मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

ट्रेलरमा जे छ त्यो भन्दा बढी फिल्ममा छैन : राजेश घिमिरे

फिल्मीखबर, काठमाण्डौ, २०६९ फाल्गुन १६, बुधवार

टेलिभिजनको पर्दामा ‘छड्के’को ट्रेलर हेर्दा नै लाग्यो नेपाली फिल्म पनि अब स्तरीय बन्न थाले । हुन त गत बर्ष चलचित्र लुटले नेपाली चलचित्रको संभावना उजागर गरेको थियो । कहिल्यै नेपाली चलचित्र नहेर्नेले पनि हल सम्म धाएर लुट हेरेकै हुन् । लुटले नेपाली चलचित्र उद्योगमा नयाँ रेकर्ड पनि बनायो । यस बर्ष चलचित्र छड्केले लुटले जस्तै व्यापार गर्ने आँकलन मैले मात्र होइन धेरैले गरेका थिए ।

 

ट्रेलर, पोष्टरलगायतका प्रचार सामग्री अनि रिलिज पूर्व देखिएको चलचित्र युनिटको भिन्न खालको प्रचार शैलीले गर्दा पनि चलचित्र छड्केले केहि गर्ला भन्ने म जस्ता धेरैले सोचेका थिए । त्यहि भएर होला चितवनको जलमा चलचित्र हलमा पुग्दा मेरै उमेर समुहका सयौं युवा युवती भेटिए । बाल्कोनीमा खचाखच देखिएका प्रायः दश जोड दुई अध्ययनरत जस्ता देखिन्थे । अधिकांश कलेजको ड्रेसमै थिए ।


हामी सोच्ने गछौं चलचित्र कस्तो छ ट्रेलरले संकेत गर्छ । तर, छड्के हेरेपनि मैले बुझेको कुरा, ‘फिल्ममा जे छ पुरै ट्रेलरमै छ, ट्रेलरमा जे छ त्यो भन्दा बढी फिल्ममा छैन ।’ बरु फिल्म हेर्दा सुरुआती करिब आधा घण्टा पट्यार लाग्छ । त्यसपछि भने कथा सुरु हुन थाल्यो कि झैं लाग्छ । बहुप्रतिक्षित चलचित्र छड्के चितवनका डनहरुले बनाएका ग्याङ र ग्याङले निम्त्याएको समस्याको बिषयमा केन्द्रित छ । सडक देखि वन सम्म कब्जा जमाउदै वन्यजन्तुको तस्करीमा सकृय चितवनका ग्याङ र राजनीतिक दलको खोल ओडेर (चुल्ठे, मुन्द्रेको समूह) ग्याङ परिचालन गरी गरिने तस्करीको बिषयलाई उठाएको छ यस चलचित्रले ।

 

चलचित्रमा छेवाङ् लामा(रविन तामाङ्)को रोयल ग्याङका छ जनाको ध्याउन्न पैशा कमाउनमै छ । उनीहरु पैशाका लागि जे सुकै गर्न तयार छन् । ग्याङमा रहेका बोक्सी(अर्पण थापा), दावा(दयाहाङ राई), सुली(नम्रता श्रेष्ठ) लगायतको चरित्र र गन्तव्य स्पष्ट छैन । ग्याङमा ख्याति कमाएका स्टारहरुलाई समाबेस गरिए पनि उनीहरुको भूमिका खासै छैन । नम्रतालाई त महिला कलाकार देखाउनकै लागि मात्र राखिएको झैं लाग्छ । दावाले बेला–बेलामा हसाउछन् । तर कुनै कलाकारको छुट्टै पहिचान छैन । उनीहरु सबै छेवाङ्को १८ वटा गैडाको खाग जम्मा गर्ने मिसनका सहयोगिका रुपमा मात्र देखाइएका छन् । कुरी ग्याङका बिपिन कार्की (विन्दु)ले दर्शकलाई पेट मिचि–मिचि हाँस्न बाध्य पार्छन् । विन्दु बोल्यो की दर्शकमा हाँसोको फोहोरा छुट्छ । उनले अपशब्द नै बोल्दा पनि दर्शक मज्जाले हाँस्छन् ।

 

आफ्नो दाईलाई छेवाङको बाइकले हानेर घाइते बनाएपछि आक्रोशित बनेका निकुन श्रेष्ठ बिपिन कार्की(विन्दु)कै जोडमा रोयल्स ग्याङको बिरुद्ध लाग्न सहमत हुन्छन् । तीन जनाको कुरी ग्याङलाई छेवाङलाई मार्न राजनीतिक दलका नेताका रुपमा देखाइएका सुनील पोखरेलले परिचालन गर्छन् । छेवाङ्लाई सौराहाको थारु कल्चर भाषण गर्दा गर्दै गोली हानेर मार्न सफल कुरी ग्याङलाई फेरी रुख काट्ने जिम्मा आइपर्छ ।


चलचित्रमा आधा भन्दा बढी समय मान्छे मार्ने मात्र काम हुन्छ । चितवन राष्ट्रिय निकुञ्जमा दिन दो गुणा रात चौगुणा फैलिएको भनिएको बनमारा झार (माइकेनीया मिक्रान्था)को बिषयमा अध्ययन गर्दै गरेका युवक सौगात मल्लले निकै अस्वभाविक रुपमा मान्छे काटेको देखाइएको छ । बनमाराको अध्ययन गर्न निकुञ्जमा रहेका सौगातको व्यवहार अचम्मैसँग परिवर्तन हुन्छ । गैडा मार्न निकुञ्ज छिरेका बोक्सीको आक्रमण पश्चात सौगात गेटअप, हाउभाउ सवै परिवर्तन गरेर जंगली व्यवहार देखाउछन् । जंगलमा भेटिएका एक दर्जन बढीको उनले टाउको छिनाल्छन् । नाङडो शरिर, बाघको दाराको हतियार बनाएर चार हात खुट्टा टेकेर संरक्षणमा लागेका सौगातको अभिनय यो कथाको लागि अस्वभाविक लागेपनि उनको अभियन प्रसंसा योग्य छ । प्रायः चलचित्रमा छुट्टा–छुट्टै भूमिकामा देखिने सौगात यस चलचित्रमा पनि बिल्कुलै फरक भूमिकामा देखिएका छन् । उनको रुख चढ्ने तरिका, हाउभाउ सवै प्रसंसा गर्न लायक छन् । चलचित्रमा समावेश ‘म त खेल्छु भालुको काँधमा’ बोलको गीतले सकरात्मक सन्देष दिन्छ । यसका अलावा निकुञ्ज भित्र रहेका वनस्पति र जडिबुटीको बिषयमा जानकारी दिइनु पनि सकरात्मक हो । तर, निर्देशकको कमजोरी ति वनस्पति र जडिबुटीको नाम लेखेर चिनाउनु हो ।
 


समग्रमा भन्नुपर्दा यस चलचित्रको कथाबस्तु अत्यन्तै हल्का छ । सानो कथामा झण्डै दर्जन स्टारहरुको भूमिका मजबुद हुने कुरै भएन । छड्केले सौगात र हाँस्य भूमिकामा देखिएका विपिन कार्कीलाई थप उचाई प्रदान गर्ने निश्चित छ । अन्य कलाकारहरुका लागि भने यस चलचित्रले खासै भूमिका खेल्दैन । बरु विभिन्न उपाय लगाएर चलचित्रको प्रचार प्रसार व्यापक बनाउने अनि चलचित्र चाहिं स्तरीय बानाउन नसक्ने निर्माता तथा निर्देशकहरुलाई चिन्ने अवसर दर्शकले पाएका छन् । चितवनको कथामा तयार भनिएको चलचित्र छड्के चितवनेलाई नै पनि हेर्दा खासै मज्जा आउने खालको छैन । महत्वपूर्ण कुरो त यस चलचित्रले ‘छड्के’ शब्दलाई पनि न्याय गरेको भेटिएन ।          
                                                                                                   

                                                                                                                                                                                                              –[email protected]