मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

पटकथा किन कमजोर हुन्छ ? : शिबम अधिकारी

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ३, आईतवार

हरेक फिल्मसँग सरोकार राख्ने ब्यक्तिहरुले समिक्षा गर्दा या फिल्मको बिषयमा बहस चल्दा सबैको एउटै स्वर हुन्छ नेपाली फिल्मको कमजोरी पटकथामा छ । पटकथा किन कमजोर हुन्छ ? पटकथा कमजोर कसले बनाउँछ ? पटकथाकार, निर्देशक, निर्माता, बितरक या हलवाला ?

आम भाषामा फिल्मको पटकथा लेखकले बनाउँछ र कमजोरीको सम्पूर्ण दोष पनि लेखकलाई नै थुपारिन्छ । गुण र दोषको जिम्मेवारी लेखकले लिनु पनि पर्छ । तर अनौठो कुरा यहाँ फिल्मको पटकथा लेखन हलवालाबाट शुरु हुन्छ । बितरकले परिमार्जन गर्छ, निर्माताले स्विकृत गर्छ, निर्देशकले सही गर्छ अनि लेखक साछी बस्छ । भनाईको मतलब कुनै फिल्म चल्यो भने हलवालाले सल्लाह दिन्छ फलानो जस्तै फिल्म बनाउनु पर्छ अनि चल्छ । बितरकले निर्मातालाई भन्छ यस्तो खालको फिल्म चल्ने रहेछ त्यसमा भए म पैसा हाल्छु अनि निर्माताले त्यस्तै फिल्म बनाउन निर्देशकलाई आग्रह गर्छ, निर्देशकको पनि रोजी रोटीको सवाल छ, हुन्छ भन्नै पर्यो । लेखकले पनि आफ्नो ड्यूटी पूरा गर्नै पर्यो अनि कसरी कल्पना हुन्छ राम्रो पटकथाको ?

एघार बर्षको करिअरमा मैले आजसम्म एउटा यस्तो निर्माता भेटेको छैन जसले निर्देशक र लेखकलाई तपाईको बिबेकले फिल्म बनाउँनुस्, तपाईको कथाले मागेको कलाकार लोकेशन प्रपर्टी सबै म दिन्छु तर मलाई उत्कृष्ट फिल्म चाहियो । यस्ता निर्माता मात्रै भेटिएको छ- 'मसँग एउटा यस्तो बबाल कन्सेप्ट छ, मैले सबै लेखि नै सकेको छु, यो लेख्दा म धुरु धुरु रोएको छु, मेरो मनलाई साह्रै छोएको छ, मेरो साथीहरुलाई पनि भयंकर मन परेको छ । म लेखेर दिन्छु यो फिल्म सुपरहिट हुन्छ, त्यसै पैसा हालिरा'छु म, तपाईले त करेक्सन मात्र गरे पुग्छ । मलाई अली फिल्मी भाषा थाहा छैन नत्र भने म आफै लेख्थे ।' अनि बाध्य भएर लेखकले त्यो पटकथाको जिम्मेवारी लिनुपर्छ । निर्माताले भनेका कुराहरु जसरी पनि राख्नु पर्छ । अनि लेखकले त्यो निर्माताको पटकथालाई पजल गेम जस्तो कहिले यता घुमाउने कहिले उता घुमाउने गरेर पजल त मिलाउँछ तर त्यहि बाउन्ड्री भित्र बसेर उसले नयाँ सृजनाको मौका नै पाउँदैन । लेखकले पटकथा बनाउन हैन पटकथा मिलाउनमा आफ्नो समय खर्चिरहेको हुन्छ ।

प्रश्न आउन सक्छ यस्ता निर्माताहरुको फिल्म किन गर्नु ? आफूले राम्रो गर्ने मौका पाईन्न भने कामै नगर्नु यो कुरा पनि सही हो । तर यहाँ उनान्सय प्रतिशत निर्माताहरु यस्तै छन् । फिल्म क्षेत्रलाई नै प्रोफेसन बनाए पछि प्रोफेसनल तरिकाले काम पनि गर्नै पर्छ । नत्र बिहान बेलुकाको हात मुख जोड्न गाह्रो हुन्छ । कि त पहिला लोकसेवा पास गरेर सरकारी जागिर खाएर मात्र फिल्म क्षेत्रमा आउनु पर्यो । त्यसो भयो भने त सरकारले तलब दिन्छ चित्त बुझे काम गर्यो चित्त नबुझे काम नगर्यो ।

म आफै बिगत नौ दश महिना देखि एउटा पजल गेम मिलाउन थाल्या छु । निर्माताले साह्रै अप्ठेरो पजल गेम दिएको छ । जब त्यसलाई मिलाएर एउटा टुंगोमा पु्र्याउँछु फेरि आउँछ भत्काईदिन्छ, अनि फेरि बनाउँछु आफ्नो पनि ईज्जत र नामको सवाल छ राम्रो गर्नै पर्यो । जब मलाई अब राम्रो भयो भन्ने महसुस हुन्छ उहाँलाई चाहिं नराम्रो लाग्दो रहेछ । दुई चार पटक फिल्म नै छोडिदिउँ कि भन्ने पनि नलाग्या हैन फेरि पैसा लिन बाँकी छ र मेहनत पनि गईसक्या छ । जबसम्म यस्ता अप्ठ्याराहरु लेखकले सामना गर्नु पर्छ, जबसम्म लेखक स्वतन्त्र हुन पाउँदैन तब सम्म स्तरिय पटकथाको कल्पना मुस्कील छ । यसो भन्दैमा सबै निर्माताहरु गोरु हुन्छन् पटकथाको कुनै आईडिया नै छैन भन्न खोज्या पनि हैन । जति निर्मातालाई पटकथाको आईडिया छ अथवा फिल्म बुझेको छ वहाँहरुको फिल्म स्तरिय पनि बनेको छ । तर एउटा स्वतन्त्र लेखकको अप्ठ्यारो भनेको साह्रै फिल्म बुझेको निर्माता अनि साह्रै फिल्म नबुझेको निर्माता । साह्रै बुझेकाहरुले ब्रम्हाजीले जस्तो उँट बनाईदिने र साह्रै नबुझेकाहरुले बनेको उँटलाई पनि भत्काएर भगवान बिष्णुको नरसिंह अवतार बनाईदिने ।
 

मेरो माथिको भनाईमा कसैलाई चित्त दुखेको भए माफी चाहन्छु । आफू लगायत साथीहरुलाई परेको समस्याको बिषयमा लेखौँ न भन्ने लाग्यो । समस्या छोटो छ दुई चार लाईनमा सकिईहाल्छ । समस्या त यति नै हुन् दुई महिनालाई पुग्ने पैसा पनि दिदैनन् । धेरै फिल्म नलेखे खान पुग्दैन, धेरै लेख्दा क्वालिटी पुग्दैन र पटकथा कमजोर बन्छ । यी त सबैलाई थाहा भएकै कुरा हो अब त्यसमा पनि निर्माताहरुले स्वतन्त्र हुन दिदैनन् । यति आईडियालाई पटकथाको रुपमा बनाईदिएको मात्र हो ।

यि गम्भिर कुराहरूसँगै म पनि धेरै समय देखि गम्भीर भएको छु । बरु आधी पेट खाईन्छ जे पायो त्यहि काम गरिन्न भनेर झण्डै झण्डै भनिएको अवस्था पनि छ । अब सबै जनाको साथ र सहयोग भयो भने भनिन्छ पनि । सृजनाको कुनै धार हुन्न भनिन्छ अब साथीहरुले समानुपातीकको आधारमा मुलधारमा हाल्द्या छन् । अब नयाँ धारमा परियो भने भनिन्छ परिएन भने ज्यान जाला भनिन्न ।