मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लूटले सिकाएको गतिलो पाठ र चुनौती : शिबम अधिकारी

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ५, बिहिवार

बिगत केही समय देखि टेलिभिजनको पर्दा, शहरका भित्तोहरु अनि सामाजिक सञ्जाल पूरै लूटमय भयो । लूट रिलिज भन्दा धेरै अगाडि देखि नै उध्रेको चोली र फिल्मको प्रोमोले लभलग लूटको ब्यापार आँकलन गर्न सक्ने स्थितिमा पुगिसकेको थियो । चलचित्र बिकाश बोर्डले लगाउन खोजेको आर्थिक संकटको पूर्व सन्ध्यामा लूट रिलिज भयो । पूर्वानुमान अनुसार नै काठमाण्डौका मल्टीप्लेक्स हलहरुमा लूटले धमाकेदार शुरुवात गरेको खबरहरु आए ।

 

लोभलाग्दो प्रचार सामाग्री हेरेर म पनि लूट हेर्न आतुर थिएँ । एकजना सञ्चारकर्मी साथीलाई लिएर लूट हेर्न गएँ । धेरै पछि सिनेमा हलमा छिर्दा खुशीको अनुभव भयो किनभने दर्शकले हल खचाखच थियो । पात्रहरुको अभिनय अन्त्यन्तै सहज अनि नयाँ निर्देशकको काम गजब । हरेक संवादमा ताली बज्थ्यो त्यो दुष्य देखेर साच्चै भाबुक बनेँ म त । लूटले त्यो दर्शकहरुलाई खुशी बनाईरहेको थियो जो नेपाली चलचित्रको नाम लिने बित्तिकै नाक खुम्च्याउँथे । बिषयबस्तु त कुनै नयाँ होईन प्रस्तुति बिल्कुलै नयाँ, हिन्दी चलचित्र आँखेको प्लटलाई स्लमडग मिलेनियरको पटकथा शैली भनौँ या अंग्रेजी चलचित्र सिटिजन केनको फर्मुलालाई अत्यन्तै सुन्दर ढंगले अपनाईएको छ । यसलाई मैले कपी भन्न खोजेको चाही होईन । किनभने लूटमा प्रसस्त मौलिकता भेटिन्छन् ।

 

म पनि एउटा नेपाली चलचित्रकर्मी भएको नाताले लूटको बारेमा केही लेखौं जस्तो लागेर सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाईहरु राखेँ । त्यो भनाईहरु पढेर फिल्मीखबरका सञ्चालक सुमन गैरेले फिल्मीखबरलाई उपलब्ध गराउन अनुरोध गर्नु भयो । तसर्थ मेरो नितान्त ब्यक्तिगत धारणा फिल्मीखबर मार्फत म तपाईहरु सामु सार्वजनिक गर्दैछु । जब मैले आफ्नो भनाईहरु पोष्ट गरेँ । एकजना राजेश केसी भन्ने मित्रले झण्डै एक पानाको कमेन्ट पोष्ट गरे । ती मित्र म माथि यसरी खनिदै थिए कि मानौ नेपाली चलचित्रको सम्पूर्ण लगाम मेरो हातमा छ । मैले नै सिनेमाको स्थिति यो हालतमा ल्याईदिएको हो । अनि उनी एक्लै हुटिट्याउले सगर थामे जस्तै गरी नेपाली चलचित्र जोगाउन काँध थापिरहेका छन् । चलचित्रको भविष्यको बारेमा राजेश जस्ता हामी धेरैको जिम्मेवारी छ ।


लूटले एउटा शुरुवात गरेको छ, उसले बनाईदिएको साख जोगाउनु हामी सबैको कर्तब्य हो । यो भन्दा पहिला पनि लूट जस्ता वा ती भन्दा राम्रा सिनेमा पनि नबनेका होईनन तर सञ्चारकर्मी र चलचित्रकर्मीहरुले मन पराएको फिल्महरु 'आचार्य', 'मसान' जस्ता फिल्म भने चलेनन् । तर लूटले अलग सोचको साथमा फिल्म बनायो भने पनि चल्न सक्छ भनेर प्रमाणित गरेको छ । केही समय अगाडि सम्म पनि केही चलचित्रहरुले नयाँ सोचको भन्दै ठूलै पब्लीसिटी गरेर हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै नबनाएको भने होईन । लूट पनि यस्तै हुने त होईन भन्ने आशंका त अब मेटिईसकेको छ । र, नेपाली चलचित्रले युवापुस्तालाई पनि समेट्न सफल भएको छ भन्दा फरक नपर्ला ।

अब ति नयाँ दर्शकलाई कसरी जोगाउने र उनीहरुलाई कसरी नियमित नेपाली चलचित्रको दर्शक बनाउने भन्ने बिषयमा गम्भीर भएर सोच्नु आवष्यक भईसकेको छ । अबस्य पनि लूट ले दर्शक तानेको छ । उस्लाई रिझाएको छ । फिल्म पनि राम्रो बनाएको छ । यस्ले पक्कै पनि निसास्सिरहेको फिल्म उद्धोगलाई राहत दिएको छ । हामी नेपालीको बानी के छ भने एउटाले अगाडि म:म पसल राख्यो भने अर्कोले त्यस्को अगाडि अर्को म:म पसल खोल्ने, एउटाको लूट चल्यो भन्दैमा अर्कोले पनि लूट जस्ता फिल्म बनाउने ? कोदो रोप्ने ठाउँमा कोदो नै रोपियोस् धान रोप्ने ठाउँमा धान नै रोपियोस् । लूट पनि मलिलो खेतमा रोपिएको धान हो जुन मल्टिप्लेक्समा फल्यो । मेरो भनाइ यती हो कोदोलाई खेतमा नरोपियोस अनी धानलाई डाँडाँमा । भन्न खोजेको फेरी पनि लूटको समोसामा के यो माया होको आलु हालेर दर्शक भाड्ने काम नहोस् ।

 

हिजोको दिनमा पनि दर्पणछायाँले अपार दर्शकको माया पाएको थियो । दर्पणछायाँ पछि धेरैले दर्पणछायाँ जस्तो फिल्म बनाउने कोशिश गरे र असफल भए । फेरी तेही त्यही हालत नहोस् भन्ने तर्फ हामी सचेत हुनुपर्छ । अरुले खनेको बाटोमा हिडेर भन्दा आफैले खनेको बाटोमा हिड्नु आत्मसम्मानको कुरा हुन आउँछ । (लुटमा दर्पणछायाँको नियम शतप्रतिशत लागु हुदैन तर पनि ब्यापारमा लोभ गर्ने ठाउँ छ ) फेरि पनि हामीले आफ्नो बाटो नखनी फेरि लूट जस्तै सिनेमा बनाउने भनेर अर्काले प्रयोग गरिसकेको कुरालाई पछ्याउने हाम्रो परिपाटी नदोहोरियोस । हामीले लूट जस्तै होईन लुट भन्दा फरक फरक बिषयमा मौलिक सिनेमा दिनको लागि हामी लागि पर्नु पर्छ । हामीलाई लूटले एउटा गतिलो पाठ र चुनौति दिईसकेको छ मेरो भनाईको तात्पर्य यति नै हो ।

 

अबका दिनमा नेपाली चलचित्रकर्मीलाई अवसर र चुनौती दुवै छ । नेपाली चलचित्र क्षेत्रमा अझै पनि ७० प्रतिशत खराब सिनेमा नै बनेका छन् । भने तीस प्रतिशत राम्रा सिनेमा छन् । ती सत्तरी प्रतिशत खराब सिनेमा र तीस प्रतिशत राम्रा सिनेमा एउटै हलमा प्रदर्शन गरिन्छन् । अब दर्शकले कसरी थाहा पाउने कुन फिल्म राम्रो छ कुन फिल्म खराब, यसको ज्वलन्त उदाहरण लूट हो । जुन राम्रा सिनेमा घरमा मात्र चले । त्यसैले राम्रा सिनेमा मात्र राम्रा सिनेमा घरले चलाउने र खराब सिनेमा खराब सिनेमा हलले चलाउने हो भने दर्शकले आफै बुझ्छन् र नेपाली चलचित्र प्रति नाक पनि खुम्च्याउदैनन् ।

 

बधाई लूट टिमलाई !