मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रमा अश्लीलताको प्रहार : विजयरत्न तुलाधर

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ २७, बुधवार

नेपाली चलचित्रमा अहिले अश्लीलताको प्रहार बढ्न थालेको छ । अहिले कलिउड सेक्सी चलचित्रहरुका कारण तातिएको छ । सबैजस्तो चलचित्रहरुमा सेक्सी दृश्यहरु राख्ने चलन बढ्न थालेको छ र यसै कुरालाई लिएर बहस चर्किन थालेको छ । यो बहस “चपली हाईट”को प्रदर्शन पश्चात बढ्न थालेको हो । यसमा नायिकाको भुमिका निर्वाह गरीरहेकी विनिता बरालले टपलेस भई खिचाएको तस्वीरले कलिउड तताएको कुरा त्यत्ति पुरानो भएको छैन ।

 

सेक्स साईकोलोजिकल थ्रीलर भनेर प्रचार गरिएको “चपली हाइट” को विषय नै सेक्ससँग सम्बन्धित भएकोले यसमा नायिका टपलेस हुनु कुनै नौलो मान्नु पर्दैन । थुप्रै बेडसिन अनि किसिङ सिन रहेको यो चलचित्र अहिले सर्वाधिका कमाई गरेको चलचित्र साबित भएको छ । यस्ता दृश्यहरुले गर्दा युवा जमात प्रति यो चलचित्र प्रतिको उत्सुकता दिन प्रति दिन बढ्दै गईरहेको छ । झन त्यसमाथि “लुट” ले युवा दर्शकमाथि पारेको प्रभाव पछि त “चपली हाइट” प्रतिको उत्सुकता झन तिब्र हुँदै गईरहेको छ । तर अहिलेका अधिकांश चलचित्रहरुमा उत्तेजक दृश्य केवल दर्शक लोभ्याउने बहाना मात्र बन्न थालेको छ ।

 


“द लास्ट किस” नामको एउटा फिल्म पनि यहि दर्जामा परेको चलचित्र हो । यो चलचित्रले  हलहरुमा दर्शक तान्न सफल पनि  भयो ।  फिल्म हेर्ने कुनै पनि दर्शकहरुले भने अहिलेसम्म यो फिल्मलाई राम्रो भनेर भनेको सुनिएको छैन । तर पनि व्यापार भने राम्रै गर्न सफल भएको चलचित्र हो यो ।  यसको मुख्य कारण हो यस फिल्ममा देखाएको “सेक्सी सिन” नै हो । सेक्सी सिनको कारणले गर्दा यो फिल्मप्रति दर्शकहरु ओइरिएको देखिन्छ । यसरी खुल्लम खुल्ला उत्तेजक दृश्य राख्ने चलन कलिउडमा आजभोलि दिनानुदिन बढ्दै गईरहेको छ ।


पहिले पहिले भए “किस सिन” एउटा मात्र भए पनि “सेन्सर बोर्ड” बाट पास नगर्ने र बढी अङ्ग प्रदर्शन गरे पनि कैंची चलाइदिने गर्दथे । “फैसला” नामको एउटा चलचित्रको गीतमा ऋचा घिमिरेले बढी अङ्ग प्रदर्शन गरेर अश्लील भाव प्रकट गर्‍यो भनेर “ए” सर्टिफिकेट दिएको कुरा त्यत्ति पुरानो भईसकेको छैन । पाँच वर्ष जति मात्र भयो । बलिउडमा पनि उत्तेजक दृश्य भएको फिल्मले दर्शक तान्ने गर्दछ । रागीनी एमएमएस, लव सेक्स धोखादेखि लिएर हेट स्टोरी जस्तो धेरै फिल्महरु प्रति दर्शक तान्न सफल भएकै हो । अझ द डर्टी पिक्चर चलचित्रले नेशनल अवार्डसम्म जित्न सफल भए । यहाँ कलिउडमा पनि “चपली हाइट” फिल्मले यस्तै लहर ल्याएको छ ।


चपली हाइट, द लास्ट किस प्रति दर्शकहरु ओइरिएको देखेर अहिले कलिउडमा सेक्सी फिल्मको बाढी नै आउन थालेको छ । यही क्रममा आजभोलि निकै चर्चा बटुल्न सफल भईरहेको एउटा नयाँ फिल्म भनेको “एटिएम” पनि हो । यु ट्युबमा राखिएको “एटिएम” फिल्मको प्रोमो हेर्ने दर्शक सबैले जिब्रो टोक्नु पर्ने अवस्था आएको छ । जिया के.सी., सबिना कार्की र सोनिया शर्मा नामका तीन हिरोइनहरुले अङ्ग प्रर्दशन गरेर उद्धारता देखाए भने यो फिल्मका हिरो कम प्रोड्युसर दिनेश थापासँग तीनै जना हिरोइनहरुको उत्तेजक सिन छ । अझ किस सिन त गनेर साध्य नै छैन ।


कलिउडमा यस्तो चलचित्र झनझन बढ्दै गईरहेको छ । हुन त यस्तो चलचित्र बनाउनेहरुले “एटिएम” जस्ता चलचित्रले गर्दा आफ्ना चलचित्रका गम्भीर विषयहरु छाँयामा परेको दोष पनि नदिएका हैनन् । यस्तो दोष दिनेमा एक जना निर्देशक आरबीके शरद खत्री हुन् । उनले बनाएको “नाइट क्वीन” वास्तवमा एउटा गम्भीर समस्याको विषयलाई लिएर बनाएको चलचित्र भए पनि आजभोलि लज्जास्पद किसिमले उत्तेजक दृश्य राख्ने लहरले गर्दा धेरैजसोले यो पनि त्यस्तै चलचित्र होला भनेर अनुमान गरेकोमा उनी दुःखी छन् ।  यसले गर्दा “नाइट क्वीन” लाई अप्ठेरोमा पारेको छ भन्ने भनाइ निर्देशक शरद खत्रीको हो ।


राजेश हमाल र करिश्मा मानन्धरको किस सिनका कारण चर्चित चलचित्र “किन किन” लाई अधवैंशे पुरुषको अतृप्त यौन चाहनामा आधारित चलचित्र भनि प्रचार गरीएको छ । यो चलचित्रको लागि नायिकाको खोजी भईरहँदा टपलेस भई अभिनय गर्नसक्ने युवती खोजिएको कुरा यहाँ स्मरणीय हुन आउँछ । यस चलचित्रका निर्देशक उकेश दाहाल हुन् । उनले यसभन्दा अघि बेरोजगारीका कारण निराश बनेका दुई युवकहरुले पैसा कमाउन पुरुष वेश्याको रुपमा काम गर्नु परेको कथामा “पलपलमा” शिर्षकको चलचित्र बनाएका थिए । “पलपलमा” चलचित्रमा पनि अभिनेत्री सुजाता सिटौलाको टपलेस ब्याकवाला दृश्य चर्चा कै विषय बनेको थियो । कलिउडमा महानायक भनेर चर्चा कमाएका पाका नायक राजेश हमालले “मेरो जीवन साथी” नामक चलचित्रमा तन्नेरी नायिका सुष्मा कार्कीसँग पनि बेडसिनमा अभिनय गरीसकेका छन् । सुष्मा कार्की अहिले यहाँ बिना कुनै संकोच यस्ता उत्तेजक दृश्यमा अभिनय गर्ने अभिनेत्रीका रुपमा चर्चा कमाइरहेकी अभिनेत्री हुन् । “लुट”को उत्तेजक नृत्य उध्रेको चोलिबाट व्यापक चर्चामा आएकि यी अभिनेत्रीले यसभन्दा अगाडि “मेरा लभस्टोरी” र “जिन्दगानी दर्पणछाँया” लगायतका केहि चलचित्रहरुमा त्यस्तै खालका उत्तेजक नृत्य गरिसकेकि छिन् भने हाल “बिन्दास” नामक चलचित्रमा गरेको उत्तेजक दृश्य चर्चाको विषय बनिरहेको छ ।


एकजना हिरोइनको जीवनमा आउने थुप्रै पुरुषहरु र ती पुरुषहरुसँग हिरोइनहरुको सम्बन्धलाई लिएर बनाएको हिन्दी फिल्म “द डर्टी पिक्चर” हिट भयो । पछि “चपली हाइट” ले पनि यहाँ चर्चा कमाएर बजार तताएको देखेपछि कलिउडमा उत्तेजक दृश्यको बजार अझ तिब्र रुपमा बढ्दै गइरहेको छ ।  कतिपय फिल्ममा सिंग न पुच्छरको भए पनि सेक्सी सिन राख्नै पर्ने होड पनि चल्ने गरेको छ भने हिरोइन, कलिउड, नायिका नामका फिल्ममा “द डर्टी पिक्चर” मा जस्तै नै फिल्म लाईन भित्रकै लुकेका कथाबस्तुहरु घुमेको दावी सम्बन्धित पक्षले गरेका छन् ।


सेक्सको गम्भीर पक्षलाई लिएर बनाएको भनेर चर्चामा आएका अरु फिल्ममा “हाइवे” र “सुनगाभा” ले विभिन्न अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलसम्म भाग लिईसकेको छ । कुरा जे जस्तो भएपनि कलिउडमा व्यापक रुपमा आएको सेक्सी सिनको बाढीलाई अहिले नै नियन्त्रण गर्नुपर्ने कुरामा जोड दिनुपर्छ । नत्र बागमति छेउ वरिपरि बाक्लिएपछि मात्र नियन्त्रण गर्ने प्रयास गरिएको सुकुम्बासी समस्या जस्तै पछि गएर यो काम पनि निकै जटिल हुने मात्र होइन कि समाज नै दुषित भई दुर्गन्ध फैलिन सक्छ । यो कुरामा आजैदेखि होस पुर्‍याएर सर्जक र सतर्क हुन अति आवश्यक भईसक्यो ।