मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के निर्देशकले आफनो दायित्व पुरा गरिरहेका छन् त ? - रवि अर्याल

फिल्मीखबर, काठमाण्डौ, २०६९ फाल्गुन ५, शनिवार

चलचित्र निर्माण भनेको टिम वर्क हो तर यो वान म्यान सो हो र त्यो म्यान भनेको निर्देशक हो । म यसका केहि उधाहरणहरु दिन चाहन्छु । जसरी एउटा बलियो घर निर्माणका लागि त्यसको जग बलियो हुनु अत्यावश्यक हुन्छ, त्यस्तै समाजमा उदाहरणीय परिवार हुनका निम्ति त्यस घरको मूली राम्रो हुनु जरुरी छ । ठीक त्यसैगरी एउटा राम्रो चलचित्र बन्नका लागि राम्रो निर्देशकको जरुरी पर्छ । किनकि चलचित्र भनेको पुर्ण रुपमा केवल निर्देशकको मात्र हो । निर्माताले पैसा हाल्छन्, कलाकारहरुले अभिनय गर्छन् जान्छन् । प्राबिधिकहरुले आ-आफनो काम गर्छन् जान्छन् तर निर्देशक ? उस्ले त स्क्रिप्ट लेखन देखि कलाकार छनोट, गीत रेर्कडिङ, लोकेशन छनोट, छायांकन, पोस्ट प्रोडक्सन देखि चलचित्र रिलिजसम्म आफनो सम्पूर्ण परिश्रम खर्चिन्छ । यस अर्थमा एउटा चलचित्रमा दिमाग त धेरैको लाग्छ तर ति सब दिमागको पनि मास्टर माइन्ड भनेको निर्देशक नै हो ।


बिश्वमा चलचित्र उत्पतिको ईतिहास हेर्ने हो भने यसले ११६ बर्प पार गरिसक्यो । नेपालमा २००७ सालमा बनेको सत्य हरिश्चन्द्र देखि कुरा गर्ने हो भने ६ दशक पार गरिसकेको नेपाली चलचित्रले कति फड्को मार्‍यो त ? यो आफैमा एउटा गहन प्रश्न छ । गहन यस अर्थमा कि हाम्रो जस्तो सीमित साधानस्रोत, सीमित बजेट र प्रबिधिमा जे बनाईरहेका छौ, जे गरिरहेछौ त्यस्मा हामीले पूर्ण रुपमा गर्व गर्न सक्छौ । ३ बर्ष अगाडि म आफनो चलचित्र लिएर लस एन्जल्स् फिल्म फेस्टीबल, अमेरीकामा जाँदा केहि चलचित्रवालाहरुले तेरो चलचित्र कति दिनमा सुटिङ सिध्याएको ? यस्को बजेट कति हो ? भनेर सोध्दा मैले त्यस चलचित्रमा लागेको बास्तबिक सुटिङ अवधि, फिल्ममा लागेको बजेट, निर्माणका समस्या र सुटिङका बाध्यताहरु  अवगत गराउदा उनीहरु तीन छक परी समष्ट नेपाली सिने जगतको नै तारिफ गरे ।


यति धेरै क्षमता भएका निर्देशकहरु हुँदाहुँदै पनि किन हामीले दिनप्रति दिन नेपाली चलचित्र हेर्ने दर्शकहरु गुमाउदै गईरहेका छौ ? किन हाम्रा दर्शक आज २ प्रतिशत भन्दा पनि कम भएर गए ? किन हामीले बिदेशी बजारमा हाम्रो चलचित्रलाई पुर्‍याउन सकिरहेका छैनौ ? अब यि प्रश्नहरुको उत्तर नेपाली चलचित्रका निर्देशकहरुले खोज्नु पर्ने दिन आईसकेको छ । किनकि निर्माता भनेको त ब्यापारी हुन् । उनीहरुले चलचित्र निर्माणमा घाटा खाए भने पनि अर्कै ब्यवसाय गरी त्यताबाट आफनो लगानी उठाउन सक्छन् तर निर्देशकले कहा गएर के गरेर उठाउने ? के उस्ले अन्तै गएर कुनै ब्यवसाय गर्न सक्छ ? के त्यो ब्यवसाय गर्ने शिप उस्मा छ ? के उस्ले चलचित्र निर्देशन बाहेक अरु केहि जानेको छ ? यो प्रश्न हामी सबै निर्देशकले पुन: एक पटक आफूले आफैलाई सोधौ । डाडु पन्यु हाम्रो आफनै हातमा छ । हामी डढेको खाने कि काँचो ? बिलुनो खाने कि नुनिलो ? अथवा पाकेको मीठो बास्नादार खाना खाने ? अहिले चलचित्रमा जगतमा दुई पुस्ताका बिच आरोप प्रत्यारोप चलिरहेछ । नयाँ पुस्ताका निर्देशकहरु भन्छन्- 'पुराना बुढा निर्देशकहरुले हिन्दी फिल्मको नक्कल गरेर नेपाली चलचित्र बनाएर बजार नै खत्तम पारे ।' अनि पुराना निर्देशकहरु भन्छन्- 'नयाँ पुस्ताका निर्देशकहरुले फरक र उत्कृष्ट चलचित्र बनाउने नाममा कोरीयन र दक्षिण भारतको फिल्मको नक्कल गर्ने र अनि नग्न र अति छाडा फिल्म बनाए ।'


यसरी एकअर्कालाई आरोप प्रत्यारोप भन्दा पनि समस्त चलचित्र क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ, त्यसबारेमा सोच्नुपर्‍यो । जहाँको गरे पनि नक्कल त आखिर नक्कल हो । जसरी देश रहे न जनता हुने हो भनिन्छ त्यसै गरी भोली चलचित्र क्षेत्र नै रहेन भने हामी चलचित्रकर्मीको के अस्तीत्व रहन्छ ? सधै यसैगरी अर्काको देशको चलचित्रको नक्कल गरी  भएका दर्शक पनि गुमाउने कि आफनो संस्कृतिको झनक दिई अरु थप नया दर्शकहरुलाई आकर्षित पार्ने ? किन अझै पनि फिल्म उद्योगमा हामीले सबै बर्ग र क्षेत्रका नेपालीलाई आकर्षित गर्न सकेनौ ? किन मध्यम र माथिल्लो बर्गले नेपाली फिल्म भनेर नाक खुम्चाउँछन् ? कसरी उनिहरुको नजरमा हामीहरुले आफनो ब्यक्तित्व गुमायौ ? पुनः हामीले आफैलाई प्रश्न गरौ र एक चोटी सबै अतित बिर्सेर आज सम्म जति चलचित्र हामीले बनायौ, त्यो या त निर्माताको लागि या त दर्शकको लागि ? जवाफ आफैसँग खोजौ ।

 

के निर्देशकले आफनो लागि आफुलाई मन पर्ने चलचित्र कहिल्यै बनाए त ? जसमा नेपालीपन, नेपाली संस्कृती, नेपाली रहनसहन, नेपालका सुन्दर दृश्यहरु समेटिएका होस् । यस्को जवाफ हामी सबै निर्देशकहरुले आफनो फिल्ममा खोज्न सक्यौ भने त्यो दिन टाढा हुदैन, जसले तपाई हामीलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली निर्देशक भनेर गौरवसाथ चिनाउने सुवर्ण अवसर दिलाउनेछ । होईन भने हामी सबैको हालत भोलीको दिनमा हाम्रा केहि अग्रजहरुका जस्तै अस्वस्थ भएर अस्पताल भर्ना हुँदा उपचारका लागि पैसा नभई चन्दाका लागि हारगुहार गर्नु परेको थियो । यदि यहि प्रकारका चलचित्र हामीले निर्माण गर्दै गयौ भने हाम्रो हालत पनि त्यहि हुनेछ ।


दिमाग निर्देशकको, मेहनत निर्देशकको, परिश्रम निदेशकको, संम्पूर्ण कुरा निर्देशकको अनि चलचित्र चाहि आफनो लागि नभई अर्कैको लागि बनाउने ? के हामीले आफुले आफुलाई न्याय गरी रहेका छौ त ? के हामीले भोलीको हाम्रो भबिष्यलाई सुनिश्चित पारीरहेका छौ त ? हाम्रा सन्ततिले भोली हामीलाई यस्तो पनि चलचित्र हुन्छ भनेर खिल्ली उडाए भने तिनीहरुलाई के जवाफ दिने ? के चलचित्र भनेको मनोरञ्जन र टाइमपास मात्र हो त ? के हामीले हामी निर्देशकको महत्व बुझेका छौ ? के हामीले हाम्रो दायित्व पुरा गरिरहेछौ ? यदि यो मूल्यांकन गर्न ढिला गर्‍यौ भने भोली हामीसँग पश्चाताप बाहेक अरु केहि बाँकी रहने छैन । त्यसैले हतारमा चलचित्र बनाएर फुर्सदमा पछुताउनु भन्दा अहिल्यै सोचेर चलचित्र बनाउने कि ?