मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 2.09/5.00)
Text size:-
+
-

फिल्म `फ्लप` मात्रै कति लेख्नु ? : धनबहादुर खड्का

फिल्मीखबर, काठमाण्डौ, २०६९ पौष १५, आईतवार

फिल्मको धन्दामा मन्दी छाएको छ । ‘लुट’ले लुट्नु, ‘चपली हाइट’ले उचाइ नाप्नु र ‘सायद’ सफल हुनु अपवाद हुन् । यो एक वर्षमा सयको हाराहारीमा फिल्म फ्लप हुँदा झन्डै ५० करोड रुपैयाँ फिल्मको धन्दामा डुबेको छ । तर, फिल्म निर्माणको धन्दा कम भएको छैन । यही अवस्थामा फिल्म ‘धन्दा’ हलमा लागेको छ । नेपाली फिल्मका लागि अप्रिय दृष्यसँगै खुलेको अग्रेजी नयाँ वर्षको पर्दा अन्त्यमा पनि उस्तै हालतमा बन्द हुने स्थितिलाई यसले जोगाउन सक्ला कि !


लामो समयपछि भएको ‘प्रिमियर उत्सव’मा सहभागी फिल्मकर्मी यस्तै मौन प्रश्न गरिरहेका थिए । अघिल्लो वर्षसम्म फिल्मैपिच्छे हुने प्रिमियर यो एक वर्षमा ‘हाइवे’ पछि ‘धन्दा’ले मात्रै गरेको हो । उपस्थित फिल्मकर्मीको अनुहारमा उमंग कम र सन्देहको छायाँ बढी देखिन्थ्यो । आफ्नो कार्यप्रति आशावादी हुनु पनि जितको एउटा अंश हो भनिन्छ । निर्माता बाबुराम दाहाल, निर्देशक सुदर्शन थापा र स्क्रिप्ट लेखक तथा कलाकार अर्पण थापा आफ्नो कर्ममा आशावादी देखिए । शुक्रवारबाट रिलिज भएको फिल्म ‘धन्दा’ सही सावित हुन्छ वा गलत ? यसको परिणाम केही दिनमा थाहा लाग्ला ।


फिल्म क्षेत्रमा ‘धन्दावाल’ नै हावी भएकाले निर्माणमा कमी नआएपनि स्थिति संकटग्रस्तै छ, दुई वर्षदेखि । अघिल्लो वर्ष यहीकारण यतिबेला नेपाली फिल्ममा ‘संकटकाल’को घोषणा गर्ने तरखर हुँदै थियो । त्यस्ता कुरामात्रै गर्न सक्ने विकास बोर्ड यसवर्ष नेतृत्वविहीन छ । त्यसैले संकटकाल घोषणा भइहाल्ने ‘खतरा’ छैन तर स्थिति भने त्यो भन्दा फरक छैन । अघिल्लो वर्ष नयाँ वर्ष सुरु भएको दोस्रो साता फिल्म ‘लुट’ चलेर संकट टारेका थियो । निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘लुट’ले नेपाली फिल्ममा सम्भावनाको नयाँ किरण देखायो । सौगात मल्ल, दयाहाङ राईलगायत कलाकारका सशक्त अभिनय रहेको ‘लुट’ले मसानघाटमा पुग्नै आँटेको नेपाली फिल्ममा प्राण फुकिदियो । ‘लुट’ले दर्शकको माया लुट्यो । नेपाली फिल्म भनेपछि सुनेको नसुन्यै गर्ने दर्शकलाई ‘माम्पाका’ र ‘पासा’ कतै सुनेजस्त शब्द लागे । त्यसपछि सबै हलमा पुगे ।


संकटकाल घोषणाको याचना गरिरहेका एकथरी फिल्मकर्मी पछि हटे । ‘लुट’ले नेपाली फिल्म निर्माण र कथा वाचनको पुरानो शैलीमा ‘डोजर’ चलाएको थियो । त्यसपछि दर्शक नेपाली फिल्म हलसम्म तानिएका त थिए, तर हलसम्मको उनीहरूको यात्रा हालसम्म नियमित हुन सकेन । व्यवसायिक सफलतामा विनिता वरालले भरपुर मादक दृष्य पस्केको ‘चपली हाइट’ले ‘लुट’को बाटो पछ्यायो । ‘लुट’ले लिएको बाटोमा काँडा राख्न तम्सिने फिल्ममेकरले ‘चपली हाइट’को बाटो पछ्याए । एउटा तप्काको मनोकांक्षा पूरा गरेर हिट भएको उक्त फिल्मका सिक्वेल जस्ता लाग्ने फिल्म निर्माण कार्य उग्रगतिमा भयो । के हेक्का राखेनन् भने यौन केन्द्रीत फिल्मका लागि ‘चपली हाइट’ अन्तिम हाइट थियो । त्यो भन्दा माथि उक्लिन खोज्नेहरु नउठ्ने गरी लडे ।

 

‘द लास्ट किस’, ‘बिन्दास’ जस्ता नामधारी दर्जनभन्दा बढी फिल्ममा यौन दृष्यकै वरिपरि क्यामेरा घुमाएर बनाइए । ‘चपली हाइट’ले एटिएममा पैसा भरेको थाहा पाएर बन्यो फिल्म ‘एटिएम’ । भद्दा सम्वाद र अश्लिल दृष्यको ‘डंगुर’ एटिएमले नेपाली फिल्म क्षेत्रै दूषित पार्‍यो । एक हप्तामै चार वटासम्म नेपाली फिल्म हलमा लागे । पर्दामा नायिकाहरू रोइरहे, नायकहरू तन्किन सक्ने जति घाँटीका नशा तन्काएर चिच्याइरहे, खलनायकहरू बाहुबल देखाइरहे । दर्शकलाई न नायिकाका क्रन्दनले छायो, न नायकका चिच्याइले घच्घचायो, न खलनायकका पाखुराले तान्यो । विश्वज्योति, कुमारी, जय नेपालदेखि सिटी सेन्टर र अष्टनारायण हलका बाटोमा हिँड्ने बटुवा र हलको चिच्याहट ‘भेडी गोठालो र बाघको कथा’ जस्तो बन्यो । थुप्रै पटक झुक्किएका गाउँले झैं लाग्ने ती बटुवाहरूको बेवास्ताका शिकार केही राम्रा फिल्म पनि बने ।


अन्य विषयवस्तुमा बनेका फिल्मले पनि प्रेम अभिव्यत्तिको तरिकालाई परिवर्तन गरेर देखाए । प्रेम र रोमान्स फिल्मका मुख्य औजार हुन् । प्रेमी मनहरु एउटा हदमा पुगेपछि एकाकार त हुन्छन् नै । यसअघि यस्ता दृष्यमा रात पारिन्थ्यो, क्यामेरा अन्त घुमाइन्थ्यो तर यस वर्षदेखि दुई ज्यान सल्वलाएका दृष्य सहजै देखाउन थालिएको छ । नेपाली समाजमा क्रमशः आएको खुलापनलाई फिल्ममा देखाउनु अन्यथा होइन, तर नक्कल अक्कल सहितको नहुँदा आलोचनाको शिकार भयो ।


सन् २०१२ मा रिलिज भएका सय भन्दा बढी फिल्ममा व्यावसायिक सफलताको स्वाद ‘लुट’ र ‘चपली हाइट’ले मात्रै चाखे । फिल्म ‘सायद’ र ‘लंका’ले लगानी उठाए । फरक धारमा बनेको फिल्म ‘हाइवे’ र व्यवसायिक फिल्म ‘मायाज बार’ले प्रदर्शन अघि उल्लेख्य चर्चा बटुले पनि कमाइका हिसाबले कमजोर ठहरिए । निकै हल्ला गरिएका ‘भिसा गर्ल’ र ‘फेसबुक’लाई मात्रै होइन, यसमा आबद्ध स्टारलाई आफ्नो स्टारडम बचाउनै मुश्किल भयो ।


यही वर्षबाट चिल्ला अनुहार, स्टारका टाउका, ठूला ब्यानर र पुराना फर्मुलाहरू बिक्न छाडेका छन् । लामो समयदेखिको पालोमा कुराएर बासी फिल्म देखाउने परिपाटीको पनि अन्त्य भएको छ । अर्थात् नयाँ र राम्रालाई छिर्नै नदिने फिल्म राजनीति कमजोर भएको छ । फिल्म बाहिर मात्रै होइन, पर्दामा पनि छलाङ मारिएको छ । कथा, भाषाशैली र सम्वाद सामाजिक धरातलमा ओर्लिएका छन् । यान्त्रिक र पट्यार लाग्दो सम्वाद बोल्ने पात्रहरू परिस्थिति अनुसार ‘मा...’ र ‘मु...’ भन्न सक्ने भएका छन् । फिल्म पढेका र बुझेकाहरुको प्रवेशले आगामी दिनमा नेपाली फिल्मले प्रगति गर्ने लक्षण देखाएको छ । नेपाली फिल्म भन्ने बित्तिकै नाक खुम्च्याउनेहरु केही वर्ष यतादेखि भने नेपाली फिल्मबारे बोल्न थालेका छन् । नकारात्मक नै सही, नेपाली फिल्मबारे बौद्धिक छलफल र बहस सुरु हुन थालेको छ ।


विश्वका ठूला महोत्सवमा नेपाली फिल्म पनि छानिन थालेका छन् । यस वर्ष पनि ‘हाइवे’ले बर्लिन फिल्म फेस्टिभलमा सहभागिता जनाउने र स्क्रिनिङ गर्ने अवसर पायो भने ‘बाँसुली’ भेनिसमा र ‘सुनगाभा’ले जर्मनीको ह्यामबर्गमा भएका फिल्म फेस्टिभलमा सहभागिता जनाए । यो वर्ष प्रविधिमा पनि उलेख्य प्रगति भएको छ । विश्वबजारमा पछिल्लो समय आएको ‘रेड एमएक्स’ क्यामराले खिचिएका नेपाली फिल्म पर्दामा देखिन सुरु भइसक्यो । दृश्य खिच्नेहरु पनि ‘क्यामराम्यान’बाट ‘सिनेमाटोग्राफर’ भएका छन् । सम्पादकले ‘फाइनल कट् प्रो’बाट अहिलेका फिल्म सम्पादन गरीरहेका छन् ।


जेभए पनि नेपाली फिल्मले ६० वर्षको ‘प्रौढ’ भइसक्यो । यो अवस्थामा पनि बामे मात्रै सर्नु भनेको ‘अपाङ्ग’को लक्षण हो । साठी वर्ष चानचुन अवधि होइन । यति लामो कालखण्डमा नेपाली फिल्म कहाँ पुग्नु पर्थ्यो ?, यसले के-कस्ता कलात्मक उपलब्धि हासिल गर्नु पर्थ्यो ? यस्ता प्रश्नका उत्तर सन्तोषजनक छैनन् । फिल्म मनोरञ्जन हो, तर मनोरञ्जन लिनका लागि फिल्ममा आफू र आफ्नो समाज भएको अनुभूत गर्न सके थप मनोरञ्जन प्राप्त हुन्छ । अहिलेसम्म बनेका नेपाली फिल्ममा आफू भएको अनुभूत गर्न ‘एट डी’मा रूपान्तरण गर्नुपर्छ ।


फिल्मको सफलताका लागि फिल्मै पिच्छे दर्शकले प्रस्तुति र प्याकेजमा परिवर्तन महसुस गर्नुपर्छ । त्यहाँ समय र समाज पनि अंकित हुनुपर्छ । नेपाली फिल्ममा बत्ती बालेर खोज्नुपर्ने कुरा पनि यिनै भएका छन् । त्यसैले यसमा ध्यान दिए नेपाली फिल्मका लागि शब्दकोषमा भएको ‘सुपरहीट’ भन्ने शब्द पनि काम लाग्थ्यो, फ्लप मात्रै कति लेख्नु ?