मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

डिजिटल अनुवादमा नेपाली फिल्म : प्रकटकुमार शिशिर

फिल्मीखबर, काठमाण्डौ, २०६९ माघ १८, बिहिवार

शुक्रवारे साइतबाट फिल्म रिलिज हुने र साता दिन नवित्दै उत्रने समाचारले फिल्म निर्मातालाई मात्र होइन दर्शकलाई पनि निराश बनाइरहेको छ । फिल्म रिलिज र त्यसको विजनेसले सन्तुष्ट नहुने समयमा पनि फिल्म भित्रका केही परिवर्तनका संकेतले धेरैलाई खुशी पनि तुल्याउँछ ।


२००७ मा भारतमा बनेको नेपाली फिल्म सत्य हरिश्चन्द्र होस् या नेपालमा नै २०२१ सालमा निर्माण भएको फिल्म आमा होस् । हरिश्चन्द्र पछिको ६२ बर्ष र आमा पछिको ४८ बर्षको यो विचमा नेपाली फिल्मले धेरै आरोह अवरोह गर्‍यो । यो विचमा फिल्म निर्माणसँगै फिल्म घरहरुको पनि व्यापक रुपमा स्थापना भए । सिंगल थिएटर (फिल्म मात्र देखाउने एउटा हल) र सेल्यूवाइड प्रविधी (रिलका माध्यमबाट फिल्म देखाउने) को भरमा रहेको फिल्म उद्योगले परिष्कृत रुप लिदै सिनेप्लेक्स (एकै ठाउँमा दुई वा दुईभन्दा बढि फिल्म हल), मल्टिप्लेक्स (सपिङ मलभित्र भएको दुईभन्दा बढि फिल्म हल) डिजिटल प्रविधीमा रुपान्तरण भएका छन् । अहिले नेपाली फिल्म उद्योग डिजिटल युगमा अनुवाद भैसकेको छ । अहिले फिल्म हेर्नु र फिल्म बनाउनु दुवैको परिभाषा फेरिएको छ । नेपाली फिल्ममा आएको यो ट्रेण्डमा केही व्यवसायी निरन्तर लागिपरेका छन् ।


नेपाल चलचित्र निर्माता संघका पूर्वअध्यक्ष समेत रहेका फिल्म व्यवसायी अशोक शर्मा भन्छन्- ‘फिल्म बन्ने विश्वका देशहरु मध्ये संख्यात्मक रुपमा फिल्म बन्ने मुलुकमा नेपाल ६७ औं मुलुकभित्र पर्दछ तर नेपाल संसारको पहिलो देश हो जुन देशमा प्रदर्शन, वितरण र उत्पादन सबै डिजिटल माध्यमबाट बन्ने गर्दछ ।’ छिमेकी मुलुक भारतमा पनि अझै प्रिन्टमा काम हुन्छ तर हाम्रो देश प्रिन्ट फ्रि भैसक्यो । 'प्रविधीका हिसाबले हामीले छिटो फड्को मार्‍यौं', उनले भने- 'हाम्रो देश डिजिटल शुरु गरेकोमा होइन सम्पूर्ण काम डिजिटलमा गर्ने पर्छ ।'


चलचित्र विकास वोर्डको तत्थांकले पनि फिल्म उद्योग डिजिटल तिर प्रवेश गरेको पुष्टि गर्दछ । आर्थिक बर्ष ०६५/६६ मा नेपालमा १ सय ३ सेल्यूवाइड फिल्मले निर्माण अनुमती लिएका थिए । ०६६/०६७ मा आइपुग्दा ८४ सेल्यूवाइड र ८० डिजिटलले अनुमती लिए भने ०६७/०६८ मा सेल्यूवाइडको संख्या घटेर २८ पुग्यो भने डिजिटलको संख्या बढेर ५७ पुग्यो । त्यस्तै गत आर्थिक बर्षमा ९ सेल्यूवाइड र ९५ डिजिटल फिल्मले निर्माणको स्विकृती लिए । त्यस्तै यो आर्थिक बर्षको ५ महिनामा ५५ वटा डिजिटल फिल्मले निर्माण अनुमती लिएको बोर्डको तथ्याँकमा छ । एउटा फिल्म ह्वाइट हाउसले सेल्यूवाइड प्रविधीको अनुमती लिएपनि सेल्यूवाइड प्रविधीमा बन्न नसक्ने शर्माको भनाई छ । फिल्म निर्माण बढ्दै जाँदा फिल्म घरमा नयाँ प्रविधी र लगानी पनि बढिरहेको छ ।


नेपालमा ६ बर्षअघि डिसिएनले वितरण प्रणालीमा डिजिटल प्रविधी भित्राएपछि नेपालमा डिजिटल फिल्म बन्ने क्रम बढेको हो । पहिलो डिजिटल फिल्मको रुपमा भूषण दाहाल निर्देशित कागवेनीलाई लिइन्छ त्यसपछि सानो संसार निर्माण भयो भने अहिले सबै फिल्म डिजिटल फरम्याटमा निर्माण हुन्छन् । डिसिएनले देशका ९० वटा हलमा आफ्नो सर्भर जडान गरेको छ । त्यस्तै क्वेष्ट इण्टरटेनमेण्टले भारतको यूएफओ मुभीज कम्पनीको सहकार्यमा स्याटेलाइट नेटवर्क अन्तर्गत नेपालका ३८ हलमा एकैसाथ फिल्म देखाउने व्यवस्था गरेको छ । त्यस्तै गोपिकृष्णले क्यूबसँग सहकार्य गरेर २० हलमा फिल्म रिलिज गर्ने गर्दछ । यी प्रविधीले गर्दा नेपाली फिल्म मात्र होइन हलिउड र बलिउड फिल्म रिलिज भएकै दिन नेपालमा प्रदर्शन हुन्छन् । फिल्मको ३ मूलआधार निर्माण, वितरण र प्रदर्शन तिनै कुरा अहिले डिजिटलमा छन् ।


प्रिन्टभन्दा सस्तो छिटो र गुणस्तर भएको डिजिटलले दर्शकलाई मात्र सुविधाको दिएको छैन । फिल्मकर्मीलाई आर्थिक भार पनि कम गराएको शर्मा बताउँछन् । 'प्रिन्टको समयमा प्रिन्ट गर्दे बोकेर ठाउँ ठाउँ पुराउनु पर्दथ्यो तर डिजिटलमा त्यस्तो समस्या छैन यसले आर्थिक भार कम गरिदिएको छ । प्रिन्टमा भन्दा डिजिटलमा १० लाखसम्म कम खर्च हुन्छ', उनले भने ।


फिल्म डिजिटल तिर उक्लिदाँ सेल्यूवाइड प्रविधीमा भरपर्ने हलहरु पनि धमाधम बन्द भएका छन् । नेपाल चलचित्र संघका अनुसार २० बर्षको अवधीमा ४ सय ३० हल बन्द भएको जनाएको छ । अहिले देशभर १ सय १७ वटा हल छन् । सबै हल अहिले डिजिट्ल्याइड भैसकेको संघले जनाएको छ । 'सिंगल थिएटर रहेका राजधानी र राजधानी बाहिर जुन प्रिन्टबाट सञ्चालन हुन्थ्यो तिनीहरुले प्रविधीलाई अपग्रेड नगर्दा बन्द भएका छन् । यसमा प्रविधीसँगै दर्शक नआउँदा पनि बन्द भएका हुन्', चलचित्र संघका पूर्वमहासचिव प्रदीप उदयले बताए ।


जमाना मल्टिप्लेक्सको


पछिल्लो पटक मल्टिप्लेक्स अवधारणामा फिल्म घर खुल्ने क्रम बढिरहेको छ । २ वा २ भन्दा बढि हल भएका सिनेप्लेक्स र सपिङ मलभित्र खुलेका मल्टिप्लेक्सले दर्शकको फिल्म प्रतिको अभिरुचिलाई बढाउँदै लगेको छ । सन् २००१ मा स्थापना भएको जय नेपाल सिनेमा घरले सन् २००९ मा क्यूएफएक्स ब्राण्ड स्थापना गरी मल्टिप्लेक्सको अवधारणा भित्राएको थियो । यो ब्राण्ड अन्तर्गत जयनेपाल आधुनिक हलको स्थापना गर्‍यो भने मल्टिप्लेक्स बनाउँदै कुमारी हलमा २ र सिभिल मलमा ३ हल स्थापना भएको छ । साउण्ड, सिटदेखी लिएर सुरक्षाका हिसाबले यस्तो अवधारणाले दर्शकलाई आकर्षित गरेको क्यूएफएक्सका अध्यक्ष नकिम उद्दिम बताउँछन् ।


कमलपोखरी स्थित सिटी सेन्टरमा पनि विग मुभिजका ३ पर्दा छन् । त्यस्तै गोपिकृष्णले ८ पर्दाबाट फिल्म देखाउने गर्दछ । गुण, बाराही, अष्टनारायण, गंगा हलमा पनि १ भन्दा बढि पर्दा मार्फत फिल्म देखाउने गरिन्छ । मल्टिप्लेक्सको अवधारणा भित्रिए पछि यी हलहरुले स्तरोउन्नती गरेका हुन् । राजधानीमा मात्र होइन यस्तो अवधारणा मोफसलमा पनि छ । हेटौडामा ओम हलमा २ वटा हल छन् । त्यस्तै पोखरामा पनि एउटै हलबाट धेरै पर्दा मार्फत फिल्म देखाउने गरिन्छ । नारायणगढ, दमक, धरान, दाङमा पनि आधुनिक हल बनिसकेका छन् । राजधानीको चावहिल स्थित केएल टावरमा अहिले दुई वटा हल सञ्चालनमा आएको छ भने अर्को हल छिट्टै सञ्चालनमा आउने तयारी छ ।
 


मलभित्र भएका हलमा सिटी सेन्टर, केएल टावर र सिभिल मल हुन् । अब चाँडै नै त्रिपुश्वेरको सिभिल ट्रेड सेन्टरमा पनि हल सञ्चालनको तयारी भैरहेको छ । त्यस्तै न्यूरोडको रञ्जना हलले पनि मल्टिप्लेक्स अवधारणा लिदैछ । ललितपुरको पुल्चोकमा पनि मल्टिप्लेक्स अवधारणामा अर्को हल बन्ने क्रममा छ भने जमलमा विश्वज्योतीले नयाँ भवन निर्माण गरिरहेको छ । सिंगल थिएटरको जमाना अब नरहेकाले धेरैले मल्टिप्लेक्स अवधारणामा जानु परेको उद्दिमको भनाई छ । 'यसमा दर्शकले धेरै सुविधा पनि पाउँछन् । मल भित्र छ भने सपिङदेखी रेष्टुरेण्ट र खेलकुदका क्रियाकलाप पनि हुन्छ', उनले भने । नेपालमा भएका अन्य हलहरु विस्तारै मल्टिप्लेक्समा जाने पनि उनले बताए । 'यसका लागि नेपाली फिल्ममा गुणस्तरता आउनुपर्छ । हलहरु अपग्रेड हुँदै जान्छन्', उनले भने  ।


नेपाली फिल्म उद्योगमा सकारात्मक संकेत भनेकै मल्टिप्लेक्स र डिजिटल भएको फिल्मको सामाजिक तथा आर्थिक प्रभावमाथी शोधकार्य गरेका डा. प्रदीप भट्टराई बताउँछन् । 'फिल्मको व्यापारले खासै प्रगती नगरेको समयमा हामी रमाउने भनेको यीनै विषयमा हो', उनले भने- 'तर डिजिटलको पनि बेञ्चमार्क छैन । यसको पनि मापदण्ड हुनुपर्छ अनि मात्र नयाँ आयाम थपिन्छ ।' डिजिटल फरम्यार्टमा आएपछि फिल्मले अलगधार पनि ग्रहण गरेको छ । 'फिल्म चल्नु र नचल्नु आफ्नो ठाउँ छ तर फिल्ममा भित्रिएको प्रविधीले भविष्यमा केही आशा गर्ने सक्ने संकेत दिएको छ । यही अनुसार प्रस्तुतीमा ध्यान दिने हो भने धेरै राम्रा फिल्म बन्छन्', उनले बताए ।