मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

किन फ्लप हुन्छन् नेपाली फिल्महरु ? : रेम बिक

फिल्मीखबर, पोखरा, २०६९ मंसिर २९, शुक्रवार

अहिले नेपाली फिल्म उद्योगमा उल्का चलिरहेको छ । हरेक हप्ता नयाँ नयाँ नेपाली फिल्महरु हलसम्म आईपुग्छन् तर दर्शक हलसम्म जाँदैनन् । फलस्वरुप केहि महिना यता प्रदर्शनमा आएका कुनै पनि फिल्मले आर्थिक रुपमा फाईदा उठाउन सकेका छैनन् । फिल्म चलेर मनग्ये आम्दानी गरेर फेरी अर्को फिल्ममा लगानी गर्ने भन्ने कुरा फिल्म निर्माताहरुको कल्पना भन्दा बाहिरको कुरा भैसकेको छ ।

अहिले फिल्म उद्योगमा सर्वाधिक बहसको कुरा यहि छ कि- ‘किन नेपाली फिल्महरुले व्यापार गर्न नसकेका होलान् ?', नेपाली दर्शकहरु नेपाली फिल्म प्रति किन आकर्षित बन्न सकेनन् ?’ दिनहुँजसो कुनै न कुनै फिल्मी जमघटमा यस्ता खाले बहसले चर्को रुप लिने भएपनि नेपाली फिल्महरु फ्लप बन्न भने छोडेका छैनन् । यस्तै खालको स्थिती नेपाली फिल्म उद्योगमा यसअघि पनि नआएका होईनन् । यद्यपी नेपाली फिल्म उद्योगमा फिल्म बन्ने र फ्लप बन्ने प्रकृयाले भने अझै निरन्तरता पाईरहेकै छ ।

केहि समय अगाडी पनि नेपाली फिल्म उद्योगमा यस्तै उल्का चलेको थियो । तत्कालिन समयमा चलचित्र विकास बोर्डले नेपाली फिल्म उद्योगमा संकटकाल लगाउने सम्मको निर्णय गर्ने तयारी गरिसकेको थियो । यद्यपी त्यतिबेला नेपाली फिल्म उद्योगमा निश्चल बस्नेत निर्देशित फिल्म लुटले उद्योगमा संकटकाल रोक्नको लागी निकै ठुलो भुमिका खेल्यो । सबै फिल्महरु डुबिरहेको बेला लुट पानी माथि यसरी उत्रियो कि फिल्मकर्मीहरु अचम्मीत नै भए । लुटले सफलताको शिखर चढिरहेकै बेला अर्को नेपाली फिल्म चपली हाईटले पनि दर्शकहरुलाई हलसम्म तान्नको लागी ठुलो भुमिका खेल्यो । तर विडम्बना त्यसपछि प्रदर्शनमा आएका कुनै पनि त्यस्तो एउटा फिल्म छैनन् जसले चाहे अनुसारको व्यापार गर्न सके ।

यो बिचमा त्यस्ता धेरै ‘मस्ट अवेईटेड’ भनिएका नेपाली फिल्महरु हलसम्म आए । कसैकसैले त नेपाली फिल्मको धर्रा नै परिवर्तन गर्ने सम्मको धाक पनि देखाउन भ्याए । कसैले आफ्नो फिल्मलाई बलिउडका निर्देशक करण जौहरको जस्तो सम्म भन्न भ्याए । तर उनीहरु जति खोके पनि नेपाली दर्शकहरु हलसम्म आएनन् । पछिल्लो समय त केहि फिल्मकर्मीहरुले नेपाली फिल्मका दर्शकहरुले नेपाली फिल्म हेर्न नखोजेको बरु हिन्दी र अंग्रेजी फिल्म तिर बढि ध्यान दिएको समेत भन्न भ्याएका छन् । तर, नेपाली फिल्म नहेरी हिन्दी र अँग्रेजी तिर नेपाली दर्शकको ध्यान किन गयो ? यो कुराको तुक उनीहरुले थाहा पाउन सकेका छैनन् ।

के नेपाली दर्शकलाई नेपाली फिल्म मन नपर्ने नै हो त ? पक्कै पनि होईन । किनभने नेपाली फिल्म नेपाली दर्शकलाई मन नपर्दो हो त लुटले पनि असफलता नै पाउनुपर्ने । फेरी लुटले जसरी अन्य नेपाली फिल्मले किन सफलता पाएनन् त ? यो विषय सोचनीय छ । नेपाली फिल्मले नेपाली दर्शक नपाउनुको कारण भनेको विषयको मौलिकता नै हो । एकजना नेपाली फिल्मका लेखकले एउटा भेटमा भनेका थिए, ‘निर्माता निर्देशकहरु फिल्मको कथा चाहियो भन्दै आउँछन् तर मैले चाँहि उनीहरुलाई कुनै मन परेको फिल्मको सिडि ल्याउन भन्छु र त्यहि हेर्दै कथा लेख्छु ।’ उनकै भनाई अनुसार नेपाली फिल्मका निर्माता र निर्देशकले प्रायजसो अंग्रेजी, कोरियन र साउथ ईण्डियन फिल्महरु ल्याएर त्यसै अनुरुप फिल्मको कथा बनाउन दिने गर्छन् ।

कुनै हाँसि मजाकको क्रममा ती फिल्म लेखकले यी सबै कुरा बताए पनि नेपाली फिल्म उद्योगको अहिलेको वास्तविकता यहि नै हो । यस्तै कपि गरिएको कथाबाट नेपाली फिल्म मेकरहरु फिल्म बनाउनु अघि टन्न पैसा कमाउने सोच राखेका हुन्छन् । फिल्म बन्छ, प्रचारप्रसार शुरु हुन्छ, हलसम्म फिल्म आईपुग्छ तर विडम्बना फिल्म मेकरले जे सोचेर फिल्ममा लगानी गरेका हुन्छन् नतिजा ठ्याक्कै त्यसको उल्टो आउँछ, फिल्म डब्बा हुन्छ र फिल्म मेकर घाटामा जान्छ । अर्थशास्त्रको नियम अनुसार उपभोक्ता बढाउनका लागी उत्पादन राम्रो र सुलभ हुनुपर्छ । तर नेपाली फिल्म मेकरहरुले अर्थशास्त्रको सामान्य यहि नियम नजान्दा नेपाली फिल्महरु धमाधम फ्लप हुदै गएका छन् ।

अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार पनि नेपाली फिल्म उद्योग चल्ने हो भने नेपाली फिल्म उद्योग उकास्न सजिलो हुन्छ । कुरा के भने नेपाली फिल्म मेकरले टन्न पैसा कमाउने सोच त राख्छन् तर उपभोक्तालाई गतिलो उत्पादन दिन सक्दैनन् । उपभोक्ताले राम्रो विकल्प पाउँदा पाउँदै कुनै पनि अयोग्य उत्पादनमा आफ्नो पैसा खर्च गर्दैन । ठिक त्यसै गरि नेपाली फिल्म उद्योगले गतिलो उत्पादन दिन नसक्दा नेपाली दर्शकहरुले विकल्पमा अरु नै फिल्महरुलाई लिईरहेको प्रस्ट छ । यदि नेपाली फिल्म उद्योगलाई साँच्चै नै आर्थिक रुपमा बलियो बनाउने हो भने नेपाली फिल्म मेकरहरुले पनि पैसा मात्रै कमाउने सोच राख्नु भन्दा राम्रो खालको फिल्म बनाउने तर्फ सोच्ने पो हो की ?