मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

फिल्मलाई समाजको हरेक वर्गले स्विकार्नु पर्छ : शिवम अधिकारी

फिल्मीखबर, काठमाण्डौ, २०७० भाद्र १०, सोमवार

एउटा पटकथाकार बन्नु सामान्य कुरा हैन । एउटा डाक्टरले सम्बन्धित रोगहरुको उपचार विधि जाने पुग्ला । एउटा ईञ्जिनियरले सम्बन्धित विषयमा दक्षता हाँसिल गरे पुग्ला । एउटा वकिलले कानुनलाई ब्याख्या गर्न सके पुग्ला । तर, एउटा पटकथाकारले समाज, देश र संसार बुझ्न जरुरी हुन्छ ।

 

पटकथाकारमा सामाजिक मनोविज्ञान, राजनीतिक परिस्थिती, आर्थिक अवस्थाको साथ साथै फिल्मको प्राविधिक ज्ञान पनि हुन जरुरी छ । किनभने, उसले लेखेको फिल्म समाजको एउटा वर्गले मात्रै हेर्दैन । समाजको हरेक वर्गले उसको फिल्मलाई स्विकार गर्नुपर्छ । पटकथा तयार गर्नु उसको रोजीरोटी मात्र होईन, वर्तमान सामाजको मार्ग दर्शन हो भने भोलीको ईतिहासको साक्षी पनि हो । यसो भन्दैमा सबै कुरामा पटकथाकार दक्ष हुनै पर्छ भन्न खोजिएको होइन । कम्तिमा पनि विषय माथि जानकार हुनुपर्छ । अन्य कुरा पटकथाको विषयबस्तु अनुसार अध्ययन अनुसन्धान गर्ने हो ।


फिल्म क्षेत्रमा दुई थरीका पटकथाकार विद्यमान छन् । एक पढेका, अर्को परेका । पढ्न जरुरी छ । के यतिले मात्र पटकथाकार परिपक्व होला त ? के यतिले ऊ राम्रो पटकथाकार बन्ला ? त्यो भन्दा ठुलो कुरो अध्ययन गर्नु जरुरी छ । हाम्रो फिल्म क्षेत्रमा परेका र पढेका पटकथाकार धेरै छन् । तर, अध्ययन गरेका धेरै कम छन् । जबसम्म पढेका र परेका पटकथाकारहरुले अध्ययन गर्दैनन् राम्रो पटकथा बन्न गाह्रो हुन्छ ।


जब एउटा पटकथाकार सामाजिक, राजनीतिक, भौगोलिक, नैतिक, प्राबिधिक र मनोबैज्ञानिक (कथा अनुसार पात्रहरुको मनोविज्ञान बुझ्न र बनाउन सक्ने) विषयमा पोख्त हुन्छ, तब एउटा राम्रो पटकथा तयार हुन्छ । फिल्मको मुटु हो, पटकथा । जसले फिल्म रुपी शरीरलाई रक्तसञ्चार गर्छ । जीवित राख्छ, तन्दुरुस्त बनाउँछ । यदि त्यही मुटु कमजोर भयो भने फिल्म पनि जीवित बस्न सक्दैन । यसलाई म फिल्मको संविधान भन्न चाहन्छु । जुन अक्षरस फिल्मका सदस्यहरुले पालना गर्नुपर्छ  ।


फिल्म भित्र आफ्नै एउटा संसार हुन्छ । पात्रहरुको आफ्नो चरित्र हुन्छ । आफ्नै उद्धेश्य हुन्छ । पटकथा रुपी संविधानले फिल्मका पात्रहरुलाई फरक फरक भुमिकामा फरक फरक नियम लगाएको हुन्छ । त्यही नियम पालना गरेर पात्रहरु पटकथाको उद्धेश्यमा पुग्नु पर्छ । यसलाई नि:शर्त पालना गराउने जिम्मेवारी निर्देशकको हुन्छ । तर यति कडा निर्देशनको साथ बनाइएको पटकथाको हत्या किन हुन्छ ?


जसरी राजनीतिक पात्रहरुलाई अप्ठ्यारो पर्दा बाधा अडकाउ फुकाउ भन्दै संविधानको गलत ब्याख्या गरेर संविधान मिच्ने चलन छ । त्यसरी नै फिल्मको निर्देशकलाई पनि अप्ठ्यारो पर्दा बाधा अड्काउ फुकाउ (फिल्ममा यसलाई कम्प्रोमाइज भन्छन्) भन्दै पटकथा रुपी संविधानको गलत ब्याख्या गरेर फिल्म पनि भताभुङ्ग बनाईन्छ । फलस्वरुपः फिल्म न हलिउड जस्तो बन्न सक्छ न बलिउड जस्तो नै । अनि पटकथा कमजोर भयो भनेर दोष दिइन्छ । फिल्ममा योग्य पटकथाकार आउन जरुरी छ । निर्देशक र पटकथाकार बिच पर्याप्त छलफल हुनु पर्छ ।


नोट : पटकथाकार शिवम अधिकारी द्धारा लिखित यो लेख एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७० को स्मारिकामा प्रकाशन भएको छ ।