मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनामनगरको कलानगरमा बसेर हेर्दा : राजन खतिवडा

फिल्मीखबर, काठमाण्डौ, २०७० आषाढ १९, बुधवार

फिल्मकर्मी, सञ्चारकर्मी तथा बिभिन्न संघ संस्थाहरुले ओत पाएर रंगीएको अनामनगरले बिस्तारै नयाँ पहिचान बनाउँदै छ । फिल्मका सुरुदेखी अन्त्यसम्म गर्नुपर्ने सबै काम यहि हुन्छन् र निक्कै पैसा पनि घुम्छन् । बिहानको समय सुटिङका बसहरुले भरिएका हुन्छन्, सडक । अनेक रुपमा धेरै कलाबस्तु उत्पादन भइरहेका छन् यहाँ । यो अव्यवस्थित शहरमा स्थाई आयुको त ठेकान हुँदैन तर अहिलेलाई अनामनगर कलानगर भएको छ ।


फिल्म भविश्यको नक्शा र बहस
बिहान देखी साँझसम्म सिंहदरवार पूर्वीगेट अगाडी फिल्मकर्मीहरुको जमघट र बहस गर्ने जक्सन भएको छ । लाग्छ नेपाली फिल्ममा सुन्दर भविष्यको नक्शा कोरिंदै छ, चिया पसलबाट । यि जक्सनका चिया पसलहरु र सडक पेटी निर्माता, निर्देशक, कलाकार, पत्रकार र दर्शकहरुको तिता मिठा तर्क वितर्कले तात्तिएको हुन्छ । सडक पारि सिंहदरवारको पर्खालका भित्तामा अनेक रुपरंगका अनुहारले भरिएका फिल्मका पोस्टरहरु टल्कन्छन् । फेरी भित्तामा नयाँ पोस्टर टाँसियो कि वारी हाँसोमा गुञ्जायमान हुन्छ- 'फेरी एउटा निर्माता थला पर्ने भो ।' राम्रो या नराम्रो फिल्मको चर्काचर्कि बहस विबिध रुपमा चर्किरहन्छ । चिया पसलको कुर्सी टेवल अटल साक्षी हुन्छन् । टेबलहरुमा फिल्मको समस्याका विषयले बारम्बार जुहारी खेलिरहन्छ । म पनि सुनिरहन्छु ।


फिल्मका मुद्दा
हाम्रो नेपालमा साँच्चै नै फिल्म मेकर भएन । हिन्दी फिल्म हावी भयो । फिल्मको संवेदनशिलता नबुझेका निर्माता निर्देशक धेरै आए र बजार विगारे । कथा बनाउनै जानेनन् । जसले पनि बनाउछ फिल्म । फिल्मको कुनै मापदण्ड नै भएन । क्षमता नभएका कलाकार अनुहार देखाउने दौडमा छन् । काम भन्दा मनोपोली बढी भो । जो पनि हिरो हिरोइन सजिलै बनिदिने । सबै काम चलाउ मात्र गर्न खोज्ने । फिल्म बनाए पनि चलाउन गार्‍हो छ, प्रदर्शनको समस्या छ । डिष्ट्रीयुटरको पारदर्शी व्यवस्था भएन । दर्शक नै फिल्म हलमा आउँदैनन् ।


मुद्दाका तर्क र मौनता
यिनै हुन् बहसका मुद्दाहरु । यसको निकास पाउने तर्कहरु दर्शकदेखी निर्देशक, निर्माता, कलाकार सम्मका आ-आफ्नै निस्कन्छन् । नेपाली फिल्म प्रति दर्शकको विश्वास त घटेकै हो । राम्रा फिल्म दर्शकले नपाउँदा हल खाली भएकै हो । सबै नराम्रा पक्कै नहोलान् । दर्शकको च्वाइस पनि छरिएका छन् हालको समयमा । तर पारी सिंहदरवारको भित्तामा हप्तामा चारवटा फिल्मका पोस्टरहरु मज्जाले टाँसिन्छन् र भोलीपल्ट नयाँले छोपिन्छन्, च्यातिन्छन् । दर्शक नभए पनि पोस्टर टाँस्ने स्पिड त झन बढ्दो छ । मैले अभिनय गरेको फिल्मको भविश्य पनि त्यहि भित्तोमा भर पर्छ । म रंङगकर्मी, अब फिल्मकर्मी पनि । पारी भित्तोमा पोस्टर फेरीएर फिल्म फ्लपको दु:खद क्षण बन्छ भने मलाई पनि यो कुराले चिसो बनाउँछ । तर पनि वारी चिया पसलमा अनिश्चित भविश्य रहेको नयाँ फिल्मको ठूला सपना बनाइरहेको समुहमा सँगै हुन्छु म । तर यि बिषयमा मौन छु ।


सकारात्मक पाटो र सम्भावना
अभावमा पनि नेपालमा फिल्म बनिरहेका छन । यो सुखद कुरा हो । पछिल्लो समय कपि गर्ने प्रवृति घटेको छ । आफ्नो कथा भन्ने क्रम बढ्दो छ । तर मलाई लाग्छ फिल्ममा अहिले उठेका समस्याका मुद्दाहरुको जवाफ भनेको अरुलाई दोष थुपारेर भन्दा पनि सबैले इमान्दारिताका साथ काम गरि राम्रा फिल्म बनाएर व्यवस्थित तरिकाले प्रदर्शन हुनु हो, जसले पारिवारिक दर्शकलाई हल सम्म ल्याउन सकोस् । हलमा फिल्म हेर्नुको आनन्द पाउन् र फेरि दोहार्याएर आउने प्यास लागोस् । र, एउटा संस्कार बसोस् । यो कुरा सुध्रिन निर्माता, निर्देशक, वितरक देखि हल मालिक र पालेदाई सम्मको सोच र व्यवहार फेरिनु पर्छ । तब घरमा टिभी वा डिभिडीमा फिल्म हेर्ने बानी परेका दर्शकलाई हलमा फिल्म हेर्नुको आनन्द र विश्वास दिलाउन सकिन्छ । र, नयाँ कल्चर विस्तार हुन्छ । यसका लागी  दर्शकलाई राम्रो वातावरण र प्राविधिक क्वालिटीमा फिल्म देखाउनु जरुरी छ ।


आफूलाई चिन्नु
नेपाली फिल्म क्षेत्रमा आशलाग्दा युवा कलाकार र अनुभवी अग्रजहरु पनि छन् तर सहि प्रयोग हुन सकेका छैनन् । फिल्म क्षेत्रमा राम्रा अभिनेताको कमि छैन । एउटा अभिनेता जस्तो देखिन्छ त्यस्तै रूपमा प्रस्तुत गराउनु भन्दा उसलाई फ्रेश बनाउनु जरुरी छ । एउटा अभिनेताले एकै पटकमा सोर्‍है आना काम नाटक वा फिल्ममा देखाउन सक्दैन । तर राम्रो निर्देशकसंग काम गर्न पायो भने त्यो सम्भव छ पनि । सबैलाई आफुले गरेका काम बिशेष नै लाग्छ । तर, आफ्नो कुरा गर्दा, म रङगकर्मी हुँ । अब फिल्म कलाकार पनि । मैले कहिल्यै सोचेको थिइन म फिल्मको अभिनेता बन्छु भनेर । समयले डोर्यायो तर अभिनेताको तयारीको अध्ययन र अभ्यास भने छाडिन ।

 

पछिल्लो समय फिल्मको नजरिया बदलियो अनि म पनि गाँसिन पुगें । तर फिल्ममा अवसर पाउनु भन्दा पाएको जिम्मेवारी निभाउन सक्नु महत्वपुर्ण कुरा रहेछ । किनभने, मैले खेलेका फिल्म राम्रो नहुनुमा अलिकति दोषको भाग मलाई पनि लाग्छ । किनकी मैले अभिनेताको रुपमा कति इमान्दार भएर काम गरिरहेको छु ? कामका लागी कति लामो समय तयारी गरें र अभिनेता बन्ने बिषयमा कति अध्यन र अभ्यास गरें ? पर्दामा वा स्टेजमा देखिंदैमा अभिनेता भईदैन । आफुलाई चिन्नु जरुरी छ । यसले काममा ठुलो अर्थ राख्छ । नत्र फिल्मको सुन्दर पर्दामा देखिनुको कुनै अर्थ छैन । यो कुरा नाटक फिल्ममा काम गर्ने सबैलाई लागु हुन्छ ।

 

मलाई बढी नाटकको अनुभव छ । फिल्म बुझ्दै छु । किनकी नाटक र फिल्म फरक मिडियमको कुरा रहेछ । यि दुबैको भाषा, शैली र सौन्दर्य मुल्य फरक रहेछ । दर्शकले पनि फरक स्वाद पाउँछन् र फरक मनसायले नै हेर्न जान्छन् । लाइभ प्रस्तुती नाटक र सेतो पर्दा देखाइने रंगीन फिल्मको स्टार ग्ल्यामर साँच्चिकै नै फरक छ । फिल्मको परिधी ठुलो छ । प्रविधसँग खेल्न त्यसको भाषा शैली जान्नु र ठुलो धैर्यता चाहिदो रहेछ । सहि तरिकाको साधना नहुनु र पुर्व तयारी नहुनुको कारण हामीले गरेको मेहनत साँच्चिकै खेर जांदो रहेछ । तर फिल्म बनाउनु वा खेल्नु ख्यालठट्टाको कुरा चाहिं होइन रहेछ । यो एकै पटक लाखौ मानिस माझ पुग्छ । त्यसैले यो झनै संबेदनशिल काम हो । खिचिसकेपछि सच्याउने सम्भावना कम हुन्छ । गल्तीले नराम्रा कुरा सम्प्रेषण भयो भने एकै पटक लाखौं मानिसहरुलाई असर पार्छ । त्यसैले यसले पार्ने सामाजिक, राजनैतिक, जातीय र धार्मिक पाटोमा सजक हुनु पर्छ । अभिनेतामा पनि लागु हुने कुरा हो यो ।


अन्तमा,
नेपाली फिल्मका केही निर्देशकहरुले लामो समयदेखी प्रयास गर्न भने छाडेका छैनन् । उनिहरुसँग अनुभवहरुको खानी छ । अध्यन गरेर फिल्म बनाउन चाहन युवाहरुसँग जोस छ । जुन कुराको पुष्टि बर्ष भरीमा केहि फिल्मले दिएका छन् । तर माथी उल्लेखित मुद्दामा बहस गर्नेहरु गतिलो फिल्म बनाउन किन पछि पर्छन् त ? बलिउड र हलिउडको तुलनामा त फिल्म बनाउन सकिदैन त्यसको लागी त पैसा, भिजन, पर्याप्त प्रविधी अनि प्रोफेस्नालिजम चाहिन्छ, जुन हामीसँग कमी छ । यो कुरा पक्का हो । तर हाम्रै पाराको राम्रो फिल्म किन बन्न नसकेको ? मसँग मेकिङ र अभ्यासको अनुभव छैन त्यसैले म भन्न सक्दिन । तर अनुभवी नै किन अबुझ बनिरहेका छन् त ?

 

बरु १ बर्ष कुरेर राम्रा फिल्म बनाउँदा के फरक होला ? सामुहिक योजना बनाएर काम गर्दा पनि सम्भव होला । अनुभवीहरुको सल्लाह लिए के फरक पर्ला ? हतार नगरी काम गरे के होला ? कथामा अलि ध्यान दिन सके र बिशेष महत्व दिएर पूर्व तयारीमा गरे के फरक पर्छ ? पैसाको लोभमा नपरी उपयुक्त कास्टिङ गर्न किन पछि हट्छन् ?  यि प्रश्नहरूको सहि उत्तर खोजेको खण्डमा पक्का पनि बहसले निकास पाउन सक्ला । अनि जिम्मेवारी निकायले पनि जिम्मेवारी बोध गर्ला !