मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नपाउनेले के पायो...: राजेश खनाल

फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ ४, बुधवार

राजेश हमाल त महानायक पो भइ सकेका रहेछन् ! मलाई आश्चर्य लाग्यो, कसरी राजेश हमाल महानायक भए ? उनले के त्यस्तो महान कार्य गरेछन् र उनलाई महानायकको पगरी गुथाइयो ? उनले गरेको त्यो महान कार्यलाई पत्ता लगाउने महान व्यक्ति को हो ? राजेशको महानायकत्वका बारेमा सुनेपछि यी र यस्ता सवालहरु मेरो दिमागमा कुलबुलाए । मैले धेरै तिर ध्यान कुदाएं कि कसरी राजेश महानायक भए । कुनै विषेश कारण त पक्कै हुनु पर्ने हो उनीलाई महानायकको पगरी गुथाउनका लागि । तर मैले त्यस्तो केही भेटिन जस्ले गर्दा राजेशलाई महानायक भनियोस् ।


मलाई लाग्छ राजेश हमाल एक राम्रा अभिनेता हुन् । उनी आफूलाई फिल्ममा दिइएको भूमिका राम्ररी निर्वाह गर्छन् । एउटा वर्गका लागि उनी ताली बजाउ हिरो हुन् । पर्दामा उनको इन्ट्री हुनासाथ तालीको गडगडाहटले हमालको स्वागत गर्दछ । तर त्यो तालिको करतलध्वनी मात्रै उनको महानायकत्वका लागि पर्याप्त होइन । उनले केही गरेकै छैनन्, जस्का कारण उनीलाई महानायक भनियोस् । तपाईं के भन्नुहुन्छ ?


राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्म देखि हालैको उनको फिल्म फर्कि आउ सम्म मध्ये कतिपय फिल्महरु मैले हेर्ने मौका पाएं । तर उनको त्यो महान कार्य भने मैले पाउन सकेको छु जस्तो लाग्दैन, जस्ले उनीलाई महानताको त्यो उचाइमा पुर्‍याउन सहायक सिद्ध भएको होस् । सामान्य रुपमा भन्नु पर्दा उनी औषत अभिनेता भन्दा केही माथीका अभिनेता वा फिल्मी भाषाका नायक हुन् । तर उनी महानायक हुन् भन्न सकिन्न किनभने उनले त्यस्तो महान कुनै कार्य गरेका छैनन्, जस्ले उनलाई त्यो ताज पहिर्‍याइयोस् ।


तपाईंले राजेश हमालले खेलेको चम्पा चमेली हेर्नुभयो ? मैले हेरें । तर, ख्वै यी महानायक भनाउदाको महान उपस्थिती मैले कहीं पाउन सकिन । फिल्म सुरु भएको पहिलो पांच मिनेट दौडिएर र फिल्म सकिनु पांच मिनेट अगाडि दुई चार थान गुण्डालाई पीटपाट गरेकै कारण राजेश हमाललाई महानायक भन्न सकिएला त ? मलाई त लाग्छ त्यहां राजेशको नायकत्व पनि झल्किंदैन । केही लाख रकमका लागि मात्रै उनले त्यो भूमिका गरेका हुन जस्तो मलाई लाग्यो । कम्तिमा राजेश हमालबाट त्यस किसिमको आशा म जस्ता दर्शकले गर्दैनन् । राजेश हमालको अभिनय (?) त्यस फिल्ममा कहिं देखिंदैन । दुलहीको प्रचार प्रसार पनि खुब भएको थियो । तर त्यस फिल्ममा पनि राजेशको उपस्थिति देखिंदैन । दुलहीमा राजेश नायक पनि लाग्दैनन्, अभिनेताको कुरो त पर नै राखिदिए हुन्छ । त्यो फिल्ममा त राजेशले आफ्नै नाम बदनाम गर्ने प्रयास गरेका छन् जस्तो मलाई लागेको छ ।


महानायक हुन सजिलो छ त ? मलाई त सजिलो छ जस्तो लाग्दैन । स्टिलको प्रचारमा फुकेको छाती देखाउंदैमा र डावरको सर्बत पिउंदैमा महान हुने भए देखि अरुहरु पनि महान भइसक्नु पर्ने होइन र ? धेरै संख्यामा  फिल्महरु खेलेरै महानायक हुने हो भने सुभाष गजुरेललाई महानायक भन्नु पर्ने हो । कम्तिमा उनले आफूलाई दिइएको भूमिकालाई सार्थक तुल्याएका छन् चाहे त्यो नाटकमा होस, टेलिफिल्ममा होस वा फिल्ममा ।


महान कार्य नगरिकन यस्तो पगरी सायद गुथ्नु पनि हुंदैन । यदि पत्रपत्रिकाले राजेश हमाललाई नसोधेर महानायक भनेर छापे भने त्यस्को खण्डन गर्नु पर्दथ्यो उनले । तर उनी मख्ख परेर बसेको जस्तो लाग्यो । नपाउनेले के पायो र बोक्रै नताछी खाएको उखान जस्तै भएन र यो ? राजेशलाई बौद्धिक हिरो भन्छन् फिल्ममा लागेकाहरु । तर राजेशको यस किसिमको क्रियाकलापले के त्यो देखाउंछ र ? राजेशले पैसा र फिल्मको संख्यालाई भन्दा सही र सार्थक भूमिका तर्फ ध्यान पुर्‍याउनु पर्ने हो । तर उनले त्यसो गरेका छन् जस्तो लाग्दैन ।

फिल्मीखबर साप्ताहिकबाट