको कुरा होइन) सक्नुपर्छ । अरुलाई लखेटेर आँफुलाई विजयी बनाउन खोज्नु बुद्धिमानी होइन । 
 
 
नेपालमा अहिले कथा र लगानीको अभाव छैन । अभाव छ त केवल प्रबिधि र बजारको । मौलिक कथालाई नै ध्यान दिंदै प्रबिधि र बजारको व्यवस्थापन गर्न सक्यौं भने नेपाली फिल्म उद्योगको भविष्य छ । होइन भने अबका केहि बर्षमा नेपाली फिल्म क्षेत्र उठाउनै गाह्रो पर्नेगरी धरासयी बन्ने देखिन्छ । कम्तिमा पनि अहिले फिल्मकर्ममा सहभागी पुस्ताले यो अवस्थामा आँफुलाई सक्षम बनाउन सक्ने छैनन् ।