मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.60/5.00)
Text size:-
+
-

हुट्हुटी, वनफूल र चुनौती : नवराज बुढाथोकी

फिल्मीखबर, काठमाण्डौ, २०७० आषाढ १६, आईतवार

२०६९ साल साउन महिना । एक रात सधैं जसो, मैले सुत्नु अगाडि इमेल हेरे, थुप्रै नेपाली चलचित्रमा पटकथा र सम्वाद लेखिसक्नु भएका अग्रज व्यक्तिको इमेल आएको रहेछ । उहाँलाई मैले चलचित्र वनफूलको पटकथा (स्क्रीप्ट) दिएको थिएँ, सुझाव सल्लाहको लागि । एक दुई पटक उहाँसँग छलफलका लागि बस्यौं पनि । उहाँकै सुझाव सहित वनफूलका केही भागहरु सच्यायौं पनि । तर त्यो रात उहाँको मेल पढेपछि म छाँगोबाट खसेझैं भए । के गरौं, कसो गरौं छट्पट्टि भयो, उहाँलाई फोन गरौं की जस्तो लाग्यो तर आँटै आएन । मेलमै केही लेखुँकी भनेको त्यो पनि सकिन । उहाँले वनफूलमा जे जस्तो विषयवस्तु समेटिएको छ, त्यसमा चलचित्र बन्नै सक्दैन, यदि बनाउने नै हो भने यसमा आमुल परिवर्तन गर्नुपर्छ भनेर बुँदागत रुपमै मेलमा लेख्नु भएको थियो । अव के गर्ने ? काम रोकौं धेरै कुरा अगाडि बढीसकेको थियो, नरोकौं .....।

 

त्यो रात म राम्रोसँग निदाउन सकिन । भोलीपल्ट सवेरै एक पटक वनफूलको पटकथा पढें । अनि सुटिङ स्थल हेर्न साथीहरुसँग कीर्तिपुरतिर लागे । किन बन्दैन यो विषयमा चलचित्र ? भन्ने मनमा लागि रहयो । चलचित्रका लागि दुईवटा गीत तयार भईसकेका थिए । सुटिङका लागि कीर्तिपुर क्षेत्र बाहेक गोर्खा, धादिङको सिमाना आरुघाट र बूढीगण्डकी खोलाका आसपासका क्षेत्र छनौट भईसकेका थिए । मुख्य भूमिकामा गुरूकुलका गुरू, अनि मेरा आफ्नै पनि गुरू सुनिल पोखरेलसँग कुरा पक्का भईसकेको थियो ।


एक दुई पटक वनफूलको पटकथा, सम्वाद तयार भएपछि, मुख्य भुमिकामा कस्लाई खेलाउने भन्ने सल्लाह हुँदा, सुनिल सरलाई भन्ने कुरा भयो । तर उहाँलाई भन्ने कसरी ? २०५३/५४ सालमा जव हामी राष्ट्रिय नाचघर जमलमा एक बर्षिय अभिनयको कक्षा लिईरहेका थियौं, सुनील सरसँगै । त्यति खेर गज्जब लेखें भन्दै बढो आत्मविश्वासका साथ मैले उहाँलाई आफूले लेखेको नाटक पढ्न दिएको थिएँ । तर उहाँले पढीसकेपछि नाटकको पाण्डुलिपी फाल्दिनु भएको थियो, वाहियात भनेर । त्यो घटना भएको झण्डै १५ बर्ष पछाडि फेरि तिनै सुनील सरलाई आफैले पटकथा, सम्वाद लेखेको वनफूलको लागि मुख्य भूमिकामा प्रस्ताव गर्नु, फलामको चिउरा चपाउनु जस्तै थियो मेरो लागि ।

 

काम त गर्नै पर्यो । उहाँलाई भेटेर कुरा राख्यौं । पटकथा (स्क्रीप्ट) पढेपछि निर्णय गर्छु भन्नु भयो । पटकथा त बुझाएँ तर डर के थियो भने फेरि पनि वाहियात भनेर फाल्दिने पो हो की ? धन्न यसपटक त्यस्तो भएन । उहाँ काम गर्न राजी हुनु भयो । तर वनफूलको पटकथा अग्रजहरुलाई देखाएर परिमार्जन गर्ने सर्तमा । त्यसमा मलाई कुनै आपत्ति थिएन । सुनिल सरले नै हो, मैले माथी उल्लेख गरेको अग्रज व्यक्तिसंग भेटेर, पटकथा परिमार्जन गर्नु भन्नु भएको । तर अव फसाद के पर्‍यो भने उहाँले यस्तो विषयमा चलचित्र नै बन्दैन पो भन्दिनु भयो ।


भारी मन बनाएर किर्तिपूर पुगियो साथीहरुसँग, तर मनमा चैन थिएन । विषय नै परिवर्तन गर्ने कि, अहिलेकैलाई राम्रो बनाउने ? मलाई थाहा छ, उहाँले मेरै भलाईका लागि त्यस्तो सुझाव दिनुभएको हो, सजिलो बाटो रोज भन्ने नै हो उहाँको भनाई । कीर्तिपुरमा सुटिङ स्थल खोज्दै गर्दा सजिलो बाटो रोज्ने कि गाह्रो भन्ने मेरो मनमा खेलीरह्यो । पछि मैले निर्णय गरें, गाह्रो बाटो नै रोज्ने, जोखिम नै मोल्ने । उहाँलाई मन नपरेको विषयमै काम गर्ने । यसैबीचमा चलचित्र क्षेत्रकै विज्ञ राजेश गोंगजु सरसंग धेरै पटक बसेर वनफूलको पटकथा र सम्वादलाई अन्तिम रुप दिईयो र सुटिङ शुरु गरियो ।

 

सुटिङ अवधिभर सबैको सहयोग र समर्थनले तोकेकै समयमा काम सकियो पनि । सुटिङमा रहँदा सुनिल सर ,कहिले सर बन्नु भएन ,बरु साथी पो हुनुभयो । जसले गर्दा उहाँलाई एक्सन, कट भन्न मलाई कुनै गाह्रो भएन । कतिपय ठाँउमा उहाँ आफैले मलाई निर्देशनमा सहयोग पनि गर्नुभयो । आज वनफूल तयार भएको छ । अनि मेरो चलचित्र बनाउने बर्षौ देखीको हुट्हुटी एक हिसावले पूरा भएको छ । आशा गरौं दर्शक माझ वनफूल पुग्ने नै छ । जो अग्रजले यो विषयमा चलचित्र बन्दैन भन्नुभएको थियो, उहाँलाई भने वनफूल देखाउने रहर छ । कुनै दिन देखाउने नै छु, अनि मलाई के विश्वास छ भने त्यत्तिखेर उहाँले मलाई गाली होईन स्यावासी दिनुहुने छ ।


जीवनसाथी फिल्म्स प्रा.ली. र शैली थिएटरको ब्यानरमा चलचित्र त बन्यो तर प्रदर्शन गर्नुपर्ने अनि निर्माताको लगानी शुरक्षित गराउनु पर्ने चुनौती अझै छदै छ । अहिलेकै अवस्थामा, चलचित्र प्रदर्शन गर्ने कुनै नीति नियम छैन । जसको शक्ति उसकै भक्ति भनेजस्तै छ । चलचित्र प्रदर्शन गर्ने हो भने दुई लाख बजेट गुण्डाका लागि छुट्याउनु पर्छ भन्ने वरिष्ठ निर्देशक तुलसी घिमीरेको भनाइले पनि यो पुष्टि गर्छ । यसै पनि वनफूलको सार्वजनिक प्रदर्शन अन्योलमै छ । यसो भनेर त्वम् शरणम् भन्दै हात बाधेर बस्ने कुरा पनि आउदैन । अन्यौल चिर्ने प्रयास हामीले गर्नै पर्छ ।

 

चलचित्र वनफूलको प्रदर्शनको कुनै टुङ्गो छैन भनेर कसैले थपडी पनि बजाउलान् तर यो अवस्था सिंगो चलचित्र क्षेत्रकै हो भन्ने यथार्थलाई भुल्नु भएन । त्यसकारण पालो प्रणालीको खारेजीसंगै चलचित्र प्रदर्शनमा देखिएको दुविधालाई  छिट्टै चिर्न जरुरी छ । अर्को कुरा, बक्स अफिस लागु गर्ने, चलचित्र घर तथा चलचित्रको बर्गीकरण गर्ने जुन प्रयास भईरहेको छ, यसमा ढिलाई गर्नु यस क्षेत्रकै लागि अर्को नोक्सानी हुनसक्छ । आशा गरौं चलचित्र क्षेत्रले छिट्टै नै मुहार फर्ने छ र प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले नेपाली चलचित्र हेर्ने दर्शक संख्या जम्मा तीन लाख भनेर फेरि पनि दुःख लाग्दो तथ्याङ्क सार्वजनिक गर्नु पर्ने छैन । अनि वनफूलले पनि चाँडै फुल्ने मौका पाउने छ ।