मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

फिल्ममा देखिएको तिहारको कथा : विजयरत्न तुलाधर

फिल्मीखबर, काठमाण्डौ, २०७० कार्त्तिक १४, बिहिवार

दिपावली भनेको उल्लासको प्रतिक हो । धेरै जसो फिल्ममा दिपावलीका दृश्यलाई उल्लासकै रुपमा प्रस्तुत गरिन्छ । तर, कुनै कुनै फिल्ममा तिहारकै बेला आइपरेका संकट पनि उजागर गर्ने गरिएको छ ।

 

निर्देशक तुलसी घिमिरेको सर्वाधिक सफल फिल्म 'चिनो'मा तिहार मनाइरहेकै बेला फिल्मका खलपात्र रातेकाइँला (सुनिल थापा) ले नायकको परिवार माथि हमला गर्ने दृश्य राखिएको छ । यही हमलामा नायकका बु्वाको हत्या हुन्छ भने हमलाबाट ज्यान जोगाउन भाग्ने नायकको परिवारका सबै सदस्यहरु एक अर्काबाट छुट्टिएर अलग्गिन पुग्छन् । निर्देशक शम्भु प्रधान प्रधानको 'सम्झना' फिल्ममा रोगले थला परेकी नायिकाको घरमा भैलिन आउने दृश्य राखिएको छ । जुन अत्यन्तै मार्मिक दृश्यको रुपमा अहिलेसम्म पनि दर्शकको मानसपटलमा बसिरहेकै छ ।

 

नायक विश्व बस्नेत र भारतीय नायिका मीरा माधुरीद्धारा अभिनित 'अन्याय' फिल्ममा पनि नायिकाले तिहारमा लक्ष्मीपूजा गरेर झिलिमिलि धरमा बत्ती बालेर गीत गाई नृत्यमा मस्त भईरहँदा मन्दिरमा मूर्तिको चोरी गरी लग्ने दृश्य देखाइएको छ । निर्देशक शम्भू प्रधानकै अर्को फिल्म 'स्वर्ग'मा नायिका गौरी मल्लले तिहारको बेला 'तिहारै आयो लौ झिलिमिली..' गीतमा गरेको नृत्य पनि नेपाली फिल्मको पर्दामा देखिएको तिहारको एउटा स्मरणीय दृश्यको रुपमा लिन सकिन्छ । फिल्म स्वर्गमा गौरी मल्लले अर्जुन श्रेष्ठको दिदीको भुमिका निर्वाह गरेकी छिन् ।

 

कतिपय फिल्मको शिर्षकबाटै यो सम्बन्धको महत्व झल्काइको छ भने कुनै कुनै फिल्मको पर्दामा भाईटिका गरिहेकै दृश्य पनि राखिएको हुन्छ । दिदीभाई, भाईटिका, दिदी, प्यारी बहिनी, निखिल दाई केही त्यस्ता फिल्महरु हुन जुन फिल्मको शिर्षकबाटै दाजु बहिनी वा दिदीभाइ बीचको सम्बन्ध झल्काउने खालका फिल्म भन्ने बुझ्न सकिन्छ । यस्तै गरी कृष्टि मैनालीले दोहोरो भुमिका निर्वाह गरेको 'लक्ष्मीपुजा' पनि तिहारको लक्ष्मीपुजासँग जोडिएको महत्वपूर्ण फिल्म हो । यो फिल्ममा लक्ष्मीपूजाको दिन जन्मिएका दुई दिदी बहिनीका रुपमा कृष्टी मैनालीले दोहोरो भुमिका निर्वाह गरेकी छिन् ।

 

फिल्म 'निखिल दाई'मा रेखा थापा अभिनेता निखिल उप्रेतीको सौतनी बहिनीको भुमिकामा प्रस्तुत भएकी छिन् । फिल्ममा बहिनी माथि संकट आइपर्दा सौतनी दाजुले उद्धार गरेको कथा भन्छ । यस फिल्ममा दाजु बहिनीप्रतिको साँचो माया उजागर गर्ने प्रयत्न गरिएको छ । यसरी दाजु र बहिनी बीचको सम्बन्ध दर्शाउने अन्य फिल्म अन्र्तगत 'प्यारी बहिनी'मा सुमिना श्रेष्ठले उत्तम प्रधानको बहिनीको भुमिका निर्वाह गरेकी छिन् भने 'चट्टान'मा संचिता लुइँटेलले राजेश हमालको बहिनीको रुपमा अभिनय गरेकी छिन् ।

 

फिल्म 'धर्म'मा अपराधको दुनियाँमा फँसेका भाई सरोज खनालको पछि लाग्ने प्रहरी निरीक्षक दिदीको रुपमा कृष्टि मैनालीले अभिनय गरेकी छिन् । यसरी अपराधी र प्रहरीको विषयलाई फिल्म 'विजय पराजय'मा पनि प्रस्तुत गरिएको छ । एउटा अपारधी र अर्को प्रहरी बिचको द्धन्द्धलाई दिदीभाई बिचको संवेदनशील नातामा गाँसेर बनाइएको फिल्म 'धर्म'मा जस्तै 'विजय पराजय' फिल्ममा बहिनी बनेकी रुपा रानाका दुई दाजुहरु भुवन केसी र कृष्ण मल्ल मध्ये एक अपराधी र अर्का प्रहरी अधिकृत बन्ने प्रसङ्लाई प्रस्तुत गरिएको छ भने भाईटिकाको दिन दुबै दाजुहरु बहिनीको हातबाट टिका थाप्न आउने प्रसङ्गलाई बडो रोचकताका साथ प्रस्तुत गरिएको छ ।

 

फिल्म 'विजय पराजय'को यही भाइटिकाको दृश्यमा प्रयोग गरिएको 'निधारमा लर्काएर सप्तरंगी टिको...' गीतले भाईटिकाको विधि र महत्वबारे वर्णन गरेको छ । भाईटिका शिर्षकको एउटा फिल्ममा दिदी बनेकी झरना बज्रचार्यलाई घमण्डी नारीको रुपमा प्रस्तुत गरिएको छ । यो फिल्ममा भाई बनेका प्रफुल्ल राज भण्डारीको कारण दिदीको हृदय परिवर्तन हुने देखाइएको छ । 'दिदी' फिल्ममा मिथिला शर्माले आफ्ना भाई बहिनीहरुको पालन पोषणमा जीन्दगी नै समर्पण गरेकी ममतामय त्यागी दिदीको भुमिका निर्वाह गरेकी छिन् । यस फिल्ममा मिथिला शर्माले गरेको भावुक अभिनय हेरेर नरसाएका आँखा थिएनन् भन्दा अत्युक्ति नहोला ।

 

शिव श्रेष्ठ र गौरी मल्लले बहिनी र दाजुको भुमिका गरेको 'मामाघर' अनि अर्जुन श्रेष्ठले गौरी मल्लको भाईको भुमिका निर्वाह गरेको 'स्वर्ग' पनि उल्लेखनिय फिल्म हुन् । रगतकै नातामा केन्द्रित यी फिल्म बाहेक कतिपय फिल्ममा भावनात्मक साइनो गाँसेर दिदीभाइ वा दाजु बहिनी बनेका प्रसङ्गहरु उल्लेख गरेका दृश्यहरु हेर्न पाइन्छ । यस्ता दृश्यहरु धेरै फिल्ममा छन् भने त्यस्ता प्रसङ्ग मध्ये 'पछ्यौरी' फिल्ममा अभिनेता सुनिल थापाले नायिका कृष्टि मैनालीलाई बहिनी मानेको कुरा थाहा नपाउँदा सुनिल थापाको दाम्पत्य जीवनमा कलह हुने दृश्यलाई महत्वपूर्ण रुपमा लिन सकिन्छ ।

 

भाइटिकाको दृश्य फिल्म पिंजडामा पनि राखिएको छ । यसरी दाजु बहिनी वा दिदी भाई बीचको सम्बन्धले नेपाली फिल्ममा ठुलै महत्व राख्दै आएको पाइन्छ । नेपाली फिल्मको पर्दामा तिहारका विविध पक्ष दर्शाउने प्रसंग र दृश्यहरुले राम्रै प्रभाव छोड्न सफल भएका उदाहरण धेरै छन् ।