मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(24 votes, avg 4.71/5.00)
Text size:-
+
-

ज्यानमाराले समेत मलाई बेइज्जत गरिस् भन्यो - विनिता वराल

फिल्मीखबर, काठमाण्डौ, २०७० मंसिर ७, शुक्रवार

मसँग नयाँ खबर के छन् ? मेरो के गल्ती भयो फेरी ? कुनै लफडामा त फसिन् ? मिडियाको फोन आउँदा प्रायः म यी र यस्तै खाले प्रश्न आफैंलाइ सोध्ने गर्दछु । फिल्म क्षेत्रमा आवद्ध भएपछि म तर्सिने भएको छु । सायद मैंले गर्ने काम र कुराको बुझाइ सकारात्मक भएन कि !

 

करिब एक साता अघि फिल्मीखबर डट कमबाट उत्सब जी (उत्सब रसाइली, फिल्मखबरकर्मी)ले मलाई फोन गर्नुभयो । म केही बेर सोचमग्न भए । फेरी कुन कन्ट्रोभर्सीको कुरा सोध्न उत्सब जीले फोन गर्नुभयो ? भन्ने सोच्दै मोबाइल रिसिभ गरे । उहाँले सुरुमै भन्नुभयो, `तपाई अपरिपक्व मान्छे कसरी परिपक्व कृषिमा आवद्ध हुनुभयो ? यो विषयमा एउटा आफ्नो अनुभव लेख्नुस् न !` म अचम्मित र केही खुसी भएँ । उत्सबजीलाई मैंले हुन्छ भनिदिए । र, एक सातामै मैलें कृषिमा लाग्दाको आफ्नो अनुभवलाई अक्षरमा उतार्न सफल भएँ ।

 

जब मैंले तरकारी खेती सुरु गरें मेरा साथी, दिदि बिहिनी, भाइ, गाउँदेखि शहरसम्मका व्यक्तिले तिमी हिरोइन भएर पनि के यस्तो काम गरेको ? फिल्म नपाएर तरकारी गोडमेल गर्न थालेको ? भन्ने जिज्ञासा राख्ने गर्दछन् । रमाइलो कुरा त के भयो भने, ज्यानमारा केसमा जेल परेर आउनु भएका एकजना व्यक्तिले समेत मैंले लाजमर्दो र बेइज्जत हुने काम गरे भन्नुभयो । मैंले मन मनै सोचें, कृषि प्रधान देशका सन्ततीको सोचाइ यस्तै हुने हो त ? देशका हरेक तहका व्यक्ति अन्न र साग सब्जी नै खान्छन् । मेरो बेइज्ज भयो भन्ने ती दाजुले जेलमा हुंदा चाहि के खाए होलान् ?

 

जब मैंले अभिनय बाहेक पनि केही गर्नुपर्छ भन्ने सोंचे, सुरुमै मलाई कृषि पेशा अंगाल्दा राम्रो हुन्छ भन्ने लाग्यो । बिनिता वराल फिल्म नपाएर कृषिमा ? भन्ने तपाईका प्रश्न हुन सक्छ । हो मलाई फिल्मले पालेन । फिल्ममा पैसा कमाउँछु भन्ने सोचले म आएको पनि हैन । फिल्म क्षेत्रमा केही नयाँ गर्छु भनेर म फिल्ममा आएकी हुँ । के गर्नुभयो ? या, के गर्नु हुन्छ ? भन्ने अर्को प्रश्न हुन सक्ला । मसँग यसको उत्तर छैन । तर म त्यो दिनको पर्खाइमा छु, जुन दिन म यस प्रश्नको उत्तर दिन लायकको हुनेछु ।

 

अहिले कृषि मेरो लागी औषधी जस्तै भएको छ । जुन मेरो मनको यात्रामा सधैं हिड्न चाहन्छु । मलाई कसैले गाली गर्दै केही भन्ला, मैंले लगाउने पहिरनमा नकारात्मक टिप्पणी गर्लान्, मेरो फिल्म हिट नहोला भन्नेमा मलाई कुनै चिन्ता छैन । मलाई तरकारी फार्मको चर्को गर्मीले काली बनाएको पनि कुनै चिन्ता छैन । फार्ममा खेतालाहरुसँग बसेर खाजा खाँदा आनन्द लाग्छ । जब म दिनभरीको परिश्रमले एकदम थाकेको हुन्छु त्यतीबेला म रातको निद्रा सफल भएको अनुभव गर्छु ।

 

मलाई हजार भन्दा एक मुठा साग बेच्दा पाएको ५ रुपैयाँ ठुलो लाग्छ । मैंले धेरैको मुखबाट सुनेको छु, सतिले सरापेको देश यो हो । यहाँ केही हुंदैन त्यसैले गरिखान अन्य देश नै जानुपर्छ । म पनि कुनै बेला यस्तै सोच्थें । तर मेरो सोच गलत थियो । मलाई लाग्छ, नेपाल सतीको श्राम भन्दा पनि भगवानले गरि खाऊ भनेर आशिवार्द दिएको देश हो । जबकी हामीसँग गरिखान जमिन छ । उब्जाउ माटो हुंदा पनि गरिखान नसक्नु सतिले सरापेको देश होइन, हाम्रै कमजोरी हो ।

 

विदेशमा गएका नेपालीको दु:खको खबर सुन्दा दिक्क लाग्छ । गएको हप्ता मैंले राष्ट्रिय पत्रिकामा एक जना वृद्धले भनेका थिए, 'मौरी पालन गरेर वर्षको ७० लाख कमाउँछु, मेरो छोरो खाडी मुलुकमा महिनाको २७ हजार जोगाएर दुःख गर्दैछ । छोरो फर्कर आए सहयोग हुन्थ्यो ।' युवालाई कृषिमा आकर्षित गर्न सरकारले धेरै वटा योजना ल्याएको छ । हामी त्यहाँ सम्म पुग्न सक्दैनौं भनेपनि विदेश जान छुट्याउने रकमले नै व्यवसाय या तरकारी खेती गर्न सकिन्छ । यहाँ काम मात्रै सुरु गर्नुपर्छ सहयोग गर्ने धेरै भेटिन्छन् । मैंले जुन सहयोग कृषिमा पाएँ अन्य क्षेत्रमा पाउन सकिंन ।

 

कृषि प्रधान प्रमुख सरद चन्द्र श्रेष्ठदेखी विभिन्न संघ संस्था न्यू लक्की इन्टरप्राइजेज, गौतम श्री अर्गानिक फार्म, डिएल एग्रीकल्चर जस्ता संघ संस्थाले मलाई सहयोग गरिरहनु भएको छ । कलाकारलाई जस्तो सहयोग अरुलाई नहोला भन्ने शंका हुन सक्ला । तर, कृषिमा लागेपछि तपाईलाई अरुले सहयोग गर्नु पर्दैन, तपाई अरुलाई सहयोग गर्न सक्ने हुनुहुनेछ ।