मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

नेपाली चलचित्रको पृष्ठभूमि (भाग २) : राजाराम फुयाँल

फिल्मीखबर, काठमाण्डौ, २०७० वैशाख ४, बुधवार

...२००६ साल माघ १८ गते शुक्रबार एउटा यस्तो दिन आयो, जहाँ टिकट बेच्ने सबै महिला नै थिए । टिकट जाँच गर्ने र दर्शकहरु पनि महिलाहरु मात्रै थिए । चलचित्र हेर्न गएका महिला दर्शक त्यतिखेर आश्चर्य भए जव चलचित्रका पात्र सबै महिला मात्रै थिए । उक्त चलचित्र कृष्णका गोपिनीहरुको बारेमा थियो । ती गोपिनीहरुले आपसमा कृष्णको कुरा गरेको र कृष्णको भजन गाएको उक्त चलचित्रको अन्त्यमा एकपटक मात्र कृष्ण देखा पर्दछन् । महिला नै कर्मचारी महिला नै दर्शक र महिला नै कलाकार भएको उक्त संयोग कम रोचक थिएन ।



त्यतिखेर चलचित्रको विज्ञापन गर्न आजको जस्तो टी.भी., रेडियो र पत्रिका थिएनन् । प्रथमपल्ट चलचित्र खुलेपछि काठमाडौं चलचित्र हलमा एकजना विज्ञापन गर्ने व्यक्ति राखिएको थियो । जसले उक्त ठाउँमा उभिएर बजारमा आवत जावत गर्ने व्यक्तिलाई आकर्षक ढंगले चलचित्रको कहानी भन्ने गर्दथ्यो । उक्त व्यक्तिको नाम के थियो भन्ने कुरा पत्ता लगाउन सकिएन । जानकारहरुका अनुसार कालो र दुब्लो जिउडालको उक्त व्यक्तिले ४ महिनासम्म महिनाको ७ सय रुपियाँको दरले जागिर खायो । तर पछि चलचित्रको विज्ञापन मौखिक रुपमा दर्शकहरुले आफै गर्न थाले । विज्ञापनको रुपमा पहिलो सो देखिनै हातले चित्र कोरेर होडिड्ड झुण्डयाउने गरे पनि पछि भारतबाट चलचित्र प्रिन्टसँगै केही कागजका पोष्टर आउन थाले । सीमित रुपमा आउने ती चित्रहरु शहरका मुख्य मुख्य स्थानमा टाँसिन्थ्यो । यी सबै क्रियाकलापले नेपालमा क्रमश चलचित्र संस्कृतिलाई हुकाउँदै थियो । यतिबेलासम्म सिनेमा उद्योग भारतमा फस्टाइसकेको थियो भने नेपालमा हेर्ने काम भन्दा पर केही हुन सकीरहेको थिएन । चलचित्र बनाउने सोच कसैमा पलाएको थिएन ।


उता भारतमै बसेर आफ्नो अध्ययन र व्यापार जारी राखेका चार जना युवकमा भने फिल्मी भूत सवार भैसकेको थियो । चलचित्र हेरेर फुरुङ्क हुने ती युवकहरुमा ठाकुरप्रसाद, पी.के. वनर्जी, डी.वी. परिहार र हरिप्रसाद मुखर्जी थिए । यी चार तन्नेरी मध्ये डि.वी. परिहार काठमाडौं वसन्तपुरका थिए । काठमाडौंमा जन्मेका भए पनि यिनको वाल्यकाल दार्जिलिङमै वितेको थियो । उनको कलाकारिताको आरम्भ पहाडकी रानी दार्जलिङबाटै भएको थियो । नेपाली सिने इतिहासमा एउटा ऐतिहासिक हस्तीको रूपमा आफूलाई स्थापित गर्न सफल डि.वी परिहारले फिल्म एजुकेशन एण्ड आर्ट एकेडेमी र इभ्यालुएसन अडियो सोसाइटी अफ हलिउड बाट ५ वर्षको चलचित्र सम्बन्धी प्रशिक्षण तथा अनुभव बटुलेका थिए । यही अध्ययनले उनलाई फिल्म बनाउन प्रेरित गर्‍यो ।


अध्ययन पश्चात भारतमै बस्दै आएका डि.वी.ले माथि उल्लेखित साथीहरुलाई नेपाली भाषामा सिनेमा निर्माण गरेर नेपाली सिनेमाको विउ रोप्ने प्रस्ताव राखे । साथीहरुले पनि प्रस्तावलाई हार्दिकतापूर्वक स्वीकार गरे । डी.वी. परिहारसंगै मिलेर सिनेमा बनाउने सोचमा पुगेका तीन उत्साहित युवक भारतीय थिए कि नेपाली थाहा पाउन सकिएन यी ४ जना युवकहरुको पहिलो प्रयासमा नेपाली भाषामा ‘सत्य हरिश्चन्द्र’ नामक चलचित्रको निर्माण कार्य कलाकत्तामा २००६ साल असोज २२ छायांकन प्रारम्भ गरियो । कथा, पटकथा, संवाद, गीत र निर्देशन डी.वी. कै रहेको यो चलचित्रमा प्रेम नजीर, चन्द्घकान्ता, रोजी मेरी, शीलादेवी, जुली, नन्दलाल, बलबहादुर स्याण्डो, पीटर राई, सागरदत्त, कोइराला, डोरनाथ शर्मा, डी.वी.परिहार, दिलु सिंह क्षेत्री, रनुदेवी, भानुदेवी, हर्कबहादुर, डम्बरसिंह तामाङ्क आदि कलाकारले पहिलो पटक अभिनय गरेका थिए ।


सम्पूर्ण प्राविधिक काम भारतमै भारतीयबाटै सम्पन्न गराइएको यो चलचित्रको छायांकन २००८ असारमा सम्पन्न गरिएको थियो । भारतमा निर्माण तथा छायांकन गरिए पनि यस चलचिको प्रथम प्रदर्शन नेपालको राजधानी काठमाडौंमा २००८ साल भदौं ३० गते गरिएको थियो जसको उद्घाटन तत्कालीन राजा त्रिभुवन शाहले गरेका थिए । चार महिनासम्म अपार भीडका साथ चलेको ‘सत्य हरिश्चन्द्र‘ हेर्न नेपालको कुना कुनाबाट कयौं दिन लगाएर पहुँचवाला नेपालीहरु आएको समाचार भारतबाट प्रकाशित सिने मासिक ‘अभिनय’ र नेपालको जेठो अखबार गोरखापत्रले प्रमुखता साथ छापेका थिए ।


आफ्नो भाषामा पहिलोपटक निमार्ण गरिएको चलचित्र हेरेर रमाएका नेपालीले निर्देशक परिहारलाई बधाई तथा अभिनन्दन गरेर खुशी बाँडेका थिए । काठमाडौंको प्रदर्शन पश्चात वि.सं.२००८ साल मंसिरमा दार्जिलिङ खरसाङ्कमा देखाइएको थियो । नेपालमा राजा त्रिभुवनले उद्घाटन गरेको उक्त चलचित्र दार्जिलिङ र खरसाङ्कमा भने त्यहाँका नेपालीको विशेष अनुरोधका कारण निर्देशक परिहारले नै उद्घाटन गरेका थिए । चलचित्रले नेपाली जातीय भाषाको सम्बद्र्धनमा योगदान पुर्‍याए वापत चलचित्र प्रदर्शनकै क्रममा उनलाई विभिन्न साहित्यिक संघ–संस्था र नागरिक समाजले सार्वजनिक अभिनन्दन गरेका थिए । दार्जिलिङ र खरसाङमा अपार सफलता पाएपछि 'सत्य हरिश्चन्द्र’ को प्रदर्शन आसामको राजधानी सिलाङ र कालिम्पोङ आदि नेपाली बहुल क्षेत्रमा गरिएको थियो ।


डी.वी. परिहारले नेपाली भाषामै ‘सत्य हरिश्चन्द्र’ नामक नेपाली चलचित्र भारतमा निर्माण गरेर नेपाली चलचित्रको इतिहासमा एउटा ठूलो योगदान पुर्‍याएको नेपाली चलचित्र जगतले आजसम्म भित्रि हृदयले स्वीकार्न सकेको छैन । उनले बनाएको चलचित्र पौराणिक र धार्मिक कथामा आधारित थियो । कलकत्तामा बनेको यो चलचित्र भाषा नेपाली भए पनि भारतीय चलचित्रबाट अधिक प्रभावित थियो । ‘सत्य हरिश्चन्द्र' हिन्दी लवज र उच्चारणको प्रचुरता र अति नाटकीयता हावी हुनु स्वाभाविक थियो । काठमाडौंमा हिन्दी भाषाका चलचित्र हेर्न पल्किसकेका नेपाली दर्शकहरुले 'सत्य हरिश्चन्द्र'लाई निकै रुचाएका थिए । राजा त्रिभुवनले पनि नारायणहीटी राजदरबारमा सपरिवार यो चलचित्र हेरेका थिए । यो चलचित्र बनाउन तीन लाख रुपैयाँ लागेको थियो ।


नेपाली भाषाको पहिलो भए पनि अहिले यो चलचित्रको ठेगान छैन । २०२८ सालतिर तत्कालीन शाही नेपाल चलचित्र संस्थानले ‘सत्य हरिश्चन्द्र’ को एउटा प्रिन्ट ६ हजार रुपैयाँमा कलकत्ताबाट झिकाएको थियो । योजनामा रहेको चलचित्र संग्रहालयमा राख्ने भनिएको त्यो प्रिन्ट अहिले खोई त ? स्पष्ट उत्तर न त्यतिखेरका संस्थान महाप्रबन्धक यादव खरेलसंग छ, न त अहिलेको चलचित्र विकास कम्पनीसंग छ । कम्पनी स्रोतका अनुसार–‘त्यो त्यतिखेरै दरबारमा बुझाइएको हो ।’ यो पंक्तिकारसंगको करिव १८ वर्ष अगाडिको भेटमा चलचित्रको एउटा प्रिन्ट आफूसंग र एकप्रति तत्कालीन शा.ने.च.स. संग रहेको बताए पनि निर्देशक परिहारको निधन भएको डेढ दशक बितिसक्दा पनि त्यसको खोजी हुन नसक्नु तथा हाल सरकारद्वारा गणित राष्ट्रिय चलचित्र विकास बोर्डले समेत खोजी तथा संरक्षण गर्न नसक्नु नेपाली चलचित्र जगतको ऐतिहासिक गरिमामाथिको ठूलो अन्याय मान्न सकिन्छ ।


डी.वी. परिहार दोस्रो चलचित्र बनाउन भनेर दार्जिलिङ गएका थिए । ‘हिमालकी रानी’ नाम राखिएको उक्त चलचित्र बनाउन आवश्यक कलाकारको लागि अडिसन दिएका मध्ये एक निर्देशक प्रताप सुब्बा पनि एक हुन् । सुब्बा सुरिलो स्वरमा गाँउन खप्पिस थिए । त्यो चलचित्रमा गाउँन उनले पनि अडिसन दिएका थिए । तर पछि डी.वी. ले आर्थिक कारणले चलचित्र बनाउन नसक्नाले त्यसमा छानिएका कलाकार उपहासका पात्र बनेका थिए ।


चलचित्र सम्बन्धी दुई दर्जनजति संघसंस्था अस्तित्वमा रहे पनि दशकौं बितिसक्दा पनि न ‘सत्य हरिश्चन्द्र’ को अनुसन्धान गर्ने पहल गरिएको छ न त निर्देशक परिहार प्रति नै सम्मान गर्न सकिएको छ । जे होस्, नेपाल बाहिर बसेर पनि नेपाली भाषामा चलचित्र बनाउने डी.वी.को योगदान बिर्सिनसक्नुको छ । उनको स्थान नेपाली चलचित्र इतिहासमा उल्लेख्य रहेको छ । उनलाई नेपाली चलचित्रको सूत्रधार भन्दा फरक पर्दैन । डी.वी. स्कूल पढ्दैदेखि रंगकर्ममा लागेका थिए । उनी निर्देशनसंगै अभिनयमा पनि दिलचस्पी राख्थे । उनी कलकत्ताको युनिटी फिल्म प्रडक्सनका उपनिर्देशक थिए । वंगाली तथा हिन्दी भाषाका चलचित्रका लेखक, निर्देशक, सम्पादक एवं थुप्रै वृत्तचित्रहरुका निर्माता डी.वी. चलचित्र र नाट्य क्षेत्रमा मात्र होइन, भारतको स्वतन्त्रता संग्राममा समेत संलग्न थिए । उनी नेता सुभाषचन्द्घ बोससंग नजिक थिए । चलचित्र र नाट्यसेवाको कदर गर्दै उनलाई सन् १९८३ मा पश्चिम वंगाल नेपाली अकादमी बाट सम्मान गरिएको थियो । डी.वी. को ७० वर्षको उमेरमा कलकत्तामा देहान्त भएको थियो, सन् १९९३ अप्रिल ५ मा ।

 

नेपाली भाषाको प्रथम चलचित्र ‘सत्य हरिश्चन्द्र’ र त्यसका निर्देशक डी.वी. परिहारको अनुसन्धान र मूल्याङ्गन हुन नसक्नु नेपाली चलचित्र जगतको लज्जास्पद कार्य हो जसलाई बिडम्बनाको पगरी गुथाउनुको विकल्प आजसम्म छैन । नेपाली भाषासेवी, नेपाली भाषाको प्रथम चलचित्र 'सत्य हरिश्चन्द्र’का लेखक, निर्देशक तथा कलाकार डी.वी. परिहारको योगदान राज्यद्वारा गठित राष्ट्रिय चलचित्र विकास बोर्डले समेत गर्न सकेन । कति चलचित्रकर्मीलाई त थाहासम्म छैन होला डी.वी. परिहारको थिए भनेर ?


'सत्य हरिश्चन्द्र'को निर्माण तथा प्रदर्शन पश्चात नेपाली चलचित्रको माग भएता पनि बनाउनेतर्फ कसैको पनि पहल हुन सकेन । स्वयं डी.वी. परिहारको प्रयास पनि सफल भएन । वि.सं. २००७ सालमा राणाशासनको पतन र प्रजातन्त्रको उदय पश्चात देशमा लामो समयस्म्म संक्रमणकाल रहेकाले सिनेमा सम्बन्धी राज्यले कुनै निति नै बनाउन सकेन । सिनेप्रेमीहरु नेपाली सिनेमाभन्दा हिन्दीमै रमाउन थाले । स्वदेशमा सिनेमा नबने पनि हिन्दी र अंग्रजी सिनेमाको आकर्षण बढाउनका लागि गुन्द्रीमा बसेर हेर्नुपर्ने बाध्यतालाई अन्त्य गरी २००८ साल भदौमा सिनेमा हललाई आधुनिकीकरण गरिएको थियो । जसमा सिनेमा घरलाई प्रथम, द्धितीय, तृतीय र बालकोनी बनाई टिकट दर क्रमशः एक सुका, एक मोहर, १ रुपैयाँ र २ रुपैयाँ बनाइएको थियो । यसरी आधुनिकीकरण गर्दा जम्मा सिट संख्या २ सय थियो । त्यतिखेर सामाजिक सिनेमा चल्ने हुँदा जहिले पनि सिनेमा हाउसफूल हुने र धेरै मान्छे फर्कनुपर्ने अवस्था आइपर्न थाल्यो । यो क्रम २०१० सालसम्म यति बढ्यो कि मान्छेहरु सिनेमा हेर्न नपाएकै कारण झगडा गर्न थाले । पछि त टिकट खोल्नुपर्दा प्रहरीको संरक्षण चाहिन थाल्यो । कति पल्ट प्रहरी केश भयो । यो सबै हुनुको कारण त्यतिखेर एउटा मात्रै हल थियो भने मानिसहरुमा सिनेमाको आकर्षण बढी थियो ।

 

क्रमश...