मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खोजी स्क्रिप्ट राईटरको : अरुना छन्त्याल

फिल्मीखबर, काठमाण्डौ, २०६८ पौष ५, मंगलवार

बाहिर बोक्रो भित्र खोक्रो भन्ने उखान जस्तै छ नेपाली चलचित्र । निर्देशकहरू आफ्नो तर्फबाट सक्दो मेहेनत गरेर चलचित्र निर्माण गर्छन् । नयाँ नयाँ प्रबिधिलाई आत्मसाथ गर्दै चलचित्रलाई बाहिरी आकर्षण दिएका हुन्छन् तर जग बलियो भए पो घर पनि बलियो हुन्छ ।

चलचित्रको मेरूदण्ड भनेको नै कथा हो । जबसम्म कथा राम्रो बन्दैन तबसम्म चलचित्र राम्रो बन्दैन । दर्शकको मन छुनलाई कथा नै चाहिन्छ । यदि दर्शक चलचित्रको कथामा डुब्न सक्दैनन् भने निर्माताले पैसा कमाउने सपना देख्न छाडे पनि हुन्छ । अपवादलाई छाडेर हेर्ने हो भने नेपालमा जति पनि चलचित्र बने र प्लप भए ति सबैको मूल जड नै कथाको डेफ्त नहुनु हो भन्ने मेरो धारणा छ । नेपाली दर्शक जो नेपाली चलचित्र नै हेर्छन् ति सबै कथाको गहिराईमा डुब्न चाहन्छन् । बाहिरी हाउभाउ भन्दा बढि उनीहरूलाई कथा नै राम्रो चाहिन्छ भन्ने मेरो बिश्लेषण हो ।

संचारमाध्यममा जतासुकै अभिनय गर्ने कलाकार चाहियो भन्ने विज्ञापन देख्छु, त्यस्तै कलाकारको खोजीमा रियालिटी शो पनि चलेको देख्छु तर फिल्म वा सिरियलमा नभई नहुने कथाकारको माग गरिएको मैले कतै पनि देखेकी छैन | चलचित्रको कथा नै त्यसलाई सफलताको गोरेटोमा डोर्याउन सक्ने मुख्य खुड्किलो हो अरु प्रविधी, अभिनय, प्रस्तुती आदि सेकेण्डरी कुरा हुन् | मेरो विचारमा कथा एकदम दमदार छ भने एउटै कोठामा खिचिएको चलचित्र पनि हिट हुन सक्छ | तर यहाँ विडम्वना भनूँ कथाकारको माग कतै छैन |

नेपालमा बेजोड कथा लेख्न सक्ने थुप्रै कथाकार छन् | उनीहरुका कथालाई चलचित्रमा रुपान्तरण गर्न सकियो भनेपनि नेपाली चलचित्रको कायापलट हुन सक्छ | प्रायः चलचित्रकर्मीहरुलाई साहित्य मन पर्दैन वा मन परेपनि त्यति रूचिकर छैनन् जसकारण त नेपाली चलचित्रको कथावस्तु कमजोर हुन पुगेको छ | एकाधबाहेक प्रायः सबै हल्का-फुलका मसालेदार हुन्छन् | प्रस्तुती शैली र कलाकारको अभिनयमा नेपाली चलचित्रले बलिउडलाई पछ्याउन थालेकै छ तर ओस्कारमा जानका लागी अझै पनि कथाकै अभाव भएको बुझिन्छ । म चाहन्छु नेपाली चलचित्रले साहित्यमा कथा लेख्न सिपालु कथाकारलाई पनि प्रशस्त अवसर देओस् | यसो गर्न सकियो भने हाम्रो कलिउडको स्तर बढ्न सक्छ |

चलचित्रको कथा लेख्न त्यति सहज नहुन सक्छ तर क्रियशन गर्न सक्ने थुप्रै कथाकार नेपालमा जन्मिएका छन् । मात्र उनीहरूलाई अवसर र तालिमको खाँचो छ । साहित्यिक कथाकारलाई फिल्मी शैलीको स्क्रिन प्ले बारे राम्रो जानकारी नहुन सक्छ त्यसैले चलचित्रका कुनै पनि संघसंस्थाले स्क्रिप्ट लेखन बारे सेमिनार, गोष्ठी या तालिम दिने वातावरण मिलाउने हो भने मलाई लाग्छ रजतपटमा कथाकारको भिड नै लाग्ने छ । जब कथाकार-कथाकार बिच प्रतिष्पर्धा हुन्छ तब दर्शकले खोजेको राम्रो कथा पक्कै सिर्जना हुन्छ ।

अहिले त सिमित कथाकार छन् जो बलिउडबाट बढि प्रभावित छन् । जो राम्रो लेख्ने प्रयास गर्छ उसलाई अवसर कम दिईन्छ । सस्तो मानसिकतामा सस्तो बजेटले बध्य बनाईन्छ त्यही हेरिसकेका बिदेशी कथालाई नेपालीमा रूपान्तरण गर्न । विचरा स्क्रिप्ट राईटरको पनि के दोष जबकी निर्माता निर्देशकले नै उनीहरूका अगाडी दर्जनौं बिदेशी चलचित्रका सिडीडिभिडी ल्याएर फालिदिन्छन् अनि लाग्छ स्क्रिप्ट राईटरको दिमागा लगाम । लगाम लागेको घोडा जसरी एकोहोरो हिड्छ त्यसैगरी उनीहरूलाई पनि एकोहोरो हिड्न बाध्य बनाईन्छ ।

के नेपालमा कथाको अभाव छ र बलिउड, हलिउडका कथालाई हामीले पछ्याउनु पर्ने ? कहिले सम्म चलचित्रकर्मीहरू कथा चोरको आरोप लागेर बस्ने ? कि चोरको आरोप लाग्दा रमाईलो लाग्छ ? जति हामी मेकिङमा दिमाग खर्चन्छौं त्यसको एक हिस्सा स्क्रिप्ट राइटरको खोजीमा खर्चियौं भने पनि नेपाली चलचित्रको गुणस्तर व्रिद्वी पक्कै हुनेछ । अनि नेपाली चलचित्रले हरेक बिहान नयाँ मुहार फेर्दै जानेछ ।