मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखराको सुन्दरता, चलचित्र नगरी र यहाँको अवस्था : रेम बिक

फिल्मीखबर, पोखरा, २०६८ फाल्गुन १६, मंगलवार

ग्ल्यामर, जीवनशैली र मनोरञ्जनको कुरा गर्दा बित्तिकै पोखरा नेपाल कै अग्रस्थानमा आउँछ । यहाँको जीवनशैली र मनोरञ्जन गर्ने तरिका नै अन्यत्र भन्दा फरक देखिन्छ । त्यसैमाथि प्राकृतिक रुपमा सुन्दर पोखरा चलचित्रकर्मीहरुको नजरमा पर्ने पहिलो शहर हो । त्यसैले अधिकांश चलचित्रको सुटिङ पोखरामै हुने गरेको छ ।

फेवाताल, माछापुच्छ्रे, सेती नदी, विभिन्न गुफा र मनोरम दृश्यहरु सबै एकै ठाउँबाट देख्न पाईने र त्यसको मज्जा लिन सकिने भएकोले पनि पोखरामा चलचित्रकर्मीहरुको आवतजावत बढि नै हुन्छ । नेपाली चलचित्र हेर्ने दर्शकको कुरा गर्ने हो भने पनि पोखरा मोफसलको विग स्टेशन हो । त्यसैले ग्लायमर, जीवनशैली र मनोरञ्जनका कुरा धेरै हुने गरेका छन् पोखरामा ।

पोखरामा एक वर्षमा करिब २५ भन्दा धेरै ठुला फिल्म, १५ भन्दा बढि भिडियो फिल्म, १२ भन्दा बढि गुरुङ चलचित्र र सयौँ म्युजिक भिडियो सुटिङ हुने गरेका छन् । बसुन्धारा पार्क, रातामाटे डाँडा, पर्वतीय संग्रहालय, विश्व शान्ति स्तुपा, सराङकोट लगाएतका स्थानहरु पोखराको अधिकांश फिल्म शुटिङ हुने स्थानहरु हुन् ।

पोखरामा बनेका गुरुङ चलचित्रको कुरा गर्दा हाल पुन्टे साँईला, म्हास्यो, यो कस्तो कथा, मिग्ली र धीं लगाएतका चलचित्र प्रदर्शनको लागी पालो कुरेर बसेका छन् । त्यस्तै अंग्रेजी नयाँ वर्षको शुरुवात संगै घलेक, त ध्योँब, योंल माया, प्हिरुमाला र आँगे थागु जस्ता चलचित्रहरु सुटिङमा जाने अन्तिम तयारी गरिराखेका छन् । पोखरामा हाल नेत्र गुरुङ, युग गुरुङ, जस्सु गुरुङ, गुञ्ज गुरुङ, घनश्याम लामिछाने, शोभित बस्याल लगाएतका निर्देशकहरुले दिनहुँ जस्तो म्युजिक भिडियो बनाईरहेका छन् ।

बन्ला त पोखरा ‘चलचित्र नगरी’ ?

चालु आर्थिक वर्षमा सरकारले पोखरालाई ‘फिल्म नगरी’ बनाउने घोषणा गर्‍यो । तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले वजेट भाषण मार्फत पोखरालाई चलचित्र नगरी बनाउने घोषणा गरेका थिए । घोषणा बमोजिम प्रारम्भिक रुपमा स्टुडियो निर्माणका लागी कास्कीको धिताल गाविसमा चलचित्र विकास वोर्डका पदाधिकारीहरु आएर स्थलगत अध्ययन समेत गरिसकेका छन् । धितालमा चलचित्र स्टुडियो निर्माण गर्न सकिने भनेर वोर्डको टोलीले निश्कर्ष निकालेपछि स्थानियबासीसंगै पोखराका चलचित्र क्षेत्रका व्यक्तिहरुमा पनि यतिबेला खुशि छाएको छ ।

‘मेरो बिचारमा यो सरकारको अवधारणा मात्र हो, पोखरा चलचित्र नगरी हुनका लागी अझै धेरै समय लाग्छ’, पोखराका चलचित्र निर्माता तथा निर्देशक माओत्से गुरुङ भन्छन्–‘सबै पुर्वाधारको जोहो गर्नुपर्ने हुन्छ, अहिल्यै त यो जिरो लेभलमा मात्र चलेको कुरा हो ।’ स्टुडियो निर्माण पश्चात पनि पुर्ण रुपमा चलचित्र नगरी हुन सबै खाले पुर्वाधार हुन आवश्यक भएको माओत्से बताउँछन् । ‘बिजुलीको निरन्तर उपलब्धता, खाने बस्ने व्यवस्था, छायाँकनका लागी आवश्यक सामाग्रीको सहज उपलब्धता सबैभन्दा पहिला हुनैपर्ने पुर्वाधारहरु हुन्’, उनी भन्छन्–‘स्टुडियो सम्म पुग्नका लागी सडकको व्यवस्था समेत पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’

पोखरामा सिनेप्लाजा संचालन गर्दै आएका चलचित्रकर्मीउत्तम द्वाको अनुसार पोखरालाई चलचित्र नगरी घोषणा गर्नु भनेको गफ मात्रै हो । ‘सबै कुरा केन्द्रिकृत भएको छ ।’ द्वाले भन्छन्–‘चलचित्र नगरीकै रुपमा संचालित हुन कि त सबै उद्योग नै यतै सार्नुपर्छ होईन भने पोखरा कहिल्यै पनि चलचित्र नगरी हुन सक्दैन ।’ लेखनाथको बुढिबजारमा ईन्डोर सुटिङको लागी ‘वाराहि स्टुडियो’ संचालन गरेपनि आफुलाई त्यसबाट घाटा भएको द्वाले दुखेसो पोखे ।

पोखराको न्यूरोडमा रहेको पुर्णिमा चलचित्र भवनको संचालक, निर्माता तथा चलचित्र वितरक हरी बरालले चलचित्रको लागी पोखरा प्रबल संभावना बोकेको ठाउँ भएकोले ‘चलचित्र नगरी’ बन्ने कुरामा आशा गर्न सकिने बताउँछन् । ‘प्राकृतिक रुपमै पोखरा सुटिङको लागी अति उपयुक्त गन्तब्य बनेको छ’, बराल पोखराको वर्णन गर्दै भन्छन्–‘हिमाल, तालतलैया, खोला, छहरा, वनजंगल र हरियालीका कारण अधिकांश चलचित्रहरु पोखरामै सुटिङ समेत हुने गरेका छन् ।’ बरालले पोखरामा एउटा ईन्डोर स्टुडियोको आवश्यकता औँल्याए, ‘त्यसका लागी सरकारले सुविधा सम्पन्न स्टुडियो र एउटा पावरफुल जेनेरेटर राखिदिनुपर्छ ।’ दिनभरी आउटडोर सुटिङ र रातमा ईन्डोर सुटिङ गर्न चलचित्र निर्माण पक्षलाई सजिलो अनि छिटो पनि हुने अनि त्यो संगै सरकारले स्टुडियोबाट भाडा पाउने भएकोले दुवै पक्षलाई फाईदा हुने उनको भनाई छ ।

पोखरामा चलचित्र भवनहरुको अवस्था

प्रस्तावित चलचित्र नगरी भएपनि पोखरामा एउटै पनि उत्कृष्ट हल छैन । सुविधायुक्त चलचित्र भवन नहुँदा यहाँका उच्च वर्गका व्यक्तिहरु चलचित्र हेर्नका लागी हलसम्म आउँदैनन् ।

हाल पोखरामा श्रीकृष्ण, पुर्णिमा, वाराहि, विन्दबासिनी र कल्पना गरि जम्माजम्मी ६ वटा हलहरु संचालनमा रहेका छन् । ती मध्ये पनि कतिपय हलहरुमा निरन्तरताका लागी मात्रै चलचित्र प्रदर्शन हुने गरेका छन् । पोखरामा चलचित्र चल्न छोडेपछि ३ वटा चलचित्र भवनहरु पुर्ण रुपमा बन्द भैसकेका छन् । दिपज्योती चलचित्र भवन, अन्नपुर्ण चलचित्र भवन र महालक्ष्मी चलचित्र भवन चलचित्र चल्न छोडेपछि बन्द भएका चलचित्र घरहरु हुन् ।

पछिल्लो समय उच्च वर्गलाई लक्षित गर्दै उत्तम द्वा र हरि बरालले ‘सिक्स डी’ र ‘एट डी’ चलचित्र हलहरु संचालनमा ल्याए पनि त्यसले दर्शकहरुलाई आकर्षण गर्न सकेको छैन । जसो तसो गरेर उत्तम द्वाले सिक्स डी हल चलाई रहे पनि शेखर कोईरालासंग सहकार्य गरि हरि बरालले संचालनमा ल्याएको ‘एट डि’ हल दर्शक अभावमा बन्द गर्नुपर्‍यो । महँगो टिकट दर र प्रचारप्रसार अभावमा एट डि हल पोखरामा नटिकेको यहाँका चलचित्रकर्मीहरु बताउँछन् । 

कुनै समय टोले दादाहरुको चहलपहल हुने चलचित्र भवनहरुमा पनि यतिबेला मानिसको भीड देखिदैन । नेपाल सरकार चलचित्र विकास वोर्डले गरेको अनुगमनका आधारमा पोखराका प्राय सबै हल मापदण्ड बाहिर रहेर बनेका छन् । टिकट दर बढेपनि पोखरामा दर्शकहरुले थोत्रो कुर्सी, गन्हाउने ट्वाईलेट भएको हलमा निसास्सिएर तीन घण्टा बिताउनुपर्ने बाध्यता छ । पछिल्लो समयमा नेपाली चलचित्रहरु प्राविधिक रुपमा गुणस्तरिय बन्दै गए पनि हलको अवस्था नसुध्रिने हो भने नेपाली चलचित्र हेर्नका लागी दर्शकहरु हलसम्म नआउने कुरा पक्का छ ।