मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली चलचित्रको पृष्ठभूमि (भाग १) : राजाराम फुयाँल

फिल्मीखबर, काठमाण्डौ, २०६९ चैत्र २७, मंगलवार

नेपाली चलचित्रको उठान अवधिको रुपमा रहेको यो चरण पनि रोचक तथ्य र घटनाहरुले रुचिपूर्ण बनाएको छ । चलचित्रको खाशै अस्तित्व नरहेको बेलामा पनि यसप्रतिको चासो बढिरहेको थियो । देशमा राणा शाशनको विरोध उत्कर्षमा पुग्दै थियो । आफ्नो विरोध भैराखेकाले राणाहरुलाई जे काम गर्न पनि डर लाग्थ्यो । चलचित्र पनि त्यसैको शिकार बन्दै थियो । तर पछि ठूलो विचार परामर्शपछि देशमा चलचित्र देखाउँदा र बनाउँदा राणा शासनलाई खतरा नभई लोकप्रियता बढ्ने विचार प्रवल भएपछि राणा शासकहरु स्वदेशमा सिनेमाहल खोल्ने निर्णयमा पुगे । यस कामका लागि दरबारका लागि गरगहना बनाउने कार्य गर्दै आएका आफ्नै विश्वासपात्र श्यामशंकर श्रेष्ठलाई दरबारमा बोलाइयो । सबै उच्चपदस्थ भाइ–भारदारहरुको बैठक बोलाइयो । बैठकले दरबार र जनताका लागि शुल्क लिएर सिनेमा देखाइने निर्णय गर्‍यो । चलचित्र घर संचालन गर्ने जिम्मा श्यामशंकर श्रेष्ठलाई दिइयो ।


तत्कालिन सरकारले श्यामशंकरलाई चलचित्र घर संचालन गर्न वसन्तपुर दरबार छेउको नाचघर (हालको विशाल बजार रहेको ठाउँ) उपलब्ध गरायो । सरकारी पुँजी ६५ प्रतिशत र श्यामशंकर श्रेष्ठको ३५ प्रतिशत लगानी गर्ने र आम्दानी पनि सोही अनुसार बाँडफाँड गर्ने शर्तमा यो काम अगाडि बढाइयो । चलचित्र घर बनाउने इञ्जिनियर कलकत्ताबाट आएका थिए । हल तयार भयो । सरकार र जनताको लगानीमा सम्पूर्ण नेपालीका लागि खुल्ला छ भनेर प्रचार प्रसार गरियो । यसरी नेपालको चलचित्र इतिहासमा पहिलोपल्ट २००६ साल मंसिर २७ गते नेपालका सर्वसाधारणका लागि पनि चलचित्र घर खुल्यो । सो चलचित्र घरको नाम ‘काठमाडौं सिनेमा’ राखियो । पछि सोही चलचित्र हलको नाम ‘जनसेवा’ मा परिणत गरियो ।


त्यसपछि चलचित्रको रिलसँगै टिकट कलकत्ताबाट ल्याएपछि टिकटको मोल सम्बन्धी समस्या उत्पन्न भयो । यसको समाधानार्थ एक भारतीय चलचित्र मालिकले टिकटको मूल्य एक सुका (२५ पैसा) राख्ने सल्लाह दिए पश्चात त्यही मूल्यलाई मान्यता दिइयो । टिकटमा एक सुका तिर्नु भनेको त्यतिखेर धेरै महंगो थियो । त्यसैले त्यसबेला टिकट मूल्य महंगो भयो भनेर विरोध पनि भयो । त्यतिखेर भारतमा दुई पैसामा टिकट विक्री हुन्थ्यो । त्यतिबेला बाटोघाटोको असुविधा थियो । १५ दिन भरियालाई बोकाएर काठमाडौंमा रिल ल्याउनु पथ्र्यो । रिल र  टिकटको व्यवस्था भइसकेपछि ‘काठमाडौं सिनेमा’ मा सर्वप्रथम २००६ साल मंसिर २७ गते ‘रामविवाह’ नामक हिन्दी चलचित्र देखाइने व्यवस्था गरियो, मानिसहरुले पहिले नै टिकट काटीसकेका थिए । हलमा क्रमश भिड बढिरहेको थियो । भीडसँगै कानेखुशी, उत्साह र रोमाञ्चकता पनि बढिरहेको थियो । हलभित्र के हुँदैछ ५–६ जना मात्रै भित्र के गरिरहेका छन् ? भन्ने कौतुहलता व्याप्त थियो । वाहिर जति दर्शक थिए तीमध्ये अधिकांश व्यक्तिले जीवननमा पहिलो पटक चलचित्र हेर्न गइरहेका थिए । बाँकी केहीले अगाडि नै एक दुई पटक चलचित्र हेरेकाले चलचित्र सम्बन्धी रोचक कुरा गरिरहेका थिए । वरिपरि कुरासुन्नेहरुको भीड थियो ।


उता चलचित्रको सेन्सर गर्न भनेर भित्र पसेका हल संचालक श्यामशंकर श्रेष्ठ, हरिवीर, भीमवहादुर सरदार, नरेन्द्रमणी, अच्युतराज गुरुज्यू लगायतका व्यक्तिहरु सेन्सर गर्नभन्दा पनि रामको वाण हान्ने सीपमा मख्ख परेका थिए । यिनीहरु सबैले जीवनमा धेरै कम चलचित्र हेर्ने मौका पाएका थिए । दरबार भित्र कहिलेकाही मात्र खुम्चिएर चलचित्र हेरेका यी व्यक्तिहरु ठूलो हलमा त्यसरी ५, ७ जनाले मात्रै हेर्न पाउनु ठूलो कुरा थियो । यो दृश्य आज इतिहास भैसकेको छ । ‘राम विवाह’ धार्मिक चलचित्र भएको कारणले सेन्सर गर्नका लागि कुनै दृश्य थिएनन् । फिल्म सर्वसाधारणका लागि खुल्ला गरियो । दर्शकहरु कौतुहलतावश हल भित्र कमिलाको गोलो झै खनिए । त्यसबेला अहिलेको जस्तो आरामदायक सिटहरु थिएनन्, दर्शकहरु गुन्द्रीमा बसे । पर्दामा राम र सितालाई देखेर मान्छेहरु अक्षता र फूलले पूजा गर्न थाले । एक पल्ट त हनुमानले पहाड बोकेर अगाडि उडेको देख्दा अगाडि बसेका मान्छेहरु उठेर पछाडि गएका थिए । चलचित्र बुझ्नेहरु यस्तो दृश्य देख्दा खुव हाँसेका थिए ।


यसैबेलादेखि चलचित्र देखाइनुअघि विभिन्न किसिमका डकुमेन्ट्री तथा विज्ञापन देखाउन थालियो । राणाहरुको विदेशयात्रा, राजा त्रिभुवनको विदेशयात्रा तथा अन्य विभिन्न किसिमका डकुमेन्ट्रीहरु चलचित्र शुरु हुनुअघि तथा इन्टरभलमा देखाइने परम्परा पनि त्यहीबाट प्रारम्भ गरियो । जव नेपालमा २००६ साल मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि चलचित्र खुल्यो तव पुरुष त धेरै नै चलचित्र हेर्न गए तर महिला दर्शकहरुको संख्या सून्य नै थियो । त्यसो हुनुको कारण पुरुषहरुसँग जहाँ पायो त्यही सँगै बस्न त्यतिखेरको संकिर्ण समाजले दिदैनथ्यो । एकातिर यो संकीर्णता र अर्कोतिर महिलाहरुलाई पनि चलचित्र हेर्ने रहरले गर्दा पाउनुपर्छ भनी मंगलादेवी सिंहको नेतृत्वमा एउटा आवाज निस्कियो । फलस्वरुप ‘मीरा’ नामक चलचित्र हरेक हप्ताको एक सो महिलाहरुका लागि मात्रै देखाउने आदेश दरबारबाट जारी भयो ।


२००६ साल माघ १८ गते शुक्रबार एउटा यस्तो दिन आयो, जहाँ टिकट बेच्ने सबै महिला नै थिए । टिकट जाँच गर्ने र दर्शकहरु पनि महिलाहरु मात्रै थिए । चलचित्र हेर्न गएका महिला दर्शक त्यतिखेर आश्चर्य भए जव चलचित्रका पात्र सबै महिला मात्रै थिए । उक्त चलचित्र कृष्णका गोपिनीहरुको बारेमा थियो । ती गोपिनीहरुले आपसमा कृष्णको कुरा गरेको र कृष्णको भजन गाएको उक्त चलचित्रको अन्त्यमा एकपटक मात्र कृष्ण देखा पर्दछन् । महिला नै कर्मचारी महिला नै दर्शक र महिला नै कलाकार भएको उक्त संयोग कम रोचक थिएन ।

 

                                                                                                                                                          क्रमश...