मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.60/5.00)
Text size:-
+
-

नेपाली फिल्ममा हिरोहरूको कालखण्ड

रेम बिक, पोखरा, २०६९ भाद्र ५, मंगलवार

नायक भुवन केसी फिल्म लाईनमा आउन भन्दा अगाडी गीत गाउने गर्थे । नेपाली फिल्म प्रवेशपछि सुपरस्टार हिरोको ट्याग पाएका केसी अझै पनि फिल्ममा हिरो कै भुमिकामा देखिन्छन् । उनका छोरा अनमोल केसी पनि अहिले हिरो भैसकेका छन् । नायक भुवन केसीको कुरा गर्दा उनी राम्रै खानदानको मान्छे पनि हुन् । बेलाबखतको जमघटमा उनले भन्ने गर्छन्, ‘फिल्ममा हिरो नभएको भए म अहिले आर्मीको ठुलै पोस्टमा हुन्थें होला ।’ उनले यसो भनिरहँदा हामीले यो अनुमान लगाउन सकिन्छ कि भुवन केसीको पारिवारिक पृष्ठभुमिमा आर्मी फिल्ड पनि जोडिएको छ ।

नायक भुवन केसीसंगै नेपाली फिल्म उद्योगमा प्रवेश गरेका नायक शिव श्रेष्ठ हुन् । हिट नेपाली फिल्मका नायक शिव श्रेष्ठलाई अहिले पनि पुराना दर्शकले उत्तिकै सम्झिन्छन् । नेपाली फिल्मसंगै पाकिस्तानी फिल्म उद्योगमा पनि तत्कालिन समयमा जमेका श्रेष्ठ पनि ऊ जमानाका चर्चित नायक हुन् । अहिले भने नेपाली फिल्म उद्योगबाट केहि टाढिएका श्रेष्ठ धर्मकर्म तर्फ लागेका छन् । यी दुई बुढो हिरोहरुको कुरा गर्दा यिनीहरुलाई फिल्म क्षेत्रमा आउनका लागी त्यति संघर्ष गर्नु परेन । यद्यपी त्यसबेलाको समय अनुसार उनीहरु फिल्म उद्योगमा निकै जमे ।

भुवन र शिव पछि नेपाली फिल्म उद्योगमा आएका नायकहरुले केहि विशेष शैली भित्राए । नायक राजेश हमालको फिल्ममा प्रवेश पछि नेपाली फिल्मको शैलीमा समेत केहि फरक आयो । हिरो भनेको लामो कपाल पाल्ने, अजंगको शरिर भएको र ठुला गर्जन निकाल्ने हुनुपर्छ भन्ने मान्यता आयो राजेशको पालामा । उनीसंग संगै फिल्म लाईनमा छिरेका अर्का हिरो धिरेन शाक्यको हकमा पनि हिरो हुनका लागी गठिलो शरिर र चकलेटी अनुहार हुनुपर्ने भन्ने मान्यताले समाजमा छाप छोड्यो । धिरेन शाक्यको कुरा गर्दा नेपाली फिल्ममा उनले त्यति सफलता हात नपारे पनि आफ्नो शैलीकै कारणले गर्दा हमाल अहिलेसम्म नै महानायकको रुपमा स्थापित छन् । महानायक राजेश हमाल राजदुतका छोरा हुन् भने धिरेन शाक्य पाल्पाका सुन व्यवसायीका छोरा हुन् । उनीहरुलाई पनि नेपाली फिल्म उद्योगमा प्रवेशका लागी कुनै संघर्ष गर्नु परेन । त्यसैमाथि आफ्नै मामा दीपक रायमाझीले राजेश हमाललाई पहिलो ब्रेक दिएका थिए ।

आफ्नो शैली देखाएर मानिसको मन लामो समयसम्म जितिरहने एउटा मात्र हिरो भनेको पनि राजेश हमाल नै हुन् । त्यसपछि आएका र त्यसअघिका कुनै पनि हिरोले हमालले जति आफ्नो फ्यान बनाउन सकेका छैनन् । राजेश हमालको शैलीपछि नेपाली फिल्ममा डान्सिङ शैली निकै जम्यो । नायक श्रीकृष्ण श्रेष्ठको नाच हेर्नकै लागी त्यसताका मानिसहरुको भीड हलसम्म पुग्ने गर्थ्यो । श्री काठमाण्डौ कै रैथाने भएका कारण उनलाई पनि फिल्म उद्योगमा छिर्नका लागी खासै घुँडा धसेर लाग्नु परेन । श्रीकृष्ण पछि डान्सिङ शैली लिएर आउने अर्का नायक हुन दिलिप रायमाझी । उनले भने फिल्ममा आउनका लागी निकै संघर्ष गरेका थिए । फिल्ममा कोरस डान्सरको रुपमा नाचेर आफ्नो संघर्षलाई अगाडी बढाउँदै दिलिपले आफुलाई एकताकाको निकै चर्चित हिरोको रुपमा आफुलाई उभ्याए ।
 
दिलिप संगै राजेश हमालको हाईट निकै उचाईमा रहेको बेला नेपाली फिल्मले फेरी अर्को मोड लियो । मुम्बईमा संघर्ष गरिरहेका दिनेश उप्रेती उर्फ निखिल उप्रेतीले नेपाली फिल्म पिँजडामा उड्दै र गुड्दै आएपछि करिब एक दशक नेपाली फिल्म उद्योगमा उनको शैली पनि निकै चल्यो । उनीसंगै फिल्म उद्योगमा निकै संघर्ष गरेर भित्रिएका भोजराज भट्ट उर्फ विराज भट्ट पनि उनकै पदचाप पछ्याउँदै फिल्ममा प्रवेश गरे । यद्यपी यसअघि जति पनि हिरोहरुको कुरा भए उनीहरु भन्दा विराजले धेरै संघर्ष गरेर नेपाली फिल्म उद्योगमा प्रवेश पाएका हुन् । संघर्ष गरेर आएका बिराज भट्टको कुरा गर्दा उनले नेपाली फिल्ममा आफ्नो अनुहार राम्रैसंग बिकाए भने हाल उनी भोजपुरी फिल्ममा व्यस्त छन् ।

निखिल र विराज पछि नेपाली फिल्म उद्योगमा केहि फरकपन देखिन थाल्यो । प्राविधिक रुपमा पनि नेपाली फिल्म उद्योगले केहि कोल्टे फेर्यो । केहि गरौँ र नयाँ गरौँ भन्ने युवाहरुको प्रवेशले नेपाली फिल्म उद्योगले केहि गति लिन खोज्यो । नेपाली फिल्म उद्योगमा चकलेटी अनुहार भएका हिरोहरुको वर्चस्व हुन थाल्यो । अहिलेका चल्तीका नायक हरिशचन्द्र सिग्देल उर्फ आर्यन सिग्देल, राजवल्लभ कोईराला, जीवन लुँईटेल, सुमन सिंह जस्ता चकलेटी हिरोहरुले नेपाली फिल्म उद्योगमा आफ्नो चकलेटीपना देखाएरै जमे । यी चकलेटी हिरोहरु अझै पनि फिल्म उद्योगमा जम्दैछन् ।

यी चकलेटी हिरोहरुको कुरा गर्दा नायक आर्यन सिग्देलले लामो समयकै संघर्षपछि नेपाली फिल्ममा प्रवेश पाएका हुन् । काठमाण्डौको रैथाने भएपनि उनले फिल्ममा आउनका लागी गरेको संघर्षकै कारणले हालसम्म उनी अरु हिरो भन्दा सफलताको हिसाबले पनि अग्रणी नै छन् । नायक जीवन लुँईटेलको कुरा गर्दा उनी मोडलिङ गर्दागर्दै नेपाली फिल्ममा प्रवेश गरेका हुन् । मिस्टर नेपालको उपाधी विजेता जीवन पनि स-सानो भुमिका गर्दा गर्दै नेपाली फिल्ममा जमेका हुन् । राजवल्लभ पोखराको एक एफएममा कार्यक्रम चलाउँदा चलाउँदै फिल्म कलेज पढेर हिरो भएका हुन् भने सुमन सिंहले पनि फिल्ममा छिर्नका लागी खासै ‘दाँतबाट पसिना निकाल्नु’ परेन ।

अहिले फेरी नेपाली फिल्मको ट्रेन्ड परिवर्तन भएको छ । नेपाली फिल्महरुले आफ्नो शैली परिवर्तन गरेका छन् । नेपाली फिल्ममा आएको शैली पनि फरक नै छ । नेपाली फिल्म उद्योगमा यतिबेला नाटकका कलाकारहरुको वर्चस्व हुन थालेको छ । नेपाली फिल्ममेकरहरुले आफ्नो फिल्ममा नाटक कै कलाकारहरुलाई लिने प्रवृत्ति बढेको छ । सौगात मल्ल, दयाहाङ राई, सुवास थापा, कर्मा शाक्य लगाएतका हिरोहरुको बोलबाला नेपाली फिल्ममा चलिरहेको छ । फिल्मकै लागी यी हिरोहरुले खासै संघर्ष गरेको भने होईनन् तर उनीहरुले नाटकमा अभिनयका लागी निकै संघर्ष गरेर खारिएका हुन् । पछिल्लो समय नेपाली दर्शकहरुले कलाकारको कलालाई हेर्न रुचाउने भएकोले पनि होला नाटकमा कलाकारिता देखाएर निखारिएका युवाहरु अहिले दर्शकको रोजाईमा पर्ने गरेका छन् ।

विभिन्न कालखण्डका नेपाली फिल्म लाईनमा चर्चामा आएका हिरोहरुको कुरा जोड्दै गर्दा अब नेपाली फिल्ममा हिरो बन्नका लागी कस्तो शैली आउँला भन्ने नै हो । समयक्रमसंगै फिल्ममा देखिने हिरोहरुको शैलीसंग बग्दै आएको नेपाली फिल्म उद्योगको शैलीमा अब कस्तो पन आउला ? त्यो समयले नै देखाउनेछ ।