मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मको मनचिन्ते `झोला`

नारायण वाग्ले, काठमाण्डौ, २०७० मंसिर २०, बिहिवार

 कृष्ण धरावासीको झोला शीर्षकको कथा साहित्यिक पाठकहरुले पढेका छन्। अर्थपूर्ण फिल्मका दर्शकहरुले अब यसलाई हेर्न पाउनेछन्। धन्य छन् यादवकुमार भट्टराई जसले राणाकालीन असहाय समाजको एउटा खराब प्रथामाथि लेखिएको कथालाई यथार्थ दृश्यहरुमा बुनिदिएका छन्।
 
धरावासीले लेख्नु र भट्टराईले निर्देशन गर्नुबीच विधाको विभेदमात्र छैन । इतिहासबोध भएको यति मार्मिक र अर्थपुर्ण फिल्म नेपालीबाट नेपाली भाषामा सम्भव छ भन्ने भेद पनि खुलेको छ । यी साहित्यकारले फिल्मका लागि लेखेका थिएनन् र यी निर्देशकले साहित्यलाई दृश्यमा ढाल्ने परख आर्जन गर्न फिल्मी पत्रकारिता गरेका पनि थिएनन् ।
 
भट्टराईले धरावासीको कथा पढ्दा पहाडी खस समाजको सय वर्षअघिको इतिहास बुझ्ने चेष्टामात्र गरेनन्, आम दर्शकलाई बुझाएर धीत मार्ने चेष्टा पनि गरे । त्यसैको प्रतिफल हुन पुगेको छ कथाकै शीर्षकको फिल्म जसलाई मंसिर २० गते विशेष प्रदर्शनीमा हेर्न पाउने दर्शकहरु आफ्ना रुमालमा इतिहासको आँसु पुछ्न प्रेरित भए ।
 
लेखक धरावासीलाई एक पाखे झोला भिरेर हिँडिरहेको भेटिन्छ । उनको ध्याउन्ना भने अरुका झोलामा के कस्ता पोका पुन्तरा छन् भन्ने खोजीनीति गर्ने हुन्छ । फिल्मको आरम्भ र अन्त्यमा उनी आफैं उपस्थित भएर इतिहासको एउटा कठोर सामाजिक पोया फोएका छन् जसले नेपाली फिल्म इतिहासकै सम्भवतः केही उत्कृष्ट दृश्यहरु दिएको छ ।
 
प्रधानमन्त्री चन्द्रशम्शेरले सति प्रथा उन्मुलनको घोषणा गर्नुअघि पुर्वी पहाडको एउटा भिरालो गाउँमा बस्ने एउटा बाहुन परिवारको कथा हो यो । यो परिवारमा दाजुभाइ, बाबुछोरा, जेठानी देउरानी अरुका घरमा जस्तै सामान्य पात्र छन् । खाली खुट्टा र घरवुना कपडाको समय हो । ढिकी जाँतो, वस्तुभाऊ, गाग्रीमा पानी बोक्ने उकालो, तोरीबारीछेऊ माटोमा कपुरी क.. लेख्न सिकाउने बा र सखारै उठेर घरधन्दा सुरु गरेर सकाउने अनि राति न्यानो तेल धसेर सुत्न सघाउने आमा ।
 
हाम्रो निकट अतितका महिलाप्रति विभेदकारी सामाजिक संरचना र अन्धविश्वासका सम्बन्धले रुमल्लिएको एउटा आम गाउँ र एउटा आम परिवार यस कथाका यथार्थ हुन् । आफुभन्दा धेरै कम उमेरकी कान्छी श्रीमती भित्र्याएर बुढेसकालको सहारा खोज्ने त्यो परिवारको मुली बितेपछिको सती जाने दृश्यहरु आँखाभन्दा सोझै हृदयमा प्रवेश गर्ने स्तरका छन् ।   
 
शताब्दीअघिको समाजको यथार्थ दृश्यात्मक संरचना आफैंमा चुनौतीपुर्ण हो । त्यसमाथि सती प्रथाका बारेमा फिल्म त झन कला र सीपका दृष्टिले थप परीक्षा नै हो । त्यो पास गरेका मात्र छैनन् यस फिल्मका शिल्पीहरुले । सती लैजाँदाका र सती गएकी युवतीको संघर्षका दृश्यलाई अत्यन्त मिहिन तरिकाले वेदनाको उत्कर्षका रुपमा सफलतासाथ प्रस्तुत गरिदिएका छन् ।
 
बाबु र आमा गुमाउने एकजना बालकको आँखामार्फत कोमल भावमा प्रस्तुत गरिएको यो कठोर कथा इतिहासप्रतिको कटाक्ष पनि हो । महिला समानताका दृष्टिले अन्यायी समाजको चिरफार गर्ने यसको उद्देश्य पनि देखिन्छ । यो आफैंमा एउटा अत्यन्त मार्मिक कथा हो र मार्मिक भएकै कारण सुन्दर बन्न पुगेको कथा हो । परम्परामा अढ्ने समाजको विश्वाससामु व्यक्तिको आकांक्षाको कुनै कदर हुन्थेन । व्यक्तिको स्वतन्त्रता सामाजिक परिवन्दमै कैद थियो । घटना प्रसंगले कुनै परिवार अपवाद हुन पुग्यो भने मुग्लान झर्नु पर्थ्यो ।
 
मातृवात्सल्यको न्यानोमा हुर्किँदै गरेका बालकले सती गएकी आमाको झलक पाएका अत्यन्त शक्तिशाली र मर्मस्पर्शी दृश्यहरुमार्फत यस फिल्मले करुणा र क्रान्तिभाव एकसाथ जागृत गरिदिन सक्छ । शोकमा समेत पञ्चैबाजाको अनवरत प्रयोगले सती जाने प्रक्रियाका हिक्क हिक्क आउने कारुणिक क्षणहरुलाई अत्यन्त संवेदना प्रदान गरेको छ ।
 
निख्खर रातो पहिरन र ऋंगारमा सजिएकी तर सतीको नियमले मरेतुल्य युवतीको मशानघाटतिरको यात्राका क्षणहरुको उत्कृष्ट छायांकन छ । भिरको गुफा र नग्न आमाको छवि तथा त्यसका झलकहरुको दृश्यान्वयनमा प्रयुक्त प्रकाश र कोण अत्यन्त बलिया छन् । सामान्य क्षणहरुलाई पनि प्रतीकात्मक बनाउन ध्यान दिएकै भएर पनि आमा छोराको सम्बन्ध यस फिल्मको एउटा शक्तिशाली सावित हुन सकेको छ ।      
 
फिल्म सुरु भएको केही छिनपछि नै सघन दृश्यहरु आउन थाल्छन् । कति सघन भने यस फिल्मको अन्तराल लेखिएको पर्दा सबभन्दा तर्कहीन र असंगत लाग्छ ।
 
ब्रम्हान्डको विशालताभित्र सधैं एकै ठाउँ उदाउने सुर्य र अस्ताउने घाम कति कर्कशलाग्दो हुन्छ । तर समाजको रीति र परिवन्दको थीति बेहोर्ने परिवारहरु एउटा पाखो, भिर वा आसपासका घरहरुमात्रलाई संसार सम्झेर जीवन काटिरहेका हुन्छन् । घाट, भीर, जंगल, घर, बारी र कान्लाहरुको परिवेशमा सानो समाज आप्म्नै नियतिको दाम्लोमा बाँधिएर बसिरहेको हुन्छ । त्यसबाट फुक्काफाल हुन त सम्भवै हुँदैन, फुक्का हुनु भनेको नेटो काट्नु हो ।
 
कसैका आँखा नपर्ने जंगल हुँदै भाग्दा पनि चनाखो हुनुपर्छ । तल फराकिलो परिवेशमा गए पनि पहाडबाट वर्ष दिनमा नुन खेप्न जानेहरुले देख्न सक्छन् । डाँडापारिको अर्को भुगोल पनि मान्यताका हिसाबले अलग नभएको अवस्थामा परिचयविहीन बाँच्नु वा पहिचान लुकाएर जीविका गर्नु मात्र स्वतन्त्रताको अर्को नाम थियो । आखिरी विदाईको दृश्यले त्यसको चतुर्याईंपुर्ण चित्रण गरेको छ ।
 
यो फिल्म इतिहासबारे बनेको भएर भन्दा पनि इतिहासप्रति जवाफदेही भएर बनाएकाले संवेदनशील हुन पुगेको छ । दृश्यका साथ संवाद यथार्थ बनाउन खोजिएको छ । प्रसंगहरु मार्मिक छन् । भक्कानो फुटाउन सक्ने सघन क्षणहरुलाई पनि सहज पारिएको छ । नग्न दृश्य कलात्मक बनाउन सक्नु आफैंमा कुशलता हो ।  
 
फिल्मले वर्तमान दर्शकलाई समसामयिक विषयमा सोझै सन्देश दिएको छैन । बरु संवेदना जगाएको छ । समाजको विकासक्रम सम्झाएको छ । कुटिल मान्यताहरुको परिवर्तनको अकाट्य अपरिहार्यता बुझाएको छ । ऐना न हो फिल्म । यसरी हेर्दा यो फिल्म सय वर्षअघिको हाम्रो कुरुप मान्यताको मर्मस्पर्शी पाटो हो । हामीले जति पुछे पनि कुनै पनि ऐना सधैं सफा रहिरहन सक्दैन ।


नेपाली फिल्मको इतिहासको ऐनामा झोला एउटा शक्तिशाली रुमाल भएको छ जसले प्रायः जम्ने गरेको धुलो सफा गरिदिनेछ । हाम्रा आम दर्शक र फिल्म निर्माणमा कस्सिनेहरुका आँखाका कसेर पनि पुछेर यसले समाज हेर्न सघाउने छ ।
 
नेपाली फिल्मको मनचिन्ते झोला त एउटै कथाले कहाँ भरिन्छ र ?

 

साभार: सेतोपाटी डट कम