मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

बुद्ध कथामा फिल्म : विजयरत्न तुलाधर

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २३, शनिवार

तथागत गौतम बुद्धको जीवनीमा अहिले प्रसिद्ध निर्देशक तुलसी घिमिरेले एउटा फिल्म बनाईरहेका छन् । उनको यो फिल्म एनिमेशन प्रविधीमा बनिरहेको छ । एनिमेशन प्रविधीमा बनिने फिल्ममा कुनै पनि कलाकारको अभिनय नभई रेखाचित्र (कार्टुन) हरुको माध्यमबाट फिल्म तयार गरिन्छ । करिब बाइस करोड रुपैयाको लागतमा तयार हुने यो फिल्म नेपाली भाषा लगायत अंग्रेजी, जर्मन, हिन्दी लगायत विभिन्न चौध भाषामा स्वराङ्कन हुने चर्चा छ ।

 
भगवान तथागत बुद्धमा अन्तर्निहीत ३२ लक्षण र गुणहरुलाई फिल्मको पर्दामा कुनै पनि अभिनेताले अभिनयद्धारा व्यक्त गर्न नसक्ने भएकोले एनिमेशन प्रविधीमा फिल्म बनाएका तुलसी घिमिरे आफ्नो फिल्म २५५७ औं बुद्ध जयन्तीको अवसरमा आगामी वर्ष सम्ममा सार्वजनिक गर्ने योजना बनाउँदै छन् । विश्वका धेरै केटाकेटीहरु बीच लोकप्रिय टेलिभिजन च्यानल “कार्टुन नेटवर्क” बाट पनि एक पटक बुद्ध कथामा आधारित एनिमेशन सिरीयल प्रसारण भएको थियो । भारतमा समय समयमा बुद्ध कथामा आधारित फिल्म र टेलिसिरीयल बन्ने क्रम चलिनै रहन्छ । यस तर्फको उदाहरणहरु अभिनेता अरुण गोविलले भगवान बुद्धको भुमिका निर्वाह गरेको “बुद्ध” शिर्षकको सिरीयललाई पनि लिन सकिन्छ । भारतीय टेलिभिजनहरुबाट प्रसारित यस टेलिसिरीयलका निर्देशक सि.एस. राव हुन् । 
 
फिल्म जगतमा धर्म भावनाले प्रेरित भइ फिल्म बनाउने चलन नयाँ हैन । हलिउड र बलिउडमा यस्तो चलनले व्यापकता पाएको छ । नेपालमा भने त्यस्ता फिल्महरुको संख्या कमै मात्र छन् । भारतमा धर्म भावनामा असंख्य फिल्महरु बनेका छन् । बदलिंदो युगसंगै लाकप्रिय हुँदै आएको टेलिभिजनमा पनि भारतले धर्म भावनाबाट अभिप्रेरित भई थुप्रै टेलिसिरीयलहरु बनाएको छ । “रामायण” र “महाभारत” लाई यसको अद्वितीय उदाहरणको रुपमा लिन सकिन्छ । यसै क्रममा भारतले महामानव भगवान गौतम बुद्धको जीवनीमा आधारित फिल्म र टेलिसिरीयलहरु पनि बनाएका थुप्रै उदाहरणहरु भेटिन्छन् । 
 
बुद्ध जन्मेको देश नेपालमा भने अहिलेसम्म प्रकाशमा आएका फिल्महरु मध्य “पटाचारा” शिर्षकको फिल्म सबैभन्दा नयाँ उदाहरणको रुपमा लिन सकिन्छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको “पटाचारा” फिल्म बौद्ध कालिन कथामा आधारित हो । नेपाली र नेपाल भाषामा बनेको “पटाचारा” मा मेलिना मानन्धरले शिर्ष भुमिका निर्वाह गरेकी छिन् । प्रेममा अन्धो भई घर परिवार त्यागेकी पटाचाराको कारूणिक जीवनको कथा बोकेको यो फिल्ममा उनलाई भगवान बुद्धले उद्धार गर्ने देखाइएको छ । यसभन्दा अघि “चाण्डालिका” शिर्षकमा पनि एउटा बौद्ध कालिन कथामा आधारित फिल्म बनिसकेको छ । नेपाल भाषामा निर्माण गरिएको “चाण्डालिका” का निर्देशक मनिष श्रेष्ठ हुन् । यस फिल्ममा हिसिला महर्जनले शिर्ष भुमिका निर्वाह गरेकी छिन् । चाण्डालिकाको कथा अनुसार तल्लो जातकी एउटी युवतीको एक बौद्ध भिक्षुसित मन बस्ने र त्यसैको वियोगमा छटपटिने देखाइएको छ भने यसमा भगवान बुद्धले देखाउनु भएको सद्मार्ग अपनाएर शान्ति मार्ग प्राप्त गर्ने देखाइएको छ ।
 

चलचित्र बिकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार ०६७ मा “पटाचारा” ले सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ निर्देशक र सर्वश्रेष्ठ नायिका गरी तीन वटा राष्ट्रिय पुरस्कार पनि जित्न सफल भयो । “पटाचारा” ले प्रदर्शनको सय दिन पनि पुरा गर्न सफल भयो । यो सफलताबाट हौसलान्वित भएर यसका निर्माता दीजेन्द्र शाक्य र निर्देशक रामकृष्ण खड्कीले अब अर्को एउटा बौद्ध कथा “कृषा गौतमी”लाई पर्दामा ल्याउने तयारी गरीरहेका छन् । हाल छायाङ्कनको क्रममा रहेको “कृषा गौतमी”मा पनि फेरी एकपटक अभिनेत्री मेलिना मानन्धरले नै प्रमुख भुमिका निर्वाह गरीरहेकी छिन् । 

 

यी बाहेक नेपाल टेलिभिजनको पर्दामा “पाइला” शिर्षकको बौद्ध कथामा आधारित टेलिश्रृंखला पनि प्रसारित भईसकेको छ । बुद्ध कालिन कथामा टेलि श्रृंखला बनाउने प्रयास गरेका निर्देशक दुर्गाराज खरेलले विभिन्न कथाहरु समेटेर लामो सिरीयल बनाउने कोशिश गरेका थिए । यसै क्रममा “अंगुलिमाला” को कथामा आधारित केही श्रृंखलाहरु प्रसारित पनि भयो यसमा अभिनेता धु्रव कोइरालाले अंगुलिमालाको शिर्ष भुमिका निर्वाह गरेका थिए । प्रायोजकहरुको अभाव र निर्माणको अत्याधिक लागतको कारण निर्देशक खरेलले आफ्नो योजना अनुसार “पाइला” लाई गन्तब्यसम्म पुर्‍याउन सकेनन् । त्यस्तै करीब वि.सं. ०४४/०४५ सालतिर बौद्ध कथामै आधारित टेलिफिल्म “बिसन्तर” पनि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । उसो त भगवान बुद्ध वा बौद्ध कथामा आधारित गरेर बनाउने भनि बढाइने पाइलाहरु गन्तव्यसम्म नपुगेका उदाहरणहरु धेरै छन् । कतिपय पाइलाहरु त घोषणा भन्दा अगाडि बढ्न नसकेको देखिन्छ । यस तर्फको एउटा ज्वलन्त उदाहरुणको रुपमा “लर्ड बुद्ध” लाई लिन सकिन्छ । 

 
 
करिब दश वर्ष जति अगाडि निर्माण थालिएको “लर्ड बुद्ध” का निर्देशक बन्नी प्रधान हुन् । त्यत्तिबेला चालिस करोड रुपैंयाको लागतमा अर्न्तराष्ट्रिय स्तरमा निर्माण गर्ने भनिएको “लर्ड बुद्ध” को शुटिङ्ग पनि आरम्भ भएको थियो । तर चार पाँच दिनको शुटिङ्ग पश्चात नै बन्द हुन पुगेको “लर्ड बुद्ध” फेरी कहिल्यै शुटिङ्गको संघार सम्म पुग्न सकेन । यस्तै गरी चर्चित निर्देशक युवराज लामाले बनाउने भनि घोषण गरेको “शाक्य मुनि बुद्ध” पनि घोषणा पछि नै बन्द हुन पुगेको फिल्म हो । यसरी घोषणामा मात्रै सिमित हुन पुगेको अर्को एक बुद्ध कथामा आधारित फिल्म “सिद्धार्थ” हो । यसलाई प्रकाश सायमीले निर्देशन गर्ने अभिभारा बोकेका थिए । तर उनले यो हर्मन हेस्सेले लेखेको पुस्तक “सिद्धार्थ”मा आधारित भइ निर्माण गर्न लागिएको थियो । तर त्यस्तो हुन सकेन । 
 
अहिले नायक रमित ढुंगाना पनि बुद्धको कथामा आधारित फिल्म बनाउने तयारी गर्दैछन् । बिशेषगरी अमेरिकाको स्कुलको पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भन्ने कुरा उल्लेख गरिंदै आएको र नेपालीले त्यहि कुरा पढ्नु पर्ने बाध्यता रहेको भन्दै रमितले बुद्ध नेपालमा नै जन्मेको हो भनेर जानकारी दिन अमेरिकामा नै बसेर बुद्धको फिल्म बनाउन रिसर्च गरिरहेका छन् । उनको फिल्मलाई नवल नेपालले निर्देशन गर्ने बताईएको छ ।
 
 
नेपालमा जस्तै भारतमा पनि भगवान बुद्धको कथामा आधारित भई बनाउने भनि बढाइएका कतिपय पाइलाहरु गन्तव्यमा नपुगेका उदाहरण प्रशस्तै छन् । त्यस्ता कतिपय उदाहरणहरु मध्ये अन्तर्राष्ट्रिय ख्याति प्राप्त निर्देशक शेखर कपुरले बनाउने भनि घोषणा गरेको “यशोधरा” प्रमुख हुन् । यसमा उनले ऐश्वर्या राय बच्चनलाई सिद्धार्थकी पत्नी यशोधराको भुमिकामा अभिनय गराउने चर्चा चलेको थियो । जोधा अकबर र लगान जस्ता भारतीय ईतिहासलाई फिल्मको पर्दामा उतार्न सफल निर्देशक आशुतोष गोवारीकरले पनि “बुद्ध” शिर्षकमा फिल्म बनाउने घोषणा गरेका थिए । तर अहिले सम्म बनाएका छैनन् । यसरी शान्तिका अग्रदुत महामानव गौतम बुद्धको कथामा आधारित फिल्म बनाउने प्रयास समय समयमा हुँदै आईरहेको छ । ती मध्ये केही सफल र केही असफल भएका छन् ।