मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

स्क्रिप्ट पढ्दा मम्मीसँगै आँसु बग्यो : वेनिशा हमाल

फिल्मीखबर, काठमाण्डौ, २०७० श्रावण १०, बिहिवार

फिल्म महसुशको लागि एक म्युजिक भिडियोमा मैले प्ले गरेको चरित्रलाई मन पराएर अफर गरिएको थियो । महसुशका निर्माता कल्याण घिमिरे र निर्देशक नवल नेपालले पहिलो भेटमा वन लाइन कथा सुनाउन भयो । फिल्मको वन लाइन चाख लाग्दो लाग्यो उहाँहरु समक्ष स्क्रिप्ट पढ्ने जिज्ञासा राखें ।

 

पहिलो पटक स्क्रिप्ट हातमा पर्दा उत्साह सँगै फिल्म खेल्ने या नखेल्ने भन्ने दुवै विकल्प म सँग थियो । स्क्रिप्ट अध्ययनमा मम्मी पनि सँगै हुनुहुन्थ्यो । जुन उत्साहको साथ मैले स्क्रिप्टको पाना पल्टाएको थिएँ, त्यो उत्साह स्क्रिप्ट पढुञ्जेल पाएँ । पात्रको संवेदनामा मम्मी र मेरो दुवैको आँखा रसाए । स्क्रिप्ट चित्त बुझ्दो भएपछि मैले कल्याण सरलाई फोन मार्फत फिल्म खेल्न तयार छु भनिदिएँ ।

 

पात्र केन्द्रित हुन एक पटकको मात्रै स्क्रिप्ट अध्ययन पर्याप्त थिएन । मैले पटक-पटक स्क्रिप्ट चरित्रसँग नजिकिन स्क्रिप्टको अध्ययन गरें । पर्दामा मैले विद्या नाम गरेकी पात्रको चरित्र निर्वाह गर्नु थियो । जुन पात्रको उमेर सँगै भावनात्मक संवेदना मेरो भन्दा परिपक्व थियो । यदि विद्या म भन्दा कम उमेरकी भएको भए आफुले पार गरिसकेको मनोविज्ञान बुझ्न मलाई त्यती गाह्रो नहुन सक्थ्यो । एउटा कलाकारको प्रमुख चुनौती भनेकै हरेक चरित्रलाई आत्मसाथ गर्नु नै हुन्छ । तीन पटक सम्मको निरन्तर स्क्रिप्ट अध्ययन र निर्देशक नवल नेपालको सुझाव अनुरुप विद्याको उमेर, जीवनमा आउने उतार चढावसँगै बद्लिने मनोदशा बुझ्न मैले वायोग्राफी तयार पारें । जस्ले विद्यासँगको निकटतामा सहजता पैदा गर्न सघायो ।

 

सुटिङको प्रारम्भमा गरिएको केही दिनको वर्कसपले मलाई पूर्ण विद्या बनायो । साथमा युनिटका अन्य पात्रसँग नजिक हुन पनि वर्कसपले मद्धत पुग्यो । निर्देशक नवल नेपालसँग क्यामेरामा मेरो दोस्रो पटकको सहकार्य थियो । एउटा म्युजिक भिडियोमा काम गरिसकेकाले उहाँलाई मेरो अभिनय क्षमता र मलाई उहाँको काम गर्ने शैली राम्रोसँग थाहा थियो । एउटा कलाकारको क्षमतालाई बुझेर काम गर्ने निर्देशकको लिस्टमा निर्देशक नेपाल अटाउनुहुन्छ ।

 

नवल सरको सुझाव र सिकाइ, केकी अधिकारीसँगको सामिप्यता, आर्यन सिग्देलसँगको सहकार्यता र कल्याण सरसँगको सहयोगले करिब एक महिनाको सुटिङलाई अझ बढी सहज बनाइदियो । सुटिङमा एक दिन पनि खल्लो र नरमाईलो महसुश भएन । हरेक पल मेरा लागि अविस्मरणिय छन् । म सहित मेरो टिमले जसरी सहजताका साथ काम गर्यो त्यति नै सहजताका साथ हाम्रो यो समन्वय र मिहेनतलाई दर्शकले पनि सकारात्मक महसुश गर्नुहुनेछ भन्ने आशा र विश्वास छ ।

 

फिल्म यही साउन ३२ गते देशभरबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति जति नजिकिदै छ, त्यती नै मनमा डर पनि छ । जसरी पात्रका संवेदनामा मेरो र मम्मीको आँखा रसाएका थिए, त्यसरी नै दर्शकका आँखा रसाउँलान् कि नरसाउँलान् ? जुन विश्वासका साथ मैले विद्यालाई आत्मसाथ गरेकी थिएँ, विद्यालाई दर्शकले आत्मसाथ गर्लान् कि नगर्लान् ? साउन ३२ गते सम्म महसुशकी विद्या र वास्तविक वेनिशाको प्रतिक्षामा यही हुनेछ ।