मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.38/5.00)
Text size:-
+
-

निशाजीलाई एक पत्र : सञ्जोग बस्याल

फिल्मीखबर, पोखरा, २०६८ फाल्गुन २४, बुधवार

हालै राजधानीमा आयोजित एक कार्यक्रममा पढेलेखेकी नायिका निशा अधिकारी, संचारकर्मी तथा मोडल साहाना बज्राचार्य र पत्रकार अनुप भट्टराईबीच भएको विवाद विभिन्न टिभी च्यानल र अनलाईन पत्रिकाहरु मार्फत मैले पनि पोखरामा नै बसेर राम्रोसँग जान्न पाएँ । न्युज मात्र हेरेको भए त पत्याउनै गाह्रो हुन्थ्यो होला र मलाई यति लेख्न बाध्य पनि सायदै बनाउँथ्यो होला । भिडियो हेरेपछि मलाई नायिका निशा अधिकारी र साहाना बज्राचार्यको दुव्यर्वहार र शैली देखेर म अचम्मित भएँ । भिडियो हेरिरहँदा मलाई उनीहरुको नखरा देखेर लाज पनि लाग्यो र रिस पनि उठ्यो । त्यो भिडियो हेरेपछि यतिखेर निशा अधिकारी संगै साहाना बज्राचार्यलाई यो पत्र लेख्दैछु । आशा छ, यो पत्र पढेपछि मुलुकका अरु धेरै निशा अधिकारीहरु र साहाना बज्राचार्यहरुले केही सिक्नेछन् । निशा अधिकारी र साहाना बज्राचार्य बन्नबाट जोगिने छन् ।


नायिका निशा अधिकारी ज्यु, नमस्कार !


प्राय मानिसको शरीरको बाहिरी भागमा हुने कालो कोठीले केही ब्यक्तिलाई यति सुन्दर देखाएको हुन्छ कि त्यस्को वयान गर्न सायद सजिलो छैन तर त्यहि सुन्दर मान्छेको मन गालाको कोठी जस्तै कालो भइदियो भने के होला ? निशाजी, तपाईको अनुहार पनि त्यसै सुन्दर देखिएको होइन त्यो कालो कोठीको ठूलो हात छ । प्रायः सुन्दर अनुहार मात्र देख्न पाएका दर्शक र प्रशंसकले यस पटक तपाईंको कोठीजस्तै कालो मनलाई देख्न पाए । धन्य भगवानलाई !


अपसोच, भगवानले तपाईको अनुहारको कालो कोठीसंगै मनभित्र पनि कालो बनाई दिएछन् । जबसम्म मान्छेको मन कालो भईरहन्छ तव सम्म आर्मि अफिसर्स क्लबमा भएको त्यो घटना घटिरहन्छ किनकि त्यस्तो मनमा कालो भएका व्यक्तिको सोचाई पनि कालो नै हुन्छ र सोचाईले मानिसलाई गल्ती दोहोर्याइरहन्छ ।


नायिका ज्यु,
त्यो दिन तपाईंले प्रदर्शन गरेको व्यवहार हेर्दा लाग्छ तपाईं निशा अधिकारी नै होईन । तपाईंलाई त्यो रवैया पटक्कै सुहाएको थिएन । हातको चोरी औँला देखाउँदै गरेको त्यो व्यवहार मलाई अहिले पनि तँपाईंबाट भएको हो जस्तो लाग्दैन । भिडियो हेर्दा मलाई लाग्यो तपाई त्यो कार्यक्रमको डन हो । हुन त तपाईंले माफ पनि माग्नु भएको छ तर माफी माग्दा पनि तपाईको चेहरा र अभिव्यक्तिमा थुप्रै आक्रोश र घमण्ड प्रष्ट देखिन्थे । फेरी त्यति ठुलो मानिसहरुको भिडमा अगाडि गएर माफि माग्दा तँपाईंलाई कति धेरै जलन भएको होला म त्यो कुरा बुझ्छु तर आफ्नै कारणले त्यसरी माफी माग्नु परेको भनेर पनि तँपाईंले राम्रोसँग बुझ्नुभएको होला ।


तपाईलाई थाहा छ क्यामेरा खोस्नु त एउटा गल्ती थियो तर तँपाईंले स्टेजमा गएर गल्ती महसुश गरि सकेपछि पनि एउटा पुरुष पत्रकारले नारी कलाकारलाई स्पर्श गरेको आरोप लगाउनु भयो । रिसले त्यसरी आरोप लगाउनकै लागि तँपाईंले पुरुष उद्घोषक मित्रको हातमा भएको माईक कसरी खोस्नु भएको रहेछ याद होला । यदि छैन भने त्यो भिडियो अहिले छयाप्छयाप्ति प्रसारित छ विभिन्न अनलाईनहरुमा धैर्य गरेर हेर्नु होला । यो कुरा उद्घोषक ज्यूले पनि महशुस गर्नु भएको होला ।

 

कुरा क्यामेरा खोसीएको नै गरौँ,

एउटा पत्रकारले फोटो खिचे त तपाईले त्यसमा रिसाउनु पर्ने नै किन थियो र ? त्यही पनि तपाईले पुरै नभए पनि मुख्य अङ्ग ढाकिने गरी लुगा लगाउनु नै भएको थियो । पत्रकारले एउटा चर्चित नायिकाको फोटो खिच्दा किन त्यसरी आपत्ति प्रकट गर्नुभयो ? तपाई सेलीब्रेटि जस्तो मान्छे अनि त्यसरी पब्लिक कार्यक्रममा जाँदा पत्रकार पनि हुन्छन् र पत्रकारको काम न्युज लेख्ने र फोटो खिच्ने हो भन्ने सामान्य ज्ञान त तँपाईंलाई हुनुपर्ने होइन र ? तँपाईंलाई पत्रकारहरु एउटा पढेलेखेकी अनि जानेबुझेकी नायिकाको रुपमा बुझ्छन् । यस्तो कुरा पनि दिमागमा आउँदैन भने तपाईको त्यो पढाईको के काम ? ठिक छ तपाईले त थाहा पाउनु भएन तर तपाईसंगै सेतो आभरकोटमा ठाँटिएकी संचारकर्मी साहना बज्राचार्यले त जान्नु पर्ने होईन र ? तपाई दुईको जोडि त गजबको रै’छ साँचि दुबै बिहारी चलचित्रका डन जस्ता ।


उहाँ (साहाना बज्राचार्य) ज्यु त झन् त्यस कार्यक्रमका दादागिरी नै देखाउन गए जस्तो मलाई लाग्यो । बाघले झैं उहाँले एउटा पत्रकारको क्यामरा खोस्दा उहाँ त संचारकर्मी नै होईन जस्तो लाग्यो । संचारकर्मी भएर एउटा संचारकर्मीलाई त्यस्तो दुर्व्यवहार गर्ने भावना कहाँबाट पलायो ? धन्य छ तपाईलाई पनि । तपाईले पत्रकारहरुसंग म्यानरको कुरा गर्नु भएको छ, अनुसाशनको कुरा गर्नु भएको छ तर तपाईको त्यो चर्तिकला हेरेपछि लाग्छ म्यानर के हो ? अनुसाशन के हो ? त्यो पहिला तपाईले नै सिक्नुपर्ने जस्तो मलाई लाग्छ । तपाईले अनुसाशन र म्यानर भनेको क्यामेरा खोस्ने या दादागिरी देखाउने र पत्रकारलाई धम्काउने हो भन्ने बुझुनु भएझैं लाग्छ ।


नायिका ज्यु,

अहम्ताले थिचिएको मनमा उब्जिएको घमण्ड र त्यो घमण्डको कारणले देखाएको उक्त तमासा हेर्न लायक त थियो र भिडियोहरुमा छ नै तर त्यो भन्दा पनि म जस्ता तपाईको शुभचिन्तक अनि तपाईलाई माया गर्ने दर्शकहरुमाझ तपाईंको नयाँ डन शैली नमिठो देखिएको छ, सुहाएको पटक्कै छैन । तपाईको फिल्म ‘मिसन पैसा’ अनि ‘फस्टलभ’ हेरेको छु । ‘नैना रेसम’ त हेर्न पाइनँ तर हेरेका दर्शकहरुबाट सुन्दा राम्रो काम गर्नु भएको थाहा थियो । तर त्यो खबर र भिडियो हेरेपछि मलाई पनि नढाँटि भन्नु पर्दा तपाई प्रति घृणा जागेको छ । म जस्तै तपाईलाई मन पराउने ती प्यारा दर्शकहरुले झन् के सोचे होलान् ?


निशाजी पत्रको अन्त्यमा म तपाईको शुभचिन्तक भएको नाताले तपाइसँगै साहाना ज्युलाई केही कुरा भन्नु नै पर्छ । तपाईले माफी माग्ने बेला भन्नु भएको छ नि ८० प्रतिशत सेलिब्रेटि बनाउनु मिडियाको हात हुन्छ भने जस्तै तपाईहरुलाई आज यो ठाउँमा पुर्याउने दर्शकसँगै मिडिया नै हो तर त्यो कुरा माईक समातेर माफ माग्ने समयमा मात्र होईन कि कलाकार भएपछि प्रत्येक पल सम्झिनु पर्छ । तपाईहरु कलाकार भएपछि कति कुरा र परिस्थितिमा ‘कम्प्रोमाइज’ गर्नुपर्छ र बुझ्नुपर्छ भन्ने मैले भनिरहनु पर्दैन होला ।

 

रिसले कलाकार मात्र होईन कसैलाई माथि पुर्याउँदैन । कलाकार त झन फुल जस्तो हुनुपर्छ जुन सबैलाई मन पर्छ र तपाईहरुलाई थाहा छ कलाकारमा कति ठुलो शक्ति हुन्छ जस्ले सिङगो मुलुकलाई परिवर्तन गराउन सक्छ । हामीले तपाईहरुबाट धेरै कुराको आशा गरेका हुन्छौँ तर कहिलेकाँही तपाईहरुका यस्ता व्यवहारले चित्त साह्रै दुख्दो रै’छ । हामी चाहान्छौ तपाईहरुबाट केही जानौँ, केही सिकौँ तर तपाईहरु भने यत्रो ठुलो समाजको प्रतिमूर्ति भएर पनि पर्सनल जीवन खोज्नुहुन्छ ? सार्वजनिक कार्यक्रममा केही नबुझेको जस्तो गरी किन पागलपन देखाउनुहुन्छ ? गर्व लाग्दैन यहाँहरुलाई सबैको नजरमा पर्ने व्यक्ति बन्नु भएकोमा ? हो, तपाईहरु आफ्नै मेहनत, प्रतिभा र कामको कारण यहाँ सम्म आई पुग्नु भएको हो तर त्यसमा केही स्थान त पक्कै पनि पत्रकार र आम दर्शकको पनि त होला नि ?


मनमा दाग हाम्रो आफ्नै गल्तिहरुको कारणले हुन्छ जुन हामीले भविश्यमा फर्केर हेर्न सक्छौ ताकि त्यो दाग देखेपछि पुन त्यस्ता गल्ति नदोहोरियोस् । त्यो घटना पनि तपाईलाई बाँकी दिनमा त्यस्ता गल्तिहरु हुनबाट बचाउने छन् भन्ने मेरो आशा छ । कति अनुभबहरुले मानिसलाई जीवनको बारेमा बुझ्न, खराब घटनाहरुबाट जोगिन, सतर्क हुन सिकाउँछ । त्यस्तै एउटा अनुभब तपाईहरुले पनि लिई सक्नु भएको छ । यी र यस्तै कुरालाई ध्यान नदिने हो भने तपाईहरु एक दिन यो भीडमा कहाँ हराउनु हुन्छ थाहा नै हुने छैन । त्यो बेला न कसैले तपाईंको अटोग्राफ लिने छन् न त कसैले फोटो नै खिच्ने छन् । हो, त्यो बेला तँपाईंसँग सिर्फ पर्सनल लाइफ मात्र बाँकी रहनेछ । यस्तो एकांकी जीवन बैंशमा नै आओस् भनेर हामी तँपाईंका प्रशंसक यति चाढै चाहदैनौं ।


संसारका सबै बैभब, सुख र सम्पन्नताहरु बेकार हुनेछन् यदि हामीसंग त्यसलाई ‘सेयर’ गर्ने कोही मान्छे छैन भने । कसैसंग नराम्रो हुनु भनेको हामी एक्लिदै जानु हो । अनि कलाकारको लागी त झन सबैसंग सम्बन्ध रामो बनाउनु अति आवश्यक छ त्यसैले अबका दिनमा अनुप भट्टराई ज्यु लगाएत सबैसंग तपाईहरुको सम्बन्ध सुमधुर बनोस् मेरो शुभकामना र आगामी दिनमा कोही पनि कलाकारको र यस्तो घटना सुन्न नपरोस् । जानी नजानी मैले लेखेको यी कुराहरुलाई सकारात्मक रुपमा लिनु हुनेछ भन्ने आशाका विदा हुन्छु । धन्यबाद !