मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली चलचित्र इतिहासको पहिलो चरण : राजाराम फुयाँल

फिल्मीखबर, काठमाण्डौ, २०७० वैशाख २३, सोमवार

पहिलो चरण (२००१ देखि २०३० सम्म)

दर्शकहरुको इच्छालाई मनन गरेर पहिलेको आफ्नो सिनेमा हल सञ्चालनको खुवीलाई उपयोग गर्ने मनसायले श्यामशंकर श्रेष्ठले एउटा हल खोल्न पाउँ भनी निवेदन दिए । श्री सिनेमाको नाँउले उनले अहिलेको नाचघर रहेको ठाउँमा हल खोलेपछि गृहमन्त्रालयमा सिनेमा हल खोल्नका लागि यति निवेदन पर्न थाले कि नेपाल भरी ५४ वटा सिनेमा घर खोल्न लाइसेन्स नै गृहमन्त्रालयले बाँढ्नुपर्‍यो । श्रेष्ठले २०११ साल असोज २६ गतेदेखि श्री सिनेमा सञ्चालन गर्न थाले । यसको केही समयपछि ठमेलमा ‘मूनलाइट’ हल खुल्यो । उक्त हलका मालिक पाठक थरका व्यक्ति भएको कुरा बुझिएको छ ।


राणा शासनको पतनपछि पनि उनीहरुको रवाफ र जीवन पद्धतिमा कुनै परिवर्तन आएको थिएन । उनीहरुको सिनेमा प्रेम उही नै थियो । सर्वसाधारण जाने सिनेमा घरमा उनीहरु जान चाहेनन्, फलस्वरुप फोहरा दरबारमा उनीहरुको आफ्नै लगानीमा प्रभा नामक सिनेमा हल खोले । उक्त हल अन्य हलभन्दा सुविधा सम्पन्न थियो र महंगो पनि थियो । फलस्वरुप त्यहाँ त्यति भीड हुँदैनथ्यो र राणाहरु आरामपूर्वक त्यहाँ सिनेमा हेर्ने गर्दथे । प्रभा हल खुलेपछि सिनेमा हल खोल्ने बाढी नै आयो । २०१४ सालको शुरुवातमै काठमाडौं उपत्यकामा जय नेपाल, रञ्जना, विश्वज्योती, पाटनमा अशोक, भक्तपूरमा नवदुर्गा सिनेमा घरहरु खुले ।


त्यतिखेर सिनेमा हेर्न हुलका हुल मानिसहरु गाँउगाउँबाट आउँथे । अझ धार्मिक सिनेमा चलेको बखत त खुबै भीड हुन्थ्यो । २०१२ सालदेखि यस्तो भीडलाई नियन्त्रण गर्न ‘एक सो एक टोल’ नीति नै लागू गर्नुपरेको थियो । सो नीति अनुसार कुनै एक शोमा कुनै एउटा गाँउका मान्छेले मात्र सिनेमा हेर्न पाउँथे । अर्को शोमा अर्को गाँउका मान्छेलाई खाली गरिन्थ्यो । यसरी २०१४ सालसम्म आइपुग्दा नेपालमा सिनेमा प्रतिको लगाव उच्चविन्दुमा पुगेको अनुमान गर्न सकिन्छ । २०१५/१६ सालदेखि जुन अनुपातमा चलचित्र धमिलिदै गयो, त्यही अनुपातमा सिनेमा घरलाई पनि सुकेनाश लाग्यो । सिनेमा चलाउने हलवालाहरुलाई अस्तित्व जोगाउन धौ–धौ पर्‍यो भने सरकारले उठाउँदै आएको ३५ प्रतिशत राजश्व उठाउन नसक्ने अवस्था सिर्जना भयो ।

 

आश्चर्यको कुरा २०१८ सालसम्ममा नेपालमा खुलेका त्यत्रा सिनेमा घरहरु अधिकांश बन्द भइसकेका थिए । सिनेमाप्रति उच्च लगाव भएका दर्शकहरु हुँदाहुँदै र सिनेमा हल खोलिनुपर्छ भन्ने व्यापारीहरुको भीड हुँदाहुँदै पनि २०१४ सालतिर खुलेका अधिकांश हल बन्द भए । यसरी भकाभक सिनेमा हल बन्द हुनुको पछाडी धेरै कारणहरु रहेका थिए । मुख्य कारण थियो सिनेमा डिष्ट्रिव्युटरको कमी र बाटोघाटोको समस्या । वास्तवमा २०११ सालदेखि सिनेमा घरहरु धमाधम च्याउ उम्रे जस्तो उम्रे पनि नेपाल र भारत आउनेजाने बाटो अत्यन्तै विकट थियो । एउटा सिनेमाको रिल लिएर आउन हप्तौं लाग्थ्यो । त्यसैले सिनेमा डिष्ट्रिव्युटरले भनेको बेलामा रिल नल्याइदिने हुँदा सिनेमाघरहरु बीचबीचमा बन्द हुन थाले । त्यतिखेर कतिसम्म समस्या थियो भने सिनेमाको प्रिन्ट लिन डिष्ट्रिव्युटरलाई विहान–बेलुका चाकडी गर्न जानुपर्दथ्यो । डिष्ट्रिव्युटरले धरै चाकडी गर्ने हलवाला अथवा बढी मूल्य तिर्ने हलवालालाई मात्र प्रिन्ट दिन्थे । डिष्ट्रिव्युटरको मनोमानी यति बढ्यो र यति घाटा व्यहोर्नु पर्‍यो कि २०१४ सालको कार्तिक महिनाभित्रै श्यामशंकर श्रेष्ठले आफ्नो सिनेमा घर ‘श्री सिनेमा’ बन्द गरी गोदाममा परिणत गरिदिए । सिनेमा हल नचल्नुको पछाडी अर्को कारण चलचित्रको बिषयबस्तु परिवर्तन पनि एउटा कारण थियो । २०१४ सालभन्दा अगाडिका हिन्दी सिनेमा या त गहिरो सामाजिक या त धार्मिक विषयबस्तुमा आधारित हुन्थे । तर, २०१४ सालपछि हिन्दी सिनेमामा प्रेम र हिंसा पस्न सुरु गर्‍यो । सामाजिक र धार्मिक विषयबस्तु मनपराउने नेपाली दर्शकहरुलाई प्रेम र हिंसा पच्न सकेन र दर्शकहरुको कमी हुन थाल्यो । दर्शक नै नआएपछि सिनेमा हलहरु बन्द हुने नै भए ।


यसरी चलचित्रमा क्रमशः मन्दी आइरहेका बेला अर्को कारणले पनि चल्दै गरेका सिनेमाहलहरू बन्द हुने स्थिति आएको थियो । त्यो थियो २०१८ साल भदौ १७ गते नेपालकै एतिहासिक सिनेमा घर जनसेवा सिनेमालाई केही उच्छृंखल व्यक्तिहरूको हुलले आगो लगाइदिएपछि उब्जिएको त्रास र सुरक्षाको अभावको कारण । नेपालमा थोरै मात्र यस्ता घटनाहरू छन्, जसको वास्तविक सुत्रधार को हो भनी जान्न नसकिएको होस् । त्यस्तै वास्तविक सूत्रधार को हो भन्ने कुरा अझैसम्म पनि खुल्न नसकेको एक रहस्य हो, जनसेवा सिनेमा हलको आगलागी । ४७ वर्षअघि एउटा सिनेमा हल सबैको सामु जलेर खरानी भएको कुरालाई लिएर त्यसबेला र अहिले पनि त्यति चर्चा भएको छैन । जबकि यो पनि नेपालका विवादास्पद काण्डमध्ये एक थियो । यस काण्डको वास्तविक सूत्रधार विगत ४७ वर्षदेखि गुप्त रहेको रहृयै छ । जानकारहरुका अनुसार तत्कालिन विद्यार्थी नेता दामोदर गौतम यो काण्डका हर्ताकर्ता थिए ।


२०१८ साल भदौं २५ गते बेलुकाको समय । भर्खरै पीच गरिएको नयाँ सडक (जसलाई अहिले न्यूरोड भनिन्छ) को छेउमा नेपालको प्रथम सिनेमाहल जनसेवामा ‘मिसन अफ डेन्जर’ नामक अंग्रेजी फिल्म लागिरहेको थियो । सिनेमा हलको वस्तुस्थिति बुझ्न हरेक बेलुका आउने सिनेमा सञ्चालककी श्रीमती हृवाङलामु अमात्य त्यस दिन पनि रोडको पेटिमै बसेर सिनेमा घरतर्फ उभिएकी थिइन् । अचानक पछाडिबाट एउटा मान्छेले अमात्यलाई धक्का दिएर लडायो । ठूलो चित्कारका साथ श्रीमती अमात्य लडेको देखेर कृष्णमान नाम गरेको उक्त व्यक्तिले ‘मैले जानी जानी गरेको होइन, उ त्यो कारले मलाई किचुँलाजस्तो गर्‍यो, म भाग्दा हजुरलाई लाग्यो’ भनी एकातिर हिड्न खोज्यो । श्रीमती अमात्य उठ्न सकिनन् । यसैबीच सिनेमाहलका स्टाफ रोडमा आइपुग्छन् र हिड्न लागेका उक्त व्यक्तिलाई तान्दै लिएर आउन खोज्छन् तर ऊ भाग्न खोज्छ । यसरी भाग्न खोजेपछि सबै मिलेर उसलाई उठाएर सिनेमाघरमा लिएर आउँछन् र सोधपूछ गर्दागर्दै पछाडिबाट एकजनाले उसलाई हिर्काउँछ । उक्त व्यक्तिले एक्लै भए पनि प्रतिकार स्वरुप एउटा स्टाफलाई हिर्काउँछ । त्यसपछि सबै स्टाफ मिलेर उसलाई कुट्छन् । करिब १०-१५ मुक्का खाएपछि ऊ भाग्न सफल हुन्छ ।


यसैबीच सिनेमा छुट्छ । सिनेमा छुटेर अर्को शो लाग्ने बखत एक हुल मान्छे आएर सिनेमाहलको पर्खाल भत्काउँदै सिनेमा हलतिर इँटाले हिर्काउँन थाल्छन् । यसैबीच सिनेमा घरका सञ्चालक भुवेनेश्वर सिंहले धरै सम्झाउन खोज्दा पनि उक्त भिडले अझ इँटा र ढुंगा बर्साएर सिनेमाहल नै बन्द गर्न बाध्य बनाइदिन्छन् । अमात्यले फोन गरी प्रहरी बोलाए पनि भिडले ढुंगा बर्साउन छाड्दैनन् । यो देखेर प्रहरीले अश्रु ग्याँस छोड्छ । त्यसपछि प्रहरी र ढुंगा वर्षाउने व्यक्तिहरू बीच केही छिन् दोहोरो भिडन्त हुन्छ । यसमा ७ जना प्रहरी र १८ जना ढुंगा वर्षाउने व्यक्तिहरू घाइते हुन्छन् । हुलदंगाकारी भागेपछि कर्फ्यूको घोषणा गरिन्छ ।


२६ गते विहान प्रहरीले विपक्षीको निवेदन अनुसार कृष्णमान भन्ने व्यक्तिलाई कुट्न अह्राएको भनी हृवाङलामु अमात्य, २ जना सिनेमाका स्टाफ र सिनेमा तोडफोड गर्ने ४ जनालाई पक्राउ गरी मरणाशन्न हुने गरी पिट्छन् । यो खबर शहरभरि फैलन्छ । उक्त दिनभरी शहर तनावग्रस्त हुन्छ । २७ गते विहान कर्फ्यू अझ कडा बनाइन्छ । तर बेलुका २०/२५ जना युवाहरू सिनेमाहल प्रवेश गरेर भित्रका मेच र कुर्सीहरू भाँच्न थाल्छन् । अरु ४ जना सिनेमा हलभित्र पस्छन् र मट्टितेल छर्केर  हलमा आगो लगाइदिन्छन् । प्रहरीले प्रयास गर्दागर्दै पनि ती युवाहरू भाग्न सफल हुन्छन् । अब सिनेमा हलको चारैतिर दनदनी आगो लाग्न थाल्छ । तर, आगो निभाउन न त भिडका मान्छे नै तयार हुन्छन् न त प्रहरी नै सक्रिय हुन्छ । उक्त सिनेमाहल अगाडि जुद्ध वारुण यन्त्र  दमकलमा पानीसहित उभिइरहेको भए पनि आगो निभाउन आउँदैन । करिब आधा घण्टासम्म भिड र प्रहरी सिनेमा हलमा आगो लागेको हेरिरहन्छन् । त्यसपछि जब सिनेमा हल आधाभन्दा बढी जलिसक्छ र वरपरका घरहरूलाई नोक्सान पुर्‍याउने छाँट देखिन्छ तब मात्र जुद्ध वारुणयन्त्रको दमकलले आगो निभाउने प्रयास गर्दछ । यसैबीच पाटन र भक्तपुरबाट पनि दमकल आइपुग्छन् । जब आगो निभिसक्छ, सिनेमाहलको कंकालमात्र बाँकी रहेको देखिन्छ ।


    
त्यतिखेर राजा महेन्द्र विदेश भ्रमणमा थिए । राजाको स्वदेश फिर्ति भएपछि जलेको सिनेमा हल निरीक्षण हुन्छ । निरीक्षणपछि गृहमन्त्रालयलाई छानविन आयोग गठन गर्न आदेश दिए । गृहमन्त्रालयले तत्कालीन न्यायधिश पशुपति कोइराला, महान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवली र गृहसचिव प्रेमनरसिंह प्रधान भएको एक आयोग गठन गरेर वास्तविकता अगाडि ल्याउन आदेश दियो । उक्त आयोगले श्रीमती हृवाङलामु अमात्यले एक निर्दोष व्यक्तिलाई पिट्न लगाएकोले दोषी ठहर गरी सजाय दिनुपर्ने राय पेश गर्‍यो भने केही उच्छृंखल व्यक्तिले सिनेमाहल जलाउँदा पनि ती व्यक्तिलाई पक्राउ गर्न नसकेको र सिनेमा हल जलिरहँदा आगो निभाउन पट्टि नलागेर रमिता हेरिबस्ने उपत्यकाका कमिश्नर विष्णुमणि आचार्य, डिएसपी कृष्णप्रसाद धिताल, इन्स्पेक्टर रूद्रप्रसादलाई दोषी देखायो । तर, सिनेमाहल जलाउने वास्तविक सूत्रधार को थिए, कर्फ्यू लागिरहेको अवस्थामा सिनेमा हलमा पस्ने व्यक्तिहरूले कसको इशारामा सिनेमा हल जलाए र कसको आदेशमा प्रहरीले तिनीहरूलाई रोक्न सकेन भनी निश्चित निष्कर्ष निकाल्न भने सकेको देखिदैन । सिनेमा हलका सञ्चालक दयारामभक्त माथेमा राजपरिषदका सचिव थिए, तिनलाई राजा महेन्द्घले उक्त पदबाट हटाए । प्रतिवेदनले दोषी देखाएका प्रहरीहरूलाई सस्पेण्ड गरियो । हृवाङलामु अमात्य र एसपी नरनारायण शमशेरलाई पनि कडा कारवाही भयो । तर मन्त्री परिषद् र आशंकाका घेरामा परेका उच्च ओहदाका अन्य  धैरै व्यक्तिहरूलाई केही पनि भएन । यसरी गम्भीर षड्यन्त्रको शिकार भएको नेपालको पहिलो सिनेमा घर इतिहासमा विलायो ।


जनसेवाको अस्तित्व समाप्त भए पनि अन्य हलहरू सञ्चालनमा रहे । डर त्रासले दर्शकको संख्यामा कमी आयो । यति हुँदाहुँदै पनि सिनेमाप्रतिको आकर्षण भने घटेको थिएन । स्वदेशमै सिनेमा बन्ने परिपाटी शुरु नभईसकेकाले त्यतिन्जेलसम्मको सिने इतिहास सिनेमा घर र प्रदर्शन हुने हिन्दी अंग्रेजी सिनेमाको सेरोफेरोमै सीमित रहृयो । यही क्रममा भारतको दार्जिलिङबाट पुनः नेपाली भाषामा चलचित्र बनाउने घोषणा प्रताप सुब्बाले गरे ।



सत्य हरिश्चन्द्रपछि २०१९ सालमा प्रथम छायाँकन गरिएको ‘सपना कतिपय’ नामक दोस्रो चलचित्र तयारै नभई जलेको कुरा उक्त चलचित्रका निर्देशक प्रताप सुब्बाले जानकारी गराएका छन् । निर्देशक सुब्बाका अनुसार प्राविधिक ज्ञान नै नभएको समयमा आफूले निर्देशन गरेको उक्त चलचित्रको शुभ मुहुर्त दार्जिलिङमा पढ्दै गरेका तत्कालिन अधिराजकुमार धीरेन्द्र शाहको हातबाट गराइएको थियो । दार्जिलिङको देवकोटा फिल्म संघको व्यानर, हृदयनाथ लामाको कथा, अम्बर गुरुड्डको संगीत र साथी साथी मिलेर पैसा उठाई निर्माण सुरु गरिएको उक्त चलचित्रको भारतको कलकत्तास्थित एक स्टुडियोमा गीत रेकर्ड गरिएको थियो । पछि आधा चलचित्रको सुटिङ पुरा भइसकेपछि दार्जिलिङको एक टोलमा आगलागी हुँदा निर्माताको घरमा राखिएको ‘क्यान’ जलेर सखाप भएको थियो । आर्थिक अभावको कारण पुन सुटिङ गर्न नसकेपछि यो पनि इतिहासको पानामा मात्रै सिमित हुन पुग्यो । चलचित्र वन्न सकेन ।

क्रमश...