मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनयमा फर्किनेहरुको हविगत : विजयरत्न तुलाधर

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ १४, शनिवार

राजेश हमालले अभिनय यात्रा थालेको पनि बीस वर्ष नाघि सक्यो तर पनि उनको लोकप्रियतामा केहि कमी आएको देखिंदैन । लोकप्रियता भन्ने कुरा अचम्भको हुँदो रहेछ । चलचित्र जगतमा एक पटक लोकप्रियताको शिखरमा पुगेका चलचित्र कलाकारले निरन्तर रुपमा काम गरी रह्यो भने त्यस्ता कलाकारको लोकप्रियता कायमै रहने गरेको पाइएको छ । तर एक पटक दर्शकको सम्पर्कबाट टाढा गएका कलाकर्मी पुनः पर्दामा आगमन हुँदा पहिले पाए सरहको लोकप्रियता हासिल गर्न नसकेका उदाहरणहरु प्रशस्तै छन् । र सबै भन्दा चर्चित उदाहरणको रुपमा मनिषा कोइरालालाई लिन सकिन्छ ।

 

भारतको चलचित्र उद्योगमा गई नाम र दाम कमाउन सफल मनिषाले आफ्नो अभिनय यात्राको शुरुमा नेपाली चलचित्र र नेपालकै विज्ञापन चलचित्रमा अभिनय गरेकी थिइन् । मनिषाद्वारा अभिनीत पहिलो नेपाली चलचित्र “फेरी भेटौंला” खासै सफल हुन सकेन । तर मुम्बईमा भने उनी निकै लामो समयसम्म लोकप्रियताको शिखर चुम्न सफल रहिन् । बढ्दै गएको उमेर अनि ढल्कंदै जान थालेको उमेरले गर्दा मुम्बइमा आफ्नो अभिनय यात्रा धर्मराउन थाले पछि वैवाहिक बन्धनमा बांधिन नेपाल आएकी मनिषा कोइरालाले यहाँ “धर्मा” शिर्षकको एउटा नेपाली चलचित्रमा अभिनय गरीन् । फितलो निर्देशनको कारण यस चलचित्रमा मनिषाले आफुले आर्जेको प्रतिष्ठा अनुरुपको भुमिका पाउन सकेनन् । फलस्वरुप “धर्मा” ले दर्शकको मन जित्न असफल भयो । अब मनिषाले निर्देशक मनोज पण्डितको नयाँ  नेपाली चलचित्र खेल्ने चर्चा छ । यो कुराको औपचारिक घोषणा भईसकेको छैन । 

 

मनिषा कोइरालाको नेपाली रजटपटमा पुनरागमन असफल भए जस्तै करिश्मा मानन्धरको पुनरागमन पनि असफलताको भुमरीतिर धकेलिंदै गएको आभाष हुन थालेको छ । उमेर गए पनि वैंश नगएकी अभिनेत्रीको दर्जा पाएकी करिश्मालाई सदाबहार नायिका भन्नेहरु पनि कम छैनन् । तर अहिले आफ्नो वैंश सुहाउँदो भुमिका पाउन सकेकी छैनन् । आफ्नै लगानीमा निर्माण गरेको चलचित्र “बाबु साहेब” बाट नराम्ररी आर्थिक घाटा व्यहोर्नु परेपछि अमेरीका भासिएकी करिश्मा मानन्धर यहाँ शिर्षस्थ नायिकाको रूपमा गनिन्थिईन् । त्यसरी लहलहाउँदो अभिनय यात्रालाई चटकै छोडि अमेरीका पुगेकी करिश्मा बीच बीचमा नेपालमा बिदा मनाउन आउँथिन् एक दुई चलचित्रमा काम गरेर फर्किन्थिन् । पछिल्लो समयमा उनी नेपालमा नै छिन् र अमेरिका जाने सुरमा छैनन् ।

 

नेपाल फर्केपछि उनले “वशमा छैन यो मन” मा नायक विराज भट्टसँग कामुक नृत्य गर्ने अवसर पनि पाइन् । तर चलचित्रले दर्शकको मन जित्न सकेन । निर्देशक रमेश बुढाथोकीको “पल”, दिपक श्रेष्ठको “हो यही माया हो” लगायत “दुलही” चलचित्रमा उनले मुख्य भुमिका पाउन सकिनन् । यौन विषयमा बनिरहेको उकेश दाहालको चलचित्र“किन किन” मा पनि उनको भुमिका सानै रहेको बताइन्छ । अहिले करिश्माले अतिथी नायिकाको रुपमा मात्र काम पाईरहेकी छिन् । यसरी पुनः एक पटक नेपाली चलचित्र जगतमा लोकप्रियताको शिखर चुम्ने करिश्माको सपना भने पुरा हुन सकेको छैन । त्यसैले उनी अहिले चलचित्र निर्देशनको फाँटमा पाइला बढाउने योजना बुनिरहेकि छन् । अनि टेलिभिजन कार्यक्रमहरुमा हात हाल्ने सोचमा छिन् ।


करिश्मासँगै आफ्नो अभिनय यात्रा थालनी गरेकी अर्की नायिका गौरी मल्लले पनि अभिनय क्षेत्रमा पुनरागमन गर्ने प्रयास नगरेकी हैनन् । तर सफल भने हुन सकिनन् । सोचे जस्तो भुमिका पाउन नसके पछि गौरी मल्ल अमेरिका पसेकी छिन् । अमेरिका भन्दा अघि उनी जापान गएकी थिइन् । त्यहाँबाट फर्केर “जङ्गबाज”, “अचानक”, “काठमाण्डौ” जस्ता केही चलचित्रमा काम गर्न भ्याइन् । तर सोचे अनुरुप चर्चा र सफलता पाउन सकिनन् । अभिनय क्षेत्रमा पुनरागमन गर्न चाहेका धेरै जसो कलाकारहरुको दशा यस्तै भएको छ । नायिकाहरुको मात्र हैन नायकहरुको पनि अवस्था त्यस्तै छ ।

 

विजय लामा, रविन्द्र खड्का, कृष्ण मल्लले आफ्नो अभिनय यात्राको पुर्वाद्धलाई चरित्र अभिनेताको रुपमा स्थापित गर्न गरेको कोशिश पनि सफल हुन सकेन । पुराना नायकहरु मध्ये भुवन केसीले आफ्नो अस्तित्व जोगाउन आफै चलचित्र बनाइ रहेका छन् । यसमा उनले सफलता पनि हासिल गरेका छन् । भुवनकै पदचिन्ह पछ्याउँदै नायक लोकेन कार्कीले “शासन” बनाए । कल्याण घिमिरेले “श्रीमान्” बनाए । श्रीकृष्ण श्रेष्ठले “कहाँ भेटिएला” बनाए । “कहाँ भेटिएला” सफल भयो । यो चलचित्रको सफलता पछि श्रीकृष्णको पोल्टामा केहि अरु चलचित्र पनि परे । विराज भट्टको भोजपुरी चलचित्रमा व्यस्तता बढ्दै गएपछि उनको लागि भनि सोचिएका चलचित्रहरु अहिले श्रीकृष्णको हातमा आउने गरेको छ । अब उनको पुनरागमनको यात्रा तीनै चलचित्रहरुले तय गर्नेछ ।


भुवन केसीकै समकक्षी नायक शिव श्रेष्ठ अहिले अभिनय क्षेत्रबाट ओझेल परी सकेको नाम हो । शिव श्रेष्ठले अभिनय यात्राको दोस्रो हाफमा चरित्र अभिनय पनि गरे । मिस्टर डन, गोरखा रक्षक र युद्धमा उनी चरित्र अभिनेताका रुपमा देखा परे । तर उनको यो यात्रामा अहिले विराम आएको आभाष हुन्छ । शिव श्रेष्ठको अब एउटा दुईटा मात्र चलचित्र प्रदर्शित हुन बाँकी छ । त्यस पछि शिव श्रेष्ठको अभिनय यात्रा कहाँ मोडिने हो कसले भन्न सक्छ र ? सुरेश मरहठ्ठाको रुपमा चलचित्र क्षेत्रमा पदार्पण गरेका नायक पनि आफ्नो अभिनय यात्रा बीचैमा छोडी विदेशमा लागेका नायक हुन् । उनले पछि फेरी अभिनय यात्रा अगाडि बढाउन आफ्नो नामै फेरी रेस मरहठ्ठा राखे । नाम फेरे पछि उनको हात परेको च्यालेन्ज र मेरो बेष्ट फ्रेण्ड जस्ता केही चलचित्र दर्शकको सामु आउन बाँकी नै छ ।


एक पटक चलचित्रको पर्दाबाट हराई सकेका कलाकारहरु दर्शकको मनबाट हराउँदो रहेछ भन्ने कुरा त्यस्ता कलाकारहरुको पुनरागमन प्रयासको असफलताले संकेत गराएको छ । नाम चलेका र लोकप्रियता कमाएकाहरु समेतले त्यस्तै परिणाम भोगेका उदाहरणहरु धेरै छन् । मौसमी मल्ललाई पनि त्यस्तै भयो । दोस्रो दाम्पत्य जीवन निर्वाह गर्न रजटपटबाट टाढिन पुगेकी मौसमीको त्यो जीवन पनि सफल भएन । त्यसपछि उनी फेरी अभिनय क्षेत्रमै फर्किन् । आफ्नै लगानीमा “गिरफ्तार” चलचित्र पनि बनाइन् । चलचित्रले राम्रो आर्जन पनि गर्‍यो तर मौसमीको फेरी नायिकाको रुपमा स्थापित हुने सपना भने पुरा हुन सकेन । अरु खालकै भुमिका गरेर भए पनि अभिनय यात्रा जारी राख्ने सोचले उनी अहिले किसान र नयाँ नेपाल एक्सप्रेस जस्ता चलचित्रमा साइड रोल गरीरहेकी छिन् । चलचित्र बिकास बोर्ड सदस्य समेत भईसकेकी मौसमी मल्ल यो कार्यकाल टुङ्गिएपछि पुनः एकपटक आफ्नै लगानीमा नायिका बन्ने सोचमा छिन् ।


अभिनयमा पुनरागमन गर्नेहरुले साइड रोल वा चरित्र भुमिका समेत गतिलो पाउने गर्दैनन् । “कान्छी” र “मायाप्रिति” का लोकप्रिय नायिका शर्मिला मल्लले जवानी ढल्के पछि चरित्र भुमिकामा अभिनय गर्ने कोशिश गरेकी थिइन् । “अंगालो अंगालोमा” र “तकदिर” मा त्यस्तै भुमिका पनि पाइन् । तर शर्मिला मल्लको अभिनय यात्राले भने निरन्तरता पाउन सकेन । यहाँ यस्तै हो त्यसैले बीना बुढाथोकिले अभिनय गर्न रुची देखाएका छैनन् । रुपा राना डेढ दशक अगाडि “विजय पराजय” मा कामुक दृश्यमा अभिनय गरेको कारण विवादमा परेकी थिइन् । केही चलचित्रमा अभिनय गरेकी रुपा पनि विदेश नै पुगेर फर्केकी कलाकार हुन् । फर्किए पछि “को आफ्नो को विरानो” मा विशुद्ध चरित्र भुमिका गरीन् । त्यस पछि कामुक दृश्यहरुका लागि बहुचर्चित “पलपलमा” चलचित्रमा पनि अभिनय गरीन् । यत्ति गर्दा पनि उनको यात्रा जहाँको तहीं छ । अगाडि बढ्न सकेको छैन ।

 

झरना बज्राचार्य पनि त्यस्तै अभिनेत्री हुन् जसको अभिनय यात्राको पुनरागमन फलिफाप हुन सकेन । उसो त अभिनय यात्राबाट विश्राम लिनु अघि झरनाको कुनै चलचित्रले राम्रो आर्जन गरेको भन्ने कुनै रेकर्ड छैन र पुनरागमनको प्रयास स्वरुप अभिनय गरेको “कोही मेरो” को हविगत पनि सबैले देखे कै हो । अब यसलाई के भन्ने ? यो केवल संजोग मात्रै हो वा त्यसरी हराइ सकेका कलाकारलाई दर्शकले फेरी हेर्न नचाहे कै हो  ? भनि भन्न कठिन छ । अब अहिले चलचित्रबाट टाढिन पुगेका विराज भट्ट र निखिल उप्रेती फेरी फर्किन चाहेमा के उनीहरुको हालत पनि त्यस्तै हुने पो हो कि भन्न थालिएको छ ।