मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.25/5.00)
Text size:-
+
-

शिव रेग्मीको सम्झना : मरेर पनि जो बाँचिरहन्छन्

शिशिर चालिसे, काठमाण्डौ, २०७० पौष ६, शनिवार

एउटा फूल फूल्छ, ओईलाउँछ अनि झर्छ । वसन्तको बहार पनि गृष्म, शरद हुँदै शिशिरसम्म आइपुग्दा उजाड बनिसकेको हुन्छ । एउटा मानिस पनि जन्मन्छ समयसँगै ठूलो हुँदै जान्छ बूढो हुन्छ अनि एक दिन मर्छ । यो प्रकृतिको नियम हो यसलाई बदल्न संसारको कुनै पनि शक्तिले सक्दैन ।

 

मानिस मर्दा उसका परिवार आफन्तजन दु:खी हुन्छन् । केहि समय सम्झिन्छन् र विस्तारै बिर्सदै जान्छन् । यहि सामान्य प्रकृयामा पनि कसैको मरण भने असामान्य हुँदो रहेछ । उसको मृत्युमा पूरै देश दुःखको सागरमा चुर्लुम्म डुब्दो रहेछ । उसको अन्त्यले हरेक मानिसको मन छुँदो रहेछ । जति नै समाजको प्यारो भएपनि  आखिर मृत्युलाई अँगाल्नै पर्दो रहेछ । हरेक व्यक्तिको मृत्यु उहि हो फरक यति मात्र कि कोहि मरेर पनि बाँचिरहदा रहेछन् । आखिर भगवानले पनि राम्रा मान्छेलाई चाँहि छानी छानी बोलाउँदा रहेछन् है ? २०७० मङ्सिर २४ गते नेपाली फिल्म क्षेत्रको आकाशको एउटा चम्किला तारा अस्ताए त्यो पनि सूर्योदय अगावै । वरिष्ठ निर्देशक शिव रेग्मीमा हार्दिक श्रद्धाञ्जली !



२०२१ साल भाद्र ५ गते चितवन बाह्रधरे स्थित खगराज गेग्मीको सानो घरमा एक शिशुको बाल क्रन्दन सुनियो । खगराज रेग्मी र भक्तमाया रेग्मीलाई पूत्रलाभ भएकोमा पूरै बाह्रघरेमा खुसिको सञ्चार भयो । उनै शिशुको नाम जुराइयो, शिवराज रेग्मी । समयसँगै बढदै जाँदा जेठो छोराको पढाइमा लगाव देखेर बाबुआमाले भित्रै सल्लाह गरिसकेका थिए, जेठो छोरालाई जसरी हुन्छ धेरै पढाएर डाक्टर या इन्जीनियर बनाउने । बिचरा बाबु आमालाई के थाहा छोरो स्कुल नै बंक गरेर नारायणी कला मन्दिरमा लुकीलुकी नाटक हेर्न पल्केको छ भनेर ।

 

उमेर बढ्दै जाँदा नाटकले मष्तिष्कमा पारेको अमिट छापको प्रेरणाले रेग्मी नाटक लेखनतिर आकर्षित  हुनुभयो । २०४७ सालमा २६ बर्षको उमेरमा उहाँले नारायणी कला मन्दिरबाट आफनो कला यात्रा शुरू गर्नुभयो नाटक लेखक, निर्देशक र अभिनेताका रुपमा । रङ्गमञ्चमा 'श्रीमतीको औषधी', 'स्वदेश भित्र हराएको नागरिक', 'नेपाली खै', 'माटो बोल्दैन', 'भट्टेकाजीको सपना', 'सहारा', 'यात्रा', 'कुसुम', 'भानुभक्त' लगायत डेढ दर्जन भन्दा बढि नाटकको लेखन तथा निर्देशन गर्नुभएका रेग्मीले केहि नाटकमा अभिनय पनि गर्नुभयो । रेग्मीद्धारा निर्देशित नाटक 'स्वदेश भित्र हराएको नागरिक'ले २०५० सालमा प्रजा प्रतिष्ठानमा भएको राष्ट्रिय नाटक प्रतियोगितामा उत्कृष्ट लेखक निर्देशक सहित चार विधामा अवार्ड हात पारेपछी उहाँको चर्चा उत्कर्षमा पुगेको थियो ।

 

मानवीय स्वभाव, एक पछि अर्को सफलताको स्वाद चाख्न चाहन्छ, यो गुण रेग्मीमा पनि थियो त्यसैले नाटकमा मात्र सिमित नभएर २०५० सालमा उहाँले फिल्म 'प्रेमपूजा' मार्फत लेखनमा पनि हात हाल्नुभयो । 'प्रेमपूजा'को निर्देशन स्व. राजुध्वज राणाले गर्नुभएको थियो । नाटकसँगै फिल्म लेखनमा पनि सक्रिय हुन थाल्नुभएका रेग्मीले 'मोहनी', 'अल्लारे', 'गोर्खाली', 'धर्ती', 'दाग', 'माइती', 'दाइजो', 'भरिया' लगायत १ दर्जनजति फिल्मको लेखन गरिसकेपछि केही फरक कथा समेटिएको 'आफन्त'को लेखन गर्नुभयो । त्यसबखत चल्तीका कुनै पनि निर्देशकले उक्त स्कृष्टमा निर्देशन गर्ने आँट गरेनन् । कारण, त्यसले फिल्मका नायकले नायिकालाई बलात्कार गर्ने कथा भन्थ्यो । कसैले नपत्याएपछि उक्त स्कृष्टमा रेग्मी आफैँले निर्देशन गर्ने आँट गर्नुभयो । यसरी २०५६ सालमा नेपाली फिल्म क्षेत्रमा नवनिर्देशकको रुपमा निर्देशक शिव रेग्मीको उदय भयो ।


जुन फिल्मको कथाबस्तुले दर्शकको मन छुन्छ, जुन फिल्मको गीत दर्शकको मुखमा झुण्डिन्छ त्यही फिल्म नै सफल हुन्छ भन्ने मान्यता राख्ने रेग्मी राजेश हमालको मुक्का मात्र विक्ने त्यो समयमा पनि मानवीय संवेदनामा आधारित पारिवारिक कथावस्तुमा रहेर श्रीकृष्ण श्रेष्ठ र निरूता सिंहलाई लिएर पनि सुपरहिट फिल्म दिन सफल हुनुभयो । लगातार चार फिल्म (आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुःख) सुपरहिट दिने सम्भवत अहिले सम्मकै एकमात्र निर्देशक हुनुहुन्छ शिव रेग्मी ।

 

१४ बर्षे फिल्म निर्देशन यात्रामा २० फिल्म (आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुःख, उपहार, पाहुना, हामी तीन भाई, मुग्लान, मानिस, दुनिया, युद्ध, राम बलराम, कहाँ भेटिएला, हाँसिदेउ एक फेर, अर्जुन देव, साथी म तिम्रो, मनले मनलाई हुन्छ, फूल, पराई, सो सिम्पल) निर्देशन गर्नुभएका रेग्मीका प्राय फिल्म सफल छन् । उहाँका फिल्म सफल हुनुमा गीत सङ्गीतको पनि ठुलो भूमिका रहेको छ । उहाँका जति पनि फिल्मका गीत छन् प्राय सबै हिट छन्  । चट्ट रुमाल, जीन्दगीको गोरेटोमा, बगैचामा नजाउ तिमी, फुलको थुँगा हौ कि, कलकल खोला, मलाई यो जिन्दगीले, दशै आयो, सुनकोसि सुसेलेको आदि गीतलाई आज पनि धेरै दर्शकहरुले सुसेलिरहेका हुन्छन् । मानवीय सम्वेदनालाई दर्शकको मन छुने  गरि प्रस्तुत गर्न सक्ने खुवी भएका रेग्मी छोटो समयमा नै आफ्नो छुट्टै विशिष्ट पहिचान बनाउन सफल हुनुभयो ।


भनिन्छ, कुनै श्रीमानलाई कति सफल बनाउने भन्ने कुरामा श्रीमतीको ठुलो हात हुन्छ । उहाँलाई शिव रेग्मी बनाएर यो उचाइ सम्म पुयाउन श्रीमती ज्ञानु रेग्मीको पनि ठुलो हात छ । मलाई लाग्छ ज्ञानु रेग्मीको ठाँउमा अरु कोहि भैदिएको भए शिव रेग्मी यो उचाइमा पुग्नुहुने थिएन ।


उहाँका पछिल्ला दुई फिल्ममा सहायक निर्देशक भई काम गर्ने सौभाग्य मैले पनि पाएको थिएँ । चार वर्ष पहिला पहिलो पटक उहाँको अगाडी उभिंदा मेरा खुट्टा कामेका थिए । नमस्कार गरेका मेरा हातहरु कापीरहेका थिए तर केही बेरको बसाइमै उहाँको हँसिलो स्वभाव र शालिन व्यवहारको कारण त्यो डर आत्मियतामा परिणत भैसकेको थियो । छोटो समयमै अरुलाई आत्मिय बनाउन सक्ने खुवी थियो, उहाँमा । तर, तीन नयाँ फिल्मको पूर्व तयारी गर्दागदै १० महिना अगाडी उहाँ विरामी पर्नुभयो र त्यही विमारले नै उहाँलाई यो संसारबाट लिएर गयो ।


अधुरा २ सपना

शिव सरसँग एउटा गजवको कन्सेष्ट थियो । नेपाल अङग्रेज युद्धको इतिहास सम्बन्धि । हामी सबैले (सहायकहरु र अन्य नजिकका व्यक्ति) अव तपाई यो कन्सेप्टमा फिल्म बनाएर चमत्कार गर्नुपर्छ भन्ने सल्लाह दिन्थ्यौ । काम पनि अघि बढिसकेको थियो । तर विचैमा उहाँ विरामी पर्नुभयो । उहाँ भन्ने गर्नु हुन्थ्यो, 'यो कथामा फिल्म बनाएँ भने यसले अर्न्तराष्ट्रिय स्तरमा स्थान पाउँथ्यो ।' मलाई पनि लाग्थ्यो उहाँको कद अझै अग्लो हुन्थ्यो । तर, त्यो सपना अधुरै बन्यो । अर्को सरले बारम्वबार भन्ने कुरा, २०७१ सालमा आभिषेक (छोरा) डाक्टर बनेर आउँछ । मङ्सिर १६ गते उसको विहे गर्ने अनि त्यो दिन आफ्नै फिल्मको गीतमा नाच्छु ।


मन मनै भाउजुलाई रूनुस् भनेँ
शिव सरको पार्थिव शरिरलाई अन्तिम दर्शनको लागी बयोधा अस्पतालको प्राङ्गगणमा राखिएको थियो । शोक विह्वल भएकी भाउजुलाई सबैजना यस्तै हो संसार नरूनुस् भनि सम्झाईरहेका थिए । तर, मेरो मनले भनिरहेको थियो, 'रूनुस् भाउनु रूनुस्, मन पखालिने गरि रूनुस् । अवको १३ दिन सम्म यति रूनुसकी चौधौँ दिनदेखि रूनको लागि कुनै आँसु बाँकी  नहोस् । किनकि सरले केही सपनाहरु अधुरै छोडेर जानुभाको छ, त्यसलाई पुरा गर्ने जिम्मेवारी तपाई हो ।


शव यात्रा
चितवनसम्मको यात्रा धेरै पटक गरियो । कति पटक शिव सरसँगै जाँदा यो ठाँउमा फलानो फिल्मको फलानो सिनको सुटिङ गरेको थिएँ भन्दै बाटोभरी कुरा गर्नुहुन्थ्यो । हामी उहाँको कुरालाई ध्यान दिएर सुन्थ्यौं अनि रमाउथ्यौं पनि । त्यो दिन पनि हामी चितवन सम्मको यात्रा सँगै गर्दै थियौं । तर अवस्था विल्कुल फरक थियो ।  हामी त्यही व्यक्तिको शवलाई अगाडी लगाएर जादै थियौं जसले बाँचुन्जेल हामीलाई प्रेरणा दिइरहनुभयो, हामीले आदर्श पिता मानिरहयौ । त्यो दिन हामी त्यही व्यक्तिको शव यात्रा गरिरहेका थियौं मलामीको रुपमा । बाटोभरी कोही कसैसँग बोलिरहेका थिएनन् । बेला बेलामा अगाडी पछाडीबाट सुक्क सुक्क आवाज आइरहन्थ्यो । नारायणी कला मन्दीरमा केही समय राखेपछि उहाँको घर बाह्रघरेमा लिएर गयौं । घरमा बयोबृद्ध आमालाई  देखेपछि भने अहिलेसम्म थामिरहेका आँसु अनायासै झरे । त्यहाँको दृश्य साच्चिकै दय विदारक थियो ।


खट्किएको २ दिन
दशैं अगाडी शिव सरलाई भेटन म उहाँको निवासमै पुगेको थिएँ । त्यो बेलामा भन्नुभएको थियो, 'मेरो दिमागमा एउटा कथा आइरहेको छ । दशैं पछि तँ मलाई २ दिन टाइम दिएस् अनि म भन्छु तँ लेख् । मलाई ठिक भएपछि फिल्म बनाउनु पर्छ ।' मैले हुन्छ भनें । तर, त्यो २ दिन कहिल्यै आएन । म दशैं पछि घरबाट आउँदा उहाँ हस्पिटलको ICU मा हुनुहुन्थ्यो । त्यो कहिल्यै नआएको २ दिन मेरो जीवनभरि नै खट्की रहने छ ।


के कमाउनु भएछ त ?
देवघाटको किनारमा चिता जलिरहेको  थियो । हामी केही पर बसेर बरिष्ठ फिल्मकर्मी निर शाह ज्यूसँग कुरा गर्दै थियौं । निर शाहले भन्नुभयो, 'शिवजीले आफ्नो पूरा जीवन नै फिल्म क्षेत्रमा लगाउनुभयो । फिल्मको अलावा कहिल्यै केही सोच्नुभएन । यतिका बर्षमा उहाँले के कमाउनु भएछ त ? यो उहाँको प्रश्न आफैँलाई थियो या  ? मैले बुझ्न सकिन । मनमा लाग्यो, सामाजिक सञ्जालहरु पूरै शिव रेग्मीमय भएको छ । सञ्चारमाध्यमले सद्भावका साथ उहाँको गुनगान गाईरहेका छन् । अनि देवघाटमा उल्लेख्य मात्रामा शुभचिन्तकहरुको उपस्थिति थियो । यस अर्थमा मलाई लाग्यो अरु जे कमाए पनि नकमाए पनि उहाँले मलामी चाहि धेरै कमाउनु भएको रहेछ ।


शिव सरको भौतिक अस्तित्व अब यो संसारमा छैन । तर उहाँले छोडेर जानु भएका सम्झनाहरु हामीसँग प्रसस्त छन् । उहाँले लेखन निर्देशन गर्नु भएका फिल्महरु हामी माझ छन् । त्यसैले उहाँ मरेर गएपनि उहाँका कृतिहरुले उहाँलाई सधै अमर बनाउने छन् । हामी जस्ता नवप्रवेशीहरुको लागि ती कृतिहरु प्रेरणाको स्रोत बनिरहने छन् ।

 

निर्देशक शिव रेग्मीको तेर्हौं पुण्यतिथीको अवसर पारेर फिल्मीखबर डट कमका लागि शिशिर चालिसे (सहायक निर्देशक)ले तयार पारेको लेख ।

तस्विर स्केच : सुन्दर श्रेष्ठ (आईडियल डिजाईन)