मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म २०७० प्रिभ्यु : ब्लकबस्टर वा फ्लप ?

विष्णु शर्मा, काठमाण्डौ, २०६९ चैत्र २८, बुधवार

बिजोर अंकलाई समाज शुभ मान्दैन । संयोगवश, विजोर अंकको वर्ष ०६९ घरेलु फिल्मलाई फापेन । जोर अंकको ७० साल आइपुग्यो तर नयाँवर्षको पूर्वसन्ध्यासम्म पनि फिल्मका शुभ संकेत देखिएका छैनन् । फिल्मको रिल घुमेको घुम्यै छ तर एक्सन छैन, एक्टिविटी मात्र । फिल्म निर्माणको पांग्रोमा गति छ तर गतित्व छैन । यसर्थ बितेको वर्ष बिर्सनलायक रहेन । यसकारण वर्ष २०७० मा नेपाली फिल्म वस्तुगत र विषयगत ढाँचामा कस्तो हुनेछ भनेर चर्चा गर्नु यहाँ सान्दर्भिक हुनेछ ।

 

वर्ष २०७० अर्को ‘कालो वर्ष’को रुपमा अंकित हुनसक्ने सम्भावना देखिन्छ । राष्ट्रिय राजनीतिको छायाँले नेपाली फिल्मको व्यवसायिक गतिमा धक्का लाग्नेछ । वर्षभरी मुलुक र जनताको मनोविज्ञान संविधान सभा चुनाबको माहौलले प्रभावित हुनेछ । भलै, चुनाव होस् वा नहोस्, नागरिकको मुड चुनाव नै हुनेछ । चुनावको छायाँबीच फिल्मले दर्शक पाउनु सजिलो हुनेछैन । चुनावै भएन भने त्यसपछिको अवस्था झनै प्रत्युत्पादक बन्नेछ । राष्ट्रिय राजनीतिका अस्थिर मोडहरूमा फिल्मको व्यापार डामाडोल भएको तीतो अनुभव हामीसँग छ । संविधान सभा विगठनको छेकोमा रिलिज भएका सबै फिल्म निर्मम ढंगले फ्लप बने । रिलिज मिती तय गर्दा राजनीतिक अवस्था, पर्व, कृषिकर्म, मौसम र दर्शकीय मनोभावना बुझ्नु नितान्त जरुरी हुन्छ । ०७० सालको मियो चुनाव वरिपरि घुम्ने भएकाले बक्स अफिसको बिजनेस गौण हुनेछ । किनभने, नयाँवर्ष राजनीतिक अस्थिरताको वर्ष पनि बन्नेछ ।

 

क्रिकेट र फुटबल नेपाली फिल्मका लागि ठूलो चुनौति बन्नेछन् नयाँ वर्षमा । यी दुई खेल फिल्मको भविष्यलाई लिएर ‘थ्रेट’को रुपमा रहनेछन् । क्रिकेट र फुटवलमा उर्लिएको दर्शकको संख्या सायदै कुनै ग्ल्यामरको क्रेजले तान्न सकेको छ हामी कहाँ । फिल्मप्रति मोहभंग भएका दर्शकको रुचि क्रिकेटमा देखिनेछ । कीर्तिपुर क्रिकेट मैदानमा उर्लिएको २० हजार दर्शकको भीड नेपाली फिल्मको सिद्धान्तमा मात्र सम्भव छ अहिले । यतिबेला खेलले मात्र नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न सकेको छ । फिल्मले यस्तो अभूतपूर्व अवसर गुमाएको छ । क्रिकेटमा मनोरञ्जन र भावनाको मूल्य भेटिएपछि दर्शक हलमा पुगेर टाउको दुखाउन चाहँदैन । व्लकबस्टर ‘लुट’कै ह्याङओभरमा रहनेछ फिल्म आउँदो वर्ष पनि । सेन्सर बोर्ड पुनर्संरचना गर्न आन्दोलन र बैधानिक बाटाहरू तय गरिनेछन् ।

 

नयाँ र सिर्जनात्मक दृश्यभाषका फिल्म बन्ने सम्भावना न्यून देखिन्छ । युवापुस्ताले स्टाइलिस फिल्म निर्माण त गर्नेछन् तर त्यसमा गुदी नभेटिन सक्छ । विषयवस्तु उठान गतिलो हुनेछ तर स्क्रिप्टमा गाम्भिर्यता नपाइन सक्छ । तन्नेरीले बनाएको क्राफ्टमा पश्चिमा र कोरियाली प्रभाव ज्यादा पाइनेछ । थ्रीडी प्रविधिका अन्य फिल्म पनि रिलिज हुन सक्छ । छोटा फिल्म (डकुमेन्ट्री) फिचरका लागि चुनौति बन्नेछन् । यथार्थवादी प्रवाहका फिल्मको क्रेज बढ्ने भएकाले डकुमेन्ट्री बनाउनुपर्छ भन्ने अवधारणा बलियो हुनेछ । डायस्पोरका नेपाली समुदायमा स्वदेशी फिल्मको रुचि बढ्नेछ र निर्माणमा संयुक्त लगानीको अभ्यास पनि सुरु हुनेछ । विदेशमा हुर्किएको पुस्ताको सक्रियता फिल्ममा बढ्नेछ । विदेशी अनुहार र आदिवासी अनुहारको संलग्नता मेनस्ट्रिममा बढ्ता देखा पर्नेछन् ।

 

इन्टरनेट प्रभुत्वले अबको वर्ष फिल्मको मार्केटिङ एवं पब्लिसिटी अनलाइन र सामाजिक संजालमा निर्भर हुनेछ । तथापी मुद्रास्फिर्तीको प्रभावले मूल्यवृद्धि हुने भएपछि फिल्म निर्माणको लागत पनि ह्वात्तै बढ्नेछ । पारिश्रमिक, उपकरण लागत, वितरण र प्रदर्शन खर्च जोड्दा लागत झन्डै करोड नजिक पुग्नेछ । ४० देखि ५० लाखको औषतमा फिल्म बनिरहेपनि मूल्यवृद्धिको प्रभाव फिल्ममा देखिनेछ । यसरी फिल्मको टिकट मूल्य बढ्न सक्छ । यसको भार दर्शकको गोजीमा पर्नेछ । दैनिक जीवनका प्राथमिक आवश्यकताको कटौती गरेर सामान्य दर्शक महंगो टिकट काटेर फिल्म हेर्न जाँदैन । मल्टिप्लेक्सको टिकट शुल्क बढ्न सक्छ । निर्माणमा लगानी बढ्ने भएपछि कम लगानीमा फिल्म बनाउनेले ‘लार्जर द्यान लाइफ’ शैलीका फिल्म रोज्नुपर्नेछ । यस्तो गर्दा गुणस्तरमा सम्झौता गर्नुपर्ने हुन्छ ।

 

विदेशी सरकारले नेपाली फिल्मलाई पत्याइहाल्ने छैनन् । नेपाल सरकारले घरेलु फिल्मलाई ती देशमा वितरण र प्रदर्शन गर्न गर्ने आग्रहलाई भारत (दार्जिलिङ र सिक्किम), बर्मा, कतार, दक्षिण कोरिया, मलेसिया र हङकङले ग्रीन सिग्नल देखाउने सम्भावना न्यून नै देखिन्छ । आफ्नै राजनीतिक र सांस्कृतिक नीति तथा नेपाली फिल्मकै कन्टेन्ट त्यसमा बाधक बन्नेछन् । फेन्टासीभन्दा नेपाली समाज र संस्कृतिको कथामा आधारित फिल्मको ट्रेन्ड बस्न सक्छ । विदेशमा बस्ने नेपालीको रुचि र बजारका लागि कन्टेन्टको ढाँचामा बदलाव देखिनेछ । गैरआवसिय नेपालीको लगानी बढ्नेछ । विदेशी एम्बेसीले नेपाली फिल्ममेकर र कलाकारको प्रवेशाज्ञामा थप कडाइ गर्नेछन् । खासगरी खाडी राष्ट्रले भिजा प्रक्रियालाई कसिलो तुल्याउनेछन् ।

 

नयाँवर्षमा नेपाली फिल्म सांस्कृतिक उत्पादनको अर्थमा विकसित हुने देखिदैन । तर, केही यस्ता फिल्म बन्नेछन् जसले संस्कृति निर्माणका लागि नागरिक र राज्यसत्ताबीच अन्तक्रिया चलाउनेछन् । समाज र फिल्म जोड्न एकाध फिल्म लाभदायक बन्नेछन् र तिनले विषयवस्तुको सौन्दर्य उजिल्याउन सक्छ । दर्शक हलसम्म पुग्ने यात्रामा मनोरञ्जनका वैकल्पिक साधनहरू टेलिभिजन, होमभिडियो, इन्टरनेट, खेलकुद, घुमघाम र गेट–टुगेदरले अवरोध खडा गर्नेछन् । नेपालमै मल्टिडायमेन्सन फिल्म हलको संख्या बढ्न सक्छ । नयाँ मिडिया पोलिसीको नाममा राज्यले फिल्मका कतिपय सीमा तय गर्नसक्छ, जतिबेला असन्तुष्टिले फिल्मकर्मी आन्दोलनमा उत्रन सक्छन् । समग्रमा वर्ष २०७० फ्लप हुने देखिन्छ । ब्लकबस्टर बनाउन आशाको खेती चाहिँ अवश्य सुरु हुनेछ ।

 

facebook.com/newsboybishnu