मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.17/5.00)
Text size:-
+
-

फिल्मकर्मीले बुझ्न नसकेको `कस्ट्युम डिजाईन` : नीलिमा शर्मा

फिल्मीखबर, काठमाण्डौ, २०७० पौष ९, मंगलवार

एउटा फिल्मलाई पूर्ण रुप दिन बिभिन्न बिधाहरुको संलग्नता हुन्छ । जसअर्न्तगत म आज कस्ट्यूम अर्थात भेषभूषाको बारेमा केही विस्तृत रुपमा बताउँदैछु । यसको सुरुवात तब भो जब मैंले मेरा पहिलो फिल्म ‘के यो माया हो’बाट सुरुवात गरें । कस्ट्युम डिजाइनरहरुको हावी भएको ठाउँमा, कस्ट्युम स्टाइलिसको रुप पहिलो काम गर्दा नै चुनौतीपूर्ण रह्यो । तरपनि मलाई ती चुनौतीहरु जसरी पनि सामना गर्नु नै थियो, गरेपनि । यसै कुरालाई जोड्दै म यहाँ कस्ट्युम डिजाइनर र कस्ट्युम स्टाइलिस्टका भिन्नतालाई केही प्रस्ट्याउन चाहन्छु ।

 

कस्ट्युम डिजाइनरको काम भनेको कसैका लागी कपडा डिजाइन गर्नु हो जसको लागी डिजाइनरले कपडा बनाउँछ, उसको रङ्ग, रुप, आकार, कपडाको चयन र कुनै अवसरलाई लिएर दिमागमा पहिले डिजाइन बनाउनु र त्यसपछि पहिराउनु हो । त्यसैगरी, स्टाइलिस्टको काम कुनै पनि कपडा चाहे त्यो रेडिमेट होस् या कुनै डिजाइनरको या त साधारण भन्दा साधारण कपडा पनि मिलाएर गरेर त्यसमा जसको लागि त्यो कपडा पाहिराइदिने हो उसैको शारीरिक बनावट, रुप, रङ्ग हेरेर उसलाई लगाइदिनु पर्नेछ । जसमा गर गहनाको सहायताले कहिले काहिं पूर्ण रुप दिने गर्दछ । तर, सम्पूर्ण चिजलाई मिसाउनु र भए भरका चिजलाई लगाउनु पनि स्टाइलिस देखिनु होइन । यी उल्लेखित सबै चीजहरुको सही संयोजन र प्रायोजन नै 'स्टाइल' हो ।

 

पहिलो फिल्म 'के यो माया हो'को समयमा मेरा सोचहरु पनि सिमित नै थिए । मलाई त्यतीबेला लाग्थ्यो कि नेपाल फिल्म हेर्दा दर्शकले टेलिभिजनमा देखिएका चिजहरु सफा पाउन् । पर्दा पहिला सफा लाग्नु पर्दछ जसका लागी भेषभुषाको भार मलाई परेको थियो र सोही अनुरुप नै कथावस्तु अनुसार पात्रहरुलाई कलाकारहरुलाई त्यही पात्र बनाएर पर्दा पर्दा सफा देखाउने काममा नै म लागें । तर आज 'के यो माया हो' हुँदै 'फेसबुक', 'भिजिलान्ते', 'वितेका पल', 'देश खोज्दै जाँदा', 'कवड्डी', 'टलक जंग भर्सेस टुल्के' र 'वान वे'सम्म आइपुग्दा मेरा सिमित सोचहरुमा मात्रै सिमित हुन सकिन । त्यतीबेला खाली पात्रलाई राम्रो र पर्दा सफा देखाउन मात्रै होइन रहेछ भन्ने अनुभुतीले जन्म लियो ।

 

आजको समयमा फिल्ममा शैलीको काम गर्नु पर्दा कलाकार, कलाकारले निभाउनु पर्ने पात्रहरु, डाइरेक्टर, गीत, संगीत, लोकेशन आदी इत्यादी पनि विभिन्न पक्षहरु रहेछन् जसलाई हामीले साथ साथै लानुपर्ने रहेछ । अनि मात्रै एउटा फिल्मले जीवन्त रुप पाउने रहेछ । फिल्ममा विभिन्न विधाहरु छन्, जसअर्न्तगत हामीले विभिन्न सबै विधालाई नै उत्तिकै महत्व दिएर जानुपर्ने हुन्छ । झन् धेरै मिहेनत त्यस्तो विधाहरुलाई गर्नुपर्छ जुन पछि परेको छ । पछि परेको विधालाई त्यतिकै आवश्यकता र उत्सुकताका साथ जबसम्म हेरिदैन तबसम्म ती पक्षहरु पछि नै परिरहन्छन् । तर, वर्तमान समयमा यस्तो भएको पाइँदैन । जुन परिवर्तन हुनु पर्ने विधाहरु थिए, आजको दिनसम्म आइपुग्दा धेरै नभएपनि केही आशालाग्दा परिवर्तनहरु आइसकेका छन् ।

 

राम्रो किसिमको परिवर्तन आइसकेका पक्षहरुलाई परिवर्तन गर्न जरुरी छैन । तर, परिवर्तन अति नै आवश्यक भएको विधामा हामी सबैले ध्यान पुर्याउने हो भने म निर्धक्क साथ भन्न सक्छु कि सम्पूर्ण फिल्मसँग आबद्ध व्यक्तिका साथसाथै दर्शकले पनि नेपाली फिल्मप्रति गर्व महसुश गर्नेछन् । जसरी म मेरो फिल्मसम्बन्धी काम सुरु गर्दा मेरो विधासँगै मेकअप र हेयर दुवै विधालाई सँगसँगै लाने गर्छु । अनि मैंले मेरो पात्रहरुलाई लगाइदिएको पहिरा देख्दा मैंले पूर्ण रुप पाउँछु । यसरी हरेक विधाहरु एक अर्काको लागी नङ र मासु हो ।

 

सबैले बुझेर र मिलेर एकअर्काको विधालाई सम्मान गर्यो भने त्यो दिन पक्कै आउनेछ जहिले सम्पूर्ण नेपालीहरुलाई नेपाली फिल्मप्रति माया लाग्नेछ र त्यही मायाले गर्दा फिल्मप्रतिको कुर्ता, सारी वा लेहेंगा होइन तर, नेपाल फिल्मको फलानो हिरोले, फलानो हिरोइनले लगाएको कपडा नै चाहियो भन्नेहरुको दिन आउनेछ । तब मात्र हामी गौरवान्वित हुनेछौं ।

 

आम मानसमा स्टाइल भन्ने शब्दलाई लिएर गलत धारणा । मेरो विचारमा स्टाइल हरेक मानवमा, हरेक गाउँदेखि शहरमा, हरेक भाषाभाषी, हरेक चोक गल्लीमा फरक फरक छ । फिल्ममा स्टाइल भनेर जब जोडिन्छ त्यसलाई एउटै परिवेशसँग जोड्दा ज्यादा संकुचित हुन्छ । आधुनिक देखिएका पक्षहरु मात्रै स्टाइल होइन तर गाउँले परिवेश र त्यहाँका रहनसहन नै त्यस ठाउँको परिचय वा विशेषता हो भने त्यही ठाउँको लागी नै त्यो स्टाइल हो । पूर्व पश्चित हुँदै उत्तर दक्षिणसम्म हामीले विभिन्न स्टायलहरु देख्न सक्छौं र मलाई लाग्छ स्टाइल खाली पहिरन शैलीमा मात्रै सिमित छैन । पहिरनलाई साथ दिन उनीहरुको आफ्नै भाषा हुन्छ, जसलाई उनीहरुकै स्टाइलमा बोल्ने गर्छन् ।

 

कुनै पनि फिल्मको कार्य सुरु गर्नु भनेको मेरो लागी सर्वप्रथम मेरो आफ्नो कलाकारलाई बुझ्नु हो । सबै राम्रा र मिलेका कुराहरुलाई मात्रै अंगाल्ने हाम्रो वानी छ । तर, फिल्ममा सधैं यी पूर्ण चीजहरु मैंले पूर्ण देखिन्छन् र अपूर्ण चीज जहिले पनि अपूर्ण रहन्छ भन्ने गलत धारणा र सोच छन् विभिन्न माध्यमबाट केही नराम्रा चीजलाई राम्रो देखाउनु र आवश्यकता अनुसार राम्रा चीजलाई पनि नराम्रो पर्ने आवश्यकता आउँदछ । फिल्म क्षेत्रसँग आवद्ध हामी जति पनि छौं, सबैले आफ्नो विधालाई हल्का रुपमा नलिई त्यसको भित्री गहिराइसम्म जाने कोशिश गर्ने हो भने पक्कैपनि माथि उल्लेखित गर्नु कुरा बुझ्नु नै हुनेछ ।