मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डको दश बुँदे योजनाको पूर्ण पाठ

फिल्मीखबर, काठमाण्डौ, २०६८ फाल्गुन २९, सोमवार

चलचित्र विकास बोर्ड
प्रेस विज्ञप्ती मिति २०६८।११।२९
आदरणीय पत्रकारज्यूहरु,

 

नेपालमा पनि चलचित्र एउटा उद्योगका रूपमा स्थापित होस्, स्तरीय चलचित्रहरूको निर्माण होस्, चलचित्र निर्माण, वितरण र प्रदर्शनमा कठिनाई नपरोस्, चलचित्र उद्योगको विकास र प्रबर्धनमा निरन्तरता ल्याउन सकियोस् भन्ने उद्देश्य तथा चलचित्र क्षेत्रको समग्र विकासका लागि नेपाली चलचित्रको विकास र प्रबर्धनका लागि यस बोर्डले खेल्ने भुमिकामा आम चलचित्रकर्मीको वृहत चासो, ठूलो आशा रहेकोमा चलचित्र क्षेत्रको समग्र रुपान्तरणको आशा र भरोसालाई जोखिम मोलेर भएपनि कुठाराघात हुन नदिन दृढ संकल्पित हुनु परेको छ । बोर्डको आफ्नै ऐन र नियमावलीको अभावमा यसले आफुले खेल्ने भुमिका केही कमजोर देखिएको भए तापनि वर्तमान परिस्थितिमा विद्यामान ऐन, नियमले उपलब्ध गराएको सीमित अधिकारको अधिकतम प्रयोगबाटै यसलाई नेपाली चलचित्रको विकास र प्रबर्धनमा सशक्त बनाउन जरुरी देखिएको छ ।

समस्याको पहिचान पछि मात्र समाधानको निर्धारण गर्न सकिने यथार्थतालाई मनन गर्दै स्वदेशी चलचित्रको विकास, विस्तार, प्रबर्धन तथा श्रीवृद्धिको लागि बोर्डले देहाय बमोजिमका योजना तथा कार्यक्रमहरु र बोर्ड बैठकबाट चलचित्र क्षेत्रको रुपान्तरणका लागि आफ्ना विभिन्न कार्यक्रमहरूमध्ये कार्यान्वयनमा ल्याउन लागिएका निम्न लिखित कार्यक्रम तथा नीतिगत निर्णयहरु सम्मानित प्रेस मार्फत सार्वजनिक गर्न यो पत्रकार सम्मलेन आयोजना गरिएको छ ।
        
१.  चलचित्र विकास बोर्डको स्वायत्तता सम्बन्धमा :
चलचित्र क्षेत्रको विकास, विस्तार र प्रबर्धनका लागि १० औं वर्ष अगाडी देखि आवश्यक देखिएको चलचित्र विकास बोर्डको स्वायत्तताका लागि चलचित्र विकास बोर्ड विधेयकको मस्यौदाहरु पटक पटक ऐन निर्माणका लागि सूचना तथा सञ्चार मन्त्रालयमा पठाउने गरिएको तर त्यहाबाट अगाडी नबढेको स्थितिमा यस पटक सूचना तथा सञ्चार मन्त्रालयबाट कानुन मन्त्रालयका साथै अर्थ मन्त्रालयबाट सहमति सहित सूचना तथा सञ्चार मन्त्रालयमा फर्किएको स्थिति जानकारी गराउदै अब चाँडै नै चलचित्र विकास बोर्ड ऐन आउने निश्चित भएको व्यहोरा जानकारी गराईन्छ ।

२.  राष्ट्रिय चलचित्र महोत्सव आयोजना सम्बन्धमा :
चलचित्र क्षेत्रको स्वदेशी बजार विस्तार र चलचित्र क्षेत्र प्रति दर्शक वर्गको रुचीमा बढोत्तरी गर्न राष्ट्रिय चलचित्र महोत्सवको आयोजना मध्य-पश्चिमाञ्चलको सूर्खेतमा यहि चैत्र महिना भरीमा गर्ने ।

३.  अर्न्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना सम्बन्धमा :
नेपाली चलचित्रको विदेशी बजार विस्तार गर्दै विदेशी नागरिकहरुलाई समेत नेपाली चलचित्र प्रति आकर्षित गर्न साढे चार लाख भन्दा बढी नेपाली भाषीहरु रहेको मित्रराष्ट्र कतारको दोहामा अर्न्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना  यहि २०१२ जुन महिनाको १ तारिखमा गर्ने गरी कार्यारम्भ भैसकेको ।

४.  बोर्डको हलमा चलचित्रको जाँच गर्ने कार्य शूरु गरिएको सम्बन्धमा :
चलचित्र विकास बोर्डको यो कार्यालय भवन बनाउदै केन्द्रीय चलचित्र जाँच समितिबाट चलचित्रको जाँच गर्ने कार्य बोर्डको हलमा गर्ने परिकल्पना गरी निर्माण गरिएको हलमा केन्द्रीय चलचित्र जाँच समितिबाट चलचित्र जाँचको कार्य शूरु भैसकेको । स्वदेशी चलचित्रको जाँच गर्दा हल भाडा रु १०००।– र विदेशी चलचित्रको जाँच गर्दा हल भाडा रु ३०००।– लिने गरी बोर्डबाट निर्णय गरिएको । चलचित्र जाँच गर्ने कार्य बोर्ड कै हलमा हुँदा स्वदेशी चलचित्र निर्माता, स्रष्टा, सर्जकहरुबाट अत्यन्तै व्यग्र प्रतिक्षित र आवश्यक कार्यको थालनी भन्दै खुसी प्रकट गरी अपनत्वको भावना व्यक्त भएको ।

५.  बोर्डलाई अधिकार प्रत्यायोजन भएको सम्बन्धमा :
चलचित्र क्षेत्रको विकास, विस्तार तथा प्रदर्शनका लागि चलचित्र विकास बोर्डको स्थापनाको व्यवस्था भैसकेको अवस्थामा चलचित्र प्रदर्शनको समय तोक्ने अधिकार चलचित्र विकास बोर्डलाई नै प्रत्यायोजन भएमा यस सम्बन्धी नियमन, अनुगमन गर्न सहज हुने देखिएकाले चलचित्र प्रदर्शनको समय तोक्ने सम्बन्धी अधिकार बोर्डलाई नै प्रत्यायोजन हुनु पर्ने निर्णय गरी सूचना तथा सञ्चार मन्त्रालयमा पत्राचार गरिएकोमा चलचित्र घरमा चलचित्र प्रदर्शन समय तोक्ने अधिकार बोर्डलाई प्रत्यायोजन भएको छ ।

 

यस प्रत्यायोजित अधिकारको प्रयोग गर्दै काठमाडौं उपत्यकाभित्र शनिवार बाहेकका विहानी शोमा कतिपय चलचित्र घरहरुले स्वीकृति लिएर  र कतिपय चलचित्र घरले स्वीकृति नलिइकनै चलचित्र प्रदर्शन कार्य गरिरहेकोमा अब उप्रान्त सो कार्यबाट विद्यार्थी वर्गको भविष्य निर्माणमा प्रभाव पर्ने देखिएकाले सभ्य समाजको निर्माणमा थोरै भएपनि योगदान पुर्‍याउन सामाजिक प्रभाव, अन्तर्राष्ट्रिय प्रचलन तथा चलचित्र निर्माताको लगानीलाई संरक्षणका दृष्टिकोणबाट यस अघि शनिवारका दिन बाहेक अन्य दिनको विहानीको शोमा चलचित्र प्रदर्शन गर्न स्वीकृति लिएका चलचित्र घरहरुको हकमा स्वीकृति खारेज गरी कुनै पनि चलचित्र घरले शनिवारका दिन बाहेक अन्य दिन विहान ११:०० बजे अघि चलचित्र प्रदर्शन गर्न नपाउने व्यवस्था गरिनेछ ।

६.  BOX OFFICE रिपोर्ट र व्यवस्थित व्यापार स्थापनाका लागि नेटवर्किङ गर्ने  :
चलचित्रको व्यापारमा देखिएका विकृति तथा विसङगतिलाई न्यूनिकरण गर्न प्रदर्शनमा रहेका स्वदेशी तथा विदेशी चलचित्र र त्यसको प्रगति र विक्रीको सही तथ्याङ्क बोर्डले प्राप्त गर्न जरुरी देखिएको छ । यसबाट चलचित्रको व्यवसायिक स्थिति स्पष्ट भई आगामी दिनका लागि चलचित्र निर्माता, प्रदर्शक र वितरकलाई मार्ग निर्दिष्ट गर्न सहयोग उपलब्ध हुन सक्नेछ । यस किसिमका तथ्याङ्कबाट यस क्षेत्रका व्यवसायी एवं नवप्रवेशीलाई लगानीका लागि अध्ययन र विश्लेषणका लागि चलचित्र बजारका तथ्याङ्क उपलब्ध भई लगानीमा जोखिम न्युनिकरण समेत हुन सक्नेछ ।

साथै चलचित्र विकास शूल्क तथा मुल्य अभिवृद्धि लगायतका करहरुको सही सही तथ्याङ्क प्राप्त भई चलचित्र विकास बोर्डको एकमात्र आयश्रोत चलचित्र विकास शुल्कको उठ्तीमा सकारात्मक असर पर्ने छ भने राष्ट्र विकासमा चलचित्र क्षेत्रको योगदान स्पष्ट भई चलचित्र प्रतिको दृष्टिकोणमा परिवर्तन आउने छ । यो क्षेत्रलाई आजसम्म अनुत्पादक क्षेत्रको रुपमा हेरिएकोमा यसबाट प्राप्त हुने करका कारण यस क्षेत्रलाई हेरिने दृष्टिकोणमा परिवर्तन आउने छ ।

७. चलचित्र तथा चलचित्रजन्य वस्तुको प्रतिलिपि उत्पादन, पुनरुत्पादन तथा विक्री वितरणको नियमन तथा व्यवस्थापन सम्बन्धमा :
विना अनुमति नै अर्काको सिर्जनाबाट प्रतिलिपि उत्पादन, पुनरुत्पादन तथा विक्री वितरणको कार्य गरी ठग्ने प्रवृत्ति हावी रहेको, नक्कली वस्तुको प्रयोगबाट उपभोक्ता समेत ठगिएको तथा समग्रमा यसबाट चलचित्र व्यवसायलाई नकरात्मक असर परिरहेको छ । चलचित्रका
CD, VCD, DVD, VHS लगायतका होम भिडियोमा प्रयोग हुने उत्पादनहरुको अवैध एवं अनियन्त्रित रुपमा भइरहेको उत्पादन, पुनरुत्पादन तथा विक्री वितरणको कार्यलाई नियन्त्रण गरी यस क्षेत्रको वैध व्यापारलाई संरक्षण तथा प्रोत्साहन गर्न बोर्डले पटक पटक प्रयास गरेको तर अपेक्षित प्रतिफल हालसम्म प्राप्त हुन नसकेको स्थितिमा नेपाल श्रव्यदृष्य उद्यमी सङ्घबाट समेत सक्कली र नक्कली पहिचान हुने व्यवस्था गरी अनाधिकृत उत्पादनलाई नियन्त्रण गरी सर्जक, निर्माता तथा अधिकारप्राप्त उत्पादक कम्पनीहरुको प्रतिलिपि अधिकारको हक संरक्षण गर्ने व्यवस्था गर्न माग पेश गरेकोमा देहाय बमोजिम हुने गरी चलचित्र एवं चलचित्र जन्य वस्तुको उत्पादन, पुनरुत्पादन तथा विक्री वितरणको कार्य सञ्चालन कार्यविधि निर्माण गरी समुह चिन्हको रुपमा दर्ता गर्न तथा समुह गठन गर्ने कार्य अन्तिम चरणमा रहेको ।

 

कार्यविधिमा देहाय बमोजिमका विषयहरु स्पष्ट रुपमा राखिने छन् :


१) चलचित्र CD, VCD, DVD, VHS उत्पादन गर्ने कम्पनीहरुले प्रत्येक चलचित्रको CD, VCD, DVD, VHS प्रतिलिपि अधिकार सम्बन्धित निर्मातासंग खरिद गरी उत्पादन गर्न पाउने इजाजतपत्र चलचित्र विकास बोर्डबाट लिनु पर्नेछ ।

२) चलचित्रको CD, VCD, DVD, VHS जे जती परिमाणमा उत्पादन गरिने हो ति सबैमा चलचित्र विकास बोर्डबाट उपलब्ध गराइने अंकित होलोग्राम लगाउन पर्नेछ ।
३) इजाजत प्राप्त उत्पादन कम्पनी बाहेक अरुबाट उत्पादन गर्ने काम भएमा प्रतिलिपि अधिकार ऐन, २०५९  बमोजिम कारवाही हुनेछ ।
४) प्रतिलिपि अधिकार प्राप्त उत्पादक कम्पनीहरुबाट उत्पादित चलचित्रका CD, VCD, DVD, VHS बिक्री वितरण वा भाडामा दिन भिडियो पार्लरहरुले पाँच वर्षका लागि चलचित्र विकास बोर्डबाट बिक्री वितरण वा भाडामा दिन पाउने इजाजत लिनुपर्ने छ । सो इजाजतपत्रको पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्नेछ ।
५) इजाजत प्राप्त भिडियो पार्लर बाहेक अरुबाट बिक्री, वितरण वा भाडामा दिने काम भएमा प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम कारवाही हुनेछ ।

८.  चलचित्र निर्माण क्षेत्रलाई बदनाम मुक्त बनाउने सम्बन्धमा  :

अराजकतापूर्ण निर्माणलाई लोकतान्त्रिक ढङ्गले नियन्त्रण गर्ने कार्य अन्तिम चरणमा रहेको । चलचित्र निर्माणमा देखिएका विकृति, बिसङ्गतीबाट चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो नरहेको स्थितिमा चलचित्र निर्माणमा अग्रीम धरौटी राख्ने व्यवस्था गरी चलचित्रको जाँचपास प्रमाणपत्र पेश गरेपछि सो धरौटी रकम फिर्ता गर्ने कार्य सञ्चालन गर्ने सम्बन्धी गृहकार्य अन्तिम चरणमा रहेको ।

९.  चलचित्र तथा चलचित्रघरको वर्गीकरण सम्बन्धमा :

चलचित्र प्रदर्शनमा यस अघि भिडियो र सेल्युलाइड प्रविधि मात्र रहेकोमा हाल डिजिटल प्रविधिको प्रयोग बढ्दै गई हलहरू डिजिटलाइजेशन प्रविधिमा जान थालेको स्थितिमा चलचित्र घरहरुको भौतिक तथा प्राविधिक पूर्वाधार सुधारका लागि नीतिगत रुपमा प्रोत्साहित गरी अधिकतम दर्शक हलसम्म आउने वातावरण तयार गर्न चलचित्र घरहरुको समेत वर्गीकरण गर्नुपर्ने अवस्था रहेको छ । साथै चलचित्र निर्माणमा भिडियो र सेल्युलाइड दूई वटा प्रविधि मात्र परिभाषित भएकोमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली २०५७ मा डिजिटल प्रविधि थप भई चलचित्र निर्माणमा अत्याधुनिक प्रविधिका क्यामराको प्रयोग हुने गरेकोले चलचित्र निर्माणमा युग सुहाउँदो आधुनिक प्रविधिको उपयोगमा अधिकतम जोड दिई गुणात्मक रुपमा भन्दा पनि गुणस्तरीय चलचित्र निर्माणमा प्रोत्साहित गर्न चलचित्रको समेत वर्गीकरण गर्नुपर्ने आवश्यकता देखिएकाले यस सम्बन्धमा अध्ययन गरी चलचित्र तथा चलचित्र घरहरुको वर्गीकरणका लागि मापदण्ड तयार गरी बोर्डमा प्रतिवेदन पेश गर्न प्राविधिकहरु सहितको ७ सदस्यीय समिति गठन गरिएकोमा सो समितिको प्रतिवेदन बोर्डलाई प्राप्त भएको । सो प्रतिवेदन माथि सरोकारवाला सवै पक्षहरुसँग छलफल गरी चलचित्र तथा चलचित्र घरहरुको वर्गीकरणका लागि मापदण्डलाई अन्तिम रुप दिई नीतिगत व्यवस्था गरी कार्यान्वयनमा लैजान बोर्डबाट स्वीकृत गरि स्वीकृतिका लागि सूचना तथा सञ्चार मन्त्रालयमा पठाइएको छ । मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि तुरुन्तै यस सम्बन्धी व्यवस्था कार्यान्वयन गरिने छ ।
       
१०.  चलचित्र निर्माता , प्रदर्शक, वितरक, कलाकार, प्राविधकको आचारसंहिता सम्बन्धमा :

चलचित्र निर्माता, प्रदर्शक, वितरक, कलाकार, प्राविधकको आचारसंहिताको समसामयिक संशोधन गरी अनिवार्य रुपमा परिपालनका लागि निर्देशिका जारी गरिने छ ।